Sunday, September 2, 2018

Rajopadhyaya in News :लिच्छविकालीन चाँगुनारायण कलशयात्रा मनाइयो , प्राचीन जात्रामा नयाँ पुस्ता पनि अघि सर्दै

लिच्छविकालीन चाँगुनारायण कलशयात्रा मनाइयो , प्राचीन जात्रामा नयाँ पुस्ता पनि अघि सर्दै 


प्रकाशित: शनिवार, १६ भाद्र २०७५, २०३० बजे
- महानगरखबर

फिचर न्यूज
 
श्री चाँगुनारायण तथा दायाँ–बायाँ श्री सरस्वती र श्रीलक्ष्मीरूपी चाँदीको कलश बोक्दै भक्तपुर जिल्लाको प्रसिद्ध चाँगुनारायण मन्दिरदेखि काठमाडौँको हनुमानढोकासम्मको पैदल यात्रा । भोको पेट, पानीसम्म पनि खान नहुने र काठमाडौँको हिले खाल्डाखुल्डी बाटोमा खाली खुट्टा । अनि त्यसमाथि पानी पर्ने मौसम — यस वर्षको श्रावण शुक्ल द्वादशीको दिनको कलशजात्राको शाब्दिक वर्णन यसैले मोटामोटी समेट्ला । 

यसरी खालि खुट्टा र शुद्ध भई हिँडाएर ल्याइने चाँगुनारायण जात्राका कलशहरूलाई बाटामा पनि कसैले छुन हुँदैन । ती कलशहरूमा चाँगुनारायणको शक्ति सहितको शुद्ध जल हुन्छ र काठमाडौँको हनुमानढोकास्थित तलेजु मन्दिरमा दुबै देवस्थानहरूको पूजा साटासाट गरेपछि राष्ट्रप्रमुखले सो कलशमा छायाँ दर्शन गर्ने प्रचलन छ । 

पहिले राजतन्त्रकालमा राजाले यसरी छायाँ–दर्शन गर्दथे भने हाल गणतन्त्र स्थापना भएपछि राष्ट्रप्रमुखको हैसियतले सम्माननीय राष्ट्रपतिले छायाँ–दर्शन गर्नुहुन्छ । यसै रीतअनुसार बिहीबार बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जात्रापश्चात् चाँगुनारायणको कलशमा छायाँ–दर्शन तथा टीका, पूmल र प्रसाद ग्रहण गर्नुभएको थियो । 

“राजालाई नारायणको स्वरूप मानिन्थ्यो, त्यसैले चाँगुनारायणको कलशमा स्थापित दैवी शक्ति राष्ट्रप्रमुखलाई (पहिले राजा, हाल राष्ट्रपति) नै स्थापित होस् भनेर यो रीति चलाइएको हुनुपर्छ,” चाँगुनारायण मन्दिरका मूल पुजारी पण्डित चक्रधरानन्द राजोपाध्याय भन्नुहुन्छ । “पहिले–पहिले देवतासँगै पुजारी पनि शक्तिशाली हुन्थे,” जात्रामा सहभागी एक भँडेल बताउनुहुन्छ, “वंशीधरानन्द पुजारी हुँदा उहाँले बाटो नै पल्टाइदिनुहुन्थ्यो, एकैचोटि काठमाडौँबाट चाँगु पुग्न सक्नुहुन्थ्यो । उनका बुबा पनि काठमाडौँमा बसी पाटनको भीमसेन जगाउन सक्नुहुन्थ्यो रे ।” तर हाल कलि लागेर यस्तो शक्ति क्षीण हुँदै गएको उहाँ मान्नुहुन्छ । 

हनुमानढोका दरबार संग्रहालय विकास समिति र पुरातŒव विभागबाट नै राष्ट्रपतिको कार्यालय शीतल निवासमा यात्राका लागि गाडी व्यवस्था गरिएको छ । पहिले राष्ट्रप्रमुखका रूपमा राजा आपैm हनुमानढोकामा बस्ने हुनाले कतै लग्न लगिँदैन थियो । तर पछि राजा नारायणहिटी दरबार वा नागार्जुन दरबारमा हुँदा र हाल राष्ट्रपतिका लागि शीतल निवासमा कलश जात्रा पु¥याउन यसरी गाडीको व्यवस्था गरिएको हो । 

यस जात्रामा राष्ट्रप्रमुख नै सहभागी हुनुपर्ने मान्यता छ । अन्य राजनीतिक अवस्थामा राष्ट्रपति बाहिर हुँदा उपराष्ट्रपति अथवा अन्यले प्रतिनिधित्व गर्ने चलन भएता पनि यस जात्रामा भने राष्ट्रप्रमुख आपैm सहभागी हुनैपर्ने बाध्यकारी प्रचलन छ । 
जात्राको इतिहास कोट्याउने हो भने यो जात्रा लिच्छविकालीन देखिन्छ । झण्डै १४ औँ शताब्दीमा लेखिएको गोपालराजवंशावलीको ३०ख पानामा श्री पुष्पदेवका पालामा दुधे कर्कलोका कारण महामारी पैmलिएकोले यसको शान्ति गर्नका लागि श्री चाँगुनारायणलाई सो कर्कलो चढाइएको उल्लेख छ । यसै बमोजिम अद्यापि यसै दिन चाँगुनारायणलाई कर्कलो चढाई कलशयात्रा गराइन्छ । 

सो कलशजात्रा चाँगुनारायण मन्दिरबाट डाँछी, गोकर्ण, जोरपाटी, चाबहिल, नक्साल, कमलादी हुँदै जमल पु¥याइन्छ । जमलमा रानीपोखरी नजिकको जगत नारायण मन्दिरको पाटीमा यात्राले केहीबेर विश्राम लिन्छ । चाँगु नारायणबाट बिहान ११ बजेतिर सुरु भएको जात्रा यसपटक दिउँसो करीब ४ बजे मात्र उक्त जात्रा जमल आइपुगेको थियो । बीचमा पानी बेजोडले परेको हुनाले कलश बोक्दै आउने भँडेल सहयोगीहरूले ठाउँ–ठाउँमा ओत लिनुपर्ने भएको थियो । 

जमलमा जात्राका स्वागत गर्नका लागि गुरुज्यूको पल्टन, मल्ल राजाको प्रतीक खड्ग र हनुमानढोका दरबारका महाने आउनुपर्ने चलन छ । सो क्रममा हुनमानढोका दरबारबाट पूजा पनि पठाइन्छ । चाँगुनारायणको राजोपाध्याय पुजारीले जमलको सो जगत नारायण मन्दिरमा कलशपूजा गर्नुपर्छ । सो अवसरमा गुरुज्यूको पल्टनले चाँगुनारायणको नाममा सलामी चढाउने गर्दछन् । 

त्यसपछि पुनः यात्रा सुरु हुन्छ, प्राचीन काठमाडौँ शहरको भित्रतर्पm । पृथ्वीनारायण शाहकालीन गुरुज्यूको पल्टन अघि–अघि, त्यसपछि राजोपाध्याय पुजारीले चाँगुनारायणको कलश बीचमा र भँडेल सहयोगीद्वयले दायाँ–बायाँ लक्ष्मी र सरस्वतीको कलश बोक्दै, पछाडि महानेले कसैले कलशलाई नछोओस् भन्ने हेतुले लठ्ठीले छेक्दै, कलश पछाडि मल्ल राजाका प्रतीक खड्ग र सबैभन्दा पछाडि भक्तजनको लस्कर — यसरी यात्रा अघि बढ्छ जमल, कमलाक्षी, असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन र हनुमानढोका दरबारसम्म ।
 

हनुमानढोका दरबार पुग्ने क्रममा चाँगुनारायण कलशजात्राका साथ बीचमा चाँगुनारायण कलश बोक्दै आभास धरानन्द राजोपाध्याय, बायाँ लक्ष्मी कलश र दायाँ सरस्वती कलशका साथ भँडेल सहयोगीहरू
तस्बिर — राजकुमार बन्जारा ÷ पुरातŒव विभाग

बाटोमा भक्तजनले कलश नछोइ पूजा गर्छन् र दक्षिणा चढाउँछन् । हनुमानढोका पुगेपछि तलेजुको ठूलो मूलद्वारबाट भित्र जानुपर्ने चलन छ, हनुमानढोकाबाट होइन । हनुमान सहितको ढोका मल्लकालीन मात्र हो भने प्राचीन कालमा गुणपो (अथवा गुनपो, गुन्पो) दरबार हुँदा तलेजु अगाडिको द्वार प्रयोग हुन्थ्यो । 

दरबार अगाडि काठमाडौँको तलेजु मन्दिरका राजोपाध्याय मूलपुजारीले जीवित देवी श्रीकुमारीको उपस्थितिमा उक्त जात्रालाई लसकुस अर्थात् स्वागत गर्दछन् । यसपटक काठमाडौँको न्हैकन्तला निवासी तलेजुका पुजारी (हाल भुजाहारी, अर्थात् भुजा पकाउने ?) राजीव राजोपाध्यायले तलेजुका कर्माचार्य तथा जोशीहरूको उपस्थितिमा उक्त जात्राको स्वागत गर्नुभएको थियो । तलेजुका राजोपाध्याय पुजारीले फलामको साँचो चाँगुनारायणका पुजारीलाई समात्न दिई हनुमानढोका दरबारभित्र तलेजु मन्दिर भएको त्रिशूल चोक हुँदै मूल चोक र इनार चोकमा लग्नुपर्ने परम्परा छ । त्यहाँ एक ढुङ्गाको आसनमा तीनवटै कलश बिसाइएपछि तलेजुका पुजारी यजमान र चाँगुनारायणका पुजारी पुरोहित भई पुनः कलश पूजा गर्नुपर्ने हुन्छ । 

सो क्रममा हनुमानढोकाबाट खटाइएका अर्का पुजारीले पनि उक्त कलश पूजा गर्छन् र चाँगुनारायणसँग नरिवल र पूजा साटासाट गर्छन् । उक्त पूजापश्चात् सबैलाई पूmल र टीका दिएपछि यात्रा राष्ट्रपतिकहाँ लगिन्छ । 

प्रत्येक वर्ष दुईपटक चाँगुनारायणको कलशजात्रा यसरी नै हनुमानढोका दरबार र राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिसम्म पु¥याइन्छ । वर्षाको जात्रा बिहीबार सम्पन्न भयो भने अर्को हिउँदे जात्रा पौष शुक्ल पूर्णिमाका दिन अर्थात् श्रीस्वस्थानी व्रत सुरु हुने दिन पर्छ ।

जात्रामा युवापुस्ता

यस पटकको जात्रामा मूलतः युवा पुस्ताको सहभागिता उल्लेखनीय थियो । पुजारी चक्रधरानन्द राजोपाध्यायका भतिजा तथा यस पत्रिकाका स्तम्भकार आभास धरानन्द राजोपाध्यायले काठमाडौँको जमलदेखि उक्त जात्राको जिम्मेवारी सम्हाल्नुभएको थियो । वैशाख २०७२ को भूकम्पको केही महिनाअघि फाल्गुण २०७१ मा आफ्ना भाइहरूद्वय सौरभ र प्रयास धरानन्द राजोपाध्यायसँगै चाँगुनारायणका पुजारी चक्रधरानन्द राजोपाध्यायबाट सर्वाम्नाय–पश्चिमज्येष्ठाम्नाय तान्त्रिक ब्रह्म दीक्षा ग्रहण गरी फेरि २०७२ फाल्गुण महिनामा आफ्ना भाइ प्रयास धरानन्द राजोपाध्यायसँग चार दिन निराहार–निर्जल व्रत बसी मन्दिर प्रवेश गर्नुभएका आभास धरानन्द राजोपाध्यायले उक्त जात्रा जमलदेखि हनुमानढोका र राष्ट्रपति निवाससम्म चलाउनुभएको थियो । 

मन्दिर प्रवेश कर्म गर्नुअघि मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले आपैm चाँगुनारायणबाट जात्रा सुरु गर्नुभई काठमाडौँको जात्रामा समेत सहभागी हुनुहुन्थ्यो । यसो गर्दा मन्दिरमा साँझको नित्य आरती गर्न पुनः काठमाडौँबाट पुजारी परिवारका एक सदस्य जानुपर्ने हुन्थ्यो । तर यसपटक चाँगुको जिम्मेवारी चाँगुनारायण नगरपालिका निवासी चक्रधरानन्द राजोपाध्याय र काठमाडौँको जिम्मेवारी काठमाडाँै निवासी आभास धरानन्द राजोपाध्यायले बाँडी सजिलो बनाइएको हो । 

चाँगुनारायण मन्दिरमा दुईजना पुजारीको दरबन्दी छ । पुजारी परम्परा पुस्तैनी मात्र चल्छ, अर्थात् राजोपाध्याय समुदायभित्रको अहिलेको पुजारीका परिवारले मात्र पुजारी हुन पाउँछ । सोही परिवारका भएर मात्र पुग्दैन, पुजा गर्न योग्य हुनका लागि तान्त्रिक दीक्षा र मन्दिर प्रवेश व्रतकर्मलगायत शपथ अनिवार्य छ । हाल सो परिवारभित्रबाट कृष्ण धरानन्द राजोपाध्याय (चाँगुनारायणका दुई पुजारी दरबन्दी भएकोमा अर्का पुजारी), चक्रधरानन्द राजोपाध्याय (वर्तमान पुजारी), उहाँका भाइहरूद्वय भुव र ओम्धरानन्द तथा नयाँ पुस्तामा वर्तमान पुजारीका भतिजाद्वय आभास र प्रयास धरानन्द राजोपाध्याय मात्रले हाल मन्दिरको नित्य पूजा गर्ने अधिकार राख्दछन् । अर्का भतिजा सौरभ राजोपाध्यायको भने पुजारी हुनका लागि मन्दिर प्रवेश कर्म मात्र बाँकी छ । यसरी मात्र ६ जना र नयाँ पुस्तामा मात्र दुईजनाले (दुईजना थप हुनसक्छ) पूजा गर्न पाउने भए पनि कृष्ण धरानन्दले स्वास्थ्यका कारण र उहाँका एक छोराले पूजा परम्परा छोडेका छन् । 

चाँगुनारायणमा अन्य कोही पुजारी किन हुँदैन भन्ने एउटा किंवदन्ती छ । कालो पुरुषरूपी नारायणले एक सुदर्शन ब्राह्मणको गाईको दूध चोरेर खाँदा सुदर्शन ब्राह्मण रिसाएर सो कालो पुरुषको शिरच्छेदन गरेको तर नारायण स्वयं प्रकट भई देवासुर सङ्ग्राममा आपूmले सुदर्शन ब्राह्मणकै पुर्खा सुमति ब्राह्मणलाई मारेकोले ब्रह्महत्याको श्राप लागेको निवारण भएको थियो । तसर्थ, सुदर्शन ब्राह्मणकै सन्ततिले नारायणको पूजा गर्नुपर्ने परम्परा रहेको साथै सो परिवार विस्तार नहुने तर पुजारीको कमी भने नहुने नारायणले आशीष दिनुभएको लोककथन छ ।

उक्त जात्राका क्रममा राष्ट्रपति निवासमा टीका–फूल ग्रहण गर्ने क्रममा नयाँ पुस्ताले यसरी चलन थामेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत खुशी व्यक्त गनुभएको थियो । 
भँडेल सहयोगीहरू दुबै पनि युवावस्थाकै सहभागी हुनुभएको थियो । दुई भँडेल सहयोगीमध्ये सरस्वतीको कलश बोक्नुहुने प्रदीप भँडेलको गणतन्त्र कालमा भने पहिलोपटक हो । यसअघि राजतन्त्र कालमा उहाँले राजाका अगाडि कलश जात्राका क्रममा उभिएको संस्मरण गर्नुहुन्छ । 


करिब ५० वर्षअगाडिको कलशजात्राको झलक, बीचमा पुजारी स्वर्गीय पण्डित वंशीधरानन्द राजोपाध्याय, तस्वीरमा दायाँ स्व. भीम बहादुर भँडेल र बायाँ स्व. पञ्च बहादुर भँडेल
तस्बिर — ओम्धरानन्द राजोपाध्यायको सङ्ग्रहमा


वि.सं. २०७१ को कलशजात्रा जमलमा, बीचमा पुजारी चक्रधरानन्द राजोपाध्याय
तस्बिर — आभास धरानन्द राजोपाध्याय
 

No comments:

Post a Comment