Thursday, May 10, 2012

नः पोखरीमा भेटि्टएको ताम्रपत्रको रहस्य




Source:

May 10, 2012

ओम धौभडेल
    भक्तपुर इटाछेंस्थित नःपोखरी (गुह्य पोखरी) को पेटी बनाउने क्रममा साउन १६ गते भेट्टिएको ताम्रपत्रबारे समयमै जानकारी नहुँदा २६ गतेमात्र सार्वजनिक हुनसक्यो। ढिलै भएपनि प्रकाशमा ल्याइदिनुभएकोमा प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नः पोखरीमा जयप्रकाश मल्लको ताम्रपत्र भेट्टिनु यहाँ यति धेरै खुल्दुली यसकारण भयो कि कतै लिच्छवी कालमै बनेको एउटा ऐतिहासिक पोखरीमा कान्तिपुरका अन्तिम मल्ल राजाको किर्ति कसरी रहन सक्छ ढुकढुकी बढ्नु स्वाभाविकै  हो। तर ताम्रपत्र नः पोखरीसँग कुनै पनि तरहले सम्बन्धित नभएको स्वयम् ताम्रपत्रको भाषाले बताइसकेको छ। तर पनि नःपोखरीमा कसरी ताम्रपत्र रहन गयो, अध्ययन गर्नैपर्ने विषय भएकोले ताम्रपत्र भेट्टिनु जति महत्त्वपूर्ण हुन गयो, त्यसको अर्काे पाटो कसरी त्यहाँ रह्यो भन्ने हो।
    ताम्रपत्र ने.सं. ८६१ मंसिर  ६ को हो। त्यतिबेला कान्तिपुरमा जयप्रकाश मल्लको राज्य रहेकोमा कुनै शङ्का छैन। नेसं ८५७ चैत्र बदि १३ को दिन दिक्षा लिएर राजा बनेका जयप्रकाशभन्दा अघि उनकै बुबा जगतजयको राज्य थियो। त्योभन्दा अगाडि कान्तिपुरको राजा भास्कर मल्ल थिए। उनको सन्तान नहुँदा महिपतिन्द्र मल्लकी छोरीतर्फको जगतजयलाई आफ्नो उत्तराधिकारी बनाएको स्पष्ट छ। यहाँ भास्कर मल्लपछि राजा बनेका जगतजय मल्ल सुरुदेखिका मल्लका सन्तान होइनन्। जगतजय राजा हुनुअगावै राजेन्द्रप्रकाश र जयप्रकाश दुई छोराहरूको जन्म भइसकेको राजा भइसकेपछि नरेन्द्र प्रकाश, राज्य प्रकाश, एक अर्काे गरी तीन छोराहरूको जन्म भएकोमा जेठो र कान्छोको मृत्यु भएको अवस्थामा जगतजयले माहिलो जयप्रकाशलाई उत्तराधिकारी बनाएका थिए। तर विरोधी भारदारहरूले जयप्रकाशको जन्म मूलचोकभन्दा बाहिर भएकोले राजा बन्न पाउँदैन भनी व्यवधान खडा गरे। जसले गर्दा जगत जयको मृत्युको केही महिनासम्म कान्तिपुरको गद्दी खाली हुन पुग्यो। पछि विरोधीहरू सबैलाई दबाएर जयप्रकाश राजा बने। यो नेसं ८५७ को घटना हो।
    जयप्रकाश राजा हुनासाथ विशेषगरी तलेजुमा दिक्षा लिएको समयमा कान्तिपुरका एक ब्राह्मण देवानन्द राजोपाध्यायलाई नुवाकोट ब्यासी पिपरबुको ३६ रोपनी जग्गा कुश संकल्प गरी तलेजुको दक्षिण ढोकामा बसी दान दिएको प्रमाण छ। सोही मितिमा उक्त ब्राह्मणलाई कविलास क्षेत्रको कुह्माल्याबु क्षेत्रको अर्काे ३६ रोपनी गरी ७२ रोपनी जग्गा दान दिएको देखियो। यहाँ अरु भारदारहरूले साथ नदिंदा देवानन्द राजोपाध्यायले साथ मात्र हैन, दिक्षासमेत सुनाएको गुणको बदला यत्रो ठूलो जग्गा दान दिएको देखियो। अब कुरो रह्यो यो देवानन्द ब्राह्मण र नःपोखरीमा भेट्टिएको ताम्रपत्रसँग के सम्बन्ध छ? जहाँ रामानन्द ब्राह्मणको नाम उल्लेख छउनलाई उनै जयप्रकाश मल्लले स्थान स्पष्ट नभएको बोरिबु क्षेत्रको ४० रोपनी जग्गा दान दिएको छ। यहाँ सबैभन्दा महत्त्वपूर्ण प्रसङ्ग त देवानन्द ब्राह्मण र रामानन्द ब्राह्मण उही यबुं भूमिको वक्वद्व टोल ब्रह्मपुरी छेको भनिएको छ र एउटै समयका समकालीनसमेत हुँदा दाजुभाइ हुनसक्ने प्रवल सम्भावना छ जुन ठाउँ वर्तमान काठमाडौंको इन्द्रचोक हो। वक्वद टोलको पछि गएर वंघल भएर नामकरणसमेत भयो। यहाँका राजोपाध्याय ब्राह्मण देवानन्द र रामानन्द हुन् भन्ने तथ्य भेट्टिएको छ। यता रामानन्द ब्राह्मणलाई जग्गा जमिन दान दिएको अरु प्रमाण त भेटिएको देखिंदैन। तर देवानन्द ब्राह्मणलाई जयप्रकाश मल्लले अरु थुप्रै जग्गा दान दिएको प्रमाण छ। कहिले दिक्षाको नाममा, कहिले तलेजुको सन्दर्भमा, कहिले मन्त्र सुनाएको अवस्थामा, कहिले पैसा लिएर बेचेको भनी सयौं रोपनी जग्गा दान दिएको छ। वास्तवमा देवानन्द ब्राह्मणप्रति जयप्रकाश मल्लको झुकाव अधिक रहेको पुष्टि हुन्छ। एक ठाउँमा त देवानन्द राजोपाध्यायबाट आफू अति प्रसन्न भएको समेत उल्लेख गरेबाट यसको थप पुष्टि हुन्छ। तर उही ठाउँको रामानन्दको नाममा अर्काे जग्गा जमिन दिएको प्रमाण नभेट्टिनु र भएको एउटा ताम्रपत्र पनि सयौं वर्षदेखि नःपोखरीमा लुक्नुको पछाडि एउटा इतिहास खोज्नुपर्ने हुन्छ।
    इतिहासको अलिकति सङ्केत अगाडि भइसकेको छ। जगतजय मल्लको मृत्युपछि कसरतपूर्वक राजा बनेको जयप्रकाशको सुरुआतको केही समय शान्तपूर्वक राज्य चलेको पाइयो। जतिबेला उनले देवानन्द रामानन्दलगायत अरु थुप्रै ब्राह्मणहरूलाई जग्गा दान दिएका थिए। पछि भाइ नरेन्द्रप्रकाश, राज्यप्रकाशले विद्रोह गरेपछि, नुवाकोटमाथि गोर्खाली कब्जा भएपछि, त्यसका भागीदार काशीराम थापाकेा हत्या, भक्तपुरसँग मिलेका अर्का भारदार सुकुल मास्केको हत्या, टौढिक काजीको पलायनजस्ता विभिन्न कारणले विरोधीहरूले जयप्रकाशलाई हटाई उनकै छोरा ज्योतिप्रकाश मल्ललाई कान्तिपुरको राजा बनाइ छाडे। त्यो ने.सं. ८६६ तिरको घटना हो। त्यसपछि राज्यच्यूत एवम् परिवारबाटै च्यूत जयप्रकाश मल्ल पुनः पहिलेझैं आफ्ना समर्थक ब्राह्मण जसलाई आफू राजा हुँदा सहयोग गरेका थिए, तिनीहरूसँग आश्रय लिन पुगे। त्यसो त सामरिक शक्ति पुनःस्थापना गरी कान्तिपुरको राजा हुन जयप्रकाशले भक्तपुर तचपालस्थित चिकंफले मठाधिपति कमलवनसँग पनि सापटीको लागि चिठ्ठी लेखे, जोसँग पृथ्वीनारायण शाहले समेत ऋण लिएका थिए। पछि गुह्येश्वरीमा लुकिराखेको जयप्रकाश मल्ललाई पक्राउ गर्न गएका कान्तिपुरे सैनिकहरूलाई भावनात्मक ढङ्गले आफ्नो बनाई पुनः ने.सं. ८७० मा कान्तिपुरका राजा बने। यता जयप्रकाशलाई आपत पर्दा सहयोग नगर्नेमा रामानन्द ब्राह्मण पनि देखियो। एकातिर उनले आपत परेको जयप्रकाशलाई सहयोग गरेनन् भने अर्काेतर्फ राज्यबाट पाएको जग्गाको प्रमाण यो ताम्रपत्र लुकाएको भरपर्दाे प्रमाण हुन आउँछ। आफूलाई आपत पर्दा सहयोग गर्ने देवानन्द ब्राह्मणलाई पछिसम्म पनि विभिन्न ठाउँको सयौं रोपनी जग्गा, घोडा, हात्ती उपहार दिइएको छ। यता उही ठाउँको रामानन्दलाई अरु केही नदिनुको एउटै कारण यही हो। त्यतिमात्र हैन आफूले पाएको ४० रोपनी जग्गाको ताम्रपत्रसमेत सयौं वर्षदेखि शत्रु राज्यको एउटा पोखरीमा दबिएर रहनुपर्‍यो। तसर्थ नःपोखरीमा भेट्टिएको ताम्रपत्र नःपोखरीसँग सम्बन्धित नभए पनि यसले तत्कालीन कान्तिपुरको इतिहास प्रकाशमा ल्याउन ठूलो मद्दत गर्नेछ। राजाको सक्कल छापसहितको यो ताम्रपत्र महत्त्वपूर्ण दस्तावेज भएको छ। जयप्रकाश मल्लका अन्य थुप्रै ताम्रपत्र, ताडपत्र, शिलापत्रभन्दा भक्तपुर नःपोखरीमा भेट्टिएको एउटै ताम्रपत्र अझ महत्त्वपूर्ण यसकारण छ कि २७० वर्षदेखि यो लुप्त थियो। जग्गा दिने जयप्रकाश मल्ल, जग्गा पाउने रामानन्द ब्राह्मण, अझ मल्ल वंश इतिहासमै सीमित रहेको अवस्थामा नःपोखरीमा भेट्टिएको ताम्रपत्रमार्फत् यो हरफ लेख्न पाउनु मेरो लागि खुशीको विषय हुनआउँछ। यसले जयप्रकाश मल्ल, देवानन्द, रामानन्दलगायत कान्तिपुरको सम्पूर्ण इतिवृत्ति त बताउन सकिंदैन। तर छोटो जानकारी भने अवश्य दिन्छ।

2 comments: