Monday, November 26, 2018

Rajopadhyaya in news: बन्यो सिद्धिलक्ष्मी : भक्तपुर नगरलाई साँचो हस्तान्तरण

कान्तिपुर संवाददाता
भक्तपुर — स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले भूकम्पका कारण क्षतिग्रस्त सिद्धिलक्ष्मी मन्दिर पुनर्निर्माण सकेर भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।


विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार स्क्वायर परिसरमा पुनर्निर्माण गरिएको सिद्धिलक्ष्मी मन्दिर । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर 

विभागले २ वर्षको अवधिमा पुनर्निर्माण सम्पन्न गरी एक समारोहबीच शुक्रबार क्षमापूजा गरी नगरपालिकालाई साँचो हस्तान्तरण गरेको हो ।

विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र परिसरको प्रस्तर (ढुंगे) मन्दिरको साँचो नगर प्रमुख सुनील प्रजापतिलाई हस्तान्तरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पुरातत्त्व विभाग र भक्तपुर नगरको प्रशंसा गरे ।

भक्तपुरका राजा जगतप्रकाश मल्लले नेपाल संवत् ७९२ मा स्थापना गरेको मन्दिर २०७२ वैशाखको भूकम्पले पश्चिमतर्फ ढल्केको थियो । पुरातत्त्वविद्को सुझावअनुसार जगसम्म भत्काएर पुनर्निर्माण गरेको पुरातत्त्व विभागका इन्जिनियर एवं सूचना अधिकारी मोहनकृष्ण श्रेष्ठले बताए ।

सिद्धिलक्ष्मी मन्दिरले १८९१ र १९९० सालको भूकम्प थेगे पनि २०७२ वैशाखको भूकम्प र त्यसपछिको पराकम्पले क्षति पुर्‍याएको हो । क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार गर्दा पुन: भत्किने जोखिम भएकाले जगसम्मै भत्काएर पुनर्निर्माण गरिएको श्रेष्ठ बताउँछन् ।

यसअघि नेपाल संवत् ८३५ मा राजा भूपतिन्द्र मल्लले जीर्णोद्धार गरेको अभिलेखमा उल्लेख छ । ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको मन्दिर १९ फिट लम्बाइ, १९ फिट चौडाइ र २३ फिट अग्लो छ । शिखर शैलीको प्रस्तर मन्दिर माटोको जोडाइमा बाहिर ढुंगा तथा भित्र इँटाको प्रयोग गरी मौलिक शैलीमा बनाइएको हो ।

‘उपत्यकाभित्रका ढुंगे मन्दिरभन्दा भिन्न शैलीमा बनेको सिद्धिलक्ष्मीको छुट्टै विशेषता छ,’ इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठले भने, ‘सिँढीको दायाँबायाँका रक्षक गणको अद्भुत कलाकारिताले मन्दिरको परिचय दिन्छ ।’ विभागले मन्दिर पुनर्निर्माण गर्न १ करोड १७ लाख १३ हजार ५ सय ४३ रुपैयाँ खर्च भएको जनाएको छ ।

मन्दिरमा पुजारीको व्यवस्था गरी सर्वसाधारणका लागि खुला गर्नुपर्ने सरोकारवालाको सुझाव छ । पुजारी नहुँदा मन्दिरको नित्यपूजा रोकिएको तलेजु भवानीका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए । पुजारी नभएकैले शुक्रबार जोशी र तलेजुकै राजोपाध्याय पुजारी उत्तमांगराज राजोपाध्यायले मूर्ति पुन: प्रतिस्थापन तथा क्षमापूजा गरे ।

नगर प्रमुख प्रजापतिले गुठी संस्थान, भक्तपुर तलेजु र पुरातत्त्व विभागसँग समन्वय गरी पुजारीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले भूकम्पपछि भक्तपुरका साना–ठूला १४ सम्पदा संरक्षण तथा पुनर्निर्माण भइसकेको बताए । उनले बाँकी क्षतिग्रस्त सम्पदा २ वर्षभित्र पुनर्निर्माण गरिसक्ने दाबी गरे । विभागका भक्तपुर प्रमुख मोहन सिं लामाका अनुसार विभागले निर्माणथालेका ३६ मध्ये १४ सम्पदा सम्पन्न भइसकेका छन् ।

अन्य पुनर्निर्माणको चरणमा छन् । चालु आर्थिक वर्षमा १७ सम्पदा संरक्षण तथा पुनर्निर्माणका लागि स्वीकृत भएको उनले बताए । विभागका अनुसार भक्तपुरमा भूकम्पका कारण २ सय ३२ सम्पदामा क्षति पुगेको थियो ।प्रकाशित : मंसिर ८, २०७५ ०७:५३Source: https://www.kantipurdaily.com/national/2018/11/24/154302532218566176.html

Sunday, November 25, 2018

Rajopadyaya in news : कार्तिक नाच अब महिनैभर

author-imageसपना महर्जन
मनोरञ्जन
 ०९ मङि्सर २०७५ १२:२८:००



काठमाडौं : कार्तिक नाचमा कृतज्ञधर राजोपाध्याय (२१) नरसिंह बने। उनी गत बुधबार मध्यरातमा नरसिंहको अवतारमा देखा परेका थिए। मन्दिरका पुजारी ब्राम्ह्मणले मात्र नाच्न पाउने यो नृत्य हिरण्यकश्यपुले सर्वसाधारणमाथि गरेको अन्याय र अत्याचारविरुद्ध दैत्यको वध गर्ने कथासँग जोडिएको छ।
पहिलो पटक नरसिंह बनेकाले कृतज्ञ थोरै डराएका पनि थिए रे। नरसिंह नाच मध्यरातमा देखाइने भएकाले बेलुकी सौगलमा नाट्यश्वर पूजा गरिन्छ। र त्यहाँबाट पाटन संग्रहालय ल्याइन्छ। पाटन दरबार स्क्वायरमा आएपछि सिद्धिनरसिंह मल्लको वंशले मंगल धाराको पानी ल्याई कृतज्ञको खुट्टा धोइदिए। त्यसपछि डबलीमा सुकुण्डा समात्ने र दुईजना मुहाली बजाउनेको साथमा नरसिंहलाई खास्टोले छोपेर बाहिर निकालियो। डबलीमा पहिले नै खम्बा गाडिएको थियो। मध्यभागका साथै चारैतिर चिराग बलिरहेका थिए। खास्टोले छोपिएको नरसिंह खम्बा फुटाउँदै बाहिर निस्किए। यसलाई नेवारीमा ‘थाँ तछ्याना क्वाँ वेयगु’ भनिन्छ।
कृतज्ञ लगातार ४५ मिनेट नाचे। ‘सुरुमा त सिकेको नृत्य बिर्सिएजस्तै भएको थियो’, उनले भने, ‘पछि आफैँसम्हालिँदै नाचेँ।’ बाहिर नाच्दै गरेको दैत्यलाई संहार गर्ने समय आयो। नरसिंहले हिरण्यकश्यपु दैत्यको संहार गर्दा माहोल रोमाञ्चक बन्यो।
नरसिंह नाचमा दैत्यको संहारपछि मूच्र्छा पर्छन्। दैत्य मूर्च्छा पर्दा तिनलाई घोच्ने, चिमोट्ने गरिन्छ। तर कृतज्ञले यो सब देखेनन्। उनलाई वरिपरि के कति मान्छे छन् त्यो पनि थाहा भएन। भन्छन्, ‘मुकुट र वस्त्र भारी थियो। त्यसमा पनि मुकुण्डोमा आँखाको प्वाल सानो भएकाले गाह्रो भयो।’ प्रत्येक वर्ष नाचिने नरसिंह नृत्यमा अब कृतज्ञको पालो १० वर्षपछि मात्र आउनेछ।
‘अब प्रत्येक पाँच वर्षमा एक महिना कार्तिक नाच गर्ने योजनामा छौं’, कार्तिक नाच समितिका सदस्य सञ्जयराज उपाध्यायले भने। यसको थालनी २०७६ सालबाट हुने पनि उनले जानकारी थिए। २००७ सालभन्दा अगाडि एक महिना चल्ने यो नाच देशको राजनीतिक व्यवस्था परिवर्तनसँगै खुम्चँदै गएकोमा पुनर्जीवन दिनेमा आयोजकहरु छन्।
कार्तिक नृत्य ललितपुरको सबैभन्दा लामो समयावधिसम्म चल्ने नृत्य हो। यसमा लोकनाटक तथा लोकनृत्य समावेश हुन्छन्। यो वर्ष नाचमा भीमसेन पूजा, भैरव पूजा, महादेव र कृष्णयुद्ध, भैरव, महालक्ष्मी र कुमारी नृत्य, ख्याःएवम् कवंनृत्य, लाखे नाच सञ्चालन गरिने कार्तिक नाच संरक्षण समितिले जनाएको छ।

Friday, November 23, 2018

Rajopadhyaya in news : मध्यरात जब निस्किए नरसिंह


कान्तिपुर संवाददाता
ललितपुर — पाटनको कृष्ण मन्दिरको डबली । पाँच कुनामा ठुल्ठूला चिराग बलिरहेका छन् । कोही चिरागमा तेल थप्दै छन्, कोही पोङ्गा, खीं, ता: र झयाली बजाउँदै छन् । चारैतिरबाट ठेलमठेल हजारौंको भीडबीच भने नरसिंह अवतारको व्यग्र प्रतीक्षा भइरहेको छ ।
बिस्तारै भीडको स्वर चर्को बन्दैगयो । अधिकांशले सुसेली मार्दै सिद्धिनरसिंहको दरबारतिर हेरे । तैपनि दरबारको ढोका खुलेन ।अघिल्तिर डबलीमा भने हिरण्यकश्यपु आफ्ना छोरा प्रल्हादप्रति क्रूद्ध बन्दै छ । जतिपटक भने पनि प्रल्हादले विष्णुको पुकार गर्न छोडेका छैनन् । हिरण्यकश्यपु झन् क्रूर बन्दै छ । भीडले फेरि नरसिंह पुकार्न थाल्छ । तर, दरबारको ढोका अझै खुल्दैन ।


बुधबार मध्यराति साढे १२ बजे जब सिद्धिनरसिंह मल्लको सुनौलो ढोका खुल्छ, मुकुन्डोधारी नरसिंह निस्किन्छन् र सीधै डबलीतिर दौडिन्छन् । मानिस नरसिंहलाई छुन तँछाडमछाड गर्न थाल्छन् । कोही सेल्फी स्टिक तेस्याउँछन् भीडमै । केही बेरमै डबलीमा हिरण्यकश्यपु र नरसिंहबीच घमासान युद्ध चल्छ । परम्परागत बाजाको तालमा खुट्टा र हातको लय मिलाउँदै झन्डै आधा घण्टा घम्साघम्सी चलेपछि हिरण्यकश्यपु पराजित हुन्छ ।

बुधबार मध्यरात ललितपुरस्थित पाटन डबलीको रौनक किन पनि भिन्न थियो भने यहाँ तान्त्रिक विधिमा आधारित कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण मानिने ‘नृसिंह (नरसिंह) अवतार’ नाच प्रस्तुत भइरहेको थियो । कात्तिक शुक्ल त्रयोदशीकै दिन देखाउनुपर्ने परम्परा रहिआएको झन्डै चार शताब्दी पुरानो नरसिंह अवतारलाई थुप्रैले रहस्यमय मान्दै आएका छन् ।

जस्तो कि, नाचको क्रममा विष्णुको अवतार नरसिंहले हिरण्यकश्यपुलाई छुँदा कलाकार साँच्चिकै बेहोस हुन्छन् । बेहोस हुनेबित्तिकै उनलाई सहयोगीहरूले उठाएर सुरक्षित स्थानमा लान्छन् । मंगलबजारमा रहेको मंगल धाराबाट पानी ल्याएर छम्केपछि मात्रै उनको होस खुल्छ । यसपटक पनि यस्तै भयो ।

हिरण्यकश्यपु बनेका किरणचित्रकार मंगहिटीबाट पानी ल्याएर नखुवाइन्जेल अचेतै रहे । उता, हिरण्यकश्यपुको अत्याचारबाट क्रुद्ध नरसिंह (कृतज्ञधर राजोपाध्याय) को रिस शान्त पार्न भने तलेजु मन्दिरका पुजारी सञ्जय शर्माले पूजा गर्नुपर्‍यो । यत्तिले मात्र नभई नरसिंहको अघिल्तिर अप्सरा नृत्यसमेत देखाउनुपर्‍यो ।

राजा सिद्धिनरसिंहले विसं १६९७ मा कृष्णमन्दिर बनाएर विधिवत् यो नाच सुरु गरेयता यो परम्परा जारी छ । संस्कृतिज्ञाता एवं वडाध्यक्ष निर्मलरत्न शाक्यका अनुसार तान्त्रिक विधि जगाएर नाचिने यो नाच कुनै समय एक महिनासम्म नाचिन्थ्यो, अहिले १२ दिनमा सीमित हुन पुगेको छ । नाच्ने कलाकार पनि पाउन मुस्किल बन्दै गइरहेको छ । दुई दशकदेखि कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार नै हिरण्यकश्यपुका रूपमा नाच्दै आएका छन् ।

चित्रकारका अनुसार यो नाच ‘दुष्ट हार्ने र सत्य जित्ने’ उत्सव पनि हो । विष्णु पुराणमा आधारित कात्तिक नाचको यो सबैभन्दा महत्त्वपूर्ण भाग हो । यसअघि दुई दिन बा:थ नाच (लोकनाटक), ५ दिन उषाहरण, जलशयणअन्तर्गत मधुकैटभ वध, बराह अवतार देखाइन्छ । नरसिंह अवतारपछि भने वस्त्रहरण र दधि लीला प्रस्तुत गरिन्छ । कात्तिक २६ मा सुरु यस वर्षको कात्तिक नाच भने शुक्रबार ‘दधि लीला’ देखाएपछि समापन हुने कात्तिक नाच समापन समितिले जनाएको छ ।

सिद्धिनरसिंह मल्लले देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर नाच प्रचलनमा ल्याएकोले ‘कात्तिक नाच’ भनिएको शाक्यले बताए । सुरुमा कृष्ण लीलामा आधारित यो नाच बराह र नरसिंह नाचसमेत मिसाएर प्रत्येक वर्ष कात्तिक महिनामा आठ दिनसम्म नाचिन्थ्यो ।

पछि सिद्धिनरसिंहकै छोरा श्रीनिवास मल्लको समय (विसं. १७३०) मा सात दिन थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू पनि समावेश गरिए । त्यसपछि श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवनर’ लगायतका शास्त्रीय नाच थपेर एक महिनासम्म नाच्ने परम्परा बसालेको समितिका अध्यक्ष चित्रकारले जनाए ।

चित्रकारअनुसार विसं २००६ सम्म निरन्तर चलेको यो नाच २००७ को क्रान्तिको बेला रोकियो । त्यसपछि २००८ देखि २०३७ सम्म हरेक वर्ष दुई दिन मात्र नाच्न थालियो । २०७१ देखि भने १२ दिन नाचिँदै आएको छ ।

‘हाम्रो मुलुककै यो सबैभन्दा ठूलो नाट्य उत्सव हो,’ ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले भनिन्, ‘संसारकै लागि यो नाच रहस्यमय छ । यसलाई पर्यटनसँग पनि जोडेर लैजाने हाम्रो योजना छ ।’
प्रकाशित : मंसिर ७, २०७५ ०८:२४source: https://www.kantipurdaily.com/entertainment/2018/11/23/154294075320592391.html

Thursday, November 22, 2018

Rajopadhyaya in news: मध्यरातमा नरसिंह अवतारको लीला (फोटो फिचर)



नागरिक दैनिक, शुक्रबार , ०७ मङि्सर २०७५, ०८ : २६ |  स्मृति ढुंगाना  |  @aesmriti



काठमाडौं – बढ्दो चिसोसँगै बुधबार मध्यरातको १२ बजे ललितपुर वरपर 
मानिसहरूको चहलपहल बाक्लै थियो। मध्यरातमा ललितपुरस्थित कार्तिक 
डबलीमा आयोजित कार्तिक नाचको आयोजक कार्तिक नाच संरक्षण 
समितिलाई भिड नियन्त्रण गर्न भ्याइनभ्याइ थियो। कार्तिक नाचअन्तर्गत 
मध्यरातको १२ बजे देखाइने नरसिंह अवतार र नाच हेर्न मान्छेको भीडले 
डबली खचाखच थियो।  काठमाडौं उपत्यकाको सबैभन्दा लामो नाचका 
रुपमा चर्चित कार्तिक नाचमा भगवानको अवतार नरसिंहले हिरण्य 
कश्यपु नामक दैत्यलाई बध गर्ने परम्परागत तान्त्रिक विधि समेटिएका 
थियो। दैवि शक्तिसमेत रहेको भनिएको यस नाचमा नरसिंहले दैत्यलाई
 बध गर्दा हिरण्य कश्यपुको भेषभुषामा डबलीमा देखिएका कलाकार 
किरण चित्रकार साँच्चिकै बेहोस भएका थिए। परम्परागत किवंदन्तीअनुसार 
मंगलबजारस्थित मगंहिटीको पानी ल्याएर खुवाएपछि मात्रै हिरण्य कश्यपुको 
भेषभुषामा सजिएका कलाकारको होस खुलेको थियो।
तलेजु मन्दिरका पुजारीसमेत रहेका कोरियोग्राफर सञ्जय शर्माले नाचका क्रममा 
डबली बेहोस भएका हिरण्य कश्यपलाई विधिपूर्वक पूजा गरेर व्यूझाएका थिए। 
‘मगंलबजारमा रहेको मगंलहिटीबाट पानी ल्याएर मन्त्र उच्चारणसहित पूजा गरेपछि 
मात्रै हिरण्य कश्पयको होस आउने गरेको छ। भगवान् विष्णु भगवानको नरसिंह 
अवतारले हिरण्य कश्यपको बध गराउने कथामा यो नाच आधारित छ,’उनले भने। 
एक महिना अवधिमा देखाइने नाच १२ दिन देखाउनुपर्दा धेरै नाचहरू छुट्ने उनले खुलाए।


एक महिना देखाइने नाच आर्थिक समस्याका कारण १२ दिन मात्र चल्नेछ।  मंगलबजारस्थित मगंहिटीको धाराबाट आउने पानी सुक्दै गएका कारण नाचमा अनिवार्य आवश्यक पर्ने पानीको पनि अभाव हुन थालेको  छ।
‘करिब एक महिना देखाइने नाच यसपटक आर्थिक समस्याका कारण १२ दिनमा देखाउनु परेको छ। त्यसबाहेक मंगलबजारस्थित मगंहिटीको धाराबाट आउने पानी सुक्दै गएका कारण यस नाचमा अनिवार्य आवश्यक पर्ने पानीको अभाव सुरु भइसकेको छ,’उनले भने। उनका अनुसार नाचमा कलाकारहरू जुटाउनसमेत उत्तिकै गाह्रो  हुन थालेको छ।
विष्णु पुराणअन्तर्गत नरसिंह अवतारको कथामा आधारित यो नाचमा विशेष पूजा गरिन्छ। यस नाचमा नरसिंह हरिवंश उपाध्याय वंशज र हिरण्य कश्यपु दैत्य नेवार समुदायका चित्रकार हुनुपर्छ। यसपटक कृतज्ञधर राजोपाध्याय नरसिंहको भूमिकामा देखिएका थिए।
राजा सिद्धि नरसिंह मल्लको पालादेखि सुरु भएको तीन सय ७८ वर्ष पुरानो सांस्कृतिक
 कार्तिक नाच गत कार्तिक २६ देखि नियमित रुपमा १२ दिनसम्म प्रदर्शन हुनेछ।
कार्तिक नाच संरक्षण समितिका अनुसार यसअवधिसम्म बाःथ प्याखं, उषा हरण,
 जल शयण, बराह अवतार, नरसिंह अवतार, वस्त्र हरण र दधि लीलालगायत नाचहरू 
देखाइने  छ।
कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार परम्परागत
 कात्र्तिक नाच केही परिवर्तन भएका छन्। यस नाचलाई निरन्तरता दिन चुनौती 
हुँदै गएको उनको अनुभव छ। ‘सुरुमा आठ दिनमात्र देखाइने गरिएको नाच 
कृष्णलीलामा आधारित थियो। त्यतिबेला बराह र नरसिंह नाचसँगै अन्य नाचहरू
 देखाइन्थ्यो। पछि सिद्धिनर सिंहका छोरा श्रीनिवास मल्लको पालामा सात 
दिन थपेर लोक नाटकहरू समावेश गरेर नाच देखाइन थालियो,’उनले 
भने, ‘अहिले तुलनात्मक रुपमा स्वदेशी तथा विदेशी दर्शकहरूको भीड लाग्ने
 गरेको छ। यसलाई निरन्तरता दिन गाह्राे छ।’

रकम अभावका कारण कात्र्तिक नाचअन्तर्गतका बुद्ध लीला र वस्त्र हरणलगायत
नाच लोप भइसकेका छन्। समितिका अनुसार २७ दिन नाच सञ्चालन गर्न १५ लाख
 रूपैयाँ आवश्यक पर्छ। १२ दिने कार्तिक नाचका आवश्यक पर्ने साढे ५ लाखमध्ये
ललितपूर महानगरपालिकाले २ लाख र  पाटन संग्रहालयबाट २० हजार रकम उपलब्ध
गराएको थियो।
तस्बिर : शाेभा ज्ञवाली














स्स्रोत स्रोत : https://nagariknews.nagariknetwork.com/news/62607/


Wednesday, November 21, 2018

Rajopadhyaya in News: आज कार्तिक नाचमा दैत्य ब्युँताउन समस्या !

SamacharDesk – कल्चर ब्यूरो | २०७५ मङ्सिर ५, बुधबार
कार्तिक नाच अन्तर्गत आज दैत्य ब्युँताउनलाई समस्या देखिएको छ । मंगलबजारस्थित ढुङ्गेधारा वासः हितिमा पानी सुकेसँगै दैत्य ब्युँताउन समस्या देखिएको हो । 
मंगलबजारस्थित कार्तिक डबलीमा आज कार्तिक नाचमा नरसिंह अवतार प्रस्तुत हुनलागेको छ भने यस नाचमा नरसिंहले दैत्यलाई छुने वित्तिकै दैत्य मुर्छित हुने गर्दछ । 
सो क्रममा वासः हितिबाट ल्याइएको चोखो पानी ख्वाएर दैत्यलाई ब्युँताउने गरिन्छ । तर वासः हिति सुकेर पानी नै नआउने भएपछि आज मुर्छित दैत्यलाई ब्युँताउन समस्या देखिएको हो ।
सिद्धिनरसिंह मल्लको पालामा शुरु गरिएको कार्तिक नाचमा नरसिंह अवतार विशेष एवम् मुख्य प्रस्तुतिको रुपमा लिइन्छ । नाच एवम् वाद्यवादनको विकास सिद्धिनरसिंह मल्लका शिक्षा गुरु हरिवंश उपाध्यायले र दिक्षा गुरु विश्वनाथ उपाध्यायले आवश्यक तन्त्र विधि सम्पन्न गरी यो नाच निर्माण गरेको ईतिहास रहेको छ । सो समयमा हरिवंश उपाध्याय आफैं नरसिंह बनेको र तन्त्र विधि अनुसार विश्वनाथ उपाध्यायले दैत्यलाई ब्युँताएको कथन रहेको छ । 
सोही परम्परा आजसम्म निरन्तर हुँदै हरिवंश उपाध्यायका वंशज ललितपुर गाःबहालस्थित महाद्यःननिका राजोपाध्याय ब्राम्हणहरुले नरसिंहको भूमिका निर्वाह गरिरहेका छन् भने दैत्य ब्युँताउनलाई आवश्यक तन्त्र विधि विश्वनाथ उपाध्यायका वंशज पट्को टोल निवासी राजोपाध्याय ब्राम्हणहरुले गर्ने गरेका छन् । दैत्यको भूमिका भने नुगः त्वाः (सुन्धारा) निवासी चित्रकारहरुले गर्ने गरेका छन् ।
नरसिंह नाच प्रदर्शनको क्रममा नरसिंहले दैत्यलाई छुने वित्तिकै दैत्य मुर्छित हुने गर्दछ । मुर्छित भएका दैत्यलाई ब्युँताउनका लागी पट्कोका राजोपाध्याय ब्राम्हणले मंगलबजारस्थित ढुङ्गेधारा ‘वासः हिति’बाट चोखो पानी ल्याई मन्त्रसोधन गर्दै दैत्यलाई ख्वाएपछि मूर्छित दैत्य ब्युँतिने गर्छ । तर आज दैत्यलाई ब्युँताउनको लागी वासः हितिमा पानी नआएको अवस्थामा समस्या भएको छ ।
धारा सुकेको अवस्थामा खोलाबाट अथवा ईनारबाट अथवा कुवाबाट चोखो पानी ल्याउन सकिने विधि रहेपनि यी विकल्पमा पनि समस्या नै देखिएको छ । मंगलबजारबाट खोला टाढा रहेको अवस्थामा उक्त विकल्पमा पनि जान नसकिने देखिएको छ । 
त्यसैगरी मंगलबजार दरवारभित्र रहेका दुईवटा ईनारमध्ये केशव नारायण चोकको ईनार सुकिसकेको छ भने भण्डारखाल बगैंचाको ईनारमा पनि समस्या रहेको छ । हाल उक्त ईनारमा वर्षाको पानी जाने व्यवस्था मिलाउँदा चोक सरसफाई गर्दाको दुषित पानीको साथमा ढलको फोहर समेत सोही ईनारमा मिसिन जाने अवस्था रहेको तलेजु मन्दिरका पूजारी रक्षण राजोपाध्यायले बताउनुभयो । नजिक रहेका कुवाहरु पानी सुकेको अवस्था छ ।
आज दैत्य ब्युँताउनको लागी अल्पकालीन उपाय अपनाईसकेको जानकारी कार्तिक संरक्षण समितिका संचार संयोजक संजय शर्मा राजोपाध्यायले दिनुभयो । तर दीर्घकालीन रुपमा भने दैत्य ब्युँताउनका लागी समस्या नै देखिएको राजोपाध्यायको भनाई छ । कार्तिक नाचमा नरसिंह अवतार प्रदर्शन निरन्तरताका लागी वासः हितिमा निरन्तर पानी आउने व्यवस्था गर्न सम्बन्धित निकायले पहल थालिहाल्नुपर्ने समितिले जनाएको छ ।

Tuesday, November 13, 2018

Rajopadhyaya in News: ऐतिहासिक तान्त्रिकमाथि बन्यो जामनः गुभाजु

ऐतिहासिक विषयमा निर्मित नेपाल भाषाको फिल्म जामनः गुभाजु प्रदर्शनका लागि तयार भएको छ।
फिल्मका निर्मातामध्येका एक तथा निर्देशक रवि सायमीले फिल्म तत्कालीन नेवार समाज, नेवार संस्कृति तथा देश हितका लागि अमूल्य योगदान दिने नामुद तान्त्रिक जामन गुभाजुको जीवन कथालाई लिएर बनाइएको बताए। उनका अनुसार काठमाडौंको मुसुम्वहा निवासी जामनः गुभाजु करिब ४ सय वर्षअघि राजा प्रताप मल्लको शासनकालका नामुद तान्त्रिक थिए।
उनले देशमा सहकाल ल्याउन प्रताप मल्ललाई दीक्षा दिई काठमाडौंको ब्रम्हटोलस्थित जप तुं १२ वर्षे इनारभित्र पठाई स्वयम्भूको शान्तिपुरबाट निकालेको अत्यन्तै प्रख्यात किंबदतीमाथि फिल्म बनाइएको हो। ‘देशमा पानीको हाहाकार भएपछि जनता राजा प्रताप मल्लकहाँ गुहार्न गए। सिन्दुर जात्रा गरी देशमा सहकाल ल्याउनका लागि जामनः गुभाजुबाटै दीक्षित राजाले शान्तिपुरमा गएर नागको रगतबाट लेखिएको पुस्तक ल्याएर गुभाजुलाई दिएको कथा पनि यसमा समावेश छ’, निर्देशक सायमीले भने– ‘त्यतिबेला हिन्दुस्तानबाट आएका एक चटकेले देशमा भ्रम फैलाइरहेकाले उनलाई आफ्नो तन्त्र विद्याबाट आछुआछु पार्दै देशबाटै लखेटेको कथालगायत जामनः गुभाजुको निजी जीवनलाई फिल्ममा उतारेको छु। यो फिल्म पैसा कमाउने उद्देश्यले नभई जामनः गुभाजुको जीवनीलाई अगाडि ल्याउने उद्देश्यले बनाएका हौं।’
फिल्मको निर्माण संस्था द वाइल्ड बसल्स प्रोडक्सनका मन्दिरा मानन्धर तथा जेस्सी पेन्नी इन्टरटेन्टमेन्टका राजेन्द्रभक्त श्रेष्ठले फिल्म ४० लाख रुपियाँ बढीको लागतमा बनेको बताए। फिल्मले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा समेत विशेष छाप छोड्ने दाबी निर्माण तथा निर्देशन पक्षको छ। निर्माता निर्देशक सायमिका अनुसार मंसिर महिनामा रिलिज गर्ने तयारीमा रहेको फिल्ममा भीएफएक्स र कलर ग्रेडिङमै धेरै खर्च भएको छ। ‘तत्कालीन परिवेश र समयलाई हुबहु ढाल्नका लागि विशेष भीएएफएक्सको सहारा लिएका छौं। फिल्ममा ४० प्रतिशत भीएफएक्स प्रविधि प्रयोग गरेका छौं।
नेपाल भाषाका फिल्म कम बजेटको हुने हुनाले प्रायशः कलर ग्रेडिंग हुने गर्दैनथ्यो’, सायमी भन्छन्– ‘तर यति धेरै लगानी गरेर फिल्म बनाउँदा पनि नेपाल भाषाका फिल्मलाई रिलिजमा भने समस्या छ। भाषिक फिल्म भएकाले फिल्म वितरणमा नै प्रमुख समस्या भइरहेको छ। अहिलेको अवस्थामा फिल्म हलमा लगाउने त सम्भवै छैन भने पनि हुन्छ।’ सायमीको गुनासो छ– ‘हल नपाइने कारण नेपाल भाषाका फिल्महरू पहिलेदेखि नै च्यारिटी शोमा सीमित हुँदै आएको छ। अहिले हामीले पनि त्यस्तै गर्नुपर्ला। यसका लागि नेपाल भाषाका विभिन्न संघसंस्थाले सहयोग गर्दै छन्। फिल्ममा साउन्ड सिस्टमदेखि लिएर सबैमा अत्याधुनिक एवं गुणस्तरीय प्रविधि प्रयोग गरिएकाले पनि हामी यस फिल्मलाई रामै्र हलमा निरन्तर प्रदर्शन गर्ने पक्षमा रहेका छौं।’
फिल्ममा मुख्य पात्र जामनः गुभाजुको भूमिका सुशील राजोपाध्यायले निर्वाह गरेका छन् भने अन्य कलाकारमा सरस्वती मानन्धर, अर्णपूर्णेश्वरी श्रेष्ठ, पुष्करभक्त माथेमा, ओमशंकर श्रेष्ठ, साकार पन्त, संघरत्न शाक्य, सुलोचना श्रेष्ठ, उदेन न्हुसायमि, मन्दिरा मानन्धर, लक्ष्मीनाथ तिमिल्सिनालगायत रहेका छन्। सुशील राजोपाध्यायको कथा र पटकथामा बनेको फिल्ममा भवानी सिलाकारको छायांकन रहेको छ। फिल्मको अंग्रेजी सवटाइटल ओमशंकर श्रेष्ठले लेखेका छन्।

Thursday, November 8, 2018

Rajopadhyaya in News : नेवाः संस्कृति सिक्दै भारतीय युवायुवती



मध्यपुर थिमि, ५ भदौ l (मस)– मध्यपुरथिमिमा एक महिने नेवाः संस्कृति प्रशिक्षक–प्रशिक्षण शुरु भएको छ ।
दबुली नेपाल र संस्कृति संरक्षणका लागि युवा नेपाल नामक संस्थाको अग्रसरतामा नेवार समुदायका विदेशी युवायुवतीलाई २०७५ भदौ १ गतेदेखि एक महिने प्रशिक्षण शुरु भएको उक्त संस्थाका संरक्षक एवं संस्कृतिकर्मी गणेशराम लाछिले जानकारी दिए ।

भारतको ४ वटा राज्य आसाम, अरुणाचल, सिक्किम र पश्चिम बंगालबाट आएका दुई दर्जन नेवार समुदायका युवायुवतीहरु हिजोआज एक महिने प्रशिक्षणमा छन् ।

मध्यपुरथिमि चपाचोस्थित विनायक शिक्षा निकेतन स्कुलको सभाहलमा बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म प्रशिक्षण लिइरहेकाहरु २० देखि ४८ वर्ष सम्मका महिला, पुरुष छन् ।

बिहान ७ बजेदेखि ९ बजेसम्म नेवारी भाषा प्रशिक्षण, ९ देखि ११ लिपि एवं व्याकरण, १२ देखि २ सम्म बौद्ध धर्म एवं संस्कार २ देखि ४ सम्म वैदिक हिन्दु संस्कार, ४ देखि ६ सम्म नृत्य र साँझ ६ बजे देखि ८ बजेसम्म वाद्यवादनको प्रशिक्षण भइरहेको लाछिले बताए । कार्यक्रममा बालमुकुन्द प्रजापति, विष्णुबहादुर प्रजापति, हरिशरण राजोपाध्याय, स्वयम्भू बज्राचार्य, सरोज कसाः, जुजुमान महर्जन लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेका छन् ।

नेवार समुदायका प्रशिक्षार्थीहरुले एक महिने उक्त प्रशिक्षणपछि आ–आफ्नो क्षेत्रमा गएर अन्य नेवार समूदायका व्यक्तिलाई प्रशिक्षण दिने बताइएको छ ।

Source: http://www.madhyanhadaily.com/2018/08/22/%E0%A4%95%E0%A4%B0-%E0%A4%A4%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A8-%E0%A4%B8%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%80-%E0%A4%96%E0%A5%87%E0%A4%AA%E0%A5%8D%E0%A4%A6%E0%A5%88-%E0%A4%B5%E0%A5%8D/

Rajopadhyaya in News : नेवार समुदायको मौलिक पर्व म्हःपूजा


कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन्। चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्दछन्।

लक्ष्मी गारु
 ०३ कार्तिक २०७४ ०८:२८:५१
भक्तपुर: कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन्। चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्दछन्।

यतिखेर नेपाली समाज तिहारमय भएको छ। सबैलाई लक्ष्मी पूजा र भाइटीकाका लागि आवश्यक सामग्री जोहो गर्न भ्याइनभ्याइ भएको अवस्थामा नेवार समुदायलाई भने आज म्हःपूजा अर्थात् शरीर पूजाको तयारीको समेत चटारो परेको छ।
म्हःपूजाको शाब्दिक अर्थ शरीर पूजा हो । तिहारको चौथो दिन नेवार समुदायले आआफ्नो शरीर पूजा गर्दै म्हःपूजा पर्व मनाउने गर्दछन् । यस दिन नेवार समुदायले नेपाल संवत्को नयाँ वर्षका रुपमा समेत मनाउँदै आइरहेका छन् ।
म्हःपूजाका लागि सबैभन्दा पहिले मण्डप बनाउनु पर्दछ। मण्डप बनाउँदा तेलको घेरा, पीठो, अक्षता, लावा, मास र कालो भटमास लगायतको प्रयोग गरिन्छ। मण्डप तयार भइसकेपछि घरको मूलीदेखि लस्करै मण्डप अघि घरपरिवारका सबै सदस्य बस्नुपर्दछ।
त्यसअघि मण्डपमा बिमिरो, भोगटे, सुन्तला, ओखर, कटुस, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, बयर लगायतका फलफूल सजाइन्छ । म्हःपूजामा होस् या भाइटीका नेवार समुदायले विशेष खालको माला लगाउने गर्दछन् । सो माला काँचो धागोले बनाएको हुन्छ, जसलाई कोखा भनिन्छ । कोखा काँचो धागोमा रंङ्गीबिरङ्गी कपडाको टुक्रा राखेर बनाइन्छ ।
म्हःपूजा गर्दा पहिले गणेशलाई पूजा गरिन्छ । यो पूजा घरको नकीं (मूली महिला)ले गर्ने परम्परा छ । यो पूजा गर्दा शरीरमा तीनपटकसम्म मुटुमारी (चामलको रोटी) सहित पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर आदि राखेर पूजा गरिन्छ । अनि टीका लगाई माला लगाइन्छ ।
आफूले मान्नुपर्नेसँग टीका लगाई फूलमाला पहिरी अण्डा, माछा र रक्सी सगुन हातमा लिएर खाने गरिन्छ । यो पूजा आफ्नो शरीरमा लागेको पाप र रोग आदि सबै नास होस्, आयु लामो होस् भन्ने कामनाका साथ गरिन्छ । यो पूजा गर्दा बलिराजालाई साक्षी राखी पूजा गरिन्छ । यो पूजा गर्नुअघि घरमा प्रयोग हुने कुचो, नाङ्लो, चुलो, गाग्रीलगायतका सामानलाई समेत पूजा गर्ने प्रचलन रहेको छ ।
नेवार समुदायमा म्हःपूजाको विधि स्थान विशेषमा फरक फरक रहेको पाइन्छ । स्थान विशेषअनुसार पूजा गर्ने विधिमा केही फरकपन आएपनि सारमा पूजा गर्नुको उद्देश्य भने एउटै रहेको पाइन्छ ।
सामान्यतया समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्हःपूजा भन्नाले आत्मपूजाका रुपमा लिन सकिने पुरोहित तथा संस्कृतिकर्मी हरिशरण राजोपाध्याय बताउनुहुन्छ । उहाँका अनुसार मानव समाजमा आत्मभन्दा ठूलो केही पनि छैन, यही आत्मालाई शान्ति र सन्तुष्टि मिलोस् भनी यो पूजा गरिन्छ ।
“आत्म सन्तुष्टि नै सबभन्दा ठूलो सन्तुष्टि हो । यही म्हःपूजाको सेरोफेरोमा रहेर हामी काग, कुकुर, गाई, गोरुको पनि पूजा गर्छौं”– उहाँ भन्नुहुन्छ, “हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ । यी पाँच तत्वका रुपमा हामी तिहारमा गरिने पूजालाई लिन सक्छौँ ।” म्हःपूजा चेतनशील प्राणीले आफ्नो शरीरको रक्षा गर्न र शरीरलाई सधैँ स्वस्थ राख्न गर्ने भएकाले यसलाई सम्पूर्ण मानव समुदायले गर्नुपर्ने उहाँको भनाइ रहेको छ ।
म्हःपूजा मानव सभ्यता, संस्कृति, धार्मिक र आध्यात्मिक पक्षसँग मात्र नभई मानव विकासक्रमसँग जोडिएको पाइन्छ, किनभने पञ्च मकारका रुपमा लिँदा अण्डालाई मैथुनका रुपमा लिइन्छ । जसमा प्राण छ, प्राण भएपछि सृष्टि हुन्छ जसले गर्दा मानव सभ्यताको विकासक्रममा यसले सहयोग पु¥याएको देखिन्छ ।
म्हःपूजाको दिन नेपाल संवत् शुरु हुने दिन पनि हो । वर्षभरि कृषि कर्म गर्नुपर्ने भएकाले नेवार समुदायले वर्षको पहिलो दिन वर्षभरि शरीरमा कुनै रोगव्याधीले नसताओस् र शरीर सधैँ तन्दुरुस्त होस् भन्ने कामनाले पनि म्हःपूजा गर्ने प्रचलन शुरु भएको अर्का संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।
म्हःपूजा कहिलेदेखि शुरु भएको वा कसले चलाएको भन्नेबारे यकिन प्रमाण त छैन तर यो पर्व नेवार समुदायले लिच्छवीकालदेखि नै मनाउँदै आइरहेको धौभडेल बताउनुुहुन्छ ।
म्हःपूजाको दिन शंखधर साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्तागरी ऋणबाट मुक्त गराएको आख्यानसमेत रहेको छ । शंखधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल संवत् शुरु भएको कथन पाइन्छ ।
सो कथनअनुसार एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एकजना प्रख्यात ज्योतिषीले शास्त्र हेरी शुभ मुहुर्तमा विष्णुमती र भद्रमतीको बीचमा रहेको चंखुतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ति चढाउँछन् । सोहीअनुसार चारजना भरियालाई राजा आनन्द देवले गोप्य रुपमा चंखुतीर्थमा बालुवा लिन पठाउँछन् । ती भरिया बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शंखधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनुको कारण खोज्न थाले ।
उनले बालुवामा केही रहस्य भएको शंका गरी ती भरियालाई लोभमा पारेर थप ज्याला दिई बालुवाको भारी आफ्नो घरमा खन्याउन लगाई भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाए ।


नेपाल सम्बत नयाँ वर्ष र म्ह पूजाको तालमेल- मृगेन्द्र सुबेदी




साभार : 

Friday, October 26, 2018

Rajopadhyaya in News : आजबाट ढोकाटोलमा एकमहिने कार्तिक महात्म्यको कथा वाचन






कार्तिक महिनामा महिलाहरूले ब्रम्हा मुहूर्तमा स्नान गरेर राधा—दामोदरको पूजा  गर्दा  मोक्ष प्राप्त हुने जिकिर  
काठमाडौं कार्तिक ८, वडा दशैको अन्तिम दिन अर्थात चन्द्रमास अनुसार कोजाग्रत पूर्णिमाको भोलीपल्टबाट सुरु हुने कार्तिक महिना १२ महिनाहरू मध्ये एक महिना हो। यो महिना शरदऋतुको दोस्रो महिना पनि हो । कात्तिक महिना भन्ने वित्तिकै कार्तिक स्नानको प्रसंग आउँछ ।
जुन स्नाको आफैमा ठुलो महत्व रहेको छ । धार्मिक मान्यता अनुसार यस महिनामा स्नान, दान, आदी कार्य गर्दा मोक्ष प्राप्तिको मार्ग पहिल्याउँन सकिने जानिफकारहरु बताउँछन ।
त्यस्तैभर्म शास्त्रमा कार्तिक महिनाको विशेष महत्व उल्लेख गर्दै १२ महिनामा हरेक महिनाको आफ्नैआफ्नै महत्व रहेपनि स्कन्द पुराणले कार्तिक महिनालाइ व्रत र तपको दृष्टिबाट अत्यन्त महत्वपूर्ण महिनाको रुपमा व्याख्या गरिएको छ ।  कार्तिक महिना कल्याणकारी महिना भएको जिकिर गर्दै यसको महिमा उल्लेख गरिएको छ ।हो यी यस्ता धार्मिक महत्वलाइ मनन गर्दै कामपा वडा न.१९स्थित ढोकाटोलमा श्री वाल गोपाल भजन सञ्चालन संस्थाद्दारा एक महिने कार्तिक महात्म्य वाचन कार्यक्रमको आयोजना गरेका छन ।

कथावाचक सुशील राजोपाध्यायको मुखारविन्दुबाट एकमहिना सम्म प्रत्येक दिन हुने कथा वाचन कार्यक्रम हुँने आयोजक संस्थाका उपाध्यक्ष गोपाल मानन्धरले जानकारी दिएका छन। साथै उपाध्यक्ष मानन्धरले कथा वाचन कार्यक्रम आयोजनाका लागि संस्थाका अध्यक्ष अम्विका सिंह महर्जनको अध्यक्षतामा ३१ सदस्यीय मुल समिति र विभिन्न उपसमितिहरु समेत गठन गरिएको बताए ।
यस्तो छ कार्तिक महात्म्यको महत्व :  तुलाराशिमा सूर्यनारायण प्रवेश हुनेबित्तिकै प्रारम्भ हुने कार्तिक महिनाको महत्वको पद्म पुराण र स्कन्द पुराणमा विशेष रूप वर्णन गरिएको छ । कार्तिक महिनामा महिलाहरूले ब्रम्हा मुहूर्तमा स्नान गरेर राधा—दामोदरको पूजा गर्दछन् । यसरी पूजा गर्दा व्रत बस्दा मोक्ष प्राप्त हुने जिकिर गरिएको छ ।  यस विषयमा भगवान् नारायणले ब्रम्हा लाई, ब्रम्हाले नारदलाई र नारदले महाराज पृथुलाई कार्तिक महिना नै सर्वगुण सम्पन्न महात्म्यको सम्वन्धमा बताउनुभएको उल्लेख गरिएको छ ।

जसअनुसार संसारमा सबै मानिस सुख, शान्ति र परम आनन्द चाहन्छन् । कोही पनि यस्ता हुँदैनन, जो आफू र आफ्ना परिवारलाई अशान्ति र दुःख चाहोस् । तर मानिसले बुझ्नपर्दछ कि दुःखबाट मुक्ति कसरी प्राप्त गर्न सकिन्छ । शास्त्रको भनाइअनुसार कार्तिक महिनामा स्नान व्रत जस्ले गर्दछ, उसले संयमका साथ नियमको पालना गर्नुपर्दछ । साथै श्रद्धा भक्तिपूर्वक भगवानको आराधना गर्नुपर्दछ । जसले यसरी नियममा रहेर कार्तिक महिनाभर स्नान व्रत गर्दछ, ऊ सपरिवारले आनन्द प्राप्त गर्ने सवामाल कुनै शंकोच नभएको र यस महिनामा व्रत बस्नेले अमलाको बोट मुनि बसेर भगवान् कार्तिकेयको कथा सुन्नुपर्दछ । साथै कन्या कुमारीलाई भोजन गराई आफूहरू पनि भोजन गर्नु पर्ने बताइएको छ । कार्तिक महिनाभर तुलसीको पूजा, आकाश दीप, पाताल दीप बालेर सेवा गर्नुपर्दछ र यसरी पूजा गरिएको । ठाउँमा यमराजका दूतहरू पनि आउन नसक्ने धर्मसास्त्रमा वर्णन गरिएको पाइन्छ ।