Wednesday, December 18, 2019

Rajopadhyaya in news : कार्तिक नाचको लागि १ करोड सहयोग

कार्तिक नाचको लागि १ करोड सहयोग

SamacharDesk – कल्चर ब्यूरो | २०७६ मङ्सिर २८, शनिबार

ललितपुरको ऐतिहासिक कार्तिक नाचको संरक्षण र दीगो व्यवस्थापनको लागि ललितपुर महानगरपालिकाले १ करोड सहयोग उपलब्ध गराउने भएको छ ।
शनिबार ललितपुरको कार्तिक डबलीमै आयोजना भएको एक कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त सहयोगको घोषणा गर्दै अर्को आर्थिक वर्षमा कार्तिक नाचको लागि विशेष योजना बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 
सोही कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई पनि दिइएको थियो । 
दबूकातर्फबाट बोल्दै दबूका महासचिव सुनिल महर्जनले कार्तिक नाच ललितपुरको मात्र नभई नेपालकै गौरव भएको बताउनुभयो । महासचिव महर्जनले जन प्रतिनिधि आइसकेको अवस्थामा स्थानीय मूर्त अमूर्त सम्पदा, परम्पराको संरक्षणको दायित्व स्थानीय सरकारले नै लिनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकार आइसकेको अवस्थामा अब स्थानीय सँस्कृति संरक्षणको लागि गुठी वा सम्वन्धित खलकहरु चिन्तित भइरहनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि जनप्रतिनिधिहरुले काम गर्नुपर्ने महर्जनको भनाई हो ।
कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले नेपालको एकमात्र अटुट रुपमा निरन्तर सञ्चालन हुँदै आएको नाट्य परम्परा कार्तिक नाच नै भएको जानकारी दिनुभयो । यस ऐतिहासिक नाचको भविष्य सुनिश्चित गर्नका लागि साथै दीगो व्यवस्थापनका लागि १० करोडको अक्षय कोषको स्थापनार्थ आफु क्रियाशील रहेको पनि चित्रकारको भनाई थियो । 
सोही कार्यक्रममा समितिका सदस्य संजय शर्मा राजोपाध्यायले कार्तिक नाचलाई निरन्तर सञ्चालन गरिरहनका लागि ललितपुर महानगरपालिका १६ वडाबाट राम्रै सहयोग प्राप्त भइरहेको बताउँदै १६ वडालाई धन्यवाद ज्ञापन गर्नुभयो । तर ललितपुर दरवार क्षेत्रसँगै जोडिएको  वडाले भने सहयोग त के, भेट्नलाई सम्म पनि चासो नदेखाएको गुनासो पनि राजोपाध्यायले गर्नुभयो ।
कार्तिक नाच संरक्षण समितिले एक कार्यक्रमको आयोजना गरी यस वर्षको कार्तिक नाचको औपचारिक समापन गरेको हो । यस वर्ष गत कार्तिक १५ गतेबाट कार्तिक २६ गतेसम्म ललितपुर मंगलबजारस्थित कार्तिक डबलीमा कार्तिक नाच प्रदर्शन गरिएको थियो ।
सिद्धिनरसिंह मल्लले वि.सं. १६९७ बाट शुरु गरेको कार्तिक नाच सोही बेलादेखि हरेक वर्ष निरन्तर प्रदर्शन हुँदै आएको छ । ३७९ वर्षको ईतिहास बोकेको यो नाचलाई यति लामो समय अटुट रुपमा हरेक वर्ष निरन्तर प्रदर्शन भएको एकमात्र नाट्य परम्पराको रुपमा दावी गरिएको छ ।

No comments:

Post a Comment