Monday, October 27, 2014

Rajopadhyaya in News : पौने चारसय वर्ष लामो इतिहास बोकेको नाच शुरु

पौने चारसय वर्ष लामो इतिहास बोकेको नाच शुरु

  • Posted: Monday, Oct 27, 2014 09:17 AM ( 4 hours ago )

शर्मिला राजोपाध्याय् / उज्यालो । काठमाडौं, कात्तिक १० - पौने चारसय वर्ष लामो इतिहास बोकेको कात्तिक नाच  शुरु भएको छ । आइतबार सुरदास नाच देखाएर यसवर्षको नाच शुरु भएको हो । सोमबार  ललितपुरको मंगलबजारमा बेलुकी ७ बजेदेखि नाच देखाइने कात्तिक नाच संरक्षण समितिका किरण चित्रकारले बताउनुभयो ।
गएको वर्ष १० दिन देखाइएको नाच यसपटक १२ दिनसम्म देखाइनेछ । यसपटक थप भएको दुर्इ दिनमा सुरदास र उषाहरण कथामा आधारित नाच देखाइने चित्रकारले बताउनुभयो । पहिले यी दुर्इ नाच संक्षेपमा अन्य नाचमा गाभिएर देखाइएकोमा अब विस्तृत रुपमा देखाउनेको लागि तयारी भएको छ ।
कात्तिक नाचको विशेष आकर्षण अन्तिम दिन देखाइने पौराणिक कथा नरसिहं अवतारमा आधारित नरसिहं नाच हो । साँस्कृतिक र तान्त्रिक महत्व बोकेको नाचमा नरसिहं हुने र हिरण्यकशिपु हुने व्यक्तिले अन्य देवदेवीको नाचमा जस्तै धेरै नियममा बस्नु पर्दछ । मंगलबजारको कृष्ण मन्दिरका पूजारी राजोपाध्याय समुदायका नरसिहं बन्ने गर्दछन् भने चित्रकार समुदायका हिरण्यकशिपु बन्छन् । नरसिहं र हिरण्यकशिपु  विचको लर्डाईमा नरसिहंले हिरण्यकशिपुलाई आफ्नो नङ्गले मात्र कोपरेर न त दिनको समय नत रातको समयमा मार्ने दृश्यलाई हेर्न मंगलबजारमा एकदमै भीड लाग्ने गर्दछ ।
दिनभर केहि नखाइ चोखो नियममा बसेका ललितपुर तलेजुका राजोपाध्याय् पूजारीले मरेको हिरण्यकशिपु बनेकालाई ब्यूँताउने गर्दछ ।  उनले मन्त्र फुकेर ढुङ्गेधाराको पानी छर्के पछि अचेत हिरण्यकशिपु बनेका ब्यक्ति चलमलाउने गर्दछ।
हरेक वर्ष नाट्येश्वरको पुजा पछि नेपालको इतिहासमा निरन्तर रुपमा धेरै समयसम्म चलेको यो नाच विधिवत रूपमा शुरु हुन्छ । नेपाल सम्वत ६७१ मा  सद्दिनरसिंह मल्लले शुरु गरेको नाच अहिलेसम्म निरन्तर चल्दै आएको छ । सिद्दिनरसिंह मल्लको पालामा ८ दिनसम्म देखाइएको नाच श्रीनिवास मल्लको पालामा १५ दिनसम्म र योगनरेन्द्र मल्लको पालामा एक महिनासम्म संचालन भएको थियो । ३ सय ७४ वर्षअघि पनि नेवार समुदाय भित्रका सबै जातलाई सम्मिलित गरेर चलाएको यो नाचले मल्लकालमा पनि समावेशी विचारको अस्तित्व रहेको प्रमाणित गर्दछ । 
Source : http://ujyaaloonline.com/news/37535/kattik-dance-begins/