राष्ट्रपति भण्डारी कृष्ण मन्दिरमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन् ।
प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरिन् । सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको उक्त मन्दिर गोरखा भूकम्पबाट आंशिक क्षति पुगेकामा हालै मर्मतसम्भार गरिएको हो ।
मन्दिरको जीर्णोद्धार ५७ लाखको लागतमा काठमाडौं उपत्यका संरक्षण कोषले गरेको हो । किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको पुजारी विष्णुधर राजोपाध्यायले जानकारी दिए ।
मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । अपराह्न २ बजेसम्म दुई लाख ५० हजारभन्दा बढी भक्तजनले मन्दिरमा पूजा एवं दर्शन गरेको बताइएको छ । 













No comments:
Post a Comment