Wednesday, November 21, 2018

Rajopadhyaya in News: आज कार्तिक नाचमा दैत्य ब्युँताउन समस्या !

SamacharDesk – कल्चर ब्यूरो | २०७५ मङ्सिर ५, बुधबार
कार्तिक नाच अन्तर्गत आज दैत्य ब्युँताउनलाई समस्या देखिएको छ । मंगलबजारस्थित ढुङ्गेधारा वासः हितिमा पानी सुकेसँगै दैत्य ब्युँताउन समस्या देखिएको हो । 
मंगलबजारस्थित कार्तिक डबलीमा आज कार्तिक नाचमा नरसिंह अवतार प्रस्तुत हुनलागेको छ भने यस नाचमा नरसिंहले दैत्यलाई छुने वित्तिकै दैत्य मुर्छित हुने गर्दछ । 
सो क्रममा वासः हितिबाट ल्याइएको चोखो पानी ख्वाएर दैत्यलाई ब्युँताउने गरिन्छ । तर वासः हिति सुकेर पानी नै नआउने भएपछि आज मुर्छित दैत्यलाई ब्युँताउन समस्या देखिएको हो ।
सिद्धिनरसिंह मल्लको पालामा शुरु गरिएको कार्तिक नाचमा नरसिंह अवतार विशेष एवम् मुख्य प्रस्तुतिको रुपमा लिइन्छ । नाच एवम् वाद्यवादनको विकास सिद्धिनरसिंह मल्लका शिक्षा गुरु हरिवंश उपाध्यायले र दिक्षा गुरु विश्वनाथ उपाध्यायले आवश्यक तन्त्र विधि सम्पन्न गरी यो नाच निर्माण गरेको ईतिहास रहेको छ । सो समयमा हरिवंश उपाध्याय आफैं नरसिंह बनेको र तन्त्र विधि अनुसार विश्वनाथ उपाध्यायले दैत्यलाई ब्युँताएको कथन रहेको छ । 
सोही परम्परा आजसम्म निरन्तर हुँदै हरिवंश उपाध्यायका वंशज ललितपुर गाःबहालस्थित महाद्यःननिका राजोपाध्याय ब्राम्हणहरुले नरसिंहको भूमिका निर्वाह गरिरहेका छन् भने दैत्य ब्युँताउनलाई आवश्यक तन्त्र विधि विश्वनाथ उपाध्यायका वंशज पट्को टोल निवासी राजोपाध्याय ब्राम्हणहरुले गर्ने गरेका छन् । दैत्यको भूमिका भने नुगः त्वाः (सुन्धारा) निवासी चित्रकारहरुले गर्ने गरेका छन् ।
नरसिंह नाच प्रदर्शनको क्रममा नरसिंहले दैत्यलाई छुने वित्तिकै दैत्य मुर्छित हुने गर्दछ । मुर्छित भएका दैत्यलाई ब्युँताउनका लागी पट्कोका राजोपाध्याय ब्राम्हणले मंगलबजारस्थित ढुङ्गेधारा ‘वासः हिति’बाट चोखो पानी ल्याई मन्त्रसोधन गर्दै दैत्यलाई ख्वाएपछि मूर्छित दैत्य ब्युँतिने गर्छ । तर आज दैत्यलाई ब्युँताउनको लागी वासः हितिमा पानी नआएको अवस्थामा समस्या भएको छ ।
धारा सुकेको अवस्थामा खोलाबाट अथवा ईनारबाट अथवा कुवाबाट चोखो पानी ल्याउन सकिने विधि रहेपनि यी विकल्पमा पनि समस्या नै देखिएको छ । मंगलबजारबाट खोला टाढा रहेको अवस्थामा उक्त विकल्पमा पनि जान नसकिने देखिएको छ । 
त्यसैगरी मंगलबजार दरवारभित्र रहेका दुईवटा ईनारमध्ये केशव नारायण चोकको ईनार सुकिसकेको छ भने भण्डारखाल बगैंचाको ईनारमा पनि समस्या रहेको छ । हाल उक्त ईनारमा वर्षाको पानी जाने व्यवस्था मिलाउँदा चोक सरसफाई गर्दाको दुषित पानीको साथमा ढलको फोहर समेत सोही ईनारमा मिसिन जाने अवस्था रहेको तलेजु मन्दिरका पूजारी रक्षण राजोपाध्यायले बताउनुभयो । नजिक रहेका कुवाहरु पानी सुकेको अवस्था छ ।
आज दैत्य ब्युँताउनको लागी अल्पकालीन उपाय अपनाईसकेको जानकारी कार्तिक संरक्षण समितिका संचार संयोजक संजय शर्मा राजोपाध्यायले दिनुभयो । तर दीर्घकालीन रुपमा भने दैत्य ब्युँताउनका लागी समस्या नै देखिएको राजोपाध्यायको भनाई छ । कार्तिक नाचमा नरसिंह अवतार प्रदर्शन निरन्तरताका लागी वासः हितिमा निरन्तर पानी आउने व्यवस्था गर्न सम्बन्धित निकायले पहल थालिहाल्नुपर्ने समितिले जनाएको छ ।

No comments:

Post a Comment