Sunday, December 22, 2019

Rajopadhyaya in news: हात्तीको गोबरलाई मोहर बनाउनेहरू

हात्तीको गोबरलाई मोहर बनाउनेहरू
अनुषा अधिकारीकाठमाडाैं, पुस ६

Source: https://www.setopati.com/nepali-brand/195964

सन्नी राजोपाध्याय (दायाँ) र जोनेज शाक्य। तस्बिर सौजन्यः इकोअर्ब

सन्नी राजोपाध्याय घुमफिर गर्न चितवन गइरहन्छन्। सौराहाको सुन्दरतामा मोहित उनी खाली समय हात्ती शिविर र प्राकृतिक वातावरणमा रमाउँछन्।
हरेकपटक सौराहा भ्रमणमा सन्नीको ध्यान त्यहाँको अव्यवस्थित हात्तीको गोबरमा गइरह्यो। चारैतिर फैलिएको गोबर त्यहाँका स्थानीयलाई पनि 'टाउको दुखाइ' बनेको थियो। एकाधले बारीमा मलका रूपमा प्रयोग गर्थे। बाँकी जलाइन्थ्यो।
'सेना र स्थानीयको गन्तीमा सौराहामा करिब २०० हात्तीबाट दिनमा २०० किलो गोबर उत्पादन हुन्छ,' इकोअर्बका सहसञ्चालक जोनेज शाक्य भन्छन्, 'हात्तीको गोबर बाटो र जंगलभरि जथाभाबी फैलिन्छ। यसले वातावरण दुर्गन्धित बनाउनुका साथै प्राकृतिक आकर्षणमा पनि असर पुर्याउँछ।'
अन्य पर्यटकझैं सन्नी घुमघाम गरेर मात्रै फर्किन चाहेनन्। हात्तीबारे अनुसन्धान गर्न थाले र गोबरबाट कागज बनाउन मिल्ने ज्ञान पाए।
उनले यो उपाय 'नेपाल कम्युनिटर' संगठनलाई बताए। संगठनले हरेक वर्ष नयाँ 'आइडिया' छानेर कार्यान्वयन गर्न नगद पुरस्कार दिन्छ।

सन्नी राजोपाध्याय हात्तीको गोबरबाट कागज बनाउने काममा। तस्बिर सौजन्यः इकोअर्ब

त्यहाँबाट सन्नीले पचास हजार रूपैयाँ जिते र आफ्नो ज्ञानलाई व्यवहारमा उतार्दै सन् २०१८ मा 'इकोअर्ब' कम्पनी स्थापना गरे। इकोअर्बमा 'इको' 'अर्ब' दुई भिन्न शब्द जोडिएका छन्। इकोले पर्यावरण र अर्बले गोलाकार भूमि भन्ने बुझाउने जोनेज बताउँछन्।
कम्पनी स्थापना भएको दुई महिनापछि जोनेज र सन्नीको सहकार्य सुरू भएको हो। त्यो बेला २८ वर्षीय सन्नी मार्केटिङ म्यानेजर र २६ वर्षीय जोनेज एकाउन्टेन्टका रूपमा काम गर्थे।
कागज उत्पादन क्षेत्र उनीहरू दुवैका निम्ति नौलो थियो। भरपर्दो जागिर छाडेर नयाँ व्यवसायमा लाग्दा सुरूआती दिनमा दुवै सञ्चालकका परिवारबाट असहमति पनि भयो। छोराहरूले रातभर काम गर्नुपर्ने र चितवन जाँदा आफैंले गोबर उठाउनुपर्ने काम परिवारलाई मनपरेको थिएन।
उनीहरू अलमलमा थिए। धेरै ज्ञान नभएकै कारण सुरूका दिनमा उनीहरूलाई हात्तीको गोबरबाट कागज बनाउन निकै मुश्किल भयो। बजारमा ठूला कम्पनीले उत्पादन गरेका कागजको माग भएको समयमा आफ्नो व्यवसाय 'फ्लप' हुने डर पनि थियो।
त्यो डरलाई उनीहरूले बाधा बन्न दिएनन्।
जोनेज शाक्य। तस्बिरः निशा भण्डारी/सेतोपाटी

तीन महिनाको अन्तरालमा गुणस्तरीय कागज बनाउन सिकेर मात्रै व्यवसाय अघि बढाए। जोनेजका अनुसार सौराहास्थित 'ग्रिन सोसाइटी' नामक संस्थाले यसअघि हात्तीको गोबरबाट कागज उत्पादन गर्दै आएको थियो। ती कागज सजिलै च्यातिने र कमसल भएकाले इकोअर्बले साझेदारीमा गुणस्तरीय कागज बनाउने निर्णय गरेको हो।
इकोअर्बले चितवनबाट 'ग्रिन सोसाइटी' संस्थासँग सहयोग लिएर गोबर उतै 'रिफाइन' गर्छ र काठमाडौं ल्याउँछ।
जोनेजका अनुसार हात्तीले ४० प्रतिशत खाना मात्र पचाउन सक्छ। बाँकी ६० प्रतिशत उस्तै हुन्छ। नपचेका खाना गोबरमा आउँछ, जुन नरम हुन्छ। यसबाट 'फाइबर' बनाउन सहज हुन्छ।
'रिफाइन' प्रक्रियामा गोबर धोएर फाइबर निकालिन्छ। फाइबरबाट किटाणु मार्न करिब सात घन्टा पानीमा उमालिन्छ र केही बेर घाममा सुकाइन्छ। त्यसपछि ग्राइन्डिङ मेसिनमा पिसेपछि 'पल्प' (लेदो) तयार हुन्छ। फेरि एकपटक सुकाएपछि मात्रै कागज उद्योगमा दिइन्छ।  
हात्तीको गोबरबाट बनेका कागजका झोला। तस्बिरः निशा भण्डारी/सेतोपाटी

इकोअर्बले अहिले सेनाका हात्तीका गोबर मात्र कागज उत्पादनका लागि प्रयोग गरिरहेको छ। स्थानीयले पालेका हात्तीलाई दाना खुवाउने हुनाले तिनका गोबरबाट राम्रो कागज बनाउन नसकिने जोनेज बताउँछन्। सेनाका हात्ती जंगल डुल्ने भएकाले गोबरमा कागज बनाउने रूखका फाइबर धेरै पाइन्छ।
इकोअर्बले ग्रिन सोसाइटीबाट प्रतिकिलो पाँच सय रूपैयाँमा 'पल्प' किनेर काठमाडौंको कागज उद्योगमा उत्पादनका लागि दिन्छ। रूख काटेर कागज बनाइने प्रक्रिया हटाएर नयाँ परिवर्तन ल्याउने प्रयास गरेको इकोअर्ब बताउँछ।
वन फँडानी, वातावरण र श्रमशक्ति सबैलाई ध्यानमा राखेर कम्पनीले हात्तीबाट प्राकृतिक रूपमै कागज उत्पादन गर्ने प्रक्रिया पूरा गरेको छ।
यो प्रक्रियामा मेसिन र रसायनको प्रयोगबाट फाइबर निकालिने भएकाले नरम बनाउने झन्झट नहुने जोनेजको भनाइ छ। साथै, थोरै गोबरबाट पनि धेरै कागज उत्पादन गर्न सकिन्छ।
'पाँच केजी गोबरबाट करिब तीन सय कागज बनाउन सकिन्छ,' उनले भने, 'सौराहामा धेरै हात्ती भएकाले पर्याप्त कागज उत्पादन गर्न सकिन्छ।'
चितवनमा बढ्दै गएको हात्ती शिकार रोक्न इकोअर्बले पुर्ख्यौली शिकार गरिरहेका व्यक्तिलाई पनि रोजगारी दिएका छन्। उनीहरूसँगै स्थानीय महिला गरी ६७ जना कम्पनीमा काम गरिरहेका छन्।
जोनेज शाक्य। तस्बिरः निशा भण्डारी/सेतोपाटी

हात्तीको गोबरबाट बनेका कागजका डायरी। तस्बिरः निशा भण्डारी/सेतोपाटी

एक वर्षयता हात्तीको गोबरबाट लगभग पाँच हजार कागजका पाना उत्पादन गरिसकेको उनी बताउँछन्। कम्पनी फस्टाउँदै गएपछि परिवारले पनि समर्थन जनाएको जोनेजले बताए। अहिले त उनीहरूका परिवार नै इकोअर्बका हरेक कार्यक्रममा सहभागी भएर उपस्थित व्यक्तिलाई कम्पनीबारे जानकारी दिन्छन्।
जोनेजका अनुसार बजारका अन्य वातावरणमैत्री कम्पनी र व्यक्तिले पनि गोबरबाट कागज उत्पादन गर्न प्रेरणा लिइरहेका छन्। हात्तीको गोबर बटुलेर मोहर बनाउने काइदा उनीहरू सिकाइरहेकै छन्।
इकोअर्बले कागजका साना नोटबुक, कापी, भिजिटिङ कार्ड, ब्याग र 'कस्टमाइज्ड' बाकसहरू उत्पादन गरिरहेको छ। यी सामानमध्ये बाकस अन्यभन्दा विशेष र नौलौ देखिन्छ।
'उत्पादन भएका बक्सभित्र हामीले 'सिड बम' अर्थात् रूखका बिउ राखेका छौं,' जोनेजले भने, 'बक्स प्रयोग गरेपछि फालियो भने पनि बिउबाट बिरूवा उम्रन्छ।'
इकोअर्बका सामान फेसबुक पेजइन्स्टाग्राम वा नेपाल कम्युनिटरबाटै पनि किन्न सकिन्छ। सबै काम हातबाटै बन्ने भएकाले ती समानको मूल्य बजार भाउभन्दा दस प्रतिशत बढी भएको जोनेज बताउँछन्।
सन्नी र जोनेजले हात्तीको अव्यवस्थित गोबरलाई नयाँ ढंगले सदुपयोग गरेपछि त्यहाँका मानिसले पनि यसबारे ज्ञान पाएका छन्। तर, अझै स्थानीयले गोबर कारखानामा दिनुभन्दा फ्याँक्न वा जलाउनै खोज्ने जोनेज बताउँछन्।
'हाम्रो मुख्य उद्देश्य हरेक हात्तीको गोबर टिपेर कारखानामा ल्याउन प्रेरित गर्नु हो। यो कुरा भन्न सहज भए पनि स्थानीयलाई बुझाउन समय लाग्न सक्छ,' उनले भने।
हात्तीको गोबरबाट कागज बनाउन तयार पल्प। तस्बिरः निशा भण्डारी/सेतोपाटी  
हात्तीको गोबरबाट बनेका कागजका बाकस। तस्बिरः निशा भण्डारी/सेतोपाटी 

हात्तीको गोबरबाट इकुर्बले बनाएका सामान। तस्बिर सौजन्यः इकोअर्ब


प्रकाशित मिति: आईतबार, पुस ६, २०७६, ११:३६:००

Wednesday, December 18, 2019

Rajopadhyaya in news : हिरण्यकश्यपकाे बध गरेपछि कलाकारले होस गुमाए

हिरण्यकश्यपकाे बध गरेपछि कलाकारले होस गुमाए


2019-11-11-4011


यलु जोशी
ललितपुर, कार्तिक २५ गते । पाटनको कृष्णमन्दिर डबलीमा आइतबार माहोल बेग्लै थियो । जति रात ढल्कँदै जान्थ्यो, त्यति यहाँ चहलपहल बढ्थ्यो । मध्यरातसम्म आइपुग्दा कृष्ण मन्दिर छेवैको डबली वरपर थामिनसक्नुको भीड थियो । ऐतिहासिक कात्तिक नाचका क्रममा राति नरसिंह अवतारको हिरण्यकश्यप बध देखाइएको हुनाले भीड बाक्लै थियो । साे नाच हेर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराइ पनि पुग्नु भएकाे थियाे । 
मङ्गलबजारस्थित कात्तिक डबलीमा प्रदर्शन हुने ३७८ वर्ष पुरानाे परम्परागत नाचमा हिरण्यकश्यप पात्रको बध गरेपछि कलाकारले साँच्चै होश गुमाउने कथन छ । हिरण्यकश्यपले होस् गुमेदेखि फर्किदासम्मको दृश्य धेरैले रुचाए । कात्तिक नाच संरक्षण समितिका संजय शर्मा राजोपाध्याय त्यस क्षण आगन्तुकका लागि सबैभन्दा चाखलाग्दो बन्ने गरेको बताउनुभयो ।
कात्तिक नाचको विशेष आकर्षण भनेकै हिरण्यकश्यप बधलाई मानिन्छ । नाचको सुरुमा कृष्ण नाच देखाइयो । कालो लुगामा कृष्णलाई अरुले साथ दिएक थिए।
कृष्ण नाचपछि हिरण्यकश्यपु र प्रह्लाद नाच देखाइयो । हिरण्यकश्यपु र उनका छोरा प्रह्लादका साथ दुई दैत्य नृत्य गर्छन् ।
भगवान् विष्णुले नरसिंह अवतारको रूप धारण गरी हिरण्यकश्यपको बध गर्ने प्रस्तुतीलाई हेर्न सबैले रातको १ं.०० बजे सम्म कुरिरहेक थिए । २००७ सालपछि नाच छोट्याउने क्रममा संवाद हराइसकेको भए पनि समय क्रमसँगै यो नाचको अवधि पुनः लम्ब्याइएपछि अहिले केही संवाद पनि सुन्न पाइन्छ । संवाद सुनेर दर्शकह रमाउँछन् ।
प्रह्लादलाई दैत्य गुरुहरु ओम् नमः शिवाय् भन्न सिकाउँछन् । तर ओम् नमः शिवाय साटो ओम् नमो भगवते बासुदेवाय् मात्र भन्छन् । सिकाउँदा सिकाउँदा गुरुहरु थाक्छन् । हिरण्यकश्यपुले आफ्ना छोरालाई बाँध्न आदेश दिन्छन् । नाचको चरमोत्कर्ष तब सुरु हुन्छ ।
मसालहरू दन्काइन्छन् । पाटन दरबारबाट नृसिंह बाहिर ल्याइन्छ । खम्बा फोरेर नृसिंह अवतार बाहिर निस्कन्छ । नृसिंहको छायाँ पर्न नहुने भएकोले डबलीमा मसाल दनदनी दन्काइन्छ । नृसिंहले नाच्दै हिरण्यकश्यपुलाई खेदाउँछन् । नाचको महत्त्वपूर्ण दृश्य नै यही हो ।
नाच्दानाच्दै नृसिंहले दैत्यलाई फन्दामा पार्ने प्रयास गर्छ । तर पटक पटक दैत्य उम्कन्छ । अन्त्यमा नृसिंहले दैत्यलाई भाग्नै नसक्ने गरी घेरामा पार्छन् ।
नृसिंहले यसो छोएको मात्र के हुन्छ, हिरण्यकश्यपु साँच्चिकै अचेत हुन्छन् ।
आइतकार बेलुका ८ बजेबाट सुरु भएको नाच सोमबार विहान २ः१५ बजे सकिएको थियो ।
बीस वर्षदेखि कात्तिक नाचमा हिरण्यकश्यपको भूमिका निर्वाह गर्दै आउनुभएका किरण चित्रकार यस वर्ष पनि सोही पात्रमा नाच्नुभयो ।
उहाँले यो नाच रहस्यमय भएको बताउँदै एकातर्फ समाजको विकृति र विसङ्गगति उजागर गर्ने गरिन्छ भने अर्कोतर्फ धार्मिक नाच प्रस्तुत गर्ने गरेको बताउनुभयो । यसै नाचमा मधुकैटव बधको पनि प्रदर्शन गरिँदै आएको छ । ‘बध गर्दा मलाई होस् हुँदैन,’ कलाकार चित्रकारले भन्नुभयो, ‘हिरण्यकश्यपको वधपछि कात्तिक नाचको चोकमा लगेर पाटन सुन्धाराको जल छर्केपछि मात्र ब्युँझिन्छु ।’
सोमबार वस्त्रहरण लीला प्रदर्शन गरियो भने अन्तिम दिनमा दधि लीला देखाइने संरक्षण समितिले जनाएको छ । गत कात्तिक १५ बाट सुरु भएको नाच २६ गते मंगरबार समापन हुने समितिले जनाइएको छ । १६९७ सालमा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो नाच सुरु गरेका थिए ।

Rajopadhyaya in news : कार्तिक नाचको लागि १ करोड सहयोग

कार्तिक नाचको लागि १ करोड सहयोग

SamacharDesk – कल्चर ब्यूरो | २०७६ मङ्सिर २८, शनिबार

ललितपुरको ऐतिहासिक कार्तिक नाचको संरक्षण र दीगो व्यवस्थापनको लागि ललितपुर महानगरपालिकाले १ करोड सहयोग उपलब्ध गराउने भएको छ ।
शनिबार ललितपुरको कार्तिक डबलीमै आयोजना भएको एक कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त सहयोगको घोषणा गर्दै अर्को आर्थिक वर्षमा कार्तिक नाचको लागि विशेष योजना बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 
सोही कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई पनि दिइएको थियो । 
दबूकातर्फबाट बोल्दै दबूका महासचिव सुनिल महर्जनले कार्तिक नाच ललितपुरको मात्र नभई नेपालकै गौरव भएको बताउनुभयो । महासचिव महर्जनले जन प्रतिनिधि आइसकेको अवस्थामा स्थानीय मूर्त अमूर्त सम्पदा, परम्पराको संरक्षणको दायित्व स्थानीय सरकारले नै लिनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकार आइसकेको अवस्थामा अब स्थानीय सँस्कृति संरक्षणको लागि गुठी वा सम्वन्धित खलकहरु चिन्तित भइरहनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि जनप्रतिनिधिहरुले काम गर्नुपर्ने महर्जनको भनाई हो ।
कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले नेपालको एकमात्र अटुट रुपमा निरन्तर सञ्चालन हुँदै आएको नाट्य परम्परा कार्तिक नाच नै भएको जानकारी दिनुभयो । यस ऐतिहासिक नाचको भविष्य सुनिश्चित गर्नका लागि साथै दीगो व्यवस्थापनका लागि १० करोडको अक्षय कोषको स्थापनार्थ आफु क्रियाशील रहेको पनि चित्रकारको भनाई थियो । 
सोही कार्यक्रममा समितिका सदस्य संजय शर्मा राजोपाध्यायले कार्तिक नाचलाई निरन्तर सञ्चालन गरिरहनका लागि ललितपुर महानगरपालिका १६ वडाबाट राम्रै सहयोग प्राप्त भइरहेको बताउँदै १६ वडालाई धन्यवाद ज्ञापन गर्नुभयो । तर ललितपुर दरवार क्षेत्रसँगै जोडिएको  वडाले भने सहयोग त के, भेट्नलाई सम्म पनि चासो नदेखाएको गुनासो पनि राजोपाध्यायले गर्नुभयो ।
कार्तिक नाच संरक्षण समितिले एक कार्यक्रमको आयोजना गरी यस वर्षको कार्तिक नाचको औपचारिक समापन गरेको हो । यस वर्ष गत कार्तिक १५ गतेबाट कार्तिक २६ गतेसम्म ललितपुर मंगलबजारस्थित कार्तिक डबलीमा कार्तिक नाच प्रदर्शन गरिएको थियो ।
सिद्धिनरसिंह मल्लले वि.सं. १६९७ बाट शुरु गरेको कार्तिक नाच सोही बेलादेखि हरेक वर्ष निरन्तर प्रदर्शन हुँदै आएको छ । ३७९ वर्षको ईतिहास बोकेको यो नाचलाई यति लामो समय अटुट रुपमा हरेक वर्ष निरन्तर प्रदर्शन भएको एकमात्र नाट्य परम्पराको रुपमा दावी गरिएको छ ।