Sunday, October 27, 2019

Rajopadhyaya in News :काठमाडौंको तलेजुमा भोलि लक्ष्मीपूजा : ‘चःह्रेमा कसरी लक्ष्मी भित्र्याउने?’

सन्दर्भ : तिहार तिथि विवाद

काठमाडौंको तलेजुमा भोलि लक्ष्मीपूजा : ‘चःह्रेमा कसरी लक्ष्मी भित्र्याउने?’

  • आभास धरानन्द राजोपाध्याय कार्तिक १०, २०७६ | आइतबार | काठमाडौं

कुनै पनि पर्वपूजाबारे तिथिमिति वा अन्य विवाद भए आधिकारिक मानिन्छ, काठमाडौंको तलेजु मन्दिरलाई।
काठमाडौंलगायत विभिन्न पुराना सहरमा अलग–अलग्गै तलेजु छन्। अनि तलेजुसँगै द्यःभाजु राजोपाध्याय ब्राह्मण पुजारी, कमाचार्य पुजारी र ज्योतिषीका रूपमा जोशीलगायतको एउटा निश्चित समूह गुठीअन्तर्गत सम्मिलित हुन्छ।
यसरी तिथिमिति विवाद भए अन्य ठुल्ठूला मन्दिर वा बहाललाई आधिकारिक मानी त्यसैअनुसार पर्वपूजा चलाउने गरिन्छ, नेवाः समुदायमा।
काठमाडौंको तलेजु मन्दिरले भने नेपाल पञ्चाङ्ग निर्णायक समितिको तिहार पर्वको तिथि मानेको छैन। यहाँका पुजारी उद्धव कर्माचार्य भन्छन्, ‘आइतबार चःह्रे पूजा हुन्छ, अनि कहाँ लक्ष्मीपूजा गर्ने यही दिन? चःह्रेमा कसरी लक्ष्मी भित्र्याउने?’
विशेष तान्त्रिक पद्धतियुक्त हुन्छ, चःह्रे पूजा अर्थात् चतुर्दशी पूजा। प्रत्येक कृष्ण पक्षको चतुदर्शीमा यसरी तान्त्रिक विधियुक्त चःह्रे पूजा गरिन्छ। चःह्रे पूजाकै दिन लक्ष्मीपूजा गर्नै नमिल्ने तर्क गर्छन्, उनी।
‘तलेजुमा हाम्रै जोशीहरू छन्, जसले परम्परा पनि बुझेका छन् र शास्त्र पनि,’ उनी थप्छन्, ‘यहाँकै जोशीको निर्णय परम्परादेखि हामीले मान्दै आएका छौँ।’
परम्पराअनुसार यसरी जोशीको उपस्थिति भएको ठाउँमा पञ्चाङ्ग निर्णायक समितिजस्तो पछिल्लो संस्थाको निर्णय बाध्य हुनुपर्दैन। तर, गुठी संस्थानले अधिग्रहण गरेका गुठी जग्गाको आयस्ताबाट संस्थानले पर्वका लागि भनेर दिने ठाउँमा भने यसै समितिले भनेअनुसार गर्न दशकौँदेखि बाध्य पारिएको छ।
ललितपुर र भक्तपुरका तलेजुमा पनि यसरी चःह्रे पूजा गर्नुपर्छ। ललितपुरमा भने शनिबार नै चःह्रे पूजा सम्पन्न गरिसकेको बताउँछन्, पुजारी रक्षण राजोपाध्याय। बलिबिना गरिने पूजाका लागि भने चन्द्रमानअनुसार चतुर्दशी तिथि लाग्ने दिन हेरिने उनी बताउँछन्।
त्यस्तै, भक्तपुरको तलेजुका पुजारी प्रगेशराज राजोपाध्यायका अनुसार भक्तपुरको तलेजुमा शनिबार नै चःह्रे पूजा सम्पन्न भइसकेको छ।
प्रकाशित: Oct 27, 2019 | 18:46:02

No comments:

Post a Comment