सन्दर्भ : चाँगुनारायण कलशयात्रा
दिनभर भोकै हिँड्दै राष्ट्रपतिकहाँ
- नेपालन्युज साउन २७, २०७६ | सोमबार | काठमाडौं
साउने सोमबार मनाइँदै गर्दा भक्तपुरको चाँगुनारायणमा पनि आज विशेष पर्व छ, चाँगुदेखि काठमाडौंसम्म कलश जात्रा।
बिहान ११ बजे चाँगुनारायणबाट हिँडेको कलशयात्रा अपराह्न जमल हुँदै हनुमानढोका आइपुग्छ र जान्छ, राष्ट्रपतिकहाँ।
नुहाइ–धुवाइ गरेर, केही नखाई, पानीसमेत नपिई, शुद्ध भएर खालि खुट्टाको हिँडाइ, त्यो पनि सोमबारको ठूलो झरी र अझ हिलाम्य बाटोमा, अनि चाँगुदेखि पवित्र र दैवीशक्तियुक्त जल भरिएको तीनवटा कलशहरू बोक्नुपर्ने — लिच्छविकालीन जात्राको कठिनाइ शायद शब्दमा यत्तिले मोटामोटी समेट्ला।
तीनवटा कलश प्रतीक हो, श्रीचाँगुनारायण, देवी लक्ष्मी र देवी सरस्वतीका।
किंवदन्ती छ, महामारी फैलिएको शान्त गर्न चाँगुनारायणलाई दूधे कर्कलो चढाइएको दिन मानेर यसरी कलश जात्रा चलाइएको हो। नेपालकै पुरानो हस्तलिखित वंशावली मानिने गोपालराजवंशावलीको ३०ख पत्रले यही कथा लिच्छविकालीन राजा पुष्पदेवसँग जोडेको छ।
कलश जात्रा चाँगुनारायण मन्दिर परिसर घुमाई बीच–बीचमा पूजा थापी मूलपानी, दक्षिणढोका, जोरपाटी, बौद्ध, चाबहिल, नक्साल हुँदै रानीपोखरी ल्याइन्छ। यात्राका क्रममा शुद्ध भएका भँडेलबाहेक अन्यले कलश छुन नहुने मान्यता छ।
यस यात्राको प्राचीन बाटो पनि ठाउँ–ठाउँमा मिचिएपछि केही स–साना परिवर्तन भएको बताउँछन्, यात्रामा सहभागी गोपाल बहादुर भँडेल।
यात्रामा कलश बोक्दै हिँड्ने चाँगुका भँडेलले गर्छन्। मन्दिरको रेखदेख गर्ने, सरसफाइ गर्ने, पूजाका लागि व्यवस्था गर्ने, आएका भक्तजनलाई यथोचित टीकाफूल दिनेलगायत यसरी कलश जात्रामा शुद्ध भई हिँडेर काठमाडौंसम्म आउने जिम्मा हुन्छ भँडेलको।
यात्रामा सहभागी छन्, राजेन्द्र बहादुर भँडेल, प्रेम बहादुर भँडेल र शंकर भँडेल। अन्य जात्रालु पनि सँगसँगै आएका थिए। यात्रासँगै दुईजना घोडचढी जाने परम्परा छ।
रानीपोखरीस्थित जगतनारायण मन्दिरमा मन्दिरकै राजोपाध्याय पुजारीले पूजा गरेपछि गुरुज्यूको पल्टनले बढाइँ गर्दै लग्छ, प्राचीन राजदरबार गुनपो अर्थात् हनुमानढोकातर्फ।
हनुमानढोका प्रताप मल्लकालीन नाम हो, हनुमानको मूर्ति स्वर्ण ढोकाअघि रक्षार्थ राखेपछि उक्त दरबारलाई हनुमानढोका भनिएको हो। हनुमानढोका हुनुभन्दा अगाडि यस दरबारको नाम थियो, गुनपो। त्यो बेलाको मूल ढोका थियो, तलेजुअगाडिको विशाल ढोका।
तलेजुअगाडिकै ढोकामा प्रत्यक्ष देवी कुमारीको उपस्थिति अनिवार्य हुन्छ। सोमबार कुमारी ल्यानका लागि ललितपुरबाट पञ्चैबाजा बोलाइएको थियो। कपाली बाजा नहुँदा यसरी पहिलोपटक वैकल्पिक व्यवस्था गरिएको हो।
तलेजुका राजोपाध्याय पुजारी हरिओमकाजी राजोपाध्यायले कुमारीको उपस्थितिमा लसकुस अर्थात् स्वागत गरे। दरबारभित्र त्रिशूलचोकबाट मूलचोक हुँदै इनार भएको ठाउँमा तलेजु र चाँगुको पूजा साटासाट गरिएको छ।
त्रिशूलचोकमा जम्मा भएका थिए, विद्वान इतिहासकारद्वय महेशराज पन्त र दिनेशराज पन्त। त्यस्तै, पुरातत्त्व विभाग र संस्कृति मन्त्रालयका कर्मचारी, सहसचिवलगायत उपस्थित थिए हनुमानढोकामा। यस यात्रामा दरबारभित्र सर्वसाधारणलाई भने प्रवेश निषेध गरिएको थियो।
त्यसपछि राष्ट्रप्रमुखकहाँ लगियो कलशयात्रा, राष्ट्रप्रमुखले कलशमा आफ्नो छायाँ दर्शन गर्न। यात्रामा सहभागी पुजारी पं. चक्रधरानन्द राजोपाध्यायले वैदिक विधिबाट राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिषेक दिई टीका–फूल दिए, राष्ट्रपति भवनमै।
पहिले राजालाई नारायणको रूप मानी यसरी चाँगुको शक्ति दिने चलन हो, तर गणतन्त्र लागेपछि राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपतिले छायाँ–दर्शन गरी फूलटीका र प्रसाद ग्रहण गर्छन्।
राष्ट्रपतिकहाँ समय दिइएको थियो, बेलुकी ६:३० बजे।
दिनभर हिँडेका जात्रालुलाई हनुमानढोकाबाट राष्ट्रपतिकहाँ पुर्याउन हनुमानढोका दरबार संग्रहालय विकास समितिले गाडीको व्यवस्था गर्छ। त्यहाँबाट फेरि हनुमानढोका फर्केर विसर्जन पूजा गरेपछि मात्र कलश बोक्ने पुजारी र दुईजना भँडेलले जलपान गर्छन्।
यसरी गाह्रो गरी ल्याउनुपर्ने कलश यात्रामा राज्यका तर्फबाट सहजीकरण गरिदिनुपर्नेमा जोड दिन्छन्, जात्रालुहरू।
तर कर्मचारीको कमजोरी जात्रामा पनि देखियो– हनुमानढोकामा पूजा सकेर बाहिर निस्कँदा तलेजुअगाडिको ढोका खोलिएन। कार्यालय समय सकेको हुनाले सम्बन्धित कर्मचारी खोजेर निकै समयपछि बल्ल बल्ल ढोका खोलियो, र यात्रा अघि बढेको थियो।
प्रकाशित: Aug 12, 2019 | 20:44:19
No comments:
Post a Comment