Friday, August 2, 2019

पूज्य पिताजी स्व.रत्नराज शर्मा राजोपाध्यायको,ल्हासा स्थित तुलजादेवी स्थानान्तरणको बारे यात्रा संस्मरण- चन्दन राज शर्मा



२०३५ सालको जाडो महिनामा भिंद्यः गुभाजु (मुक्तराज बज्राचार्य), खड्गमान रावल (दारीवाल) र म ल्हासा पुगेर भोलिपल्ट तुलजा देवीको दर्शन गर्न गयौं । तुलजा देवी ल्हासाको भाखोर भन्ने ठाउँमा रहेछ । त्यहाँ तुलजा देवीको मन्दिर देवगृह (द्यःछेंं )जस्तो रहेछ । तल्लो तला वा छिंडीमा विल्लोसा भन्ने एकमात्र देवता थियो र माथिल्लो तलामा भने बाँकी सम्पूर्ण देव देवीहरु थिए । सो देव देवीहरु एक हात जति अग्लो पेटी उठाई त्यसमाथि राखिएको थियो । त्यस पेटीको बीच भागमा देवी तुलजा बिराजमान थिइन् । तुलजा देवी चाँदीको पातामा अनुहार कुँदिएको रहेछ । पाताको बीच भागमा त्रिकोणाकार  ठूलो किकिम्पा गरी ३ तह किकिम्पा राखि ३ ३ फिट जतिको अग्लो वा ठूलो देखिने गरी बनाइएको छ । किकिम्पा दायाँ बायाँ र माथि गरी लगभग ७० वा ७५ वटा जति हुनुपर्छ । (गनिएको छैन)

तुलजा देवीको दायाँ बायाँ फलामका खड्गहरु राखिएका थिए । सो खड्ग दशैंको महानवमीका दिन देवगृहबाट निकालेर बाहिर मैदानमा उठाइएका ढुंगामा राखिने रहेछ  । त्यसपछि खड्गको पूजा र खड्गलाई बलि स्वरुप बोका,हाँस, कुखुरा, परेवा आदि भोग दिने चलन रहेछ । सो बलि स्थानीयहरुले इच्छा अनुसार दिने गर्छन् । तुलजा देवीको दायाँको क्रममा खड्ग, भैरव, गणेश, बागेश्वरी, भीमसेन, महादेव आदि थिए भने तुलजा देवीको बायाँको क्रममा लोकेश्वर र अरु बौध्द देवताहरु थिए तर स्तूप भने थिएन । गुभाजुले ती देवदेवीहरुको नाम भनेका थिए तर अहिले ती नाम बिर्सें, १० वटा जति थिए कि संख्या पनि बिर्सें । तल छिंडीमा राखिएको विल्लोसा भन्ने देवता माटोको ढिस्को जस्तो थियो ।

यी सवै हेरेर हामीलाई चाहिने सामानहरुको खरिद गर्न र ब्यवस्था मिलाउन २ दिन लाग्यो । तेस्रो दिन देव देवीहरु स्थानान्तरण गर्ने कार्य ग¥यौं । विहान ८ बजेतिर तुलजा देवी र अरु देव देवताहरु स्थानान्तरण गर्न गुभाजु र मैले पूजा ग¥यौं । तल छिंडीमा भएको देवता उठाउन वा बिगार्न नमिल्ने भएकाले एउटा गाईको ब्यवस्था गरी सो बिल्लोसा भन्ने देवतालाई गाई द्धारा तान्न लगाएँ ।गाईले तानेपछि सो माटाको ढिस्को छरपस्ट भयो । भित्र त सवै शालिग्राम राखिएको रहेछ र बाहिरबाट माटोले पोतिएको रहेछ । त्यसलाई नै विल्लोसा भनिएको रहेछ । पूजा पश्चात् देव देवीहरुलाई लरी(मिनिट्रक) मा राखि नवनिर्मित मन्दिर नोर्वोलिङमा लगियो । नोर्बोलिङ भाखोर बाट लगभग ३ कि मी टाढा हुनुपर्छ, सो देवयात्रामा मैले रातो भोटो, रातो पछ्यौरा र सेतो धोती लगाएको थिएँ भने गुभाजुले रातो बुट्टेदार लुगा, विशेष प्रकारको जामा र पञ्चबुध्द सहितको मुकुट लगाएको थियो । स्थानीयबासीको पनि उल्लेख्य सहभागिता थियो । स्थानीय बासीहरुमा सवैभन्दा अगाडि बाजागाजा बजाउने ब्यक्तिहरु थिए, बाजाहरुमा पोंगा, काहाः, नरसिंहा जस्तो लामो बागो बाजाहरु, दमाहा, नगरा, पोंखिं, झयाली, सिंछ्या,डम्फु आदि बाजाहरु पनि थिए । स्थानीय बासीका लुगा भोटे लुगा नै थियो, खासै उल्लेख्य थिएन तर टोपी भने धेरै प्रकारका थिए । भिन्न भिन्न रंगका, चुच्चे, कान छोप्ने, नछोप्ने, पछ्यौरी भएको, नभएको, पञ्चबुध्द भएको नभएको आदि चहकदार टोपीहरु थिए ।

बाजागाजाको समूह लगभग ४ ५ जोडा जति थिए भन्ने लाग्छ । त्यसपछि धूप समाएका ब्यक्तिहरु र अन्तिममा तुलजा देवी सहितको  लरी, जसमा म, गुभाजु र गुठीका ब्यक्ति थिए । अरु सवै पैदलै हिंडेका थिए, जुत्ता भने सवैले लगाएका थिए ।

नोर्वाेलिङ पुगेपछि स्थानीय बासी, बाजा बजाउने र धूप समाउने लामाहरु नजीकको मैदानमा बसे । लरीका सम्पूर्ण देव देवीहरु मन्दिरको अगाडि झारियो । त्यसपछि मुख्य देवी तुलजा र अरु हिन्दु देव देवीहरुको प्रतिष्ठा यज्ञ मैले गरें र लोकेश्वर र अन्य बौध्द देव देवीहरु स्थापनार्थ यज्ञ गुभाजुले गरे । यज्ञको यथाकर्ममा ती देव देवीहरुको प्रतिष्ठा पूजा गर्नुका साथै जुन स्थानमा गर्नुपर्ने थियो सो स्थानमा प्रतिष्ठा गर्दै स्थापना गरियो । यो मन्दिर भने पहिलेको जस्तो दुइ तले नभै एक तले मात्र थियो । बाहिरबाट घुम्न मिल्ने गरी मन्दिर बनाइएको थियो । यस मन्दिरको भित्री अवस्था पनि पहिलेको देवगृह जस्तै पेटी उठाएर नै देव देवीहरु राखिए । मुख्य देवी तुलजाको पछाडि पूरा गारो उठाइएको छ भने  दायाँ बायाँ आधा गारो उठाएर माथि तिकिझयाः राखिएको छ । अगाडि भने एउटा ढोका मात्र राखिएको छ, यी सवै सिमेन्ट निर्मित छन् । स्थापना पछि मन्दिर बाहिर महाप्रसादको रुपमा सम्ये ख्यें, न्या, मुस्या, पालु, गोफकी राखिएको थियो । यज्ञ गर्नलाई त्यहाँ कुश थिएन । यहाँबाट लगेकोले नै पु¥याइयो । अन्यमा हाकु हामो(कालो तिल), वा(धान), माय्(मास), मू(मुगी), ईका(तोर)ि, मुस्या(भट्मास), चाना(चना), तेछो(जौ), छो(गहुँ) ब्रीहिको रुपमा राखिएको थियो । रक्षा मालामा पीपल, आँप, बर, दुबो, भीमसेन पात(सिन्हस्वाँ) प्रयोग गरिएको थियो । फूलको रुपमा अजिस्वाँ, ह्याउँस्वाँ, पीपल पातलाई पनि फूलकै रुपमा प्रयोग गरियो । काठ स्थानीय रुपमा भएकालाई नै प्रयोग गरियो भने दियालोको लागि सल्लो नै प्रयोग गरियो । यज्ञका लागि चाहिने यी सवै सामान स्थानीय बासीले उपलब्ध गराएका थिए ।

चाँदीको सिन्हमू, ज्वलान्हायकं, ढलौटको सुकुन्दा, ढलौटकै कलश, पित्तलका साना कलशहरु, तामाका अर्घाहरु, पानस, बाटा, झारी, त्रिकोण, चौकोण, पात्र, कचौराहरु, थाली आदि प्रयोग भएका थिए । स्थानीयबासीहरुले हर्षोल्लासका साथ बाजा बजाउँदै धूप बाल्दै दिनभर जस्तै कार्यक्रमलाई भब्यता दिइरहे ।  देवदेवीको स्थापनाको क्रममा सर्वप्रथम मैले देवी तुलजा भवानीलाई बीचमा स्थापना गरें । दायाँतिर क्रमशः फलामको खड्ग, शरीर नभएको टाउको मात्र भएको भैरव (भक्तपुरको बिस्केट जात्रामा रथमा राखिने भैरव जस्तो), दायाँ ३ बायाँ ३ हात भएको गणेश, बागेश्वरी(कमलको बीचमा पादुका मात्र भएको), गदा समाएर उभिएको भीमसेन, महाद्यः(साधारण ढुंगाको) रुद्रीवार्चा त्रिखुटी सहितको र विल्लोसा लाई सवभन्दा छेउमा पहिले राखिए जस्तै शालिग्रामहरु राख्दै बाहिर बाट माटोले छोप्दै जलहरी नभएको माटोको महादेव जस्तो, थुम्को जस्तो गरेर राखियो । यति स्थापना गरिसकेपछि गुभाजुले बौध्द देव देवीहरुको स्थापना गरे । यसरी देवता स्थापना पछि गुभाजुले पहेंलो कपडा बाट बनेको १२ वटा दियो बालेका थिए । यसरी बत्ती बालिएपछि सो पोशाकैमा नृत्य पनि गरे । गुभाजु द्वारा स्थापना गरिएका १० वटा जति देव देवीहरु सवै पेटीमाथि राखिएको छ भने मैले स्थापना गरेका १ देखि ६ नम्वर सम्मका देव देवी पेटी माथि थिए भने विल्लोसा मात्र पेटी भन्दा तल राखें । यसरी स्थापनाको कार्य सकिएपछि यज्ञ समाप्ति गरियो ।

यज्ञको समाप्ति पछि उपस्थित सम्पूर्ण लाई महाप्रसाद बाँडियो । महाप्रसाद बाँड्ने क्रममा गुठीका तर्फबाट आउने खड्गमान, कन्सुलरका तर्फबाट उपस्थित सुब्बा विष्णुप्रसाद र कन्सुलरका अफिसबाट सहयोगीका रुपमा पठाइएका पिउन कृष्णलाई विशेष गरी दिइयो । मलाई भने मथुरा नामकी ब्राम्हणीले सात्विक भोजनको ब्यवस्था गरिन् । सवै देवताहरुलाई रातो फूलको माला पनि लगाइदिएँ  । त्यसपछि उपस्थित सवैजसो ब्यक्तिहरुले लगभग ३०० जति ब्यक्तिहरुमा कपडाको खादा चढाउँदै, धूप बालेर बाजागाजाका साथ मन्दिर परिक्रमा गरे । २ ३ जनाले सवै देव देवीलाई खादा चढाए भने बाँकी सम्पूर्णले तुलजा भवानीलाई मात्र खादा चढाए । कसैले बाहिर बाट मात्र परिक्रमा गरे । त्यसपछि स्थानीय बासीलाई बिदा गरियो । यसरी स्थानीय ब्यक्तिहरुले अत्यन्त उल्लासका साथ हामीलाई सहयोग गरे ।

यसै क्रममा काठमाण्डौ ॐबहालका आस बहादुर श्रेष्ठ संग चिनापर्ची भयो । वहाँ सानै उमेरमा  बुवा संग ल्हासा जानु भएको रहेछ र त्यहींकी लामालाई धर्मपत्नी स्वीकार्नु भएको रहेछ । वहाँले बजार घुम्न धेरै मदत गर्नुभयो र वहाँले नेवारी भाषा भने बिर्सनु भएको रहेनछ  तर पत्नी र छोराछोरीलाई भने सिकाउनु भएको रहेनछ । परिवारमा तिब्बती भाषामा नै कुरा गर्नुहुन्थ्यो । उहाँले फर्कने क्रममा उपहार दिनुभएको थियो तर सो उपहार खड्गमानले लिएर दिंदै दिएन ।

संकलन: चन्दन राज शर्मा
भक्तपुर l
मिति: श्रावन १५,  २०७६

No comments:

Post a Comment