Tuesday, October 9, 2018

Rajopadhyaya in news: भक्तपुरकी एकान्त कुमारीलाई लाग्यो दसैं

भक्तपुरकी एकान्तकुमारी जीविका बज्राचार्यलाई कुमारीघरतर्फ लगिँदै। फाइल तस्बिर
author-image
 २३ असोज २०७५ १८:२८:००
भक्तपुर : दसैं सुरु हुन अझै एकदिन बाँकी छ। यस वर्ष बुधबार घटस्थापनाको दिन परेको छ। यसदिन घरघरमा विधिवत रुपमा जमरा राखेपछि मात्रै सर्व
साधारणको दसैं सुरु हुन्छ।
तर तलेजु भवानीको प्रतीक मानिने भक्तपुरकी जीवित देवी एकान्त कुमारीलाई भने आइतबार नै दसैं लागेको छ। भक्तपुर तलेजुको तर्फबाट राजोपाध्याय, जोशी, कर्माचार्य पुजारी नाइकेले आइतबार एकान्तकुमारीलाई पूजा चढाएसँगै कुमारीघरमा दसैं सुरु भएको हो।
दसैंको विविविधानअनुसार घटस्थापनाको दिनअघि पहिले आउने आइतबार वा बिहीबार भक्तपुरको तलेजुबाट एकान्तकुमारीलाई दसैं आएको जनाउ दिन पूजा जाने परम्परा रहेको छ। सोहीअनुसार यस वर्ष बुधबार घटस्थापना परेकाले आइतबार उक्त पूजा गरिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।
उनका अनुसार आइतबार तलेजुको तर्फबाट भक्तपुर नपा १० क्वाठण्डौंस्थित कुमारीघरमा एकान्तकुमारीलाई पूजा गरिएको छ।
यो पूजालगत्तै कुमारीको अवस्थाबारे जानकारी लिइने उनी बताउँछन्। ‘तलेजुको तर्फबाट राजोपाध्याय, जोशी र कर्माचार्य नाइकेहरुले लिएर जाने पूजा एकान्तकुमारीका सुसारे नाइकेबाट हुन्छ’, मूल नाइके जोशीले भने, ‘उक्त पूजापछि दसैंमा के कसरी कुमारीयात्रा तथा पूजा व्यवस्थापन गर्नेबारे छलफल हुन्छ। र, त्यहीअनुसार दसैंको व्यवस्थापन गरिन्छ।’
दसैंमा हुने कुमारी यात्रा एवं जात्राको लागि कुमारी हुने कन्याको अवस्था पुज्ने उद्देश्यले उक्त पूजाको व्यवस्था गरिएको इतिहास तथा संस्कृतिविद्हरु बताउँछन्। जात्रा र पूजामा सरिक गराउन कुमारी योग्य वा सुरक्षित छन् छैनन् भन्ने अग्रिम जानकारी लिने उद्देश्यले उक्त पूजा गरी वैज्ञानिक र व्यवहारिक रहेको उनीहरुको भनाइ छ। उक्त पूजापछि एकान्तकुमारी कुमारीघरमै बस्नुपर्छ। दसैंभरि सुसारे नाइकेले एकान्तकुमारीको नित्यपूजा र रेखदेख गर्ने गर्छन्।
दसैंको महानवमीका दिन एकान्तकुमारीलाई क्वाठण्डौंस्थित कुमारीघरबाट चासुखेलस्थित कुमारीघर हुँदै भक्तपुर दरबारस्थित तलेजुस्थित कुमारीघरमा लगेर पूजाआजा गरिन्छ।
हाल जीविका बज्राचार्य कुमारी छिन्। ३ वर्षअघि कुमारी बनेकी जीविकाले ११ वर्ष भएपछि वा बेलविवाह भएपछि कुन पहिले हुन्छ त्यसको आधारमा कुमारीबाट अवकास पाउँनेछिन्।
कुमारी बनेकी बालिकाले कुमारी बनेको अवधिभर कुखुराको मासु र अण्डा खान नहुने प्रचलन रहेको मूल नाइके जोशी बताउँछन्। त्यस्तै अरुको जुठोसमेत खान नहुने मान्यता छ।
‘कुमारी घरमा भक्तजन आएका बेलाबाहेक अन्य बेला स्कुल जान पाउँछिन्’, मूल नाइके जोशी थप्छन्, ‘दसैंमा भने करिब २० दिन कुमारी आगमछेंमै बस्नुपर्छ।’
इतिहासविद्हरुका अनुसार भक्तपुरमा नेपाल संवत् ६११ मा राय मल्लले कुमारी पुज्ने चलन चलाएका हुन्।
भक्तपुरको बज्राचार्य तथा शाक्य वंशीय कन्यामात्र एकान्त कुमारी हुनुपर्ने प्रावधान छ। कुमारी हुने सुकन्या सबै गुणले युक्त, कुनै दाग, घाउ, चोटपटक नभएको, अपाङ्गता नभएको हुनुपर्ने प्रचलन रहेको छ।
source: http://annapurnapost.com/news/110309

No comments:

Post a Comment