ललितपुर– बडादसंैको अवसरमा हनुमानढोका र पाटन दरबार क्षेत्रस्थित मूल चोकमा फूलपातीको बिहानको शुभसाइत परेर मल्लकालीन तलेजु भवानी देवी सारिएको छ । तलेजु मल्ल राजाका इष्टदेवता हुन् । पाटन दरबारस्थित दसैघरमा तलेजु बिराजमान गराउन तलेजुका पुजारी नीरण राजोपाध्याय र कात्तिक नाचका गुरु सञ्जय राजोपाध्याय मिलेर बिहान अबिरले अष्टमंगलको चित्र बनाएका थिए । त्यस्तै मू: छेँ आगन घरबाट लिच्छविकाली मनमानेश्वरी देवी मूर्ति पनि मूलचोकस्थित विद्यापीठमा सारिएको छ ।
यसका लागि मू: छेँ आग: घरका मूल पुजारी अनन्तकान्त आचार्यले तान्त्रिक विधिवत् रूपमा पूजा गरेका थिए । ऐतिहासिक खड्ग गुठीका व्यवस्थापक साम्रज्यदेव श्रेष्ठ र लिच्छविकालीन भगवान् सहायक पुजारी माधवश्याम शर्मा, उद्धव आचार्यले मन्दिर बोकेर बाहिर ल्याएका थिए । पाटन दरबारमा धादिङस्थित दनुवार बस्तीबाट ल्याइएको फूलपाती बलि दिई भित्र्याइयो । भने हनुमानढोका दरबारमा गोरखाबाट ल्याइएको फूलपाती पञ्चबाजा र सैनिक ब्यान्ड बाजासहित विशेष उत्सवका साथ हर्षबढाइँ गर्दै हनुमानढोका भित्र्याइयो । फूलपाती भित्र्याउन बिहानको ९ बजेर २१ मिनेटको शुभसाइत थियो ।
पाटन तलेजुका पुजारी नीरण राजोपाध्याय भन्छन्, ‘तलेजुको पूजा तान्त्रिक, यान्त्रिक र वैदिक गरेर तीन विधिबाट पूजा गर्नुपर्छ । मूलचोकलाई तलेजुको मूलघर मानिन्छ ।’ हुनमान दरबार मूलचोकमा सारिएको तलेजु भवानी देवी चार दिनपछि पुन: तलेजु मन्दिरमै लगेर राखिन्छ । पाटनको तलेजु सिद्धिनरसिंह मल्लले स्थापना गरेको मानिन्छ । भने काठमाडौंको रत्न मल्लले गरेका हुन् । काठमाडौंमा फूलपाती भित्र्याउन उखु, अदुवा, तथा केराको बोट, धानको बाला, बेलपत्र, दारिम, हलेदो, अशोकको पातसहित फलफूल र अन्य पालुवासमेतको फूलपातीलाई गोरखाबाट सोमबार जमल पुर्याइएको थियो । उक्त फूलपातीलाई डोलीमा राखेर गुरुजुको पल्टन, पञ्चेबाजा, मंगलसेनी, कलसेनी, हवलाको सामान (चन्द्र, सूर्य, घण्टा र चामर बोकेको टोली), ब्यान्डबाजा, समरजंगको टोली र नेपाली सेनाको पल्टनले हनुमानढोका दरबार पुर्याएको थियो । हनुमानढोका हर्षबढाइँ गरेको थियो । त्यस अवसरमा मुलुकमा विशिष्ट व्यक्तिहरूको उपस्थित थियो । त्यस्तै यसअघि हनुमानढोका दरबार गद्दी बैठकसँगैको कँडेलचोक भगवती मन्दिरबाट ल्याइएको फूलपाती भित्र्याइएको थियो । यस वर्ष विजयादशमी देवी विसर्जन बिहान ९ बजेर ३९ मिनेट र तुलजा भवानीको यात्रा बिहान ८ बजेर ३५ मिनेटमा परेको छ । दरबार क्षेत्रको सबैभन्दा ठूलो चोक मानिन्छ मूलचोक । भक्तपुरमा पनि तलेजु भवानीको विशेष पूजा हुन्छ । काठमाडौंको तलेजु भक्तपुरबाटै लगिएको मानिन्छ । भक्तपुर तलेजु पनि नवमीको दिनमा मात्रै सर्वसाधारणका लागि खुला गरिन्छ ।
साभार : कान्तिपुर दैनिक, २०७५ असोज ३१, पृष्ठ ५
No comments:
Post a Comment