ललितपुर — नेवार समुदायमा मृत्युपछि १ वर्षभित्र कम्तीमा ७ पटक मृत्यु संस्कार गर्नुपर्ने चलन छ । त्यसक्रममा चारपटक भोज खुवाउनुपर्छ ।
नेवारी समुदायमा यी संस्कार समयनुकूल परिमार्जन र छोटयाउन नसक्दा फजुल खर्च हुने गरेको बुद्धिजीवीहरू बताउँछन् । बुद्धिजीवीहरूका अनुसार मृत्यु संस्कार छोटयाउन र त्याग्न खोज्नेलाई समाजले छुट्टै दृष्टिकोणले हेर्दा परिमार्जन हुन नसकेको हो । मल्लकालदेखि चलेको यो संस्कार अझै कायमै छ ।
पूर्वसंस्कृतिमन्त्री बुद्धिराज वज्रचार्यले पाटनका नेवारी समुदायमा मृत्यु संस्कार छोटयाउन पटक–पटक छलफल भएको बताए । ‘तर समयनुकूल परिमार्जन हुन सकेको छैन,’ उनले भने, ‘कसै–कसैले भने ४५ दिनमा गरिने संस्कार १३ दिन छोटयाएका छन् ।’ उनका अनुसार प्राय:ले पुरानै परम्परालाई निरन्तरता दिएका छन् । ‘यसले समय र पैसा दुवै अनावश्यक खर्च हुने गरेको छ,’ उनले भने, ‘पहिला नातेदार पनि कम हुन्थे, भोज भतेर गर्दा पनि कम खर्चमा पुग्थ्यो ।’ समयसापेक्ष मृत्यु संस्कारलाई छोटयाउनेबारे अधिकांश नेवार समुदायमा पटक–पटक छलफल भएका छन् । तर, पनि व्यवहारमा लागू भएको छैन ।
बुङमती र खोकनाका केही समुदायले भने ४५ दिनमा गरिने लत्या भोजलाई छोटयाएर १३ दिनमा सीमित गरेका छन् । ताम्राकार समाजले १४ वर्षअघि नै आवश्यक संस्कारबाहेक फजुल भोजभतेर नगर्ने नीतिलाई कडाइका साथ लागू गरेको छ । ‘मृत्यु भइसकेपछि लत्या, खुला, दकिला र निदँतिथि भनी गरिने श्रद्धा भोजलाई परिवार मात्र बसी सक्ने नीति बनाएका छौं,’ ताम्राकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्राकारले भने, ‘दु:खमा आयोजना गरिने भोज तडकभडक हुनथालेपछि छोटयाएका हौं ।’ त्यस्तै राजोपाध्याय समाजले राष्ट्रिय महत्त्वका पदमा रहेका व्यक्तिहरूलाई वर्ष दिनसम्म बर्खी बार्नु नपर्ने व्यवस्था मिलाइएको छ । १३औं र ४५औं दिनमा बर्खी फुकाल्ने व्यवस्था मिलाइएको छ । स्य:स्य: (श्रेष्ठ) समाजमा पनि १३औं दिनमा सबै संस्कार सक्ने परम्परा सुरु भएको स्य:स्य: समाजका अध्यक्ष केदारलाल श्रेष्ठले बताए । ‘विदेशमा हुने छोराले आफ्नो बुबाको मृत्यु हुँदा स्वदेश फर्की १३ दिनमा सबै संस्कार पूरा गरी विदेश फर्किने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘समाजले पनि मृत्यु संस्कारलाई छोटयाउन गृहकार्य गर्दै छ ।’
सुनाकोठीमा यो संस्कार परिमार्जनका लागि युवाहरूको समिति नै गठन गरिएको स्थानीय रामचन्द्र महर्जनले बताए । नेवारी समुदायमा मृत्यु भइसकेपछि चिपं थिक: वनेगु, विचा: वनेगु, ब्या: काय्गु/छयगु, लोचा:, न्हय्नुब्व तयेगु, दूब्यंक: वनेगु, लोचा: भनी मृतकका परिवारजनलाई सान्तवना र श्रद्धाञ्जलि दिन जाने चलन छ । सातौं दिनमा गरिने न्हय्नुब्वमा दिवंगत व्यक्तिलाई मन पर्ने विभिन्न खानेकुरा विवाह भइसकेका छोरीले कुश्लेलाई दान दिने चलन छ । दसै दिन परिवार, आफन्त र नातेदारलाई बोलाएर पुरोहितद्वारा शरीर, घर चोख्याउने गरिन्छ । जसलाई नेवारीमा दूब्यंक:वनेगु भनिन्छ । यसदिन छोराको कपाल मुन्डन गरी बर्खी बार्ने गरिन्छ । एघारौं दिन घ: सू भनी होम गरिन्छ । आफन्तजन, चेलीबेटी र नजिकका नातेदारलाई मात्र शुद्धीकरण गर्न बोलाएर भोज खुवाउने चलन छ । यस दिनको भोज साथीभाइलगायत अन्यले खान नहुने चलन छ । यी परम्परा नेवारी समाजअनुसार फरक छन् । त्यस्तै लत्या भनी ४५औं दिन, खुलाया भनी ६ महिना, दकिला भनी १ वर्ष र निदँतिथि भनी २ वर्षमा गरिने संस्कारमा भने तडकभडकसहित भोज गर्ने चलन छ ।
यी संस्कार चापागाउँ, सुनाकोठी, ठेचो, लुभु, सानोगाउँ, ठैब, हरिसिद्धि, लेले, पाटनलगायत नेवारी समुदायमा अझै कायम छ ।
‘मृत्यु संस्कारलाई समयनुसार परिमार्जन गर्न प्रयास भइरहेको छ,’ राजोपाध्याय समाजका अध्यक्ष बदनशर्मा राजोपाध्यायले भने, ‘समाजका सदस्यले परम्परादेखि चल्दै आएको संस्कृति तत्काल छाड्न मानेका छैनन् ।’ उनले आफ्नो आमाको मृत्युमा ४५ दिनमा बर्खी फुकालेको बताए ।
कुनै समुदायमा मृत्युसम्बन्धी काम गर्ने छुट्टै सना:, सी: र गोँ गुठी हुन्छ । यी गुठीका गुठियारलाई मृत्यु संस्कारमा गरिने श्रद्धामा अनिवार्य बोलाएर भोज खुवाउनुपर्ने चलन छ । ‘आफ्नो साथीको बुबा मृत्यु हुँदा मृत्यु संस्कार तीन दिनमा छोटयाउन प्रयास गरेको थिएँ,’ सुनाकोठीस्थित सना: गुठीका गुठीयार केदारमान महर्जनले भने, ‘तर नातागोतालाई सम्झाउन नसक्दा पुरानै परम्पराअनुसार गर्नुपर्यो ।’
प्रकाशित : फाल्गुन २९, २०७२ ०९:०९स्रोत : https://www.kantipurdaily.com/printedition/2016/03/12/20160312090912.html
No comments:
Post a Comment