Thursday, March 20, 2014

Rajopadhyaya in News: सदाबहार पानी रंग

सदाबहार पानी रंग



    काठमाडौ, चैत्र ५ - 
     चित्रकलामा पानी रंग -वाटर कलर) को विशिष्ट स्थान रहेको मानिन्छ । प्राचीन माध्यमका रूपमा हेरिने पानी रंगका पेन्टिङको महत्त्व अहिले पनि उत्तिकै बेजोड छ । यही महत्त्वलाई बुझेर यतिबेला नेपाल ललितकला प्रज्ञा प्रतिष्ठाननको चित्रकला विभागले नेपाल वाटर कलर सोसाइटी र ट्रान्सप्यारेन्ट वाटर कलर सोसाइटीसँग मिलेर कला प्रदर्शनी गरेको छ ।

    नक्सालस्थित ललितकला प्रतिष्ठान हलमा बुधबारदेखि आठ दिनका लागि ४१ कलाकारका पेन्टिङ प्रदर्शनीमा छन् । प्रदर्शनी वाटर कलरका लागि मात्रै नभई संलग्न कलाकारका कारण पनि कला पारखीका लागि उपयोगी देखिएको छ । स्वर्गीय दिलबहादुर -डीबी) चित्रकारदेखि समकालीन कलाकारहरू दुर्गा बराल, किरण मानन्धर, टेकवीर मुखिया, श्यामलाल श्रेष्ठ, शंकरराज सिंह सुवाल, शारदा चित्रकारका सिद्धहस्त पेन्टिङ समकालीन वाटर कलरको साक्षी लाग्छन् । 

    'मोजेक नेपाली वाटरकलर पेन्टिङस्' नाम दिइएको उक्त प्रदर्शनीलाई बुधबार संस्कृति मन्त्री भीम आचार्यले उद्घाटन गरे । प्रदर्शनीमा पुराना र नयाँ पुस्ताले पानी रंगको माध्यमबाट कोरिएका कला राखिएका छन् । जसमा शान्तकुमार राई, धनु याख्खा, क्षेत्रलाल कायश्थ, बुद्धि गुरुङ, जीवन राजोपाध्याय, श्रीजन राभण्डारी, रत्नकाजी शाक्य, चिरञ्जीवी मकाजू, राजेन्द्रप्रसाद यकामी, नारायण लामिछाने, राजु पिठाकोटी, भीम श्रेष्ठ, विनोद गुप्ता, डिराम पाल्पाली, एनबी गुरुङ, एलपी गुरुङ, राजु चित्रकार, सूर्य बराइली, बीआर श्रेष्ठ, पदम घले, रमेश श्रेष्ठ, शान्ता हिताङ, इसान परियार, सुरेन्द्र प्रधान, बाबुराजा द्योला, मन्दिरा मल्ल, कृष्णबहादुर थिंग, विश्वराज पराजुली, सागर मानन्धर र नीरा जोशीका वाटरकलर पेन्टिङ राखिएका छन् । 

    कलाकार डिबी चित्रकारले सन् २००९ मा कोरेको मन्दिर र पाटीको पेन्टिङले धर्म, संस्कृति र परम्परालाई व्याख्या गरेको छ । मन्दिर परिसरसँगै रहेको पाटीले सार्वजनिक बासस्थानको पुरानो प्रचलनलाई झल्काएको छ । 

    कलाकार कर्ण मास्केको स्टिल लाइफमा टोकरीमा अनेक थरीका फलफूल अटाएको देखिनुले कतै समतामूलक समाजको प्रतिविम्ब पो गरेको छ कि झैं लाग्छ । 

    टेकवीर मुखियाको पेन्टिङमा भने बाच्छो  अंगाल्दै गरेकी बालिकाको आकृतिलाई क्यानभासमा समेटेको छ । जसमा मानव र जनावरको अन्तरसम्बन्ध दर्शाउन र जनावरप्रतिको प्रेमभाव देखाउन चित्र कोरेको मुखियाले बताए । प्रतिष्ठानका कुलपति किरण मानन्धरले अमूर्त शैलीमा पुरुष र नारीको महत्त्व चित्रमा देखाउने प्रयास गरेका छन् । एब्स्ट्रयाक आर्टमा मानन्धरले नारी-पुरुषको निकटतालाई दर्शाएका छन् । कार्टुनिस्ट वात्स्यायनका नामले बढी चिनिएका दुर्गा बरालको वाटर कलरमा रहेको सहरी ल्यान्डस्केपबाट हाम्रो समाजलाई प्रतिविम्बित गर्ने प्रयास गरेका छन् । उनका कलाले राजनीतिक व्यवस्था, पार्टी र नेता प्रवृत्तिमाथि व्यंग्य गरिरहेको बुझ्न गाह्रो पर्दैन । एउटा सहरिया सडकको परिवेश चित्रमा उतारेका उनले अहिलेसम्म नेपालीले के पाए र के गुमाए ? भन्ने प्रश्नको उत्तर खोज्न बाध्य बनाउँछ । खाल्डो बनेको सडक, जथाभावी ट्राफिक, अभद्र सहरको दृश्य हरेपछि दर्शकले सबै प्रश्नको जवाफ पाउँछ ।

    शारदा चित्रकारले हिमाली र पहाडी दृश्यलाई उतारेकी छन् । शान्ताकुमार राईले चाहिँ नारीको कोमल भाव चित्रमा देखाउने प्रयास गरेकी छन् । अत्यन्त प्रेमपूर्ण भावमा जनावरलाई नियाल्दै गरेको आकृतिले नारीभित्रको कोमलता झल्किन्छ । शान्ता कुमारले वाटर कलर छिट्टै सुक्ने गुण भएकाले बाहिर जहाँसुकै लगेर पनि काम गर्न मिल्ने बताए ।  

    बोटानिकल क्षेत्रमा पेन्टिङ बनाउन रुचाउने नीरा जोशी प्रधानले राष्ट्रिय फूल लालीगुराँस कोरेकी छन् । राजु पिठाकोटीले चन्द्रमाको उज्ज्यालो प्रकाशले वनस्पतिमा सौन्दर्य प्रदान गरेको सुन्दर दृश्य उतारेका छन् ।

    प्रकाशित मिति: २०७० चैत्र ६ ०९:२६