Saturday, November 23, 2019

Rajopadhyaya in news : सुखशान्तिको कामना गर्दै दशमहाविद्या पूजा सम्पन्‍न

सुखशान्तिको कामना गर्दै दशमहाविद्या पूजा सम्पन्‍न



तस्बिर- सरोज श्रेष्ठ
सबै देशवासीको सुख, शान्ति र समृद्धि तथा रोगव्याधिबाट मुक्तिको कामना गर्दै भक्तपुरमा दशमहाविद्या पूजा बुधबार सम्पन्न भएको छ।
श्री वाराही पीठ विकास समितिको आयोजनामा भक्तपुरका दशमहाविद्या देवीलाई तान्त्रिक विधिबाट पूजा गरिएको हो।
उक्त अवसरमा भक्तपुरलगायत उपत्यकाका विभिन्न स्थानबाट भक्तजनको घुइँचो लागेको थियो।
20 Nov Bhaktapur Dash Mahavidya Puja 2
गणेशपूजासँगै भक्तपुरको यसिंख्यःस्थित भद्रकाली, भिंसिंख्यःस्थित तारारूपी नीलसरस्वती, खँला टोलस्थित त्रिपुरभैरवी, टौमढी टोलस्थित भुवनेश्वरी र छिन्नमस्ता चण्डिका, लाय्कुस्थित मातङ्गी, इन्द्रायणी पीठमा बगलामुखी, तुलाछेँस्थित राजेश्वरी त्रिपुरासुन्दरी, थालाछेँस्थित कमला र टिबुक्छेँ टोलको दहिविनायकनजिकै धूमावतीमा पूजा गरिएको हो।
दशमहाविद्या पूजा भक्तपुरका तलेजु पुजारी प्रगेश राज राजोपाध्यायले गरेका थिए।
सोही अवसरमा विधिअनुसार विभिन्न परिकारहरूसहितको ब्व अर्थात् देवीहरूलाई भोज पनि चढाइएको थियो।
प्रकाशित: Nov 21, 2019 | 08:40:52

Wednesday, November 6, 2019

Rajopadhyaya in News : पाटनमा चार सय वर्ष पुरानो कात्तिक नाच

 पाटनमा चार सय वर्ष  पुरानो कात्तिक नाच


२०७६ कार्तिक २० बुधबार ०७:३५:००






पाटन दरबार परिसरमा करिब चार सय वर्ष पुरानो कात्तिक नाच भइरहेको छ । देश र जनताको भलो हुने विश्वासका साथ नाच नाच्ने गरिएको कात्तिक नाच संरक्षण समितिले जानकारी दिएको छ । नाचमा करिब सयजना कलाकार सहभागी छन् । नाच साँझ सात बजेदेखि मध्यरातसम्म देखाइन्छ । गत शुक्रबार सुरु भएको नाच १२ दिनसम्म चल्नेछ ।
कात्तिक नाच सञ्चालन समितिका सदस्य सञ्जय शर्मा राजोपाध्यायका अनुसार नाचमा कृष्णलीलाको माध्यमबाट समाजमा व्याप्त विकृति विसंगतिलाई प्रस्तुत गरी सचेत तुल्याइन्छ । ‘सिद्धिनरसिंह मल्लका गुरुहरू हरिवंश राजोपाध्याय विश्वनाथ राजोपाध्यायले १६९७ मा यो नाचको सुरु गरेको विश्वास छ । कात्तिक विष्णुको महिनाका रूपमा मानिन्छ । सिद्धिनरसिंह विष्णुका भक्त थिए । त्यसैले देश र जनताको भलो हुने विश्वासका साथ कात्तिक महिनामा नाच्ने परम्परा रहेको हो ।’ 
सुरुमा पाँच दिन नचाइएको नाच योगनरेन्द्र मल्लको पालामा २७ दिनसम्म चलेको थियो । वि.सं. २००६ देखि ०३७ सम्म कात्तिक नाच दुई दिनमा सीमित गरिएको थियो । तत्कालीन राजनीतिक परस्थितिका कारण नाच दुई दिनमा सीमित गरिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार बताउँछन् । ०३८ बाट १० दिनसम्म नाच सञ्चालन गरिएको थियो । ०७१ देखि भने १२ दिनसम्म नाच सञ्चालन हुँदै आएको छ । 
 नाच व्यवस्थापनमा बजेट अभाव 
कात्तिक तन्त्रको प्रयोग गरी नाचिने सांस्कृतिक नाच हो । योनाच देशकै सबैभन्दा लामो नाट्य महोत्सवमध्येको एक मानिन्छ । नाच सञ्चालन गर्न १० देखि १५ लाख खर्च लाग्ने समितिको अनुमान छ । तर, सरकारी पक्षबाट न्यून बजेट विनियोजन हुँदा इतिहासमा जस्तै २७ दिनसम्म नाच सञ्चालन गर्न नसकिएको समितिको गुनासो छ । 
समितिका अध्यक्ष चित्रकार भन्छन्,  ‘आर्थिक स्रोतको कमी र राजनीतिक परिस्थितिले गर्दा कात्तिक नाच कुनै समय छोटो र कुनै समय लामो हुने गरेको छ ।’  नेपाल भ्रमण वर्षलाई मध्यनजर गर्दै एक महिनासम्म नाच सञ्चालन गर्ने योजना भए पनि बजेट अभावकै कारण सम्भव नभएको उनले बताए । 
समिति सदस्य सञ्जय शर्मा राजोपाध्यायका अनुसार यस वर्ष ललितपुर महानगरपालिकाले दुई लाख बजेट विनियोजन गरेको छ । नाच व्यवस्थापन गर्न सो बजेटले नपुग्ने उनले बताए । ‘केही वर्षअघिसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७८ हजार बजेट दिने गरेको थियो । अहिले ललितपुर महानगरपालिकाले चार लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए पनि दुई लाख मात्र विनियोजन गरेको छ  ।’ समितिले स्थानीयबाट पनि सहयोग संकलन गर्ने गरेको छ । 
 ६ वर्षमा फेरिन्छन् कलाकार र गरगहना
प्रत्येक ६ वर्षमा कलाकार, पहिरन र गरगहना फेर्ने चलन छ । पहिले १२ वर्षमा फेर्ने चलन थियो । १२ वर्षमा फेरिँदा व्यावहारिक नहुने देखिएपछि समय घटाएको समिति सदस्य राजोपाध्यायले बताए । कात्तिक नाचमा समावेशी सहभागिता हुने उनले जानकारी दिए । ‘नाचमा चित्रकार, तन्दुकार, शाक्य, श्रेष्ठ, महर्जन, व्यञ्जनकारलगायतका समुदायको सहभागिता हुन्छ,’ उनले भने ।