Monday, October 22, 2018

Rajopadhyaya in news: खड्गसहित मानमानेश्वरी मुछेंमा विराजमान



 ०६ कार्तिक २०७५ ०७:१९:००
ललितपुर : सामान्यतया पाटनदरबार परिसरमा रहेको ठूलो घण्टा शान्त रहन्छ। सोमबार दिउँसो भने एक हुल युवाले लगातार ठूलो घण्टा बजाइरहेका थिए। दरबारभित्रको मूलचोकमा कुसुलेबाजा बजिरहेको थियो। नेपाली र विदेशीको बाक्लो भीड देखिन्थ्यो। उनीहरू सबै २४ वर्षपछि सुचारु भएको पायः (खड्ग) जात्रा हेर्न घण्टौंदेखि बसिरहेका थिए।
 त्यसै क्रममा सेतो दौरासुरुवाल र सेतै फेटा गुथेर विधिपूर्वक खड्ग बोकी साम्राज्यदेव श्रेष्ठ बाहिर निस्किए। उनका साथमा थिए अर्का पुजारी जो मानमानेश्वरी भवानी बोकेर पछिपछि आए। मूलचोकमा एकपटक परिक्रमा लगाएपछि मानमानेश्वरी भवानी र खड्गलाई लिच्छवीकालीन मूलघर (मुछें) लगेर विराजमान गराइएको थियो।
चौबीस वर्षसम्म बन्द रहेको यो जात्रालाई ललितपुरको एउटा महत्वपूर्ण जात्राको रूपमा हेरिन्छ। खड्गजात्रा सञ्चालक तथा लिच्छवीकालीन मुछें आँगन गुठीका सञ्चालक साम्राज्यदेव श्रेष्ठले विभिन्न समस्याका कारण जात्रालाई निरन्तरता दिन नपाएको बताए।
उनका अनुसार यो जात्रा पन्ध्र दिनसम्म चल्छ। ‘घटस्थापनादेखि सुरु भएर कोजाग्रत पूर्णिमासम्म यथावत् रहन्छ’, श्रेष्ठले भने। यो जात्रामा सप्तमीको दिन मानमानेश्वरी भवानीलाई खड्गसहित मूलचोकमा भित्र्याइएको थियो। नवमीको राति महालक्ष्मी मन्दिरबाट बाजागाजासहित पाटन दरबार ल्याइयो र विजयादशमीका दिन ठेँचो नवदुर्गाका तर्फबाट मानमानेश्वरी भवानीलाई माल्यार्पण गरिएको थियो। सोमबार भने मानमानेश्वरी भवानीलाई खड्गसहित मुछेंमा विराजमान गराइएको हो। श्रेष्ठले भने, ‘पाटनमा अलि विशेषखालको जात्रा हुन्छ, जहाँ नवदुर्गाले मानमानेश्वरीलाई सम्मान गर्ने चलन छ।
लिच्छवीका सन्तान भएका कारण यो जात्रा गर्ने मुख्य जिम्मेवारी पाएको श्रेष्ठको भनाइ छ। पुजारीहरू भने राजोपाध्याय रहेका छन्। जात्रा सञ्चालन गर्न पनि निकै कठिन रहेको भन्दै उनले घटस्थापनादेखि प्रायः भोको बस्नुपर्ने बताए। ‘कोजाग्रत पूर्णिमासम्म बाहिर खान मिल्दैन’, उनले भने।
यो वर्ष ललितपुर महानगरपालिका, गुठी संस्थान, उद्योग वाणिज्य महासंघ ललितपुर लगायतले खड्गजात्रा सुचारु गर्न सहयोग गरेको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए। लोकप्रिय जात्रा रोकिनुमा आर्थिक समस्या, ठूलो संख्याको उपस्थिति, विभिन्न समुदायको सहभागिता र उनीहरूमा हुने समन्वयको अभाव रहेको भनाइ पौडेलको छ। ‘समूह समूहको माग फरक हुन्छ, कुरै मिल्दैन’, पौडेलले भने।
यसपटक संस्थानका तर्फबाट पूजाका लागि चाहिने एउटा राँगा, एउटा बोका, एउटा हाँस र बाह्र हजार नगद छुट्याइएको थियो। त्यस्तै राँगाको टाउको बोकेर शहर घुमाउनेका लागि ६ सय रुपैयाँ दक्षिणा र पूजाको समयमा ‘का’ वाजा बजाउनेलाई १४ हजार ४ सय रुपैयाँ छुट्याइएको थियो। यो रकम अपुग भएको सञ्चालक श्रेष्ठले बताए।
पाटन दरबारक्षेत्रमा रहेको भीमसेन मन्दिरको पछाडि राजा मानदेवको पालामा बनेको खड्ग राख्ने घर भूकम्पले भत्किएका कारण पूजाविधिका लागि सरसफाइ गरेर अस्थायी ठाउँ बनाइएको जानकारी प्याकुरेलले दिए।
source: http://annapurnapost.com/news/111100

No comments:

Post a Comment