Sunday, January 6, 2019

Rajopadhyaya in News : मूल नाइके घाइते हुँदा नेतृत्वविहीन बन्यो भक्तपुर तलेजु

मूल नाइके घाइते हुँदा नेतृत्वविहीन बन्यो भक्तपुर तलेजु


मोटरसाइकलको ठक्करबाट घाइते भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी। तस्बिर ः ईश्वरकाजी खाइजू
author-image
 २२ पुष २०७५ १९:१४:००
  • change font
  • change font
  • change font
भक्तपुर : एक महिनाअघि भक्तपुर दरबार क्षेत्रस्थित तलेजू आगमछेंका मूल नाइके नरेन्द्रप्रसाद जोशी सडक दुर्घटनामा परे। उनलाई भक्तपुर–काठमाडौं ६ लेन सडकको घलातें चोकमा मोटरसाइकलले ठक्कर दिएको थियो। जेब्रा क्रसिङबाट बाटो काटेर आफ्नो बन्दै गरेको घर हेर्न जाने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो।
मोटरसाइकलको ठक्करबाट उनको दाहिने खुट्टा भाँचिएको छ। अहिले उनी भाँचिएको खुट्टामा प्लास्टर राखेर आरा मगर्दै छन्। चिकित्सकहरुले अझै एकमहिना खुट्टाले नटेक्न सुझाव दिएको नाइके जोशी बताउँछन्। तर, आफ्नो अनुपस्थितिमा भक्तपुर तलेजुको दैनिक कामकारबाही प्रभावित भएको उनी बताउँछन्।
जोशीको अनुपस्थितिमा भक्तपुर तलेजु नेतृत्वविहीन भएको छ। मूल नाइके जोशीको उपस्थितिमा तलेजुमा दैनिक नित्यपूजा गर्नुपर्छ। राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीलगायतहरुले उक्त पूजा गर्छन् तर नाइके जोशी गएको एक महिनादेखि भक्तपुर तलेजु पुग्न सकेका छैनन्।
२०५० सालमा भक्तपुर तलेजूको मूल नाइके नियुक्त भएका जोशीले आफ्नो अनुपस्थितिमा तलेजुभित्र दैनिक गर्नुपर्ने नित्यपूजालगायतका अन्य पूजापर्व रोकिने चिन्ता व्यक्त गरेका छन्।
‘तलेजुभित्र वर्षमा ठूलासाना ३० वटा था पूजा हुँदै आएका थिए’ नाइके जोशीले भने, ‘यसबीचमा दुइटा थापूजा रोकिएका छन्। मेरो अनुपस्थितिमा अरु था पूजा पनि रोकिनसक्ने चिन्ता बढेको छ।’
उनका अनुसार पौष महिनाको बढी नवमी र माघ शुद्धी सप्तमीको दिन हुने दुइटा थापूजा रोकिएको तीसौं वर्ष भइसक्यो। तर, आफूले यसैवर्ष दुवै थापूजा चलाउने प्रयास गरेकोमा आफू दुर्घटनामा परेपछि ती थापूजाले पुनर्जीवन नपाउने भएको भन्दै उनले चिन्ता व्यक्त गरे।
जोशी दुर्घटनामा परेकै कारण पौष महिनाको बढी नवमी बितिसकेको छ। माघ शुद्धी सप्तमी भने आउन बाँकी छ। पौष बढी नवमीको दिन हुने थापूजाको लागि भक्तपुरका मल्ल राजाका वंशज रहेका मल्ल तथा प्रधानाङहरुले सञ्चालन तथा व्यवस्थापन गर्दै आएका थिए। त्यस्तै माघ बढी नवमीको थापूजा भने भक्तपुरका ग्वंग थर भएकाहरुले सञ्चालन तथा व्यवस्थापन गर्दै आएका थिए। तर, पुस्तान्तरणसँगै उत्तः पूजाको सञ्चालन र व्यवस्थापन नहुँदा ती दुई थापूजा रोकिन पुगेको मूल नाइके जोशी बताउँछन्।
‘यी दुवै थापूजा चलाउन प्रशस्त जग्गाजमिनको व्यवस्था गरिएको छ’, उनले भने, ‘तर गुठी जग्गा रैतानी गरिएसँगै पूजा पनि रोकिन पुग्यो।’‍
तलेजुमा ५३८ रकमी
जोशीका अनुसार प्रत्येक थापूजामा राजोपाध्याय, जोशी र कर्मचारीलगायतका तलेजुका ५३८ जना रकमी प्रत्यक्ष सहभागी हुन्छन्। तलेजुमा राजोपाध्याय, जोशी, कर्माचार्यसँगै राजभण्डारी, मुनंकर्मी, सांगामी, सुवाल, दथेपुथे, ताल्चाभडेल, चोकाभडेल, मूलगुठी थरका रकमीहरु छन्।
त्यस्तै न्याइच्याई, माक, ताम्राकार, शिल्पकार, प्रजापति, राजचल, चौगुठी, खड्गी, हेंगोल्नी, ग्वाछा, लाखे आदि थरका रकमीहरु पनि प्रत्येक थापूजामा सामेल हुन्छन्।
३४० बोका७० राँगाको बलि
तलेजुमा हुने प्रत्येक थापूजामा बोका, राँगा र हाँसको बलि दिइन्छ। तलेजुमा हुने थापूजासँगै दसैंलगायत विशेष पूजा गरी वर्षमा तीनसय ४० बोकाको बलि दिइने मूल नाइके जोशी बताउँछन्।
बोकाको संख्या गणना गर्दा दैनिक एउटा बोकाको हिसाबले तलेजुमा बलि दिइन्छ। त्यस्तै एक वर्षमा तलेजुभित्र ७० वटा राँगाको बलि दिइने उनको भनाइ छ। ‘तलेजुमा कुखुराको बलि दिँइँदैन। प्रत्येक थापूजामा बोका, राँगा र हाँसको बलि दिइन्छ’, उनले भने, ‘तलेजुमा प्रत्येक आइतबार हाँसको बलिपूजा हुन्छ।’