Monday, April 23, 2018

Rajopdhyaya in News : जहाँ पुजारी नै स्वयंसेवक छन्


जहाँ पुजारी नै स्वयंसेवक छन्
सोमबार, १० बैशाख २०७५, १३ : ०९ |  कृष्ण किसी


दैनिक पूजापाठ र धार्मिक कार्यमा खटिएबाफत विभिन्न मठ–मन्दिरका पुजारीले पारिश्रमिक पाउँछन् । उनीहरूले सरकारी निकाय र स्थानीय टोलस्तरबाट पनि आर्थिकसँगै अन्य सहयोग लिन्छन् । तर, विश्व सम्पदामा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिरका पुजारीले कुनै रकम लिँदैनन् । बिहान सबेरैदेखि पूजापाठ र धार्मिक कार्यमा खटिँदै आएका मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्ययले बिना पारिश्रमिक स्वयंसेवकको रूपमा काम गर्छन् । उनको यो रहर होइन, बाध्यता हो । कुनैताका रहरले मन्दिरको पूजाआजामा लागेका राजोपाध्याय अहिले बाध्य भएर पूजापाठ गर्दै आएका छन् । मन्दिरमा अन्य पुजारी कोही नभएको र कुनै पारिश्रमिक नआउने भएपछि उनी चिन्तामा छन्। 
उनी वर्षाैदेखि मन्दिरभित्र बिहान पूजाआजा र साँझ आरती र नित्य कर्म गर्दै आएका छन् । मन्दिरबाट कुनै पारिश्रमिक र सुविधा लिन नपाउने भएपछि अर्का पुजारी कृष्णधरानन्द राजोपाध्यायले आठ वर्षअघिदेखि नै मन्दिरको पूजाआजामा आउन छाडेका थिए । त्यसयता उनले नै मन्दिरको पूजाआजा गर्दै आएको सुनाए । ‘उहाँले छाडेदेखि म खटिँदै आएको छु,’ उनले भने, ‘धर्मकर्म भनेर मात्रै भएन, आफ्नो जीविका चलाउन गाह्रो छ ।’ उनले ऐतिहासिक मन्दिरमा खटिँदा स्थानीय र सरकारी निकायले कुनै आर्थिक सहयोग नगरेको गुनासो गरे। 
पुजारी राजोपाध्यायका अनुसार मन्दिरमा सरकारीस्तरको व्यवस्थापन समिति छैन । त्यसो हुँदा कसैले पनि मन्दिरको व्यवस्थापन पक्षलाई भनेर सहयोग गर्दैनन् । मन्दिरमा उठेको रकम भण्डारीले उठाउँदै आएको उनले बताए ।
त्यसो त मन्दिरमा महिनैपिच्छे भण्डारी फेरिन्छन् । जसका कारण महिना अनुसार भेटी फरक–फरक उठ्ने गरेको छ ।
आफूले ११ वर्षको उमेरदेखि नै मन्दिरमा पूजा गर्दै आएको पुजारी राजोपाध्ययले बताए । ‘मैले काम छाडे भने मन्दिरको पूजापाठ बन्द हुन्छ,’ उनले भने, ‘परम्परालाई जोगाउन मैले काम गरिरहेको छु । तर, पछिल्लो समय मलाई स्वयंसेवकजस्तै बनाइयो।’ 
आफूले पाउनुपर्ने पारिश्रमिक खान्गी बालीको लागि सम्बन्धित निकायमा पटकपटक निवेदन दिँदा पनि बेवास्ता गरिएको उनले दुखेसो पोखे । उनले पछिल्लो पटक ०६९ जेठ १९ गते गुठी संस्थान भक्तपुर शाखामा निवेदन दिएका थिए । तर, ती शाखाले पनि बेवास्ता गर्दै आएको उनको गुनासो छ । ‘सरकारी संस्थाले पनि कुनै किसिमबाट वास्ता गरेन,’ नागरिकसँग उनले भने, ‘श्रम तथा रोजगार मन्त्रालयमा पनि श्रमको मूल्य पाउँ भनि बारम्बार निवदेन दिँदै आएको छु ।’
१८५० सालको लालमोहर अनुसार मन्दिरका दुई पुजारीलाई पूजा गरेबापत एक सय रोपनी जग्गा दिइन्थ्यो । यसबाहेक पुजारी जागिरबापत दुई सय मुरीभन्दा बढी धान खान्गी उठ्यो । त्यहीँबाट उनीहरूको जीवनयापन चल्दै आएको थियो । २०२१ सालपछि गुठीको जग्गा हराउनु, जग्गाको वर्गीकरण (किसिम) छुटाउनु जस्ता कार्यले गर्दा पुजारीको भाग पनि घटेको थियो। 
भाग घटेपछि एक पुजारीको भागमा करिब ३०÷३० मुरी धान पर्न आउँथ्यो । तर, पछि पुजारीले वार्षिक पाँच मुरी धान मात्रै पाउँथे। 
पुजारीको आयस्रोत नभएपछि अर्का पुजारी कृष्णधरानन्द राजोपाध्यायले २०६७ सालदेखि नै पूजा गर्न छाडेका हुन् । उनले पूजा गर्न छाडेदेखि चक्रधरानन्दलाई दोब्बर काम गर्नु परेको छ । ‘एक्लै भएका कारण आफ्नै जन्मदाताको मृत्यु संस्कारमा समेत सामेल हुन पाएको छैन,’ पुजारी चक्रधरानन्दले समस्या सुनाए,’ ‘पछिल्लो समय जुठो नबारी अविच्छिन्न पूजा सञ्चालन गर्नुपर्ने बाध्यता छ।’ 
भूकम्पपछि मन्दिरसँगैको तीनतले पुजारी घर पनि भत्किएपछि पुजारीले चाँगुनारायण पिखेल पकुनेपाटीस्थित घरबाट ओहोरदोहोर गर्दै आएका छन्। 
त्यसो त मन्दिरका पुजारीलाई वार्षिक पोशाक भत्ताको पनि व्यवस्था छ । तर, उक्त रकम निकै कम छ । वार्षिक २६ रूपैयाँमात्रै पोशाकभत्ता छ। 
उनका अनुसार पुजारीको वार्षिक पोशाक भत्ता चामल एक मुरीको दुई रूपैयाँ ५० पैसाँको हुँदाको हो । त्यो बेलादेखि पोशाक भत्ता बढ्न नसकेकोले हाल वार्षिक पोशाक भत्ता २६ रूपैयाँमा सीमित हुन पुगेको हो । अहिले सबै सरकारी कर्मचारीको पोशाक भत्ता वार्षिक सात हजार पाँच सय छ । आफूले स्वयंसेवक भएर काम गर्नुपरेको भन्दै उनले धेरैपल्ट सम्बन्धित निकायमा निवदेन दिएका थिए । उनले भने, ‘मैले स्थानीयदेखि केन्द्रसम्म निरन्तर निवेदन गर्दै आएको छु, गुठी संस्थान भक्तपुर शाखा, केन्द्रिय गुठी संस्थान, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, भक्तपुर क्षेत्र नं १ का पूर्वसभासद्, जिल्ला प्रशासन कार्यालय, तत्कालिन गाउँ विकास समितिको कार्यालय चाँगुनारयणलगायतलाई लिखित रूपमै निवेदन दिएको छु।’ 
आयस्रोत सबै समाप्त भएकाले २०६९ साउनदेखि अन्य विश्व सम्पदा स्थलका मन्दिरका पुजारीसरह मासिक पारिश्रमिक ४० हजार र बिरामी पर्दा औषधि उपचार खर्च पाउनुपर्ने उनको माग छ। 


Sunday, April 22, 2018

Rajopadhyaya in News प्रक्रिया चित्त नबुझेकोले मात्र सहभागी नभएकोः सेसे बाज्या खलक




बैशाख ९, ललितपुर – यसवर्षको  रातो मच्छिन्द्रनाथकाे रथयात्राको  केहि केहि प्रक्रिया चित्त नबुझेको कारण  अाफुहरू  सहभागी नभएको सेसे बाज्या खलकका राजोपाध्याय समुदायले बताएको छ । विशेषतः रातो मच्छिन्द्रनाथकाे रथ, रथारोहण गरेर चार दिनमा तान्नु पर्ने प्रचलन रहेकोमा यस वर्ष तीन दिनमा तानेकोले अाफुहरू रथमा नबसेको  सेसे बाज्या खलकका विष्णुधर राजोपाध्यायले बताउनु भयो । यसरी नबसेको सम्वन्धमा सेसे बाज्या खलकले जात्रा बहिष्कार गर्यो भनेर प्रचारप्रसार भएकोमा अापत्ति जनाउँदै उहाँले प्रक्रिया  चित्त नबुझेका कारणले मात्र  सहभागी नभएको अरू केहि कारणले नभएको बताउनु भयो ।
यसपाली रथारोहण गरेर तीन दिनमा रथ तानेको प्रक्रियाले गर्दा मात्र सहभागी नभएको भनेर  सेसे बाज्या खलकका विभुषणधर राजोपाध्यायले पनि बताउनु भयो । उहाँले रथजात्रा शुरू हुनु भन्दा एक दिन अघि गुथि संस्थानबाट ग्वय् दा राख्नु पर्ने परम्परा तोडिएको  र बैठकमा पनि सहभागी नगराएको कारण अाफूहरू  रथमा नबसेकाे बताउनस भयो । रथलार्इ पुल्चोकबाट गाःबहालसम्म तान्ने क्रममा पुल्चोकसम्म सेसे बाज्याको  निर्देशनमा रथ तानिने परम्परा छ । उहाँहरूका अनुसार विगतमा पनि तिथी तुत हुदाँ रथाराेहण गरेर चार दिनमा नै रथजात्रा संचालन गरिएको थियाे । तर यसपाली बैशाख ४ गते रथारोहण गरेर ६ गते बाट  रथ तानिएको थियो ।

Thursday, April 19, 2018

Rajopadhyaya in News : मच्छिन्द्रनाथ रथारोहण तिथिमा विवाद

      मच्छिन्द्रनाथ रथारोहण तिथिमा विवाद


मछिन्द्रनाथको रथ निर्माण गरिँदै । तस्बिर : अन्नपूर्ण

नितु घले
स्रोत : http://annapurnapost.com/news/95987


 ०६ बैशाख २०७५
ललितपुर : प्रत्येक वर्ष मातातीर्थ औँसीपछि चतुर्थीका दिन मच्छिन्द्रनाथको रथारोहण गरिने परम्परा भए पनि यस वर्ष द्वितीया र तृतीया तिथि एकै दिन परेका कारण तेस्रो दिन रथारोहणको साइत जुरेको छ । पञ्चांग निर्णायक समिति, सम्बन्धित विषयविद् तथा ज्यापु समाजसँगको छलफलपछि बिहीबार मच्छिन्द्रनाथको रथारोहण गरिने निर्णय भएको गुठी संस्थानका प्रमुख शैलेन्द्र पौडेलले अन्नपूर्णलाई जानकारी दिए ।
 तिथिअनुसार तेस्रो दिन रथारोहण गर्ने भनिए पनि चौथो दिनमा रथ तान्नुपर्ने विष्णुधर राजोपाध्यायले बताए । राजोपाध्याय समुदायले मल्ल राजाको पालादेखि राजाको नाट्यगुरुका रूपमा काम गर्दै आएका थिए ।
 उनीहरू मच्छिन्द्रनाथ देवताको खटको अघिल्तिर बस्ने गर्छन् । सदियौँदेखि मच्छिन्द्रनाथ देवतासँग आबद्ध भएको हुँदा राजोपाध्याय समुदायको भनाइ सुनुवाइ हुनुपर्ने भन्दै राजोपाध्यायले संस्थान प्रमुख पौडेलसँग गुनासो व्यक्त गरे । सानैदेखि मच्छिन्द्रनाथ रथमा नाट्यगुरुका रूपमा काम गर्दै आएका प्रतापधर शर्माले संस्थानको निर्णयमा आपत्ति जनाए । तेस्रो दिन रथ तान्न नहुने भन्दै यस विषयमा अन्य व्यक्तिसँग परामर्श गरिरहेको बताए ।
राजोपाध्यायका अनुसार भगवान्को मूर्तिलाई रथमा राखेको तीन दिनमा सक्खरको सर्वत खुवाएर पुल्चोकमा राखिन्छ । त्यसको भोलिपल्ट पुल्चोकदेखि गाबहालसम्म रथ तान्ने गरिन्छ । मच्छिन्द्रनाथको रथ कृष्ण मन्दिरका पालोवालाले दायाँतिर तान्ने र बायाँतिर नाट्यगुरुहरूले तान्ने राजोपाध्यायको भनाइ छ । ०३७ सालमा रथ तानेबापत पारि श्रमिक २५ पैसा पाएको सम्झना गर्दै भने, ‘अहिले बल्ल ५ रुपैयाँ दिन थालिएको छ । तर, भगवान्को श्रद्धाले यस्ता कामलाई निरन्तरता दिएका हौँ ।’ रथ तान्ने क्रममा विवाद तथा दुर्घटनासमेत हुँदै आएको छ । पाँच वर्षपहिले रथ तान्ने क्रममा उनको भाइको खुट्टा भाँच्चिएको थियो । उपचार खर्च ८० हजार लागे पनि गुठी संस्थानले सहयोग नगरेको उनको गुनासो छ ।
राजोपाध्यायले भने, ‘खर्च माग्दा संस्थानको प्रावधानमा नपर्ने भन्दै आलटाल गरियो । त्यसपछि तीन÷चार वर्ष जात्रामा सहभागी भएनौं तर सबैतिरबाट दबाब आएपछि फेरि आउन थाल्यौं ।’ मच्छिन्द्रनाथ रथ तान्ने क्रममा दुर्घटना नहोस् भनेर संस्थानले बिमा सुरु गरेको संस्थान प्रमुख पौडेलले बताए । उनले भने, ‘रथमा बसुन्जेलको अवधिमा दुर्घटना भए संस्थानले सम्पूर्ण खर्चको व्यवस्था गरिदिन्छ ।’ बेत तथा डोरी लिएर रथको टुप्पोसम्म पुगेर काम गर्नुपर्ने र निकै जोखिम हुने भएकाले बिमा गर्न सुरु गरिएको हो । यसका लागि छुट्टै १२-१३ लाखको ‘बास्केट फन्ड’ रहेको र त्यसबाट पाँच लाख नघट्ने गरी सहयोग गर्दै आएको पौडेलले बताए । उनका अनुसार मच्छिन्द्रनाथको परम्परा जोगाइराख्न निकै चुनौतीपूर्ण छ । रथ बनाउन कालिगढ अभाव हुने गरेको उनले जानकारी दिए । उनले भने, ‘रथ बनाउन भारतको विभिन्न प्रदेशबाट बेत तथा डोरी ल्याउनुपर्छ । यसमा विभिन्न प्रजातिका काठ प्रयोग गर्नुपर्ने हुन्छ ।’ यस वर्षको जात्राको खर्च ५० लाख अनुमान गरिएको पौडेलले जानकारी दिए ।
मच्छिन्द्रनाथको रथ बनाउने समुदाय
रथ बनाउनेमध्ये १२ जना बोसी समुदायका व्यक्ति हुन्छन् । यिनले रथ निर्माणका लागि रूख काट्ने काम गर्छन् । आवश्यकताअनुसार सहायक बोसीहरूको निर्धारण गरिन्छ । उनीहरूले काठ काटिसकेपछि २४ जना बाराही समुदायका मानिसले काठ तयार गर्छन् । उनीहरूले काठको काम तयार गरिसकेपछि १२ जना अवाल समुदायका मानिसले बेत र डोरीको काम गर्छन् ।
त्यसपछि मच्छिन्द्रनाथको रथ निर्माण हुन्छ । विश्वको सबैभन्दा लामो जात्रामध्ये मच्छिन्द्रनाथको जात्रा मानिन्छ । पहिले राजाले भोटो देखाएर सम्पन्न गर्ने यो जात्रामा अचेल राष्ट्रपति सहभागी हुने प्रचलन छ । लिच्छविकालदेखि जात्रा सुरु भएको ठानिन्छ ।
 

Monday, April 2, 2018

Rajopadhyaya in News: गोल्डेनगेटको सनसनीपूर्ण जित

गोल्डेनगेटको सनसनीपूर्ण जित

कान्तिपुर संवाददाता
काठमाडौँ — आर्मीले ९६–९५ को अग्रता लिएको अवस्थामा खेल सकिन एक मिनेट बाँकी थियो । सुशील गुरुङले ‘साइड बल’ चलाए ।


उनले दिएको बल मनीष राजोपाध्यायले तुरुन्तै बास्केटमा प्रहार गरे । एक सेकेन्डभित्रको यी गतिविधि पत्याउन गाह्रो हुन्छ तर सत्य यही हो ।
मनीषले बल प्रहार गरेलगत्तै खेल सकिएको ‘बर्जर’ को चर्को ध्वनि आएपछि मात्र स्कोर भयो । गोल्डेनगेट कलेज टिमले भव्य रूपमा खुसी मनायो । तर स्कोरबोर्डले आर्मी नै ९६–९५ ले अगाडि रहेको देखाइरह्यो । एक सकेन्डभित्र ती गतिविधि असम्भव भएको भन्दै आर्मीका खेलाडीले निर्णायकलाई दबाब दिए । त्यसैले त्रिपुरेश्वरस्थित कभर्डहलबाट बाहिरिएको करिब एक घण्टापछि मात्र निर्णायक र आयोजकले मनीषको दुई स्कोर सदर गर्दै शनिबार गोल्डेनगेटलाई (९७–९६) क्वीक्स बास्केटबल लिग च्याम्पियन घोषित गर्‍यो ।

उपाधि होड अत्यन्तै रोमाञ्चक रह्यो । पहिलो क्वाटर २१–२१ मा सकियो । हाफटाइम हुँदा गोल्डेनगेटले ५४–४४ को अग्रता लियो । तेस्रो क्वाटर सकिँदासम्म पनि गोल्डेनगेटले ७४–६४ को अग्रता लिएको थियो । राष्ट्रिय टोलीका कप्तान सदीश प्रधानलाई गोल्डेनगेटले खासै चल्न दिएन । तैपनि अन्तिम क्वाटरमा आर्मी खेलमा फर्कियो ।

चौथो क्वाटरको सुरुमा गोल्डेनगेट ८१–६८ ले अगाडि बढेपछि आशिष बस्नेत, आयुष सिंह र विनोद महर्जनले निरन्तर स्कोर गरेपछि आर्मीले ८४–८२ को अग्रता बनायो । उसले पहिलोपल्ट लिएको अग्रता केहीबेरमै तोड्दै गोल्डेनगेट फेरि अघि बढ्यो । २३ सेकेन्ड बाँकी छँदा निश्चल महर्जनको ‘थ्री प्वाइन्ट शट’ मा आर्मी ९५–९५ को स्थितिमा पुग्यो अनि आर्मीका कप्तान रविन खत्रीले दुई ‘फ्रि–शट’ पाए । उनको एक शटमात्र सटिक रहे पनि आर्मीले ९६–९५ को अग्रता लियो । त्यसपछि एक सेकेन्ड बाँकी छँदा साइड बलको उपयोग गर्दै मनीषले दुई स्कोर जोडेर गोल्डेनगेटलाई च्याम्पियन बनाएका हुन् ।

‘फाइनल एकदमै कठिन रह्यो,’ गोल्डेनगेटका कप्तान विपेन्द्र महर्जनले भने, ‘आर्मीले पुनरागमन गर्छ भन्ने थाह भएकाले अन्त्यसम्मै दबाब दिएर खेल्यौं । त्यसैले जित्यौं ।’ उनी राष्ट्रिय टोलीका पूर्वकप्तान हुन् । उनले थपे, ‘घरेलु बास्केटबलमा मेरो २२ वर्षे करिअरकै सबैभन्दा उत्कृष्ट फाइनल रह्यो ।’ आर्मीका कप्तान रविन खत्रीले भने, ‘अन्तिम निर्णय हाम्रोविरुद्ध भएपछि खेल नै छायामा पर्‍यो । नतिजा औपचारिक रूपमै स्वीकार्छौं किनभने हामी आर्मीका खेलाडी हौं ।’

विपन्न बालबालिकाका लागि खेलकुद (पीडीसीएन) द्वारा फागुन ५ देखि सञ्चालित लिगमा विशाल मिलन केन्द्र (बीएमके) ले हिमालयन हाउन्ड्सलाई ८०–७० ले हराएर तेस्रो स्थान हात पार्‍यो । च्याम्पियन गोल्डेनगेटले २ लाख, उपविजेता आर्मीले १ लाख र तेस्रो भएको बीएमकेले ५० हजार हात पारे ।

बास्केटबल लिग
फाइनलका उत्कृष्ट 
मनीष राजोपाध्याय (गोल्डेनगेट)
उत्कृष्ट डिफेन्डर विनोद महर्जन (गोल्डेनगेट)
सर्वाधिक स्कोरर विकास गुरुङ (बीएमके, ३४५)
उदीयमान खेलाडी विवेक श्रेष्ठ (बीएमके)
उत्कृष्ट प्रशिक्षक रवीन्द्र महर्जन (कीर्तिपुर)
सर्वोत्कृष्ट खेलाडी सदीश प्रधान (आर्मी)
https://www.kantipurdaily.com/sports/2018/04/01/152254806123678828.html
प्रकाशित : चैत्र १८, २०७४ ०७:४७