Sunday, December 22, 2019

Rajopadhyaya in news: हात्तीको गोबरलाई मोहर बनाउनेहरू

हात्तीको गोबरलाई मोहर बनाउनेहरू
अनुषा अधिकारीकाठमाडाैं, पुस ६

Source: https://www.setopati.com/nepali-brand/195964

सन्नी राजोपाध्याय (दायाँ) र जोनेज शाक्य। तस्बिर सौजन्यः इकोअर्ब

सन्नी राजोपाध्याय घुमफिर गर्न चितवन गइरहन्छन्। सौराहाको सुन्दरतामा मोहित उनी खाली समय हात्ती शिविर र प्राकृतिक वातावरणमा रमाउँछन्।
हरेकपटक सौराहा भ्रमणमा सन्नीको ध्यान त्यहाँको अव्यवस्थित हात्तीको गोबरमा गइरह्यो। चारैतिर फैलिएको गोबर त्यहाँका स्थानीयलाई पनि 'टाउको दुखाइ' बनेको थियो। एकाधले बारीमा मलका रूपमा प्रयोग गर्थे। बाँकी जलाइन्थ्यो।
'सेना र स्थानीयको गन्तीमा सौराहामा करिब २०० हात्तीबाट दिनमा २०० किलो गोबर उत्पादन हुन्छ,' इकोअर्बका सहसञ्चालक जोनेज शाक्य भन्छन्, 'हात्तीको गोबर बाटो र जंगलभरि जथाभाबी फैलिन्छ। यसले वातावरण दुर्गन्धित बनाउनुका साथै प्राकृतिक आकर्षणमा पनि असर पुर्याउँछ।'
अन्य पर्यटकझैं सन्नी घुमघाम गरेर मात्रै फर्किन चाहेनन्। हात्तीबारे अनुसन्धान गर्न थाले र गोबरबाट कागज बनाउन मिल्ने ज्ञान पाए।
उनले यो उपाय 'नेपाल कम्युनिटर' संगठनलाई बताए। संगठनले हरेक वर्ष नयाँ 'आइडिया' छानेर कार्यान्वयन गर्न नगद पुरस्कार दिन्छ।

सन्नी राजोपाध्याय हात्तीको गोबरबाट कागज बनाउने काममा। तस्बिर सौजन्यः इकोअर्ब

त्यहाँबाट सन्नीले पचास हजार रूपैयाँ जिते र आफ्नो ज्ञानलाई व्यवहारमा उतार्दै सन् २०१८ मा 'इकोअर्ब' कम्पनी स्थापना गरे। इकोअर्बमा 'इको' 'अर्ब' दुई भिन्न शब्द जोडिएका छन्। इकोले पर्यावरण र अर्बले गोलाकार भूमि भन्ने बुझाउने जोनेज बताउँछन्।
कम्पनी स्थापना भएको दुई महिनापछि जोनेज र सन्नीको सहकार्य सुरू भएको हो। त्यो बेला २८ वर्षीय सन्नी मार्केटिङ म्यानेजर र २६ वर्षीय जोनेज एकाउन्टेन्टका रूपमा काम गर्थे।
कागज उत्पादन क्षेत्र उनीहरू दुवैका निम्ति नौलो थियो। भरपर्दो जागिर छाडेर नयाँ व्यवसायमा लाग्दा सुरूआती दिनमा दुवै सञ्चालकका परिवारबाट असहमति पनि भयो। छोराहरूले रातभर काम गर्नुपर्ने र चितवन जाँदा आफैंले गोबर उठाउनुपर्ने काम परिवारलाई मनपरेको थिएन।
उनीहरू अलमलमा थिए। धेरै ज्ञान नभएकै कारण सुरूका दिनमा उनीहरूलाई हात्तीको गोबरबाट कागज बनाउन निकै मुश्किल भयो। बजारमा ठूला कम्पनीले उत्पादन गरेका कागजको माग भएको समयमा आफ्नो व्यवसाय 'फ्लप' हुने डर पनि थियो।
त्यो डरलाई उनीहरूले बाधा बन्न दिएनन्।
जोनेज शाक्य। तस्बिरः निशा भण्डारी/सेतोपाटी

तीन महिनाको अन्तरालमा गुणस्तरीय कागज बनाउन सिकेर मात्रै व्यवसाय अघि बढाए। जोनेजका अनुसार सौराहास्थित 'ग्रिन सोसाइटी' नामक संस्थाले यसअघि हात्तीको गोबरबाट कागज उत्पादन गर्दै आएको थियो। ती कागज सजिलै च्यातिने र कमसल भएकाले इकोअर्बले साझेदारीमा गुणस्तरीय कागज बनाउने निर्णय गरेको हो।
इकोअर्बले चितवनबाट 'ग्रिन सोसाइटी' संस्थासँग सहयोग लिएर गोबर उतै 'रिफाइन' गर्छ र काठमाडौं ल्याउँछ।
जोनेजका अनुसार हात्तीले ४० प्रतिशत खाना मात्र पचाउन सक्छ। बाँकी ६० प्रतिशत उस्तै हुन्छ। नपचेका खाना गोबरमा आउँछ, जुन नरम हुन्छ। यसबाट 'फाइबर' बनाउन सहज हुन्छ।
'रिफाइन' प्रक्रियामा गोबर धोएर फाइबर निकालिन्छ। फाइबरबाट किटाणु मार्न करिब सात घन्टा पानीमा उमालिन्छ र केही बेर घाममा सुकाइन्छ। त्यसपछि ग्राइन्डिङ मेसिनमा पिसेपछि 'पल्प' (लेदो) तयार हुन्छ। फेरि एकपटक सुकाएपछि मात्रै कागज उद्योगमा दिइन्छ।  
हात्तीको गोबरबाट बनेका कागजका झोला। तस्बिरः निशा भण्डारी/सेतोपाटी

इकोअर्बले अहिले सेनाका हात्तीका गोबर मात्र कागज उत्पादनका लागि प्रयोग गरिरहेको छ। स्थानीयले पालेका हात्तीलाई दाना खुवाउने हुनाले तिनका गोबरबाट राम्रो कागज बनाउन नसकिने जोनेज बताउँछन्। सेनाका हात्ती जंगल डुल्ने भएकाले गोबरमा कागज बनाउने रूखका फाइबर धेरै पाइन्छ।
इकोअर्बले ग्रिन सोसाइटीबाट प्रतिकिलो पाँच सय रूपैयाँमा 'पल्प' किनेर काठमाडौंको कागज उद्योगमा उत्पादनका लागि दिन्छ। रूख काटेर कागज बनाइने प्रक्रिया हटाएर नयाँ परिवर्तन ल्याउने प्रयास गरेको इकोअर्ब बताउँछ।
वन फँडानी, वातावरण र श्रमशक्ति सबैलाई ध्यानमा राखेर कम्पनीले हात्तीबाट प्राकृतिक रूपमै कागज उत्पादन गर्ने प्रक्रिया पूरा गरेको छ।
यो प्रक्रियामा मेसिन र रसायनको प्रयोगबाट फाइबर निकालिने भएकाले नरम बनाउने झन्झट नहुने जोनेजको भनाइ छ। साथै, थोरै गोबरबाट पनि धेरै कागज उत्पादन गर्न सकिन्छ।
'पाँच केजी गोबरबाट करिब तीन सय कागज बनाउन सकिन्छ,' उनले भने, 'सौराहामा धेरै हात्ती भएकाले पर्याप्त कागज उत्पादन गर्न सकिन्छ।'
चितवनमा बढ्दै गएको हात्ती शिकार रोक्न इकोअर्बले पुर्ख्यौली शिकार गरिरहेका व्यक्तिलाई पनि रोजगारी दिएका छन्। उनीहरूसँगै स्थानीय महिला गरी ६७ जना कम्पनीमा काम गरिरहेका छन्।
जोनेज शाक्य। तस्बिरः निशा भण्डारी/सेतोपाटी

हात्तीको गोबरबाट बनेका कागजका डायरी। तस्बिरः निशा भण्डारी/सेतोपाटी

एक वर्षयता हात्तीको गोबरबाट लगभग पाँच हजार कागजका पाना उत्पादन गरिसकेको उनी बताउँछन्। कम्पनी फस्टाउँदै गएपछि परिवारले पनि समर्थन जनाएको जोनेजले बताए। अहिले त उनीहरूका परिवार नै इकोअर्बका हरेक कार्यक्रममा सहभागी भएर उपस्थित व्यक्तिलाई कम्पनीबारे जानकारी दिन्छन्।
जोनेजका अनुसार बजारका अन्य वातावरणमैत्री कम्पनी र व्यक्तिले पनि गोबरबाट कागज उत्पादन गर्न प्रेरणा लिइरहेका छन्। हात्तीको गोबर बटुलेर मोहर बनाउने काइदा उनीहरू सिकाइरहेकै छन्।
इकोअर्बले कागजका साना नोटबुक, कापी, भिजिटिङ कार्ड, ब्याग र 'कस्टमाइज्ड' बाकसहरू उत्पादन गरिरहेको छ। यी सामानमध्ये बाकस अन्यभन्दा विशेष र नौलौ देखिन्छ।
'उत्पादन भएका बक्सभित्र हामीले 'सिड बम' अर्थात् रूखका बिउ राखेका छौं,' जोनेजले भने, 'बक्स प्रयोग गरेपछि फालियो भने पनि बिउबाट बिरूवा उम्रन्छ।'
इकोअर्बका सामान फेसबुक पेजइन्स्टाग्राम वा नेपाल कम्युनिटरबाटै पनि किन्न सकिन्छ। सबै काम हातबाटै बन्ने भएकाले ती समानको मूल्य बजार भाउभन्दा दस प्रतिशत बढी भएको जोनेज बताउँछन्।
सन्नी र जोनेजले हात्तीको अव्यवस्थित गोबरलाई नयाँ ढंगले सदुपयोग गरेपछि त्यहाँका मानिसले पनि यसबारे ज्ञान पाएका छन्। तर, अझै स्थानीयले गोबर कारखानामा दिनुभन्दा फ्याँक्न वा जलाउनै खोज्ने जोनेज बताउँछन्।
'हाम्रो मुख्य उद्देश्य हरेक हात्तीको गोबर टिपेर कारखानामा ल्याउन प्रेरित गर्नु हो। यो कुरा भन्न सहज भए पनि स्थानीयलाई बुझाउन समय लाग्न सक्छ,' उनले भने।
हात्तीको गोबरबाट कागज बनाउन तयार पल्प। तस्बिरः निशा भण्डारी/सेतोपाटी  
हात्तीको गोबरबाट बनेका कागजका बाकस। तस्बिरः निशा भण्डारी/सेतोपाटी 

हात्तीको गोबरबाट इकुर्बले बनाएका सामान। तस्बिर सौजन्यः इकोअर्ब


प्रकाशित मिति: आईतबार, पुस ६, २०७६, ११:३६:००

Wednesday, December 18, 2019

Rajopadhyaya in news : हिरण्यकश्यपकाे बध गरेपछि कलाकारले होस गुमाए

हिरण्यकश्यपकाे बध गरेपछि कलाकारले होस गुमाए


2019-11-11-4011


यलु जोशी
ललितपुर, कार्तिक २५ गते । पाटनको कृष्णमन्दिर डबलीमा आइतबार माहोल बेग्लै थियो । जति रात ढल्कँदै जान्थ्यो, त्यति यहाँ चहलपहल बढ्थ्यो । मध्यरातसम्म आइपुग्दा कृष्ण मन्दिर छेवैको डबली वरपर थामिनसक्नुको भीड थियो । ऐतिहासिक कात्तिक नाचका क्रममा राति नरसिंह अवतारको हिरण्यकश्यप बध देखाइएको हुनाले भीड बाक्लै थियो । साे नाच हेर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराइ पनि पुग्नु भएकाे थियाे । 
मङ्गलबजारस्थित कात्तिक डबलीमा प्रदर्शन हुने ३७८ वर्ष पुरानाे परम्परागत नाचमा हिरण्यकश्यप पात्रको बध गरेपछि कलाकारले साँच्चै होश गुमाउने कथन छ । हिरण्यकश्यपले होस् गुमेदेखि फर्किदासम्मको दृश्य धेरैले रुचाए । कात्तिक नाच संरक्षण समितिका संजय शर्मा राजोपाध्याय त्यस क्षण आगन्तुकका लागि सबैभन्दा चाखलाग्दो बन्ने गरेको बताउनुभयो ।
कात्तिक नाचको विशेष आकर्षण भनेकै हिरण्यकश्यप बधलाई मानिन्छ । नाचको सुरुमा कृष्ण नाच देखाइयो । कालो लुगामा कृष्णलाई अरुले साथ दिएक थिए।
कृष्ण नाचपछि हिरण्यकश्यपु र प्रह्लाद नाच देखाइयो । हिरण्यकश्यपु र उनका छोरा प्रह्लादका साथ दुई दैत्य नृत्य गर्छन् ।
भगवान् विष्णुले नरसिंह अवतारको रूप धारण गरी हिरण्यकश्यपको बध गर्ने प्रस्तुतीलाई हेर्न सबैले रातको १ं.०० बजे सम्म कुरिरहेक थिए । २००७ सालपछि नाच छोट्याउने क्रममा संवाद हराइसकेको भए पनि समय क्रमसँगै यो नाचको अवधि पुनः लम्ब्याइएपछि अहिले केही संवाद पनि सुन्न पाइन्छ । संवाद सुनेर दर्शकह रमाउँछन् ।
प्रह्लादलाई दैत्य गुरुहरु ओम् नमः शिवाय् भन्न सिकाउँछन् । तर ओम् नमः शिवाय साटो ओम् नमो भगवते बासुदेवाय् मात्र भन्छन् । सिकाउँदा सिकाउँदा गुरुहरु थाक्छन् । हिरण्यकश्यपुले आफ्ना छोरालाई बाँध्न आदेश दिन्छन् । नाचको चरमोत्कर्ष तब सुरु हुन्छ ।
मसालहरू दन्काइन्छन् । पाटन दरबारबाट नृसिंह बाहिर ल्याइन्छ । खम्बा फोरेर नृसिंह अवतार बाहिर निस्कन्छ । नृसिंहको छायाँ पर्न नहुने भएकोले डबलीमा मसाल दनदनी दन्काइन्छ । नृसिंहले नाच्दै हिरण्यकश्यपुलाई खेदाउँछन् । नाचको महत्त्वपूर्ण दृश्य नै यही हो ।
नाच्दानाच्दै नृसिंहले दैत्यलाई फन्दामा पार्ने प्रयास गर्छ । तर पटक पटक दैत्य उम्कन्छ । अन्त्यमा नृसिंहले दैत्यलाई भाग्नै नसक्ने गरी घेरामा पार्छन् ।
नृसिंहले यसो छोएको मात्र के हुन्छ, हिरण्यकश्यपु साँच्चिकै अचेत हुन्छन् ।
आइतकार बेलुका ८ बजेबाट सुरु भएको नाच सोमबार विहान २ः१५ बजे सकिएको थियो ।
बीस वर्षदेखि कात्तिक नाचमा हिरण्यकश्यपको भूमिका निर्वाह गर्दै आउनुभएका किरण चित्रकार यस वर्ष पनि सोही पात्रमा नाच्नुभयो ।
उहाँले यो नाच रहस्यमय भएको बताउँदै एकातर्फ समाजको विकृति र विसङ्गगति उजागर गर्ने गरिन्छ भने अर्कोतर्फ धार्मिक नाच प्रस्तुत गर्ने गरेको बताउनुभयो । यसै नाचमा मधुकैटव बधको पनि प्रदर्शन गरिँदै आएको छ । ‘बध गर्दा मलाई होस् हुँदैन,’ कलाकार चित्रकारले भन्नुभयो, ‘हिरण्यकश्यपको वधपछि कात्तिक नाचको चोकमा लगेर पाटन सुन्धाराको जल छर्केपछि मात्र ब्युँझिन्छु ।’
सोमबार वस्त्रहरण लीला प्रदर्शन गरियो भने अन्तिम दिनमा दधि लीला देखाइने संरक्षण समितिले जनाएको छ । गत कात्तिक १५ बाट सुरु भएको नाच २६ गते मंगरबार समापन हुने समितिले जनाइएको छ । १६९७ सालमा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो नाच सुरु गरेका थिए ।

Rajopadhyaya in news : कार्तिक नाचको लागि १ करोड सहयोग

कार्तिक नाचको लागि १ करोड सहयोग

SamacharDesk – कल्चर ब्यूरो | २०७६ मङ्सिर २८, शनिबार

ललितपुरको ऐतिहासिक कार्तिक नाचको संरक्षण र दीगो व्यवस्थापनको लागि ललितपुर महानगरपालिकाले १ करोड सहयोग उपलब्ध गराउने भएको छ ।
शनिबार ललितपुरको कार्तिक डबलीमै आयोजना भएको एक कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त सहयोगको घोषणा गर्दै अर्को आर्थिक वर्षमा कार्तिक नाचको लागि विशेष योजना बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 
सोही कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई पनि दिइएको थियो । 
दबूकातर्फबाट बोल्दै दबूका महासचिव सुनिल महर्जनले कार्तिक नाच ललितपुरको मात्र नभई नेपालकै गौरव भएको बताउनुभयो । महासचिव महर्जनले जन प्रतिनिधि आइसकेको अवस्थामा स्थानीय मूर्त अमूर्त सम्पदा, परम्पराको संरक्षणको दायित्व स्थानीय सरकारले नै लिनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकार आइसकेको अवस्थामा अब स्थानीय सँस्कृति संरक्षणको लागि गुठी वा सम्वन्धित खलकहरु चिन्तित भइरहनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि जनप्रतिनिधिहरुले काम गर्नुपर्ने महर्जनको भनाई हो ।
कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले नेपालको एकमात्र अटुट रुपमा निरन्तर सञ्चालन हुँदै आएको नाट्य परम्परा कार्तिक नाच नै भएको जानकारी दिनुभयो । यस ऐतिहासिक नाचको भविष्य सुनिश्चित गर्नका लागि साथै दीगो व्यवस्थापनका लागि १० करोडको अक्षय कोषको स्थापनार्थ आफु क्रियाशील रहेको पनि चित्रकारको भनाई थियो । 
सोही कार्यक्रममा समितिका सदस्य संजय शर्मा राजोपाध्यायले कार्तिक नाचलाई निरन्तर सञ्चालन गरिरहनका लागि ललितपुर महानगरपालिका १६ वडाबाट राम्रै सहयोग प्राप्त भइरहेको बताउँदै १६ वडालाई धन्यवाद ज्ञापन गर्नुभयो । तर ललितपुर दरवार क्षेत्रसँगै जोडिएको  वडाले भने सहयोग त के, भेट्नलाई सम्म पनि चासो नदेखाएको गुनासो पनि राजोपाध्यायले गर्नुभयो ।
कार्तिक नाच संरक्षण समितिले एक कार्यक्रमको आयोजना गरी यस वर्षको कार्तिक नाचको औपचारिक समापन गरेको हो । यस वर्ष गत कार्तिक १५ गतेबाट कार्तिक २६ गतेसम्म ललितपुर मंगलबजारस्थित कार्तिक डबलीमा कार्तिक नाच प्रदर्शन गरिएको थियो ।
सिद्धिनरसिंह मल्लले वि.सं. १६९७ बाट शुरु गरेको कार्तिक नाच सोही बेलादेखि हरेक वर्ष निरन्तर प्रदर्शन हुँदै आएको छ । ३७९ वर्षको ईतिहास बोकेको यो नाचलाई यति लामो समय अटुट रुपमा हरेक वर्ष निरन्तर प्रदर्शन भएको एकमात्र नाट्य परम्पराको रुपमा दावी गरिएको छ ।

Saturday, November 23, 2019

Rajopadhyaya in news : सुखशान्तिको कामना गर्दै दशमहाविद्या पूजा सम्पन्‍न

सुखशान्तिको कामना गर्दै दशमहाविद्या पूजा सम्पन्‍न



तस्बिर- सरोज श्रेष्ठ
सबै देशवासीको सुख, शान्ति र समृद्धि तथा रोगव्याधिबाट मुक्तिको कामना गर्दै भक्तपुरमा दशमहाविद्या पूजा बुधबार सम्पन्न भएको छ।
श्री वाराही पीठ विकास समितिको आयोजनामा भक्तपुरका दशमहाविद्या देवीलाई तान्त्रिक विधिबाट पूजा गरिएको हो।
उक्त अवसरमा भक्तपुरलगायत उपत्यकाका विभिन्न स्थानबाट भक्तजनको घुइँचो लागेको थियो।
20 Nov Bhaktapur Dash Mahavidya Puja 2
गणेशपूजासँगै भक्तपुरको यसिंख्यःस्थित भद्रकाली, भिंसिंख्यःस्थित तारारूपी नीलसरस्वती, खँला टोलस्थित त्रिपुरभैरवी, टौमढी टोलस्थित भुवनेश्वरी र छिन्नमस्ता चण्डिका, लाय्कुस्थित मातङ्गी, इन्द्रायणी पीठमा बगलामुखी, तुलाछेँस्थित राजेश्वरी त्रिपुरासुन्दरी, थालाछेँस्थित कमला र टिबुक्छेँ टोलको दहिविनायकनजिकै धूमावतीमा पूजा गरिएको हो।
दशमहाविद्या पूजा भक्तपुरका तलेजु पुजारी प्रगेश राज राजोपाध्यायले गरेका थिए।
सोही अवसरमा विधिअनुसार विभिन्न परिकारहरूसहितको ब्व अर्थात् देवीहरूलाई भोज पनि चढाइएको थियो।
प्रकाशित: Nov 21, 2019 | 08:40:52

Wednesday, November 6, 2019

Rajopadhyaya in News : पाटनमा चार सय वर्ष पुरानो कात्तिक नाच

 पाटनमा चार सय वर्ष  पुरानो कात्तिक नाच


२०७६ कार्तिक २० बुधबार ०७:३५:००






पाटन दरबार परिसरमा करिब चार सय वर्ष पुरानो कात्तिक नाच भइरहेको छ । देश र जनताको भलो हुने विश्वासका साथ नाच नाच्ने गरिएको कात्तिक नाच संरक्षण समितिले जानकारी दिएको छ । नाचमा करिब सयजना कलाकार सहभागी छन् । नाच साँझ सात बजेदेखि मध्यरातसम्म देखाइन्छ । गत शुक्रबार सुरु भएको नाच १२ दिनसम्म चल्नेछ ।
कात्तिक नाच सञ्चालन समितिका सदस्य सञ्जय शर्मा राजोपाध्यायका अनुसार नाचमा कृष्णलीलाको माध्यमबाट समाजमा व्याप्त विकृति विसंगतिलाई प्रस्तुत गरी सचेत तुल्याइन्छ । ‘सिद्धिनरसिंह मल्लका गुरुहरू हरिवंश राजोपाध्याय विश्वनाथ राजोपाध्यायले १६९७ मा यो नाचको सुरु गरेको विश्वास छ । कात्तिक विष्णुको महिनाका रूपमा मानिन्छ । सिद्धिनरसिंह विष्णुका भक्त थिए । त्यसैले देश र जनताको भलो हुने विश्वासका साथ कात्तिक महिनामा नाच्ने परम्परा रहेको हो ।’ 
सुरुमा पाँच दिन नचाइएको नाच योगनरेन्द्र मल्लको पालामा २७ दिनसम्म चलेको थियो । वि.सं. २००६ देखि ०३७ सम्म कात्तिक नाच दुई दिनमा सीमित गरिएको थियो । तत्कालीन राजनीतिक परस्थितिका कारण नाच दुई दिनमा सीमित गरिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार बताउँछन् । ०३८ बाट १० दिनसम्म नाच सञ्चालन गरिएको थियो । ०७१ देखि भने १२ दिनसम्म नाच सञ्चालन हुँदै आएको छ । 
 नाच व्यवस्थापनमा बजेट अभाव 
कात्तिक तन्त्रको प्रयोग गरी नाचिने सांस्कृतिक नाच हो । योनाच देशकै सबैभन्दा लामो नाट्य महोत्सवमध्येको एक मानिन्छ । नाच सञ्चालन गर्न १० देखि १५ लाख खर्च लाग्ने समितिको अनुमान छ । तर, सरकारी पक्षबाट न्यून बजेट विनियोजन हुँदा इतिहासमा जस्तै २७ दिनसम्म नाच सञ्चालन गर्न नसकिएको समितिको गुनासो छ । 
समितिका अध्यक्ष चित्रकार भन्छन्,  ‘आर्थिक स्रोतको कमी र राजनीतिक परिस्थितिले गर्दा कात्तिक नाच कुनै समय छोटो र कुनै समय लामो हुने गरेको छ ।’  नेपाल भ्रमण वर्षलाई मध्यनजर गर्दै एक महिनासम्म नाच सञ्चालन गर्ने योजना भए पनि बजेट अभावकै कारण सम्भव नभएको उनले बताए । 
समिति सदस्य सञ्जय शर्मा राजोपाध्यायका अनुसार यस वर्ष ललितपुर महानगरपालिकाले दुई लाख बजेट विनियोजन गरेको छ । नाच व्यवस्थापन गर्न सो बजेटले नपुग्ने उनले बताए । ‘केही वर्षअघिसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७८ हजार बजेट दिने गरेको थियो । अहिले ललितपुर महानगरपालिकाले चार लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए पनि दुई लाख मात्र विनियोजन गरेको छ  ।’ समितिले स्थानीयबाट पनि सहयोग संकलन गर्ने गरेको छ । 
 ६ वर्षमा फेरिन्छन् कलाकार र गरगहना
प्रत्येक ६ वर्षमा कलाकार, पहिरन र गरगहना फेर्ने चलन छ । पहिले १२ वर्षमा फेर्ने चलन थियो । १२ वर्षमा फेरिँदा व्यावहारिक नहुने देखिएपछि समय घटाएको समिति सदस्य राजोपाध्यायले बताए । कात्तिक नाचमा समावेशी सहभागिता हुने उनले जानकारी दिए । ‘नाचमा चित्रकार, तन्दुकार, शाक्य, श्रेष्ठ, महर्जन, व्यञ्जनकारलगायतका समुदायको सहभागिता हुन्छ,’ उनले भने ।

Sunday, October 27, 2019

Rajopadhyaya in News :काठमाडौंको तलेजुमा भोलि लक्ष्मीपूजा : ‘चःह्रेमा कसरी लक्ष्मी भित्र्याउने?’

सन्दर्भ : तिहार तिथि विवाद

काठमाडौंको तलेजुमा भोलि लक्ष्मीपूजा : ‘चःह्रेमा कसरी लक्ष्मी भित्र्याउने?’

  • आभास धरानन्द राजोपाध्याय कार्तिक १०, २०७६ | आइतबार | काठमाडौं

कुनै पनि पर्वपूजाबारे तिथिमिति वा अन्य विवाद भए आधिकारिक मानिन्छ, काठमाडौंको तलेजु मन्दिरलाई।
काठमाडौंलगायत विभिन्न पुराना सहरमा अलग–अलग्गै तलेजु छन्। अनि तलेजुसँगै द्यःभाजु राजोपाध्याय ब्राह्मण पुजारी, कमाचार्य पुजारी र ज्योतिषीका रूपमा जोशीलगायतको एउटा निश्चित समूह गुठीअन्तर्गत सम्मिलित हुन्छ।
यसरी तिथिमिति विवाद भए अन्य ठुल्ठूला मन्दिर वा बहाललाई आधिकारिक मानी त्यसैअनुसार पर्वपूजा चलाउने गरिन्छ, नेवाः समुदायमा।
काठमाडौंको तलेजु मन्दिरले भने नेपाल पञ्चाङ्ग निर्णायक समितिको तिहार पर्वको तिथि मानेको छैन। यहाँका पुजारी उद्धव कर्माचार्य भन्छन्, ‘आइतबार चःह्रे पूजा हुन्छ, अनि कहाँ लक्ष्मीपूजा गर्ने यही दिन? चःह्रेमा कसरी लक्ष्मी भित्र्याउने?’
विशेष तान्त्रिक पद्धतियुक्त हुन्छ, चःह्रे पूजा अर्थात् चतुर्दशी पूजा। प्रत्येक कृष्ण पक्षको चतुदर्शीमा यसरी तान्त्रिक विधियुक्त चःह्रे पूजा गरिन्छ। चःह्रे पूजाकै दिन लक्ष्मीपूजा गर्नै नमिल्ने तर्क गर्छन्, उनी।
‘तलेजुमा हाम्रै जोशीहरू छन्, जसले परम्परा पनि बुझेका छन् र शास्त्र पनि,’ उनी थप्छन्, ‘यहाँकै जोशीको निर्णय परम्परादेखि हामीले मान्दै आएका छौँ।’
परम्पराअनुसार यसरी जोशीको उपस्थिति भएको ठाउँमा पञ्चाङ्ग निर्णायक समितिजस्तो पछिल्लो संस्थाको निर्णय बाध्य हुनुपर्दैन। तर, गुठी संस्थानले अधिग्रहण गरेका गुठी जग्गाको आयस्ताबाट संस्थानले पर्वका लागि भनेर दिने ठाउँमा भने यसै समितिले भनेअनुसार गर्न दशकौँदेखि बाध्य पारिएको छ।
ललितपुर र भक्तपुरका तलेजुमा पनि यसरी चःह्रे पूजा गर्नुपर्छ। ललितपुरमा भने शनिबार नै चःह्रे पूजा सम्पन्न गरिसकेको बताउँछन्, पुजारी रक्षण राजोपाध्याय। बलिबिना गरिने पूजाका लागि भने चन्द्रमानअनुसार चतुर्दशी तिथि लाग्ने दिन हेरिने उनी बताउँछन्।
त्यस्तै, भक्तपुरको तलेजुका पुजारी प्रगेशराज राजोपाध्यायका अनुसार भक्तपुरको तलेजुमा शनिबार नै चःह्रे पूजा सम्पन्न भइसकेको छ।
प्रकाशित: Oct 27, 2019 | 18:46:02

Friday, October 25, 2019

Rajopadhayaya in news : राजोपाध्यायको स्मृतिमा रक्तदान


राजोपाध्यायको स्मृतिमा रक्तदान



नेपाल समाचारपत्र, काठमाडौं। प्रजातान्त्रिक सेनानी स्वर्गीय मुकुन्द राजोपाध्याय शर्माको ७८औं जन्मजयन्तीको स्मृतिमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
मुकुन्द राजोपाध्याय शर्मा फाउन्डेसनले सामाजिक कार्यमा पहिलोपटक कदम चलाएको फाउन्डेसनकी अध्यक्ष तथा स्वर्गीय शर्माकी धर्मपत्नी देवकी राजोपाध्यायले बताउनुभयो।
राजोपाध्यायले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘फाउन्डेसनको यो पहिलो पाइला हो। पहिलो पाइलामा हामी उत्साहित भएका छौं। आगामी वर्षमा पनि उहाँको स्मृतिमा यस्तै सामाजिक कार्यक्रमहरू गर्नेछौं।’
स्वर्गीय शर्मा २०१७ सालमा तत्कालीन राजा महेन्द्रद्वारा प्रजातन्त्र हटाएर पञ्चायती व्यवस्था ल्याएपछि त्यसैको विरोध गरेकोमा करिब १२ वर्ष जेलमा पर्नुभएको थियो।
नेपालमा प्रजातन्त्रमा ल्याउन उहाँले गरेको योगदान अहिले सबैले बिर्सेकोमा दुःख लागेको पनि राजोपाध्यायले बताउनुभएको थियो।

Rajopadhyaya in news: चौरासी ब्यञ्जनयुक्त भुजा पूर्णचण्डी देवीलाई चढाएर पूर्णचण्डी भुजा जात्रा...

Rajopadhyaya in news : ठेकेदारको स्वार्थले पूजामा बाधा

कान्तिपुर संवाददाता

काठमाडौँ — ठेकेदारको लापरबाहीका कारणले राजधानीका अधिकांश जात्रा पर्व क्रमश: बन्द हुँदै गएका छन् । संस्थानका कर्मचारीलाई संस्कृतिप्रति मोह नहुँदा पनि देवी नाचहरू रोकिनेक्रम बढ्दो रहेको आरोप छ ।

  • हनुमानढोका दरबारस्थित तेलजु मन्दिरमा यस वर्ष घण्टाकर्ण चतुर्दशीमा गरिने पवित्रारोहण पूजा रोकियो । गुठी संस्थानका ठेकेदारले कम तौलका बिरामी बोका दिएपछि तलेजुका पुजारीले पूजा रोकेका हुन् । पूजामा ९ वटा कालो बोका बलि चढाइन्छ । यसलाई ‘बेचोखो’ भनिन्छ ।
  • पर्वमा तलेजु भवानीको जनही फेर्ने र मध्यरातमा दीप प्रज्वलन गर्ने चलन छ । चतुदर्शीको भोलिपल्ट दिउसो ‘योगिनी शक्ति’ पूजा गरी जीवित देवी कुमारीलाई विशेष किसिमको भोजन र जनही पठाउने गरिन्छ । बलिकै कारणले मन्दिरमा पूजा रोकेको यो पहिलो घटना होइन । २०७१ मा विवाह पञ्चमीमा गरिने पूजा पनि रोकिएको थियो । त्यति बेला ठेकेदारले समयमा बलि उपलब्ध गराएनन् । विवाह पञ्चमीको पूजामा ७ बोका, ६ हास र राँगा चाहिन्छ ।
  • दसैंको महानवमीमा ललितपुरको पाटन दरबार क्षेत्रमा गरिने कालरात्रि पूजा ठेकेदारले कम तौलको बलि दिएकै कारणले गत वर्ष पूजा रोकियो । तलेजु मन्दिरका पुजारीद्वारा गरिने पूजाका लागि ठेकेदारले २१ देखि २२ धार्नी तौल भएको राँगा दिनुपर्ने व्यवस्था छ । तर, १२ धार्नीको मात्र उपलब्ध गराएका थिए ।
  • ठेकेदारको लापरबाहीकै कारणले गत वर्ष दसैंको चतुर्दशीको राति पाटन दरबार क्षेत्रको मूलचोकमा नचाइने ठेचोको नवदुर्गा नाच भएन । नाचका लागि गुठी संस्थानले राँगा र थुम्बा दिने व्यवस्था छ । बलिकै कारणले नाच २०६९ सालमा पनि बन्द भएको थियो । त्यति बेला बन्द भएको नाच २०७४ मा मात्र पुन: सञ्चालनमा आएको थियो ।

यी तीन घटना उदाहरण मात्र हुन् । हनुमानढोका दरबार क्षेत्रस्थित तलेजुका पुजारी उद्धव कर्माचार्य भन्छन्, ‘संस्थानको उद्देश्य राम्रो छ । तर, कर्मचारी ठेकेदार खराब हुँदा बिग्रियो ।’ उनले ठेकेदार र कर्मचारीलाई कारबाही नहुँदा लापरबाही बढेको बताए । ‘संस्थानमा राजनीतिक नियुक्तिले पनि समस्या हुने गरेको छ बन्द गर्नुपर्‍यो,’ उनले भने, ‘मन्दिरमा वार्षिक २४ ठूला र १३ साना महत्त्वपूर्ण पर्व छन् ।

ठेकेदारको कारणले यी पर्वसमेत प्रभावित हुने गरेको छ ।’ पाटन दरबारका तलेजु मन्दिरका पुजारी नीरण राजोपाध्यायले यस वर्षको दसैमा बलि दरबन्दीअनुसार उपलब्ध नगराएमा कडा रूपमा प्रस्तुत हुन बाध्य हुने चेतावनी दिए । गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुख राजन भुजूले दरबन्दी अनुसारको जिन्सी सामन उपलब्ध गराउने समयमै ठेकेदारलाई निर्देशन दिने बताए ।

‘दरबन्दीमा व्यवस्था भएअनुसार कम दिएमा कारबाहीका लागि सिफारिस गरिनेछ,’ उनले भने । ललितपुरमा यस आर्थिक वर्षका लागि दोपाया/चौपायालगायत पूजासामग्री उपलब्ध गराउने ठेक्का सुरेन्द्र अवालले २२ लाख २ सय ६ रुपैयाँमा पाएका छन् । अवालले राँगा, बोका दरबन्दीमा व्यवस्था भएअनुसार दिने गरेको
दाबी गरे ।

जनप्रतिनिधिको आश्वासन मात्रै ललितपुर महानगरपालिका पाटन दरबार क्षेत्रमा निकालिने खड्ग जात्रा व्यवस्था बैठकमा अधिकांश गुठियारले जनप्रतिनिधिले आश्वासन मात्र दिने गरेको भन्दै आलोचना गरेका छन् । ललितपुर महानगरका जनप्रतिनिधिले गत वर्ष बैठकमा दरबार क्षेत्रसँगसम्बन्धी जात्रापर्व व्यवस्थित ढंगबाट सुचारु गर्न अक्षय कोष स्थापना, गुठियारको बिमा र दरबन्दी रकम समानुकूल परिमार्जन गर्ने प्रतिबद्धता जनाएका थिए ।

खड्गी सेवा समिति ललितपुरका अध्यक्ष अरोजकुमार खड्गीले धर्मप्रतिको आस्थाले न्यूनतम रकमले पनि धर्मसंस्कृति चलाउँदै आएको बताए । ‘गत वर्ष ललितपुर जनप्रतिनिधि यस्तै बेठकमा अक्षय कोष, बिमा र दरबन्दी रकम समानुकूल परिमार्जन गर्ने प्रतिबद्धता जनाएका थिए । तर पूरा गरेनन्,’ उनले भने ।

विजयादशमीको राति हुने खड्ग जात्रामा खड्गी समुदायले राँगाको टाउँको बोक्नुपर्ने चलन छ । यसका लागि उनीहरूलाई गुठी संस्थानले ४ सय रुपैयाँ मात्र दिँदै आइरहेको छ । उनले दुई दशकअघि कायम भएको दरबन्दी जनप्रतिनिधि आएको ३ वर्षमा पनि समयानुकूल परिमार्जन गर्न नसकेको भन्दै गुनासो गरे ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले पनि जात्रा पर्वको स्थायी रूपमा विकास गर्न कोष खडा गर्नुपर्नेमा जोड दिए । ‘यो गाह्रो काम पनि होइन । ललितपुर महानगरको बोर्ड बैठकबाट निर्णय गरे पुग्छ,’ उनले भने । प्रतिउत्तरमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अक्षय कोष, गुठियारको बिमा र दरबन्दी यस वर्ष कायम गर्ने प्रतिबद्धता जनाए । ‘गत वर्ष बजेट बनाउँदा ढिलाइ भएका कारणले व्यवस्था गर्न सकिएन,’ उनले भने । जात्रामा खड्गी खलका ८ जना गुठियार खटिनुपर्छ ।

पाटन दरबारको ‘मू छेँ आँगन घर’ का पुजारी माधवश्याम शर्माले पनि आश्वासन मात्र दिएर प्रतिबद्धता पूरा नगरको भन्दै गुनासो गरे । ‘संस्थानले मन्दिर भाडामा लगाएको छ,’ उनले भने, ‘व्यक्तिगत खर्चले जात्रा पर्व चलाउनुपर्ने बाध्यता छ ।’ ललितपुर महानगरकी उपमेयर गीता सत्यालले यस वर्ष ‘मू छेँ आँगन घर’ जसरी भए पनि पुनर्निर्माण गर्ने बताइन् ।

‘यसका लागि बजेट पनि छुट्याइसकेका छौं,’ उनले भनिन् । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय ललितपुरका प्रमुख सन्दीप खनालले जात्रा पर्व सञ्चालन गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित : आश्विन १३, २०७६ ०७:४१Source : https://ekantipur.com/national/2019/09/30/156980856786748382.html