Sunday, October 21, 2018

Rajopadhyaya in News : २४ वर्षपछि पायो जात्रा

प्रशान्त माली
ललितपुर — पाटन दरबार क्षेत्रमा शुक्रबार साँझ ३४ गुठीका गुठियारको भीडभाड थियो  । २४ वर्षपछि सञ्चालन भएको पायो जात्रा (खड्ग जात्रा), २० वर्षपछि चलाइएको लिच्छविकालीन माजु द्य: (मनमानेश्वरी देवी) र ठेचोस्थित नवदुर्गा देवीबीच तीनपल्ट ढोगभेट गराउने जात्रा हेर्न उपत्यकाका तीनै जिल्लाका स्थानीयवासी जम्मा भएका थिए  ।


   प्रहरी र स्वयंसेवकलाई भीड व्यवस्थापन गर्न हम्मे परेको थियो ।

भैरव, काली र बाराहीको नृत्यसहित मनमानेश्वरी देवीलाई माल्यार्पण जात्राको मुख्य आकर्षण हो । पायो जात्रा पाटन दरबार क्षेत्रसँग सम्बन्धित लिच्छवि, मल्ल र शाहकालीनमध्ये सबैभन्दा पुरानो जात्रा हो । यो जात्रा लिच्छविकालीन मू (मूल) छेँ (घर) आँगन गुठीद्वारा सञ्चालन गरिन्छ । मनमानेश्वरी देवीको पूजा विधि अर्को महत्त्वपूर्ण पर्व हो । यो पर्व बन्द भएसँगै ठेचोस्थित नवदुर्गा नाच र पाटन नकबहिलको अष्टमात्रिका नाचको गमन पर्व बन्द भएको थियो । गमन पर्वमा दरबारको दसैं घरमा राखिएको जमरा जता ढल्किन्छ, त्यतै नगर परिक्रमा गरिन्छ ।


बन्द भइसकेको जात्रालाई मू छेँ आँगन गुठियारले यस वर्ष पुन: सञ्चालनमा ल्याएको हो । नेवा पत्रकार राष्ट्रिय दुब ललितपुर शाखाले जात्रा सञ्चालनको पहलकदमी लिएको थियो ।

लाइझोलका सूर्जमान माली र रत्नबहादुर मालीले ठेचोको नवदुर्गा नाच र पायो जात्रामा चिराग समाए । व्यवसायी र हस्तकलाकर्मी उनीहरू दुवै गुठियार होइनन् । नवदुर्गा गुठीमा केही वर्षदेखि चिराग समाउने गुठियार थिएनन् । नवदुर्गा नाच एक ठाउँबाट अर्को ठाउँ लैजाँदा र नाच प्रदर्शन गर्दा चिराग अनिवार्य बाल्नुपर्ने धार्मिक परम्परा छ ।

ठेचो फुंगासी टोलका जितेन्द्र माली चालक हुन् । उनी नवदुर्गा गुठीमा प्रवेश गरेर मल्लकालीन परम्परा बचाउन अग्रसर भए । स्थानीय रत्नमान माली, महेन्द्र माली, सर्जुमान माली, राजन माली, अमित माली र राजीव मालीले पोमी (देवता समात्ने) व्यक्तिको भूमिका निभाए । उनीहरू पनि गुठियार होइनन् । गुठीमा बाराही, कुमारी र ब्रह्मायाणी समात्ने गुठियार छैनन् । सफल, हेरा, रमा, सञ्जु, नग्मा माली पनि गुठियार होइनन् । नाच सञ्चालन गर्नै नसक्ने अवस्था आएपछि उनीहरू संस्कृति जोगाउन अग्रसर भएका हुन् ।
एकादशीका दिन ठेचोस्थित तल्लो लछी डबलीमा नवदुर्गा नृत्य। तस्बिर सौजन्य : सन्तु महर्जन

मू छेँ आँगन घर गुठीका मूल पुजारी
अनन्त ज्वालानन्द राजोपाध्याय भन्छन्, ‘देवी नाच नेपालको प्राचीन संस्कृतिको धरोहर हो । यस नाचको अध्ययन–अनुसन्धान गर्न स्वदेशीभन्दा विदेशी बढी आकर्षित छन् । सबैको साथ र सहयोगमा यस वर्ष मनमानेश्वरी देवी र पायो जात्रा सञ्चालन भयो ।’

पायो (खड्ग) बोक्ने साम्राज्यदेव श्रेष्ठले जात्रा सञ्चालन गर्न मुकुटलगायत आवश्यक सामान आफ्नै खर्चमा व्यवस्था गरेको बताए । ललितपुर महानगरबाट जात्रा सञ्चालन गर्न दरबन्दी व्यवस्था छैन,’ उनले भने ।


नवदुर्गा नाच मंगलबार चतुर्थी र बुधबार कोजाग्रत पूर्णिमाका अवसरमा पाटन दरबार क्षेत्रस्थित मूलचोकमा प्रदर्शन गरिन्छ ।

भक्तपुर र काठमाडौंमा पनि मनाइयो
विजयादशमीको मध्यरातमा भक्तपुर तलेजुको पाय:द्यो (खड्ग देव) जात्रा मनाइएको छ । तलेजु भवानीको साक्षात् रूप मानिने पाय:द्योलाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई यो जात्रा मनाइन्छ ।
दशमी राति तलेजु आगम मन्दिरको खँ कुथि कोठाबाट विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्रअस्त्रसहित तलेजुको प्रतिरूप पाय: द्योलाई तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई हस्तान्तरण गरेपछि जात्रा सुरु हुने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए । तलेजुमा राजोपाध्यायले पाय:द्योलाई आफ्ना काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा छ । काठमाडौं हनुमान ढोका दरबार र असन बाकु ननी:लगायत टोलबाट पनि पायो जात्रा निकालियो ।
प्रकाशित : कार्तिक ५, २०७५ ०७:३६Source: https://www.kantipurdaily.com/news/2018/10/22/154017309232651324.html

No comments:

Post a Comment