Monday, April 2, 2018

Rajopadhyaya in News: गोल्डेनगेटको सनसनीपूर्ण जित

गोल्डेनगेटको सनसनीपूर्ण जित

कान्तिपुर संवाददाता
काठमाडौँ — आर्मीले ९६–९५ को अग्रता लिएको अवस्थामा खेल सकिन एक मिनेट बाँकी थियो । सुशील गुरुङले ‘साइड बल’ चलाए ।


उनले दिएको बल मनीष राजोपाध्यायले तुरुन्तै बास्केटमा प्रहार गरे । एक सेकेन्डभित्रको यी गतिविधि पत्याउन गाह्रो हुन्छ तर सत्य यही हो ।
मनीषले बल प्रहार गरेलगत्तै खेल सकिएको ‘बर्जर’ को चर्को ध्वनि आएपछि मात्र स्कोर भयो । गोल्डेनगेट कलेज टिमले भव्य रूपमा खुसी मनायो । तर स्कोरबोर्डले आर्मी नै ९६–९५ ले अगाडि रहेको देखाइरह्यो । एक सकेन्डभित्र ती गतिविधि असम्भव भएको भन्दै आर्मीका खेलाडीले निर्णायकलाई दबाब दिए । त्यसैले त्रिपुरेश्वरस्थित कभर्डहलबाट बाहिरिएको करिब एक घण्टापछि मात्र निर्णायक र आयोजकले मनीषको दुई स्कोर सदर गर्दै शनिबार गोल्डेनगेटलाई (९७–९६) क्वीक्स बास्केटबल लिग च्याम्पियन घोषित गर्‍यो ।

उपाधि होड अत्यन्तै रोमाञ्चक रह्यो । पहिलो क्वाटर २१–२१ मा सकियो । हाफटाइम हुँदा गोल्डेनगेटले ५४–४४ को अग्रता लियो । तेस्रो क्वाटर सकिँदासम्म पनि गोल्डेनगेटले ७४–६४ को अग्रता लिएको थियो । राष्ट्रिय टोलीका कप्तान सदीश प्रधानलाई गोल्डेनगेटले खासै चल्न दिएन । तैपनि अन्तिम क्वाटरमा आर्मी खेलमा फर्कियो ।

चौथो क्वाटरको सुरुमा गोल्डेनगेट ८१–६८ ले अगाडि बढेपछि आशिष बस्नेत, आयुष सिंह र विनोद महर्जनले निरन्तर स्कोर गरेपछि आर्मीले ८४–८२ को अग्रता बनायो । उसले पहिलोपल्ट लिएको अग्रता केहीबेरमै तोड्दै गोल्डेनगेट फेरि अघि बढ्यो । २३ सेकेन्ड बाँकी छँदा निश्चल महर्जनको ‘थ्री प्वाइन्ट शट’ मा आर्मी ९५–९५ को स्थितिमा पुग्यो अनि आर्मीका कप्तान रविन खत्रीले दुई ‘फ्रि–शट’ पाए । उनको एक शटमात्र सटिक रहे पनि आर्मीले ९६–९५ को अग्रता लियो । त्यसपछि एक सेकेन्ड बाँकी छँदा साइड बलको उपयोग गर्दै मनीषले दुई स्कोर जोडेर गोल्डेनगेटलाई च्याम्पियन बनाएका हुन् ।

‘फाइनल एकदमै कठिन रह्यो,’ गोल्डेनगेटका कप्तान विपेन्द्र महर्जनले भने, ‘आर्मीले पुनरागमन गर्छ भन्ने थाह भएकाले अन्त्यसम्मै दबाब दिएर खेल्यौं । त्यसैले जित्यौं ।’ उनी राष्ट्रिय टोलीका पूर्वकप्तान हुन् । उनले थपे, ‘घरेलु बास्केटबलमा मेरो २२ वर्षे करिअरकै सबैभन्दा उत्कृष्ट फाइनल रह्यो ।’ आर्मीका कप्तान रविन खत्रीले भने, ‘अन्तिम निर्णय हाम्रोविरुद्ध भएपछि खेल नै छायामा पर्‍यो । नतिजा औपचारिक रूपमै स्वीकार्छौं किनभने हामी आर्मीका खेलाडी हौं ।’

विपन्न बालबालिकाका लागि खेलकुद (पीडीसीएन) द्वारा फागुन ५ देखि सञ्चालित लिगमा विशाल मिलन केन्द्र (बीएमके) ले हिमालयन हाउन्ड्सलाई ८०–७० ले हराएर तेस्रो स्थान हात पार्‍यो । च्याम्पियन गोल्डेनगेटले २ लाख, उपविजेता आर्मीले १ लाख र तेस्रो भएको बीएमकेले ५० हजार हात पारे ।

बास्केटबल लिग
फाइनलका उत्कृष्ट 
मनीष राजोपाध्याय (गोल्डेनगेट)
उत्कृष्ट डिफेन्डर विनोद महर्जन (गोल्डेनगेट)
सर्वाधिक स्कोरर विकास गुरुङ (बीएमके, ३४५)
उदीयमान खेलाडी विवेक श्रेष्ठ (बीएमके)
उत्कृष्ट प्रशिक्षक रवीन्द्र महर्जन (कीर्तिपुर)
सर्वोत्कृष्ट खेलाडी सदीश प्रधान (आर्मी)
https://www.kantipurdaily.com/sports/2018/04/01/152254806123678828.html
प्रकाशित : चैत्र १८, २०७४ ०७:४७

No comments:

Post a Comment