Wednesday, November 6, 2019

Rajopadhyaya in News : पाटनमा चार सय वर्ष पुरानो कात्तिक नाच

 पाटनमा चार सय वर्ष  पुरानो कात्तिक नाच


२०७६ कार्तिक २० बुधबार ०७:३५:००






पाटन दरबार परिसरमा करिब चार सय वर्ष पुरानो कात्तिक नाच भइरहेको छ । देश र जनताको भलो हुने विश्वासका साथ नाच नाच्ने गरिएको कात्तिक नाच संरक्षण समितिले जानकारी दिएको छ । नाचमा करिब सयजना कलाकार सहभागी छन् । नाच साँझ सात बजेदेखि मध्यरातसम्म देखाइन्छ । गत शुक्रबार सुरु भएको नाच १२ दिनसम्म चल्नेछ ।
कात्तिक नाच सञ्चालन समितिका सदस्य सञ्जय शर्मा राजोपाध्यायका अनुसार नाचमा कृष्णलीलाको माध्यमबाट समाजमा व्याप्त विकृति विसंगतिलाई प्रस्तुत गरी सचेत तुल्याइन्छ । ‘सिद्धिनरसिंह मल्लका गुरुहरू हरिवंश राजोपाध्याय विश्वनाथ राजोपाध्यायले १६९७ मा यो नाचको सुरु गरेको विश्वास छ । कात्तिक विष्णुको महिनाका रूपमा मानिन्छ । सिद्धिनरसिंह विष्णुका भक्त थिए । त्यसैले देश र जनताको भलो हुने विश्वासका साथ कात्तिक महिनामा नाच्ने परम्परा रहेको हो ।’ 
सुरुमा पाँच दिन नचाइएको नाच योगनरेन्द्र मल्लको पालामा २७ दिनसम्म चलेको थियो । वि.सं. २००६ देखि ०३७ सम्म कात्तिक नाच दुई दिनमा सीमित गरिएको थियो । तत्कालीन राजनीतिक परस्थितिका कारण नाच दुई दिनमा सीमित गरिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार बताउँछन् । ०३८ बाट १० दिनसम्म नाच सञ्चालन गरिएको थियो । ०७१ देखि भने १२ दिनसम्म नाच सञ्चालन हुँदै आएको छ । 
 नाच व्यवस्थापनमा बजेट अभाव 
कात्तिक तन्त्रको प्रयोग गरी नाचिने सांस्कृतिक नाच हो । योनाच देशकै सबैभन्दा लामो नाट्य महोत्सवमध्येको एक मानिन्छ । नाच सञ्चालन गर्न १० देखि १५ लाख खर्च लाग्ने समितिको अनुमान छ । तर, सरकारी पक्षबाट न्यून बजेट विनियोजन हुँदा इतिहासमा जस्तै २७ दिनसम्म नाच सञ्चालन गर्न नसकिएको समितिको गुनासो छ । 
समितिका अध्यक्ष चित्रकार भन्छन्,  ‘आर्थिक स्रोतको कमी र राजनीतिक परिस्थितिले गर्दा कात्तिक नाच कुनै समय छोटो र कुनै समय लामो हुने गरेको छ ।’  नेपाल भ्रमण वर्षलाई मध्यनजर गर्दै एक महिनासम्म नाच सञ्चालन गर्ने योजना भए पनि बजेट अभावकै कारण सम्भव नभएको उनले बताए । 
समिति सदस्य सञ्जय शर्मा राजोपाध्यायका अनुसार यस वर्ष ललितपुर महानगरपालिकाले दुई लाख बजेट विनियोजन गरेको छ । नाच व्यवस्थापन गर्न सो बजेटले नपुग्ने उनले बताए । ‘केही वर्षअघिसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७८ हजार बजेट दिने गरेको थियो । अहिले ललितपुर महानगरपालिकाले चार लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए पनि दुई लाख मात्र विनियोजन गरेको छ  ।’ समितिले स्थानीयबाट पनि सहयोग संकलन गर्ने गरेको छ । 
 ६ वर्षमा फेरिन्छन् कलाकार र गरगहना
प्रत्येक ६ वर्षमा कलाकार, पहिरन र गरगहना फेर्ने चलन छ । पहिले १२ वर्षमा फेर्ने चलन थियो । १२ वर्षमा फेरिँदा व्यावहारिक नहुने देखिएपछि समय घटाएको समिति सदस्य राजोपाध्यायले बताए । कात्तिक नाचमा समावेशी सहभागिता हुने उनले जानकारी दिए । ‘नाचमा चित्रकार, तन्दुकार, शाक्य, श्रेष्ठ, महर्जन, व्यञ्जनकारलगायतका समुदायको सहभागिता हुन्छ,’ उनले भने ।

No comments:

Post a Comment