Thursday, April 19, 2018

Rajopadhyaya in News : मच्छिन्द्रनाथ रथारोहण तिथिमा विवाद

      मच्छिन्द्रनाथ रथारोहण तिथिमा विवाद


मछिन्द्रनाथको रथ निर्माण गरिँदै । तस्बिर : अन्नपूर्ण

नितु घले
स्रोत : http://annapurnapost.com/news/95987


 ०६ बैशाख २०७५
ललितपुर : प्रत्येक वर्ष मातातीर्थ औँसीपछि चतुर्थीका दिन मच्छिन्द्रनाथको रथारोहण गरिने परम्परा भए पनि यस वर्ष द्वितीया र तृतीया तिथि एकै दिन परेका कारण तेस्रो दिन रथारोहणको साइत जुरेको छ । पञ्चांग निर्णायक समिति, सम्बन्धित विषयविद् तथा ज्यापु समाजसँगको छलफलपछि बिहीबार मच्छिन्द्रनाथको रथारोहण गरिने निर्णय भएको गुठी संस्थानका प्रमुख शैलेन्द्र पौडेलले अन्नपूर्णलाई जानकारी दिए ।
 तिथिअनुसार तेस्रो दिन रथारोहण गर्ने भनिए पनि चौथो दिनमा रथ तान्नुपर्ने विष्णुधर राजोपाध्यायले बताए । राजोपाध्याय समुदायले मल्ल राजाको पालादेखि राजाको नाट्यगुरुका रूपमा काम गर्दै आएका थिए ।
 उनीहरू मच्छिन्द्रनाथ देवताको खटको अघिल्तिर बस्ने गर्छन् । सदियौँदेखि मच्छिन्द्रनाथ देवतासँग आबद्ध भएको हुँदा राजोपाध्याय समुदायको भनाइ सुनुवाइ हुनुपर्ने भन्दै राजोपाध्यायले संस्थान प्रमुख पौडेलसँग गुनासो व्यक्त गरे । सानैदेखि मच्छिन्द्रनाथ रथमा नाट्यगुरुका रूपमा काम गर्दै आएका प्रतापधर शर्माले संस्थानको निर्णयमा आपत्ति जनाए । तेस्रो दिन रथ तान्न नहुने भन्दै यस विषयमा अन्य व्यक्तिसँग परामर्श गरिरहेको बताए ।
राजोपाध्यायका अनुसार भगवान्को मूर्तिलाई रथमा राखेको तीन दिनमा सक्खरको सर्वत खुवाएर पुल्चोकमा राखिन्छ । त्यसको भोलिपल्ट पुल्चोकदेखि गाबहालसम्म रथ तान्ने गरिन्छ । मच्छिन्द्रनाथको रथ कृष्ण मन्दिरका पालोवालाले दायाँतिर तान्ने र बायाँतिर नाट्यगुरुहरूले तान्ने राजोपाध्यायको भनाइ छ । ०३७ सालमा रथ तानेबापत पारि श्रमिक २५ पैसा पाएको सम्झना गर्दै भने, ‘अहिले बल्ल ५ रुपैयाँ दिन थालिएको छ । तर, भगवान्को श्रद्धाले यस्ता कामलाई निरन्तरता दिएका हौँ ।’ रथ तान्ने क्रममा विवाद तथा दुर्घटनासमेत हुँदै आएको छ । पाँच वर्षपहिले रथ तान्ने क्रममा उनको भाइको खुट्टा भाँच्चिएको थियो । उपचार खर्च ८० हजार लागे पनि गुठी संस्थानले सहयोग नगरेको उनको गुनासो छ ।
राजोपाध्यायले भने, ‘खर्च माग्दा संस्थानको प्रावधानमा नपर्ने भन्दै आलटाल गरियो । त्यसपछि तीन÷चार वर्ष जात्रामा सहभागी भएनौं तर सबैतिरबाट दबाब आएपछि फेरि आउन थाल्यौं ।’ मच्छिन्द्रनाथ रथ तान्ने क्रममा दुर्घटना नहोस् भनेर संस्थानले बिमा सुरु गरेको संस्थान प्रमुख पौडेलले बताए । उनले भने, ‘रथमा बसुन्जेलको अवधिमा दुर्घटना भए संस्थानले सम्पूर्ण खर्चको व्यवस्था गरिदिन्छ ।’ बेत तथा डोरी लिएर रथको टुप्पोसम्म पुगेर काम गर्नुपर्ने र निकै जोखिम हुने भएकाले बिमा गर्न सुरु गरिएको हो । यसका लागि छुट्टै १२-१३ लाखको ‘बास्केट फन्ड’ रहेको र त्यसबाट पाँच लाख नघट्ने गरी सहयोग गर्दै आएको पौडेलले बताए । उनका अनुसार मच्छिन्द्रनाथको परम्परा जोगाइराख्न निकै चुनौतीपूर्ण छ । रथ बनाउन कालिगढ अभाव हुने गरेको उनले जानकारी दिए । उनले भने, ‘रथ बनाउन भारतको विभिन्न प्रदेशबाट बेत तथा डोरी ल्याउनुपर्छ । यसमा विभिन्न प्रजातिका काठ प्रयोग गर्नुपर्ने हुन्छ ।’ यस वर्षको जात्राको खर्च ५० लाख अनुमान गरिएको पौडेलले जानकारी दिए ।
मच्छिन्द्रनाथको रथ बनाउने समुदाय
रथ बनाउनेमध्ये १२ जना बोसी समुदायका व्यक्ति हुन्छन् । यिनले रथ निर्माणका लागि रूख काट्ने काम गर्छन् । आवश्यकताअनुसार सहायक बोसीहरूको निर्धारण गरिन्छ । उनीहरूले काठ काटिसकेपछि २४ जना बाराही समुदायका मानिसले काठ तयार गर्छन् । उनीहरूले काठको काम तयार गरिसकेपछि १२ जना अवाल समुदायका मानिसले बेत र डोरीको काम गर्छन् ।
त्यसपछि मच्छिन्द्रनाथको रथ निर्माण हुन्छ । विश्वको सबैभन्दा लामो जात्रामध्ये मच्छिन्द्रनाथको जात्रा मानिन्छ । पहिले राजाले भोटो देखाएर सम्पन्न गर्ने यो जात्रामा अचेल राष्ट्रपति सहभागी हुने प्रचलन छ । लिच्छविकालदेखि जात्रा सुरु भएको ठानिन्छ ।
 

No comments:

Post a Comment