श्रीस्वस्थानीको व्रत
source:
कोही
आफ्नो मनोकांक्षा सबै पूरा भइसकेको हुँदा देश र समाजमा सुख शान्ति कायम
होस् र आफ्ना पितृहरुको आत्मा शान्तिको कामना गर्दै व्रत बस्नेहरु पनि छन् ।
व्रत बसिसकेका व्रतालुहरुका अनुसार नियम पुराएर गरिने एक महिने लामो
श्रीस्वस्थानी एवं माधवनारायणको व्रत बस्दा आफ्नो मनोकांक्षा पूर्ति हुन्छ ।
कसैले मेरो मनोकांक्षा पूर्ण भएन भनेर भनेको सार्वजनिक भएको छैन ।
साँखु शाली नदीमा श्रीस्वस्थानीको व्रत
काठमाडौं
उपत्यकामा श्रीस्वस्थानी एवं माधवनारायणको व्रत बस्ने सबैभन्दा उपयुक्त र
राम्रो स्थानमा काठमाडौं साँखुस्थित शालीनदी प्रमुख र प्रख्यात तीर्थस्थल
मानिन्छ । उक्त स्थानमा वर्सेनी सयौं महिलाहरु आफ्नो कुनै न कुनै
मनोकांक्षा पूरा होस् भन्ने हेतु यसरी नै श्रीस्वस्थानी एवं माधवनारायणको
कठिन एक महिने लामो व्रत बस्छन् । यसवर्ष पौष २५ गतेदेखि माघ २४ गतेसम्म
उक्त व्रत बस्ने दिन रहेको छ ।
साँखु
शाली नदी माघ मेला व्यवस्थापन मूल समितिका अनुसार यस वर्ष उक्त स्थानमा दुई
सय ४४ व्रतालुहरु श्रीस्वस्थानी एवं माधवनारायणको व्रतमा सहभागी छन् ।
समितिका सदस्य जीवनमान सिंहका अनुसार कूल व्रतालुमध्ये १५ जना पुरुष र
बाँकी महिला रहेका छन् । शाली नदीमा व्रत बस्न पूर्व मेचीदेखि पश्चिम
महाकालीका महिला आएका छन् । जसमध्ये भक्तपुर, काठमाडौं र काभ्रेका बढी
सहभागी रहेको सिंहले जानकारी दिए । व्रतमा विविध भाषा र जातका महिला तथा
पुरुषहरुको समावेशी सहभागितासमेत रहेको छ ।
स्वस्थानीदेवीको व्रतको ऐतिहासिकता
देवी
पार्वतीले पनि व्रत बसेर महादेवलाई वर पाएको हिन्दू धर्मग्रन्थहरुमा उल्लेख
छ । त्यस्तै गोमाले व्रत बसेर नै नवराजजस्तो युवराज पति पाएको पौराणिक
कथाबाट प्रभावित भएर नै नेपाली हिन्दू नारीहरु श्रीस्वस्थानी देवी एवं
माधवनारायणको व्रत बसेको पाइन्छ । यसरी पार्वती र गोमाले श्रीस्वस्थानी एवं
माधवनारायणको कठिन व्रत बसेर आफूले खोजेको जस्तो योग्य वर पाएको पौराणिक
कथाअनुसार हिन्दु नारीहरु प्रत्येक वर्ष यसै समय एक महिने लामो व्रत बस्छन्
। यस्तो प्रचलन नेपालमा वि.सं. १७३२ मा मल्ल राजा प्रताप मल्लको पालादेखि
शुरु भएको इतिहास पाइन्छ । काठमाडौं
साखुँस्थित शाली नदीमा रहेको शिलालेखमा उल्लेख भएअनुसार यो व्रत करिब तीन
सय ३७ वर्षदेखि नेपाली हिन्दु महिलाहरुले बस्दै आएका छन् । मल्लकालीन
व्यवस्था नेपालभाषीहरुको समाज हो । त्यसैले श्रीस्वस्थानी एवं माधवनारायणको
व्रत बस्नेहरु पनि नेवार महिलाहरु नै थिए । त्यसैले यसलाई नेपालभाषामा
‘माघ धलं’ (माघ महिनाको व्रत) भनिन्छ ।
शाली नदीको महत्व
काठमाडौं
उपत्यकामा श्रीस्वस्थानी एवं माधवनारायणको व्रत बस्ने धेरै व्रतालुहरु
शाली नदी जाने गर्छन् । देशभरका व्रतालुहरु यहाँ आउनुको मुख्य कारण यसले
गोमा र युवराज नवराजको पौराणिक कथाको ‘अवशेष’ पाइनु हो । गोमा र नवराजको
पौराणिक कथाअनुसार गोमा र नवराजको बिहे भइसकेपछि जन्ती लिएर यही शाली नदी
भई नवराजको घरतर्फ फर्किरहेको बेला घनघोर वर्षा भयो । नदी तर्न लागेकै बेला
आएको बाढीले नवराज र गोमासहित उसका डोलेहरुलाई नदीले बगाउँछ र उनीहरु
वेपत्ता हुन्छन् ।
यसरी
वेपत्ता भएका दुलाहादुलही तथा डोलेहरुको आकृति आउने ढुंगाहरु शाली नदीको
पूर्वपट्टि पाइएपछि उक्त ठाउँ पवित्र तीर्थस्थलको रुपमा अहिले स्थापित
भइसकेको छ । उक्त कथालाई पुष्टि गर्ने कुनै प्रमाण तथा संकेतहरु प्राप्त
नभए पनि इतिहासविद्हरुले यसलाई अस्वीकार गर्न सकेका छैनन् । यसरी
गोमाले पनि श्रीस्वस्थानी एवं माधवनारायणको व्रत बसेर नै नवराज जस्तो
योग्य वर पाएको र गोमाकै पवित्रस्थलको रुपमा परिचित भएको कारण
श्रीस्वस्थानी एवं माधवनारायण व्रत बस्न यस ठाउँलाई महत्वपूर्ण मानिंदै
आएको छ ।
व्रतालुको एकदिन
श्रीस्वस्थानी
एवं माधवनारायणको व्रत बस्ने व्रतालुहरु प्रत्येक दिन बिहान ४ बजे उठ्छन् ।
उनीहरु बसेको काठमाडौं साँखु तत्कालीन शंखरापुर नगरभित्र शंख फुकेर
व्रतालुलाई शाली नदी पुग्न सूचित गरिन्छ । त्यसपछि व्रतालुहरु बिहान
माधवनारायण देवतासँगै शालीनदीमा नुहाइधुवाई गर्छन् । नुहाउँदा चिसो हुने
हुँदा केही समय आगो तापेर न्यानो पार्ने काम हुन्छ । यी सबै कर्म बिहान ६
बजेभित्र सकिन्छ । बिहान ६ बजेपछि
उक्त दिनको पूजा सुरु हुन्छ । पहिलो पूजा पनि गणेशको पूजाबाटै सुरु हुन्छ ।
गणेशको पूजापछि शाली नदी क्षेत्रका सम्पूर्ण देवीदेवताको पूजा गर्ने तथा
व्रत बस्ने ठाउँमा स्थापित माधवनारायणको पूजा हुन्छ । त्यसपछि व्रतालुहरु
आफ्नो नियमित स्थानमा गएर बस्छन् र सो बेला भक्तजनहरुले व्रतालुहरुलाई दिन
ल्याएको दान लिनेदिने कार्य हुन्छ ।
यसपछि
व्रतालुहरु पुनः शाली नदीमा गएर चोखो पानी एवं जल लिन्छन् । शाली नदीका
राजोपाध्याय पण्डितको निर्देशन एवं नेतृत्वमा यी सबै कर्म हुन्छन् ।
व्रतालुहरुले आफूलाई चोख्याएर जल ल्याएपछि त्यस दिनको नित्य पूजा सुरु
हुन्छ । राजोपाध्याय पण्डितले भनेबमोजिम माधवनारायणको पूजा विधि सम्पन्न
हुन्छ । राजोपाध्याय पण्डित सुदन राजोपाध्यायका अनुसार यो पूजा करिब
डेढघण्टा लामो हुन्छ ।
उक्त
पूजापछि माधवनारायण देवतालाई साँखु नगरमा परिक्रमा गराउन लगिन्छ ।
व्रतालुहरु पनि उक्त देवताको पछिपछि लागेर साँखु नगरभित्रका सम्पूर्ण
देवीदेवताहरुलाई जल चढाउनुपर्छ । साँखु नगरका देवीदेवताहरुलाई जल
चढाइसकेपछि सो दिनको पूजाआजा तथा व्रत कार्य सम्पन्न हुन्छ । अब
व्रतालुहरुले फलाहार गर्छन् । फलाहारमा दूध, भात, ध्यू, चाकु, केराउ, हरियो
केराउको कोसा र रातो मूलामात्र प्रयोग गर्न पाइन्छ । त्यस्तै पाटनको
पालुंगो (अन्तको हुँदैन), लप्सी, सुन्तला खान हुन्छ । यीबाहेक अरु खाए उसको
व्रत भंग हुने मानिन्छ । दैनिक एकछाक खाएर यसरी एक महिनासम्म दैनिक
पूजाआजा तथा व्रत बस्ने कार्यले निरन्तरता पाउँछ ।
बजयोगिनी, पशुपति, शेषनारायण, पनौती र चाँगुको परदेश यात्रा
पौष
शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी एवं माधवनारायणको व्रतको सातौं
दिन ललास सप्तमीको दिन व्रतालुहरुको लागि विशेष दिन मानिन्छ । यस दिन
महिला व्रतालुहरु अरु दिनभन्दा राम्रो लुगाफाटा र गरगहना लगाएर व्रत बस्ने
प्रचलन रहेको पण्डित सुदन राजोपाध्यायले बताए । पहिलेदेखि नै यस्तो परम्परा
चलिआएको हँुदा सप्तमीको दिनमात्र किन विशेष हुन्छ कुनै तथ्य नभएको उनले
बताए । यस दिन पुरुष व्रतालुहरु भने साँखु नगरको सालखागेलस्थित नारायण
मन्दिरको गुडुल्किएर परिक्रमा गर्नुपर्छ ।
त्यस्तै
प्रत्येक एकादशीमा भने व्रतालुहरुले आफ्नो दैनिक फलाहारमा सुन्तला, तरुल र
पिडालुबाहेक अन्य खान पाइँदैन । व्रत बसेको चौधौं दिनमा साँखुस्थित
बज्रयोगिनी मन्दिरमा भक्तजनहरु पूजा गर्न जानुपर्छ । यसबेला पुरुष
व्रतालुहरुले साँखुदेखि जिउ नापेर बज्रयोगिनीसम्म पुग्नुपर्छ । महिलाहरु
पनि खाली खुट्टा हिंडनुपर्छ । त्यस्तै
माघ कृष्ण त्रयोदशीको दिन व्रतालुहरु साँखुदेखि हिंडेर पशुपतिनाथको पूजा
गर्न जानुपर्छ । एकरात त्यही बास बसी भोलिपल्ट व्रतालुहरु ज्ञानेश्वरस्थित
सानो गौचरण पुग्छन् । त्यहाँ दान थाप्ने तथा फलाहार गर्ने गर्छन् ।
त्यहाँबाट पुनः पुरुष व्रतालुहरु नारायणहिटी दरबारको दक्षिणढोकाबाट
भोटाहीटी, असन हुँदै हनुमानढोका पुग्छन् । महिला व्रतालुहरु भने
ज्ञानेश्वरबाट कालिकास्थान, सिंहदरबार, थापाथली, कुपण्डोल, जाउलाखेल,
एकान्तकुना, नख्खु हुँदै फर्पिङ्ग शेषनारायण पुग्छन् ।
माधवनारायण
देवताको पछिपछि लाग्दै पुरुष व्रतालुहरु पनि हनुमानढोकाबाट सुन्धारा,
त्रिपुरेश्वर, कुपण्डोल, जाउलाखेल, नख्खु हुँदै शेषनारायण पुग्छन् । त्यहाँ
एकरात बास बसेपछि भोलिपल्ट फर्पिङ्ग सहरका देवीदेवतालाई पूजाआजा तथा जल
चढाइसकेपछि पावर हाउस हुँदै बुङमती, रिंगरोड, लगनखेल, मंगलबजार हुँदै
शंखमूल आइपुग्छन् । उक्त दिन शंखमूलमा दान थाप्ने तथा फलाहार गर्ने कार्य
हुन्छ ।
शंखमूलबाट
पशुपति, गौरीघाट, बौद्ध हुँदै व्रतालुहरु पुनः साँखु फर्कन्छन् । यसरी
साखँु फर्कनेबेला एकजनामात्र व्रतालु आई नपुगेसम्म साँखु प्रवेश गर्न
पाइँदैन । त्यस्तै माघ शुक्ल तृतीयाको दिन व्रतालुहरुले पनौतीको यात्रा
गर्छन् । साँखुबाट भक्तपुरको तेलकोट, वागीश्वरी, सुडाल सरस्वतीस्थान हुँदै
काभ्रेको नाला, बनेपा भई हिंडेर नै पनौती पुग्छन् । पनौतीमा पनि एकदिन बास
बसेर व्रतालुहरु भोलिपल्ट बिहानको सबै दैनिक पूजाआजापछि पनौती नगरमा रहेका
देवीदेवताहरुको पूजाआजा तथा जल चढाउने कार्यपछि त्यहाँबाट फर्केर आएर
बनेपास्थित तीनदोबाटोमा फलाहार गर्छन् र गएको बाटो नै भएर साँखु पर्कन्छन् ।
त्यस्तै
माघ शुक्ल एकादशीको दिन साँझ भक्तपुर चाँगुको पूजा गर्न भक्तजनहरु
जानुपर्छ । भोलिपल्ट बिहान सबेरै नुवाइधुवाई गरी चाँगुनारायणको पूजाआजा
गर्नुपर्छ । दिउँसो नित्य पूजापछि भक्तजनहरु पुनः साँखु फर्कछन् र फलाहार
गर्छन् । यसरी पशुपति, शेषनारायण,
पनौती र चाँगुको पूजा गर्न जाँदा साली नदीमा हुने दैनिक नित्यकर्म
गर्नुपर्छ भने पनौतीमा बाहेक पशुपति, शेषनारायण र चाँगुमा त्यहीका
पूजारीहरुले व्रतालुहरुलाई नित्यपूजा गराउँछन् । त्यस्तै पशुपति,
शेषनारायण, पनौतीस्थित इन्द्रेश्वर महादेव र चाँगु मन्दिरमा पुरुष
व्रतालुहरुले गुडुल्किएर परिक्रमा गर्नुपर्छ ।
अन्तिम दिन अश्वमेघ महायज्ञ
यी सबै
पूजाआजापछि माघ शुक्ल पूर्णिमाको दिन शाली नदी परिसरमा अश्वमेघ महायज्ञ
गरिन्छ । उक्त यज्ञको लागि व्रतालुहरुले काग नबिउँझँदै शाली नदीबाट जल
ल्याउनुपर्छ । उक्त यज्ञको लागि व्रतालुहरुले ७५ थरी पूजाका सामग्री तयार
गर्नुपर्छ । पण्डित राजोपाध्यायका अनुसार उक्त पूजा सामग्री जुटाउन सकेपछि
व्रत सम्पन्न भएको मानिन्छ र उक्त दिन व्रतालुहरुले केही खानुहुँदैन रातभरि
यज्ञ भएपछि भोलिपल्ट बिहानै शाली नदीमा नुहाइधुवाई गर्दै व्रतको क्रममा
आफू बसेको ठाउँ (मिगा) लाई पूजा गरी व्रत समाप्त गरिन्छ । व्रत सम्पन्न
गरेपछि अब जे खाए पनि हुन्छ अर्थात् एक महिना छोडेको नून अब खाए पनि हुन्छ ।
उक्त दिन व्रत बसेकोले भोज खुवाउनुपर्ने प्रचलन रहेको छ । उक्त भोज व्रत
अवधि आफू कोठा लिएर बसेको साँखुस्थित घरधनीलाई समेत खुवाउनुपर्छ । यसरी
व्रत बसेकाहरु पुनः शिवरात्रीको दिन भुटेको मकै तथा भटमास लिएर साँखुस्थित
महादेवस्थानमा एकदिन जाग्राम बस्नुपर्छ । जाग्राम सकाएर पुनः बज्रयोगिनीको
पूजा सम्पन्न गरी आआफ्नो घर फर्कने परम्परा रहँदै आएको छ ।
औषधि ः शंखको पानी
व्रत
बस्दा कोही व्रतालु बिरामी भए औषधि खान हुँदैन । त्यसैले हल्का बिरामी भए
माधवनारायणको पूज ागर्ने सावा गणले फुक्ने शंखको पानी खुवाउने गरिन्छ । यसो
गर्दा बिरामी ठीक भएको भक्तभोगी व्रतालुहरु बताउँछन् । उनीहरुका अनुसार
धेरै बिरामी भए सानो कपनीमा चामल र सुपारी राखेर माधवनारायण देवतालाई
चढाउनुपर्छ । यसो गर्दा पनि रोग निको हुने जनविश्वास रहँदै आएको छ ।
व्रतालुका
अनुसार गत माघ १२ गते पनौतीको परदेश यात्रा जाँदा माधवनारायण बोकेका पुरुष
व्रतालु थाकेर लखतरान भएका थिए । तर सावा गणले शंखको पानी खुवाएपछि
उनीहरुमा बल आएको ललितपुर लुभुकी व्रतालु ज्योति श्रेष्ठले बताइन् । त्यस्तै
कोही महिला व्रतालुको महिनावारी भए उनलाई नियमितजस्तो माधवनारायणलगायतको
पूजामा चार दिनसम्म सहभागी गराइँदैन । तैपनि उनले दैनिक रुपमा शाली नदीमा
नुहाएर चोखो भई बस्नुपर्छ ।
माधवनारायणको नामले जाडो चट्
व्रतालुका
अनुसार पुसमाघको जाडोमा बिहान सबेरै शाली नदीको चिसो पानीमा शरीर डुबाएर
नुहाउनु त्यति सजिलो छैन । पानीमा पस्नेबित्तिक्कै चिसो अनुभव हुँदैन तर
केही क्षणपछि चिसो मुटुसम्म पुग्छ । हुन त व्रतालुको सुविधाको लागि नुहाउने
बेला आगो बालिन्छ । तर त्यसले मात्रै जाडो नभाग्ने उनीहरु अनुभव सुनाउँछन्
। आगोसँगै माधवनारायणको नाउँ जपेपछि भने जाडो चिसो सबै चट हुने बताउँछन्
व्रतालुहरु । त्यस्तै बज्रयोगिनी, पशुपति, शेषनारायण, पनौती र चाँगुको
परदेश यात्रा जाँदा पनि माधवनारायणको नाउँ उच्चारण गर्दै जाँदा गा¥होसा¥हो र
थकाइ महसुस नहुने उनीहरुको भनाइ रहेको छ । त्यसैले व्रत बस्दा प्रत्येक
दिन नयाँ जोश र जाँगर तथा उमंगले भरिएको महसुस हुने व्रतालुको अनुभव छ ।
एकमहिना बितेको पत्तै हुँदैन
मानिसलाई
एक मिनेट कुर्न गा¥हो हुन्छ । तर माधवनारायणको एकमहिने लामो व्रत बसेका
व्र्रतालु भने एक महिना बितेको पत्तै नहुने अनुभव सुनाउँछन् । लुभुकी
ज्योतिका अनुसार व्रत बस्दा घरपरिवार र आफन्त तथा अरु बेला भेट नभएका
साथीसंगी पनि शाली नदी आएर भेटघाट गर्ने भएकोले एक महिना रमाइलोसँग बित्यो
। ‘व्रत बस्दा घरपरिवार, आफन्त,
कहिल्यै भेट नभएका साथीसंगी भेट्न आइरहन्छन् । त्यसले गर्दा दिन बितेको
पत्तै भएन’, उनी भन्छिन्, ‘एक महिना बित्न लागिसक्यो हिजोमात्रै यहाँ आएको
जस्तो लागिरहेको छ ।’
सरकारी कर्मचारी पनि व्रतमा
सरकारी
कर्मचारी पनि आफ्नो मनोकांक्षा पूरा होस् भन्ने कामना लिएर शालीनदीमा
एकमहिने माधवनारायणको व्रत बसेका छन् । व्रत व्यवस्थापन समितिका संयोजक
जीवनमान सिंहका अनुसार यसवर्ष करिब एकदर्जन महिला कर्मचारी माधवनारायणको
व्रतमा सहभागी छन् । तर उनीहरुले आफ्नो नाम र कार्यालय भने बताउन चाहेनन्
। कार्यालयमा बिदा लिएर व्रत बसे पनि उनीहरुले नाम र कार्यालय बताउन अस्वीकार गरेका हुन् ।
विवाहित र अविवाहित उत्तिकै
शाली
नदीमा बसेको माधवनारायणको व्रतमा विवाहित अविवाहित महिला उत्तिकै छन् ।
पुरोहित सुदन राजोपाध्यायका अनुसार माधवनारायणको व्रत बस्न उमेरको कुनै
हदबन्दी छैन तर महिला भए गुफा राखेको र पुरुष भए व्रतबन्ध गरेको हुनुपर्छ ।
कलेज विद्यार्थी पनि के कम
अविवाहिता व्रतालु भने धेरै उच्च माध्यमिक विद्यालय तथा कलेज जाँदै गरेका विद्यार्थीहरु छन् । काठमाडौंस्थित
नमुना कलेज अफ फेशन टेक्नोलोजीमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत सुनीता
तामाङ्ग मनैदेखि इच्छा लागेर व्रत बसेको बताइन् । आफ्नो मनोकांक्षा पूरा
हुने विश्वासले यस वर्ष व्रत बस्ने निधो गरेको सुनाउने उनी आफ्नो
मनोकांक्षा भने खुलाउन चाहिनन् ।
त्यस्तै
धादिंग नौबीसेकी भगवती श्रेष्ठ पनि कलेज पढ्दापढ्दै शाली नदीमा व्रत बस्न
पुगेकी छिन् । उनी भने दोस्रो पटक व्रत बसेकी हुन् । ‘पहिलोपटक बस्दा
राखेको मनोकांक्षा पूर्ण भएकोले यसपटक पनि बसेकी हुँ’, उनले भनिन् । काभ्रे
नालाकी दसजोड दुई पढ्दै गरेकी रोशनी प्रजापति पनि पहिलो पटक यस वर्ष व्रत
बसेकी छिन् । मनोकांक्षा पूरा भएको सुनेर व्रत बसेको उनी बताउँछिन् ।
त्यस्तै कीर्तिपुरकी बिनु श्रेष्ठ पनि रोशनीको भनाइमा सही थाप्छिन् । धेरैको
मनोकांक्षा पूरा भएको सुनेर आफ्नो पनि मनोकांक्षा पनि पूर्ण हुने
विश्वासले व्रत बसेको धेरै टिन एजर्स युवतीहरु बताउँछन् । उनीहरु भन्छन्,
‘श्रीस्वस्थानीको व्रत बसेर धेरैको मनोकांक्षा पूरा भएको सुनेकी छु,
त्यसैले हाम्रो पनि कसो पूरा नहोला ।’
व्रतालुलाई दान गर्नेको मनोकामना पनि पूरा हुने
शाली
नदीमा स्वस्थानी माता तथा माधवनारायणको व्रत बस्नेको मात्रै होइन ती
व्रतालुलाई आफूले इच्छाएको दान गर्नेको पनि मनोकामना पूरा हुने मानिन्छ ।
त्यसैले प्रत्येक दिन हजारौं दानीहरु शाली नदी पुगेर व्रतालुलाई आफ्नो
गच्छेअनुसार मनले चाहेको लत्ताकपडा, दक्षिणा, श्रृंगारका सामग्री,
फलफूललगायत व्रतालुले खान हुने सुन्तला, हरियो केराउ, पालुङ्गो, घ्यु
चाकुलगायत दान दिनेहरुको भीड लागेको हुन्छ । यसरी दान दिँदा व्रतालु सबैलाई
भने भाग पु¥याउनुपर्छ । भाग नपुगे मनोकामना अपूर्ण हुने जनविश्वास रहेकाले
पहिल्यै व्रत व्यवस्थापन समितिमा सम्पर्क राखेर दान सबैलाई पु¥याउने
गरिन्छ । फेरि व्रतालुले पनि एकजनाले दिएको दान दोहो¥याएर लिन हुँदैन, नत्र
पाप लाग्ने जनविश्वास रहँदै आएको छ ।
भक्तपुरको माघ धलं (ब्रत)
ऐतिहासिक
तथा सांस्कृतिक नगर भक्तपुरको हनुमानघाट तीर्थ एक महत्वपूर्ण सम्पदा हो ।
भक्तपुरको मूलबस्ती उत्तरतर्फ खासाङ खुसुङ खोला र दक्षिणतर्फ हनुमन्ते
खोलाले घेरिएर बीचमा शंख आकारमा बसेको छ । यसमध्ये हनुमन्ते खोला दक्षिण
पूर्वबाट भद्रा र उत्तर पूर्वबाट बीरा (तब्या खुसी) नामका दुई खोला बग्दै
हनुमानघाट पुगेपछि जमिन मुनिबाट उत्पत्ति भएको तमसा नदीसँग मेल भई
त्रिवेणीको रुप लिई पश्चिमतर्फ बग्दछ । यही त्रिवेणीलाई एक पवित्र धार्मिक,
साँस्कृतिक तीर्थको रुपमा लिने गरिन्छ । धार्मिक एवम सांस्कृतिक महत्वले
भरिएको यो पवित्र घाटमा वर्षभरि विभिन्न तिथिपर्वमा पूजा, मेला तथा धार्मिक
व्रतहरु हुने गर्दछ । जसमध्ये माधवनारायणलाई समर्पण गरी माघ व्रत बस्ने
परम्परा अत्यन्त महत्वपूर्ण छ । त्रिवेणीमा स्नान गरी शुद्ध भइसकेपछि
माधवनारायणलाई जल प्रवाह गरी शंखजल ग्रहण गर्दछ । यसपछि ब्रत बस्नेहरुले
अरुलाई छुनुहँुदैन । यता ब्राह्मणबाट विधिपूर्वक यज्ञ सुरु गरिन्छ ।
साँखुका
व्रतालुले साँखु नगर परिक्रमा गरी त्यहाँका विभिन्न देवीदेवतालाई पूजाआजा
गरेजस्तै यहाँका व्रतालुले भक्तपुर नगरका विशेष गरी नारायण मन्दिरमा गई
पूजाआजा गर्छन् । यहाँ व्रतालु पनि
परदेश यात्राको लागि काठमाडौंको पशुपति र काभ्रे पनौती पुग्छन् । त्यस्तै
भक्तपुर दरबार क्षेत्रस्थित तलेजुकहाँ पनि परदेश यात्रा गर्छन् । वास्तवमा
माघ धंल वा ब्रत भन्ना साथ साखँु शालिनदीमा बस्ने ब्रतले व्यापक
लोकप्रियता पाउँदै गरेको सन्दर्भमा भक्तपुरको हनुमानबाट तीर्थमा जुन
विधिपूर्वक व्रत बस्ने परम्परा छ । यो प्रायःलाई जानकारी छैन । तर ऐतिहासिक
आधारलाई मान्ने हो भने भक्तपुरमा यो व्रतको चलन आजभन्दा ६ सय वर्ष अगाडि
नै भइसकेको थाहा हुन्छ ।
जयस्थिति
मल्लपछि राज्य सञ्चालन गरेका उनका छोराहरु धर्म मल्ल, ज्योति मल्लको
संयुक्त शासनकालमा ने.स. ५२८ मा भक्तपुर वाकुपति नारायणको गरुडस्तम्ममा
स्पष्टसँग उल्लेख भएको माघ व्रत गोष्ठीले तत्कालीन समयमा माघ महिनाभरि व्रत
वस्ने, माधवनारायण भजन गर्ने जस्ता विविध साँस्कृतिक मेला सञ्चालन गर्न
गुठीको व्यवस्था भएको देखिन्छ । यसमध्ये माघ व्रतको लागि भनी ने.सं ७२२
देखि हनुमानघाटमा अझ व्यवस्थित माधवनारायण धलं चलेको स्पष्ट हुन्छ । यता
मल्ल कालको अन्तिम समय अर्थात रणजित मल्लको समयमा उनका छोरा अजित सिंह
मल्लको अगुवाइमा माघ व्रत बसेकाबाट हनुमानघाटमा हुने माघ ब्रतबाट राजकीय
तहबाट समेत यसमा चासो लिएको पुष्टि हुन्छ । यसका जग्गा जमिनहरु अलपत्र
परेपछि बन्द हुन पुगेको धलं पुनः २०४२ सालदेखि हालसम्म निरन्तर चल्दै आएको छ
।
साखुको
धलंभन्दा भक्तपुर हनुमानघाटको धलं अत्यन्त कठोर मानिन्छ । हनुमानघाटको धलं
बस्नेहरु अरुलाई नछुनेदेखि बाटोमा हिँड्दा अरुको छाँयासमेत पर्न दिन नहुने
प्रचलन रहँदै आएको छ । व्रत बस्नेहरुलाई कुनै चिजबिच दिनुपरे उक्त
व्यक्तिले समेत त्रिवेणीमा स्नान गरी नङ्ग छुवाउनुपर्ने कठोर नियम रहेकाले
यहाँ व्रत बस्नेहरुको आकर्षण घट्दै गएको बताइन्छ । यस वर्ष २३ जनामात्रै
हनुमानघाटको माघ धलंमा व्रत बसेका छन् ।
No comments:
Post a Comment