Sunday, December 7, 2014

Rajopadhyay in News : चाँगुनारायणमा महास्नान पर्व सकियो

चाँगुनारायणमा महास्नान पर्व सकियो


    भक्तपुर, मंसिर २१ - 

    हरेक वर्षको मंसिर शुक्लपक्ष एकादशीदेखि ६ दिनसम्म चाँगुनारायण मन्दिरमा मनाइने महास्नान पर्व आइतबार सकिएको छ। यो बिस्केट जात्रापछिको दोस्रो ठूलो पर्व हो। 

    मंसिर शुक्लपक्ष एकादशीका दिन भगवान् नारायणलाई आह्वान गर्दै निमन्त्रणा पूजा गरी राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले संकल्प गरेको 'पगरी र जटाधारी' नरिवल चाँगुनारायणलाई अर्पण गरी यो पर्व सुरु हुन्छ। पौष कृष्ण प्रतिपदाका दिन आइतबार 'बिदापूजा' गरी सकिएको मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बताए। 

    भारतको काशीबाट भगवान् बद्रीनाथ चाँगुनारायण आउने विश्वास एवं किंवदन्तीनुसार वाग्मतीबाट ल्याइएको जल, पञ्चामृतबाट महास्नान गराई यो पर्व मनाइन्छ। धर्तीमा उब्जनी भएको मकै, कोदो र मस्यामबाहेक सबै अन्न चढाई छ दिन महास्नान पर्व मनाउने परम्परा छ। 

    मंसिर शुक्लपक्षको साँझ ८ धार्नी घिउ, त्यति नै चिनी, ५ पाथी दही, त्यति नै दूध र महले चाँगुनारायणलाई महास्नान गराइन्छ। पर्वका लागि चाँगुनारायण मन्दिर परिसरको छिन्नमस्ता, नाट्येश्वरी, भैरवलगायतका विभिन्न मन्दिरमा पहिलो दिन २ राँगा, ९ बोका, एक कालो भेडा, एक सेतो भेडा, ३१ हाँस बलि दिइएको छ। 

    बलि दिन गुठी संस्थान शाखा कार्यालय भक्तपुरले प्रत्येक वर्ष पशुपक्षीको व्यवस्था गरिदिनुपर्ने परम्परा रहेको गुठी संस्थान प्रमुख लेखनाथ सापकोटाले बताए। उनका अनुसार गुठी संस्थानले दान दिने दुई गाई, पर्व चलाउन २६ मुरी १० पाथी चिउरा, २० मुरी ७ पाथी ७ माना चामल, ४ तोला चाँदी, ७ मासा सुन, २ किलो ७४ ग्राम पित्तल, ५ किलो ७ सय ७५ ग्राम तामालगायत एक सय ९ थरी जिन्सी सामानहरू पर्वका लागि उपलब्ध गराएको थियो। चाँगुनारायण महास्नान पर्व चलाउन प्रत्येक वर्ष गुठीले करिब ७ लाख खर्च गर्दै आएको छ। 

    त्रयोदशी र चतुर्दशीका दिन बाँकी पशुपक्षीको बलि दिइएको भँडेल नाइके श्रीकुमार भँडेलले बताए। पर्वको दोस्रो दिन अर्थात् मंसिर शुक्लपक्ष त्रयोदशीको दिन भँडेल भोजको आयोजना गरिएको थियो। ४० घर भँडेलका पुरुषहरूले मात्रै भोज खान पाउने परम्परा रहेको भँडेल नाइके भँडेलले बताए। 

    त्यस्तै, पर्वको तेस्रो दिन ३६ जना ब्राह्मणलाई विभिन्न परिकारको ब्राह्मण भोजन, चतुर्थी पूजा गरी भोज खुवाउने र अन्तिम दिन पौष कृष्ण प्रतिपदाका दिन पाँच दिन महास्नान पर्वमा खटिने सबैलाई बिदापूजा गरी करिब एक ट्रक अनाज चढाई पूजा गरी महास्नान पर्व सम्पन्न भएको छ। लिच्छवि राजा मानदेवको पालादेखि यस मन्दिरमा महास्नान पर्व सञ्चालन हुँदै आएको संस्कृतिकर्मी बताउँछन्।
    source: http://www.ekantipur.com/kantipur/2071/8/21/full-story/335164.html

    प्रकाशित मिति: २०७१ मंसिर २२ ०८:५९