Friday, August 16, 2019

Rajopadhyaya in News : भक्तपुरमा गाईजात्रा (सापरु)

Rajopadhyaya in News : बाँधिन् नेवाःको डोरो

सन्दर्भ — जनै पूर्णिमा

राष्ट्रपतिले बाँधिन् नेवाःको डोरो

  • नेपालन्युज साउन ३०, २०७६ | बिहीबार | काठमाडौं


राष्ट्रपति विद्यादेवी भण्डारीले नेवाः परम्पराअनुसार गुंपुचः डोरो बाँधेकी छिन्।
कान्तिपुरीय उपाकर्म गुठीका पालोवाला गुठियार मिजल शर्माले मन्त्र पढी राष्ट्रपतिको बायाँ हातमा गुंपुचः बाँधेका हुन्।
बिहीबार जनै पूर्णिमाको अवसरमा अपराह्न राष्ट्रपति निवासमा गुठियारहरूले स्वस्तिवाचनसहित वैदिक मन्त्र पढेर राष्ट्रपतिलाई अभिषेक दिएका थिए।
बिहान कान्तिपुरीय उपाकर्म गुठीले श्रावणी कर्मकै क्रममा कलशार्चन पूजा गरेका थिए। सोही पूजाको फूलप्रसाद र गुंपुचः राष्ट्रप्रमुखले लिनुपर्ने परम्परा छ।
काठमाडौं उपत्यकाका द्यःभाजु राजोपाध्याय ब्राह्मणले जनै फेर्नेलगायत श्रावणी कर्मका लागि उपाकर्म गुठी चलाउँछन्। उपाकर्म गुठी काठमाडौं, भक्तपुर र ललितपुरमा अलग्गै छन्।
काठमाडौंका ब्राह्मणले शोभाभगवती मन्दिरमा, भक्तपुरकाले हनुमानघाट र ललितपुरले हाल अग्निशाला मन्दिरमा श्रावणी कर्म गर्छन्।
प्रकाशित: Aug 15, 2019 | 21:33:39

Rajopadhyaya in News : दिनभर भोकै हिँड्दै राष्ट्रपतिकहाँ



सन्दर्भ : चाँगुनारायण कलशयात्रा

दिनभर भोकै हिँड्दै राष्ट्रपतिकहाँ

  • नेपालन्युज साउन २७, २०७६ | सोमबार | काठमाडौं


साउने सोमबार मनाइँदै गर्दा भक्तपुरको चाँगुनारायणमा पनि आज विशेष पर्व छ, चाँगुदेखि काठमाडौंसम्म कलश जात्रा।
बिहान ११ बजे चाँगुनारायणबाट हिँडेको कलशयात्रा अपराह्न जमल हुँदै हनुमानढोका आइपुग्छ र जान्छ, राष्ट्रपतिकहाँ।
chagunarayen kalasyatra1
नुहाइ–धुवाइ गरेर, केही नखाई, पानीसमेत नपिई, शुद्ध भएर खालि खुट्टाको हिँडाइ, त्यो पनि सोमबारको ठूलो झरी र अझ हिलाम्य बाटोमा, अनि चाँगुदेखि पवित्र र दैवीशक्तियुक्त जल भरिएको तीनवटा कलशहरू बोक्नुपर्ने — लिच्छविकालीन जात्राको कठिनाइ शायद शब्दमा यत्तिले मोटामोटी समेट्ला।
changunarayan kalasyatra 4
तीनवटा कलश प्रतीक हो, श्रीचाँगुनारायण, देवी लक्ष्मी र देवी सरस्वतीका।
किंवदन्ती छ, महामारी फैलिएको शान्त गर्न चाँगुनारायणलाई दूधे कर्कलो चढाइएको दिन मानेर यसरी कलश जात्रा चलाइएको हो। नेपालकै पुरानो हस्तलिखित वंशावली मानिने गोपालराजवंशावलीको ३०ख पत्रले यही कथा लिच्छविकालीन राजा पुष्पदेवसँग जोडेको छ।
changunarayan kalasyatra 9
कलश जात्रा चाँगुनारायण मन्दिर परिसर घुमाई बीच–बीचमा पूजा थापी मूलपानी, दक्षिणढोका, जोरपाटी, बौद्ध, चाबहिल, नक्साल हुँदै रानीपोखरी ल्याइन्छ। यात्राका क्रममा शुद्ध भएका भँडेलबाहेक अन्यले कलश छुन नहुने मान्यता छ।
यस यात्राको प्राचीन बाटो पनि ठाउँ–ठाउँमा मिचिएपछि केही स–साना परिवर्तन भएको बताउँछन्, यात्रामा सहभागी गोपाल बहादुर भँडेल।
changunarayan kalasyatra 8
यात्रामा कलश बोक्दै हिँड्ने चाँगुका भँडेलले गर्छन्। मन्दिरको रेखदेख गर्ने, सरसफाइ गर्ने, पूजाका लागि व्यवस्था गर्ने, आएका भक्तजनलाई यथोचित टीकाफूल दिनेलगायत यसरी कलश जात्रामा शुद्ध भई हिँडेर काठमाडौंसम्म आउने जिम्मा हुन्छ भँडेलको।
यात्रामा सहभागी छन्, राजेन्द्र बहादुर भँडेल, प्रेम बहादुर भँडेल र शंकर भँडेल। अन्य जात्रालु पनि सँगसँगै आएका थिए। यात्रासँगै दुईजना घोडचढी जाने परम्परा छ।
changunarayan kalasyatra 5
रानीपोखरीस्थित जगतनारायण मन्दिरमा मन्दिरकै राजोपाध्याय पुजारीले पूजा गरेपछि गुरुज्यूको पल्टनले बढाइँ गर्दै लग्छ, प्राचीन राजदरबार गुनपो अर्थात् हनुमानढोकातर्फ।
हनुमानढोका प्रताप मल्लकालीन नाम हो, हनुमानको मूर्ति स्वर्ण ढोकाअघि रक्षार्थ राखेपछि उक्त दरबारलाई हनुमानढोका भनिएको हो। हनुमानढोका हुनुभन्दा अगाडि यस दरबारको नाम थियो, गुनपो। त्यो बेलाको मूल ढोका थियो, तलेजुअगाडिको विशाल ढोका।
changunarayan kalasyatra 3
तलेजुअगाडिकै ढोकामा प्रत्यक्ष देवी कुमारीको उपस्थिति अनिवार्य हुन्छ। सोमबार कुमारी ल्यानका लागि ललितपुरबाट पञ्चैबाजा बोलाइएको थियो। कपाली बाजा नहुँदा यसरी पहिलोपटक वैकल्पिक व्यवस्था गरिएको हो।
तलेजुका राजोपाध्याय पुजारी हरिओमकाजी राजोपाध्यायले कुमारीको उपस्थितिमा लसकुस अर्थात् स्वागत गरे। दरबारभित्र त्रिशूलचोकबाट मूलचोक हुँदै इनार भएको ठाउँमा तलेजु र चाँगुको पूजा साटासाट गरिएको छ।
changunarayan kalasyatra 7
त्रिशूलचोकमा जम्मा भएका थिए, विद्वान इतिहासकारद्वय महेशराज पन्त र दिनेशराज पन्त। त्यस्तै, पुरातत्त्व विभाग र संस्कृति मन्त्रालयका कर्मचारी, सहसचिवलगायत उपस्थित थिए हनुमानढोकामा। यस यात्रामा दरबारभित्र सर्वसाधारणलाई भने प्रवेश निषेध गरिएको थियो।
त्यसपछि राष्ट्रप्रमुखकहाँ लगियो कलशयात्रा, राष्ट्रप्रमुखले कलशमा आफ्नो छायाँ दर्शन गर्न। यात्रामा सहभागी पुजारी पं. चक्रधरानन्द राजोपाध्यायले वैदिक विधिबाट राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिषेक दिई टीका–फूल दिए, राष्ट्रपति भवनमै।
पहिले राजालाई नारायणको रूप मानी यसरी चाँगुको शक्ति दिने चलन हो, तर गणतन्त्र लागेपछि राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपतिले छायाँ–दर्शन गरी फूलटीका र प्रसाद ग्रहण गर्छन्।
changunarayan kalasyatra 6
राष्ट्रपतिकहाँ समय दिइएको थियो, बेलुकी ६:३० बजे।
दिनभर हिँडेका जात्रालुलाई हनुमानढोकाबाट राष्ट्रपतिकहाँ पुर्‍याउन हनुमानढोका दरबार संग्रहालय विकास समितिले गाडीको व्यवस्था गर्छ। त्यहाँबाट फेरि हनुमानढोका फर्केर विसर्जन पूजा गरेपछि मात्र कलश बोक्ने पुजारी र दुईजना भँडेलले जलपान गर्छन्।
changunarayan kalasyatra 2
यसरी गाह्रो गरी ल्याउनुपर्ने कलश यात्रामा राज्यका तर्फबाट सहजीकरण गरिदिनुपर्नेमा जोड दिन्छन्, जात्रालुहरू।
तर कर्मचारीको कमजोरी जात्रामा पनि देखियो– हनुमानढोकामा पूजा सकेर बाहिर निस्कँदा तलेजुअगाडिको ढोका खोलिएन। कार्यालय समय सकेको हुनाले सम्बन्धित कर्मचारी खोजेर निकै समयपछि बल्ल बल्ल ढोका खोलियो, र यात्रा अघि बढेको थियो।
changunarayan kalasyatra 10
स्रोत : https://www.nepalnews.com/life-arts/5997-2019-08-12-14-59-19?fbclid=IwAR3GaKf6tg1PYLrruXBQV0m70Bmun5k3ATYBKaYPm62JlTHhQkd0SDWBG5Q#.XVGOmD47Q_4.facebook
प्रकाशित: Aug 12, 2019 | 20:44:19

Rajopadhyaya in news : राष्ट्रपतिलाई कान्तिपुरीय उपाकर्म गुठीको निमन्त्रणा

राष्ट्रपतिलाई कान्तिपुरीय उपाकर्म गुठीको निमन्त्रणा

  • नेपालन्युज साउन २७, २०७६ | सोमबार | काठमाडौं


काठमाडौंका ब्राह्मणहरूको आफ्नै एउटा गुठी छ, कान्तिपुरीय उपाकर्म गुठी।
उक्त गुठीको प्रयोजन भनेको श्रावणी कर्म वा उपाकर्म सञ्चालन गर्नु हो। यस्तै गुठी पाटन र भक्तपुरमा पनि छ।
विशेषतः उपत्यकाका द्यःभाजु राजोपाध्याय ब्राह्मणले यसरी उपाकर्म गुठी चलाउने गर्दछन्। उपाकर्म गुठी ललितपुरले भने नृसिंह जात्रा "उपाकलं सायाः" पनि चलाउने गर्दछ।
श्रावणी कर्म जनै पूर्णिमाका दिन गरिन्छ। यसको ४ दिनअघि राष्ट्रप्रमुखलाई निमन्त्रणा गरिने चलन छ।
पहिले राजालाई निमन्त्रणा गरिन्थ्यो। तर ६३ सालदेखि भने यसरी निमन्त्रणा पूजा जाने क्रम रोकिएको थियो। पालो चलाइसकेको गुठियार श्रीमणिराज शर्मा भन्छन्, ‘६३ सालमा राज कलश हराएको थियो, अझ सङ्क्रमण काल भएकोले पनि जान गाह्रो भएको थियो।’
तर १३ वर्षपछि पुनः यो परम्परा सुचारु गरिएको हो, यसपटक भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई उक्त निमन्त्रणा सोमबार दिइएको छ।
निमन्त्रणा पत्रसँगै रोटी, फूलप्रसाद, पूलमाला कान्तिपुरीय उपाकर्म गुठीका तर्फबाट दिइएको थियो, राष्ट्रपति भण्डारीलाई।
अब जनै पूर्णिमाका दिन पूजा गरिएको कलश लिएर राष्ट्रपतिलाई अभिषेक गरिने तथा नेवाः परम्पराअनुसार डल्लो सहितको जनै डोरो बाँध्न जाने कार्यक्रम रहेको गुठियार श्रीमणिराज शर्मा बताउँछन्।
प्रकाशित: Aug 12, 2019 | 21:37:39

Rajopadhyaya in News : वैदिक कालको परम्परा धान्ने अग्निहोत्रीलाई नृसिंह जात्रामा निमन्त्रणा

वैदिक कालको परम्परा धान्ने अग्निहोत्रीलाई नृसिंह जात्रामा निमन्त्रणा

  • नेपालन्युज साउन २८, २०७६ | मंगलबार | ललितपुर


वैदिककालको पञ्चाग्निलाई पूजा गर्ने परम्परा बोकेको एक मात्र स्थल हो, ललितपुरको अग्निशाला मन्दिर।
यस अग्निशालाको महत्त्वपूर्ण विशेषता हो, अग्निहोत्री परम्परा। अग्निशालामा पूजाको प्रमुख जिम्मेवारी हुन्छ, अग्निहोत्री र उनकी पत्नीको। अग्निहोत्री जहिले पनि दम्पत्ति नै हुनुपर्ने मान्यता छ।
ललितपुरका द्यःभाजु राजोपाध्याय ब्राह्मणका षट्कुलले यहाँको परम्परा धान्छन्। तर हाल सुन्धाराको एउटा कुल यसमा संलग्न नभएपछि ५ वटा कुलले यसलाई धानिरहेका छन्।
राजोपाध्याय ब्राह्मणले चलाउने अर्को परम्परागत संस्था हो, उपाकर्म गुठी। विशेषतः श्रावणी कर्मको जिम्मेवारी बोक्छ, यस गुठीले। तर उपाकर्म गुठीले थप एउटा जात्रा चलाउनुपर्छ, नृसिंह यात्रा अर्थात् स्थानीय भाषामा उपाकलं सायाः।
उपाकर्म गुठीका पालोवाला हेरम्बराज शर्माले अग्निहोत्री पं. विष्णुमोहनधर राजोपाध्यायलाई सोमबार नरसिंह जात्राको निमन्त्रणा गरेका छन्।
उक्त जात्राका पाटनका जेठा (थकाली) राजोपाध्याय ब्राह्मणहरू गोपालराज शर्माहेरम्बानन्द राजोपाध्याय तथा तलेजुका मूल पुजारी अनन्त ज्वालानन्द राजोपाध्यायलाई परम्पराअनुसार निमन्त्रणा गरेका छन्।
यसअघि पाटन दरबारमा मल्ल राजालाई पनि निमन्त्रणा गरिएको थियो।
पाटनको नरसिंह जात्रा आगामी भाद्र ३ गते मनाइनेछ।
यो पनि हेर्नुहोस्–
मल्ल राजालाई नरसिंह जात्रामा निमन्त्रणा
प्रकाशित: Aug 13, 2019 | 14:55:54

Rajopadhyaya in News : मल्ल राजालाई नरसिंह जात्रामा निमन्त्रणा



ललितपुरको उपाकलं सायाः जात्रा

मल्ल राजालाई नरसिंह जात्रामा निमन्त्रणा

  • नेपालन्युज साउन १, २०७६ | बुधबार | ललितपुर
800
SHARES



तस्बिर : शिवेश शर्मा
देशभर गुरु पूर्णिमा मनाउँदै गर्दा ललितपुरको उपाकर्म गुठीका गुठीयार भने अर्कै विशिष्ट सांस्कृतिक कार्यमा संलग्न थिए।
सन्दर्भ हो, ललितपुरको नरसिंह जात्रा। स्थानीय नेपाल भाषामा यसलाई उपाकलं सायाः भनिन्छ। उपाकर्मको संक्षिप्त रूप हो– उपाकलं, सायाःको अर्थ गाईजात्रा। गाईजात्राकै क्रममा ललितपुरको नरसिंह जात्रा निकालिने हुनाले यसलाई सायाः भनिएको हो।
मंगलबार उपाकर्म गुठी ललितपुरका ब्राह्मणहरू फूलमाला तथा पूजासामग्रीसहित पाटन दरबारको सुन्दरी चोक पुगे। उक्त चोकमा लामो ढुङ्गा बिछ्याइएको छ, यसलाई राजा सिद्धिनरसिंह मल्लको खाट मानिन्छ।
किंवदन्ती छ, सिद्धिनरसिंह मल्ल गर्मीमा पञ्चाग्नि ताप्थे र जाडोमा यही चिसो ढुङ्गामा सुत्थे।
निमन्त्रणाकै क्रममा उपाकर्म गुठी तथा नरसिंह जात्राका पालोवाला सुलिह्म, हामोननी निवासी हेरम्बराज राजोपाध्यायले खाटमा माल्यार्पण गरे।
नेपालमा राजसंस्था हटे पनि राजालाई यसरी निमन्त्रणा गर्ने परम्पराले भने निरन्तरता पाएको छ, अझ शाह राजा हुँदा समेत यहाँ सिद्धिनरसिंह मल्ललाई नै विशेष निमन्त्रणा गरिन्थ्यो। मल्ल राजाले धर्माधिकार थामेको धेरै उदाहरणमध्ये एक हो, नरसिंह जात्राको निमन्त्रणा।
सो अवसरमा गुठी संस्थान ललितपुरका तर्फबाट पनि प्रतिनिधिको उपस्थिति रहेको थियो।
ललितपुरको यस नरसिंहको जात्रा विश्वमै दुर्लभ मानिन्छ। यस वर्ष नरसिंह जात्रा आगामी भाद्र ३ गते निकालिन्छ।
प्रकाशित: Jul 17, 2019 | 15:19:36

Rajopadhyaya in News : गोसाइँकुण्ड जान नसके कुम्भेश्वर (फोटो फिचर)



सन्दर्भ – जनै पूर्णिमा मेला

गोसाइँकुण्ड जान नसके कुम्भेश्वर (फोटो फिचर)

  • आभास धरानन्द राजोपाध्याय साउन ३०, २०७६ | बिहीबार | ललितपुर



पाटनको कुम्भेश्वर क्षेत्र, जनै पूर्णिमाको मेला।
व्यापार र भक्ति, भजन–रञ्जन, श्रद्धालु र मोक्षार्थी – जोसुकै थिए, कुम्भेश्वर–सर्वेश्वरको मेलामा।
हाट बजारझैं लुगा, खानेकुरा, खेलौनालगायत विभिन्न किसिमका पसल थाप्ने र किन्नेको भीड। अनि त्यससँगै ठाउँ–ठाउँमा पानीमा खेल्दै र खेलेको हेर्दै रमाउनेको भीड पनि यहाँको रौनक हो।
कुम्भेश्वर मन्दिर परिसरको ठीक बाहिर छ, मिसा हिटी अर्थात् महिलाका लागि धारा। हुन त यसभन्दा पुरानो नाम अर्कै भनिए तापनि हाल यहाँ महिला र बालबालिका मात्र जान्छन्। यहाँ पनि पानी भरेर राखिन्छ र बालबालिकाहरू सँगै पौडी खेल्छन्।
मन्दिर परिसरभित्रै एउटा पोखरी छ, यहाँ गोसाइँकुण्डकै पानी आउने जनविश्वास छ।
यसै जनविश्वासबमोजिम गोसाइँकुण्डको विकल्पका रूपमा कुम्भेश्वर मेला भर्न आउने परम्परा छ। भनिन्छ, गोसाइँकुण्ड जान नसके कुम्भेश्वर मेला भर्न जानू।
यो परम्परा ललितपुरलगायत काठमाडौं उपत्यकामा व्याप्त छ। उपत्यकालगायत ठाउँ–ठाउँबाट गोसाइँकुण्ड पुगेबराबरकै फल प्राप्त गर्न कुम्भेश्वरमा मेला भर्न आउने र कुम्भेश्वरका राजोपाध्याय ब्राह्मणबाट गुंपुचः (डोरो) लगाउने परम्परा छ।
बिहीबार कुम्भेश्वरमा मेला भर्न आउनेमा थिए, झाँक्रीहरू। हिमाली परम्पराअनुसार झाँक्रीले काम्दै गजोले ढ्याङ्ग्रो पिट्दै थिए। महिलासमेत थिए यसरी झाँक्री हुन आउनेमा।
हिमाली भेगकाहरूले पनि गोसाइँकुण्ड पवित्र मानिन्छ। हिमालतिरका झाँक्री पनि गोसाइँकुण्ड जान नसके कुम्भेश्वरमा मेला भर्न आएका हुन्।
प्रकाशित: Aug 15, 2019 | 20:41:58

आभास धरानन्द राजोपाध्याय