Tuesday, April 17, 2012


भाइटीका २२ गते गर्न नेवार समुदायलाई आग्रह
यलु जोशी, काठमाडौं, कात्तिक ८ –  न्हुदँ समारोह समिति ११३१ ले कात्तिक २० गते लक्ष्मीपूजा, २१ गते नेपाल संवत् र म्हपूजा, २२ गते भाइटीका गर्न सबै नेवार समुदायलाई आहृवान गरेको छ ।
नेपाल पञ्चाङ्ग निर्णयक समितिले विक्रम संवत् २०६७ को पात्रोमा नेपाल संवत् परिवर्तन हुने दिन र म्हपूजा औँसीको दिन तथा भाइटीका प्रतिपदाको दिन भनी उल्लेख भए पनि नेवार समुदायले भने द्वितियाको दिनमा भाइटीका गने निर्णय गरेको छ । समितिको शुक्रबारको बैठकले सो निर्णय गरेको हो ।
न्हुदँ समारोह समिति ११३१ का सदस्य तथा नेपालभाषा मंका खलका सचिव नरेशवीर शाक्यले नेपाल संवत्को सुरु कालदेखि नै कछलाथ्व प्रतिपदामा म्हपूजा मनाउँदै आइरहेको बताउनुभयो ।
देवकार्य र उत्सवहरूमा सूर्योदयको समयमा विद्यमान तिथिलाई सोही दिनको तिथि मानी पर्व मनाउँदै आएको तथ्य रहेको पनि शाक्यले जानकारी दिनुभयो ।
उहाँले यसरी कछलाथ्व प्रतिपदाका दिन नववर्ष, यसको अघिल्लो दिन कौलागा औँसी (नेपाल संवत्को अन्तिम दिन) लक्ष्मीपूजा र नववर्षको भोलिपल्ट यमद्वितीयामा भाइटीका सनातनकालदेखि मनाउँदै आइरहेको बताउनुभयो । नेपाल पञ्चाङ्ग समितिबाट प्रकाशित हुने पात्रोमा र नेपाल सरकारको भित्तेपात्रोमा जस्तो लेखे पनि परम्परा अनुसार कौलागा औँसी (कात्तिक २०, २०६७ शनिबार) का दिन लक्ष्मीपूजा, कछलाथ्व प्रतिपदाका दिन नेपाल संवत् ११३१ नववर्ष प्रवेश (कात्तिक २१, २०६७) म्हपुजा एवं नववर्ष र कछलाथ्व द्वितीया -कात्तिक २२, २०६७ का दिन भाइटीका पर्व सम्पन्न गरी परम्परागत रूपमा मनाउन आग्रह गरेको छ ।
शाक्यका अनुसार काठमाडौँका स्वयम्भू, मच्छिन्द्रबहाल, बिजेश्वरीका पुजारीहरू, काठमाडौँ, पाटन र भक्तपुरका तलेजु पुजारीहरू, बज्राचार्य समूह, राजोपाध्याय समाज, बुद्धिजीवी वर्गले पनि कात्तिक २० गते लक्ष्मीपूजा, २१ गते नेपाल संवत् र म्हपूजा, २२ गते भाइटीका गर्न सबै नेवार समुदायलाई आग्रह गरेको छ ।
Source:
http://www.welovenepal.com/?p=5631

No comments:

Post a Comment