तर, भद्रगोल र सेन्ट्रल जेलमा हामी कम्युनिस्टहरू– मनमोहन अधिकारी,
शम्भुराम
श्रेष्ठ, महेश्वरमान श्रेष्ठ र म थियौं।
सेन्ट्रल जेलमा मोहनविक्रम सिंह, निर्मल
लामा, गोविन्दनाथ उपे्रती इत्यादि
हुनुहुन्थ्यो। नेपाली कांगे्रसका उदयनाथ अधिकारीहरू छुटेपछि म पहिलेदेखि मास्टर
रहेकोमा अब डुमरीनाथले मलाई भद्रगोल जेलको प्राइमरी स्कुलको हेडमास्टर बनाए।
एकातिर लामो कैदमा रहेका कांगे्रसीहरू छुटेर गए भने अब विद्यार्थी आन्दोलन र
अन्य पञ्चायतविरोधी काम गरेकोमा कम्युनिस्ट र कांगे्रसका युवा–विद्यार्थी र अन्य पुराना कम्युनिस्टहरू पनि
पक्राउ गर्दै कोही लामो, कोही छोटो अवधिका लागि भद्रगोल र
सेन्ट्रल जेल पुर्याइँदै थियो। कोही अघि र कोही पछि र कोही सँगसँगै गरी
काठमाडौंका सिन्धुनाथ प्याकुरेल, आनन्ददेव
भट्ट, सुजन खरेल, निर्मल अर्जेल र पाटनका श्रीकृष्ण श्रेष्ठ
(पासा) हुनुहुन्थ्यो। भक्तपुरका वामपन्थी नेता बुद्धिकुमार गोसाईं (कमरेड जीवन), बाबुकाजी वासुकला, सानो वासुकला,
राज
राजोपाध्याय पनि भद्रगोलमा थुनिनुभयो। मकवानपुर हेटौंडातिरका रूपचन्द्र विष्ट, भक्तबहादुर श्रेष्ठ, गोविन्द ढुंगाना,
बद्रीप्रसाद
खतिवडा आदि भद्रगोल र हेटौंडाका प्रधानपञ्च रिजाललाई सेन्ट्रल जेलमा राखिएको
थियो। हरि अधिकारी (त्यस समय चितौन हाल पृथ्वीनगर,
झापा)सँग
पनि त्यही परिचय भयो। वामपन्थीहरू पक्राउने क्रम जारी थियो। चाहे पुराना हुन्
चाहे नयाँ। तर, कांगे्रसका पनि त्यस समयका
विद्यार्थी र युवा नेताहरू शंकर घिमिरे, रामचन्द्र
पौडेल, दमननाथ ढुंगाना, अर्जुननरसिंह केसी, राम लक्ष्मण (पछि ओखलढुंगामा सहिद जुम्ल्याहा
दाजुभाइ) प्रदीप गिरी, किशोर नेपाल (प्रसिद्ध पत्रकार), नवीन प्रकाशजंग शाह, देवेन्द्र नेपाली, वीरनाथ कर्माचार्य आदि नाम याद छ तर अरू पनि
सेन्ट्रल र भद्रगोलमा थुना पर्नुभएको थियो।
सुवर्णशमशेरको वक्तव्य आएपछि धेरै कांगे्रसीहरू त्यसको समर्थन
गर्दै छुटे पनि बीपी कोइराला र गणेशमानसिंह सुन्दरीजल थुनामै हुनुहुन्थ्यो। बल्ल
६ महिना बितेपछि एकदिन सुनियो– बीपी
कोइराला र गणेशमान सिंह पनि छुट्नुभयो।
बीपी कोइराला र गणेशमान सिंह छुटेपछि सेन्ट्रल जेल र
भद्रगोलमा रहेका राजनीतिक बन्दीहरूसँग भेट्न आउनुभयो। जेलको कार्यालयमा जेल र
अन्य कर्मचारीहरूको उपस्थितिमा समूह–समूह
बनाएर भेट भयो। सबैभन्दा पहिले मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठसँग भेट
गर्नुभयो। धेरैजसो पुराना कांगे्रसी नेता–कार्यकर्ताहरू
पहिले नै सुवर्णशमशेरको वक्तव्यपछि छुटिसकेका थिए। त्यहाँ रहेका नयाँ कांगे्रसी
विद्यार्थी नेता रामचन्द्र पौडेल त्यस समय १९/२० वर्षका भन्दा बढीका थिएनन्
जस्तो लाग्छ।
अरू कुन समूहमा को–को
थिए, मैले देखिनँ। तर, मेरो समूहमा म भद्रगोल जेलबाट र रामचन्द्र
पौडेल सेन्ट्रल जेलबाट थियौं। बीपी र गणेशमान सिंहले सञ्चो सुविस्ता र
स्वास्थ्यका बारे सोध्नुभयो र बाँकी रहेका अरूहरू पनि चाँडै छुट्ने आशा व्यक्त
गर्नुभयो। उहाँहरूले एकएक पोका खाने सामान पनि दिनुभयो। बीपी विराटनगर जाँदै
हुनुहुन्थ्यो। त्यही भएर मैले भनें– ‘सान्दाजु, आमालाई पैसा पठाइदिनु भन्नुहोला। अहिले
तपाईंसँग भए केही दिनूस्।’
मैले बीपीसँग पैसा मागेको फाइदा रामचन्द्र पौडेललाई भयो।
किनभने, बीपीले रामचन्द्रलाई नमागीकनै मेरै बराबर
पचास रुपियाँ दिनुभयो। आज ५० रुपियाँको मूल्य छैन। तर, विसं २०२५ मा एक गिलास दूध पच्चीस पैसामा पाइने
समयमा त्यसबाट दुई सय गिलास दूध खान पुग्थ्यो। मनमोहनजी र अरूहरूलाई दिइएको
प्याकेटमा के–के खाने कुरा थियो, थाहा भएन। तर मेरो प्याकेटमा एक डिब्बा क्राफ्ट
चिज, एक बन्द डिब्बा दूधको क्रिम र
बिस्कुट रहेछ। सायद यी सामानहरू उहाँहरूलाई सुन्दरीजल थुनामा रहेका बखत वा
छुटेपछि कोसेलीका रूपमा प्राप्त भएका थिए होला।
पहिले जेलमा मनमोहन र शम्भुरामजीलाई भेट्न कमै मान्छे आउँथे।
तर, बीपीहरू छुटेदेखि भेट्नेहरूको संख्या
बढेको थियो। पार्टी समर्थक विद्यार्थी महेश्वरमान श्रेष्ठ त्यस समय मेरै कोठामा
सुरक्षा कानुनअन्तर्गत थुनामा थिए।
एक दिन मनमोहन र शम्भुरामजीले हामी दुई जनालाई आफ्नो कोठामा
बोलाउनुभयो र उहाँहरूले दिने वक्तव्यको मस्यौदा देखाउनुभयो। मोहनविक्रम सिंह र
निर्मल लामा त्यस समय सेन्ट्रल जेलमा हुनुहुन्थ्यो। मैले र महेश्वरमानले त्यो
वक्तव्य मिलेन भन्यौं। तर, भोलिपल्ट
फेरि उहाँहरूले नयाँ मस्यौदा भनेर देखाउनुभयो। त्यसको पनि कुरा उस्तै थियो।
हामीहरूले चित्त नबुझाउँदा उहाँहरूले भन्नुभयो–
‘यो
राजासमक्ष चढाएको निवेदन होइन, वक्तव्य
हो। आखिर आज पञ्चायत त अस्तित्वमा छ। पञ्चायतलाई जीवित शब्द भनेको अंग्रेजीको ‘लिभिङ रियलिटी’
को
नेपाली शब्द मात्र हो। बीपी र गणेशमानको पनि सुवर्णशमशेरको वक्तव्य ठीक भन्ने
वक्तव्य छ।’ हामीहरू केही नबोली हिँड्यौं। तल
उत्रेपछि महेश्वरमानले भने– ‘आठ
वर्ष भयो थुनामा बसेको। अब बीपी, गणेशमान
पनि छुटेपछि बूढाहरूलाई छुट्न तीव्र इच्छा छ। अब हामी केही नभनौं, जे गर्नुहुन्छ गर्नुहुन्छ।’
केही समयपछि मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठ पनि रिहा
हुनुभयो। उहाँहरू रिहा भएको केही दिनमै पल्लो सेन्ट्रल जेलमा रहनुभएका निर्मल
लामा भद्रगोलमा सरुवा भएर आउनुभयो।
बीपी कोइराला, मनमोहन
अधिकारी र त्यसअघि नै पुराना कांगे्रसी नेता–कार्यकर्ताहरू
छुटेको एउटा फाइदा के भयो भने छिटफुट विद्यार्थी गतिविधिहरू हुन थाले। ठाउँ–ठाउँमा विस्तारै विद्यार्थी आन्दोलन उठ्न थाले
र विद्यार्थी नेताहरू पक्राउ पर्न थाले।
|
No comments:
Post a Comment