Friday, October 12, 2018

Rajopadhyaya in News: आगमघर संरक्षणको अभावमा कार्तिक नाच समेत प्रभावित


प्रकाशित: २०७५ असोज २५ विहिबार
- करुण

ललितपुर/कार्तिक नाचको नरसिंह अवतार प्रदर्शनी बन्द हुनसक्ने बताइएको छ । कार्तिक नाचका वाद्यगुरु साथै नरसिंह खलक राजोपाध्यायहरुले नरसिंहसँग सम्बन्धित आगमघरको संरक्षण हुन नसक्दा यस्तो अवस्था रहेको बताएका हुन् ।
 
ललितपुरको कृष्ण मन्दिर र पूर्णचण्डि मन्दिरका पूजारी साथै कार्तिक नाचका गुरु र नृसिंह खलक राजोपाध्यायहरुको महाःद्यःननि आगमघरको अस्तित्व संकटमा परेको हो । महाःद्यःननि आगमघर गुठीका गुठीयार राजोपाध्यायहरुले आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक साँस्कृतिक महत्वका आगमघरहरुको संरक्षणमा राज्यको स्पष्ट नीति नहुँदा अस्तित्व संकटमा परेको बताएका हुन् ।

जीर्ण अवस्थामा रहेको महाद्यःननि आगमघरको बाहिर नै गरिएको पत्रकार सम्मेलनमा बोल्दै आगमघर गुठीका गुठियार रविन्द्रधर शर्माले आगमघरको जिर्णोद्धार तत्काल गरिहाल्नुपर्ने अवस्था रहेको तर जीर्णोद्धारको लागी राज्य तहबाटै प्रक्रियागत समस्याहरु हुँदा समस्या भएको बताउनुभयो । यस किसिमका आगमघरको स्वामित्व राज्यले गुठीलाई पनि नदिने र राज्य आफैंले पनि संरक्षण नगर्ने अवस्थामा समस्या भएको बताइएको हो ।

 
‘यहि आगमघरमा कृष्णमन्दिर, पूर्णचण्डी मन्दिरसँग सम्बन्धित तान्त्रिक पूजाहरु पनि हुन्छ । कार्तिक नाचको नृसिंह अवतारसँग सम्बन्धित पूजा पनि गर्नुपर्छ’ गुठीका अर्का गुठीयार प्रतापधर शर्माले बताउनुभयो, ‘यो आगमघर बचाउन सकिएन भने कार्तिक नाचको नृसिंह अवतार बन्द हुने अवस्था समेत आउनसक्छ । आवश्यक पूजाविधि गर्नलाई आगमघर नै भएन भने कसरी नृसिंह अवतार प्रदर्शन गर्ने ?’ प्रतापधरको प्रश्न थियो । कार्तिक नाचका लागी नृसिंहको मुकुण्डो निर्माण गर्न यहि आगमघरमा तान्त्रिक विधिबाट पूजा सम्पन्न गर्ने गरिन्छ । साथमा बलि पूजा पनि यहिँ सम्पन्न हुने गर्दछ । कृष्णमन्दिर साथै पूर्णचण्डिको नित्य पूजाका लागी आवश्यक पर्ने फुल पनि यहि आगमघरको बारीबाट टिपेर लग्ने गरिन्छ ।


 
गुठीबाट आगमघरको संरक्षणकै लागी भनेर लालपूर्जा बनाउन खोज्दा ३५ दिने सार्वजनिक सूचना समेत प्रकाशित भएको अवस्थामा पनि लालपूर्जा भने नबनेको पत्रकार सम्मेलनमा बताईयो । पत्रकारहरुको प्रश्नको उत्तरमा गुठीयार रविन्द्रधरले लालपूर्जाको प्रक्रिया कहाँ पुग्यो भनी बुझ्न खोज्दा मालपोत कार्यालयबाट जानकारी दिन नमिल्ने भन्दै कुनै जानकारी पनि नपाईएको भन्नुभयो । 
 
वर्तमान समयमा संधियारले आगमघरको जग्गालाई सार्वजनिक चोक भनी उल्लेख गरेर घर निर्माण गरिरहँदा पनि नक्सा पास स्थानीय तहबाट अनियमित निर्माण रोक्न कुनै चासो नदिई उल्टो प्रोत्साहन दिइरहेको आरोप गुठीयारहरुको थियो । संधियारले अनियमित तरीकाले आगमघरको जग्गातिर झ्याल, ढोका राख्नुको साथै टप समेत निकाल्दा पनि स्थानीइ निकायले वास्ता नगरेको गुठीयारहरुले बताए । यस सम्बन्धमा १९ वडा कार्यालयलाई जानकारी गराउँदा सार्वजनिक चोक भएकोले जानकारी दिनुनपर्ने भन्दै अनियमित निर्माणलाई निरन्तरता दिन लगाएको गुनासो गुठीयारहरुको थियो । ललितपुर महानगरपालिकामा उजुरी नै हाल्दा पनि आगमघरको लालपूर्जा नभएको भन्दै उजुरी खारेज गरिदिएको गुठीयारहरुको भनाई थियो । 
 
यस्तो अवस्थामा आगमघरको जग्गा नै सार्वजनिक चोकमा परिणत भई यसको अस्तित्व नै समाप्त हुने अवस्था श्रृजना भएको भन्दै अव केही उपाय नलागेर आफुहरु न्यायालयको शरणमा जान लागेको गुठीयारहरुले बताए, ‘राज्यमा न्याय बाँकि छ भन्ने विश्वास हामीलाई छ । अदालतले निसाफ गर्नेछ र आगमघरको अस्तित्व बचाउनेछ भन्ने आशासहित रिट दायर गर्न हामीले तयारी थालिसक्यौं ।’ आगमघर गुठीयार रविन्द्रधरले भन्नुभयो ।
 
महाःद्यःननि आगंछेँ ललितपुर महानगरपालिका १९ वडा वला टोलमा अवस्थित छ । यस आगमघरको गुठीमा कार्तिक नाचका गुरु खलक साथै नृसिंह अवतारको भूमिका निर्वाह गर्ने र कृष्ण मन्दिरको नित्य पूजा गर्ने पूजारी महाःद्यःननि चोकका राजोपाध्यायसाथै ललितपुर गाःबहालस्थित पूर्णचण्डि मन्दिरका पूजारी र पूर्णचण्डि मन्दिर नजिकै रहेको स्थान कुंछेँका राजोपाध्यायहरुको साझा आगमघर हो । केही वर्ष अगाडीबाट जीर्ण अवस्थामा रहेको आगमघर अहिले ७२ सालको भूकम्पपछि जम्मा दुइ तल्लामात्र  बाँकि छ । आगमघरको बाँकि भाग पनि निकै जीर्ण अवस्थामा रहेको छ ।https://www.mahanagarkhabar.com/%E0%A4%86%E0%A4%97%E0%A4%AE%E0%A4%98%E0%A4%B0-%E0%A4%B8%E0%A4%82%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%A3%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%95-%E0%A4%A8%E0%A4%BE%E0%A4%9A-%E0%A4%B8%E0%A4%AE%E0%A5%87%E0%A4%A4-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A4Source

No comments:

Post a Comment