सन्दर्भ – जनै पूर्णिमा मेला
गोसाइँकुण्ड जान नसके कुम्भेश्वर (फोटो फिचर)
- आभास धरानन्द राजोपाध्याय साउन ३०, २०७६ | बिहीबार | ललितपुर
पाटनको कुम्भेश्वर क्षेत्र, जनै पूर्णिमाको मेला।
व्यापार र भक्ति, भजन–रञ्जन, श्रद्धालु र मोक्षार्थी – जोसुकै थिए, कुम्भेश्वर–सर्वेश्वरको मेलामा।
हाट बजारझैं लुगा, खानेकुरा, खेलौनालगायत विभिन्न किसिमका पसल थाप्ने र किन्नेको भीड। अनि त्यससँगै ठाउँ–ठाउँमा पानीमा खेल्दै र खेलेको हेर्दै रमाउनेको भीड पनि यहाँको रौनक हो।
कुम्भेश्वर मन्दिर परिसरको ठीक बाहिर छ, मिसा हिटी अर्थात् महिलाका लागि धारा। हुन त यसभन्दा पुरानो नाम अर्कै भनिए तापनि हाल यहाँ महिला र बालबालिका मात्र जान्छन्। यहाँ पनि पानी भरेर राखिन्छ र बालबालिकाहरू सँगै पौडी खेल्छन्।
मन्दिर परिसरभित्रै एउटा पोखरी छ, यहाँ गोसाइँकुण्डकै पानी आउने जनविश्वास छ।

यसै जनविश्वासबमोजिम गोसाइँकुण्डको विकल्पका रूपमा कुम्भेश्वर मेला भर्न आउने परम्परा छ। भनिन्छ, गोसाइँकुण्ड जान नसके कुम्भेश्वर मेला भर्न जानू।
यो परम्परा ललितपुरलगायत काठमाडौं उपत्यकामा व्याप्त छ। उपत्यकालगायत ठाउँ–ठाउँबाट गोसाइँकुण्ड पुगेबराबरकै फल प्राप्त गर्न कुम्भेश्वरमा मेला भर्न आउने र कुम्भेश्वरका राजोपाध्याय ब्राह्मणबाट गुंपुचः (डोरो) लगाउने परम्परा छ।
बिहीबार कुम्भेश्वरमा मेला भर्न आउनेमा थिए, झाँक्रीहरू। हिमाली परम्पराअनुसार झाँक्रीले काम्दै गजोले ढ्याङ्ग्रो पिट्दै थिए। महिलासमेत थिए यसरी झाँक्री हुन आउनेमा।

हिमाली भेगकाहरूले पनि गोसाइँकुण्ड पवित्र मानिन्छ। हिमालतिरका झाँक्री पनि गोसाइँकुण्ड जान नसके कुम्भेश्वरमा मेला भर्न आएका हुन्।





No comments:
Post a Comment