गुठीको गाँठो
दैनिक १ रुपियाँमा मन्दिर धान्दैछन्
पूजारीहरू
नेपालन्युज असार १२, २०७६ | बिहीबार | काठमाडौं
चाँगुनारायण र पशुपति — दुवै विश्व सम्पदामा सूचीकृत। धार्मिक–ऐतिहासिक रूपले दुवै उत्तिकै महत्त्वपूर्ण छन्। एउटा वैष्णव
सम्प्रदायले मान्ने, अर्को शैवले।
तर पहिलेदेखि नै पशुपतिलाई बढी महत्त्व दिइएको छ। पशुपति क्षेत्र
विकास कोष नै खडा गरिएको छ, किनकि त्यहाँ सम्पत्ति थुप्रै छ र
भक्तजनको सधैं ठूलो भीड लाग्छ, अर्थात् दान–दक्षिणा बढी हुन्छ।
यो हिसाबले चाँगुनारायण पछाडि नै छ। पशुपतिमा जति आम्दानी त्यहाँ
हुँदैन।
चाँगुनारायणका पुजारी चक्रधरानन्द राजोपाध्याय आक्रोश पोख्छन्, ‘चाँगुनारायणलाई सधैं हेपिएको छ। पशुपतिनाथ जत्तिकै महत्वपूर्ण
विश्व सम्पदामा सूचीकृत स्थान भए पनि चाँगुनारायणमा भने कुनै सुविधा दिइएको छैन।’
विशेषतः गुठी संस्थान गठनको मूल उद्देश्य मठमन्दिर र पर्वपूजा
चलाउने नै हो। संस्थान नै अस्तित्वमा रहँदा पनि चाँगुनारायण मन्दिरजस्ता अति
महत्वपूर्ण क्षेत्र उपेक्षित हुनुचाहिं विडम्बना मान्छन् सँस्कृतिविद्हरू।
चाँगुनारायणमा नित्य पूजाका लागि गुठी संस्थानले १ रूपैयाँ ४१ पैसा
दिन्छ, पुजारीको पोशाकका
लागि वार्षिक २६ रूपैयाँ।
राजोपाध्याय समाजद्वारा बुधबार पाटनमा आयोजित एक भेलामा काठमाडौं
उपत्यकाका विभिन्न मन्दिरका पुजारी र प्रतिनिधिले गुठी विधेयक फिर्तापछिको
बाटोबारे छलफल गरे। सोही क्रममा उनीहरूले अहिल्यै पनि मठमन्दिरको व्यवस्थापन पक्ष
दारुण रहेको विचार राखे। ‘यसमा गुठी संस्थानको अकर्मण्यता
प्रमुख कारण छ,’ पूजारी राजोपाध्यायले भने।
उनका अनुसार भूकम्पपछि मन्दिरको पुनर्निर्माण पुरातत्त्व विभागले
गरेको छ, तर मन्दिरसम्बन्धी विभिन्न सांस्कृतिक
क्रियाकलाप गर्नुपर्ने पुजारीघरचाहिँ अहिलेसम्म बनाउन सुरु पनि गरिएको छैन।
उस्तै अवस्था छ, चाँगुनारायणकै
परिसरस्थित छिन्नमस्ता देवीको पुजारी घरको।
चाँगुनारायणका पुजारी राजोपाध्याय हाल चाँगुनारायण नगरपालिकास्थित
पकुनेपाटीमा बस्छन्, मन्दिरभन्दा करिब ३–४ किलोमिटर टाढा। अनि मन्दिरमा बिहान नित्यपूजा र साँझ आरतीका लागि
दिनहुँ दुईपटक आवतजावत गर्छन्। यो सबैवापत कुनै पारिश्रमिकचाहिं पाउँदैनन्।
चाँगुनारायणमा दुई पुजारीको दरबन्दी छ, तर पारिश्रमिक वा सुविधा भने केही पनि छैन। दुई पुजारीमध्ये एकजना
अस्वस्थ भएपछि २०६७ यता एक्लिएका छन्, पुजारी चक्रधरानन्द राजोपाध्याय।
दुई पुजारीका लागि १०० रोपनी खेत दिइएको रणबहादुर शाहको १८५० को
लालमोहर छ। गुठी संस्थानले त्यसलाई पुजारीको खान्गी भनी ‘बालि उठाएर खान’ दियो। सँगसँगै रैकर
गरी पुजारीको भाग पनि खोस्यो। पहिले वार्षिक २०० मुरी धानबाट जीविकोपार्जन गर्ने
पुजारीले पछि मात्र ३० मुरी धान वार्षिक पाउन थाले, त्यो पनि घटेर ५ मुरी भयो र अहिले त्यो पनि सखापै भयो।
पाँच–वर्षे कार्यकाल
चाँगुनारायणको पूजा परम्पराअनुसार सुदर्शन नामक एक ब्राह्मणका
सन्तति मात्र त्यहाँ पुजारी हुन पाउँछ। तर, परम्परादेखि पूजाआजा गर्दै आएका उनलाई गुठी संस्थानले पाँच वर्ष
कार्यकाल तोक्छ।
एक त मन्दिरमा एक्लिएका, अझ आफ्ना आमाबुबाको किरिया समेत नबारी पूजा सञ्चालन गर्नुपर्ने
नियम भएको ठाउँमा यसरी पाँच वर्षका लागि पुजारी तोक्ने गरेको उनको गुनासो छ।
गुठी संस्थानलाई कानुनतः पाँच वर्षभन्दा माथिको कुनै पनि सम्झौता
गर्ने अधिकार नै नभएको संस्थानका प्रवक्ता सरोज थपलिया बताउँछन्।
पोशाक भत्ता २६ रूपैयाँ, नित्य पूजा खर्च १ रूपैयाँ ४१ पैसा
चाँगुनारायणमा नित्य पूजाका लागि गुठी संस्थानले १ रूपैयाँ ४१ पैसा
दिन्छ।
पुजारीलाई वर्षको एकपटक पोशाक भत्ता भनेर दिने चलन छ। चाँगुनारायण
मन्दिरका पुजारीले लगाउने रातो भोटो धुन नहुनेलगायत विभिन्न मान्यता छन्, त्यसैले वार्षिक पोशाक भत्ताको व्यवस्था गरिएको थियो।
गुठी संस्थानको हातमा पुगेपछि पोशाक भत्ता बढ्न सकेको छैन। त्यो
बेला २६ रूपैयाँ भत्ता तोकिएको थियो, जतिखेर चामल एक मुरीको २.५० रूपैयाँ पथ्र्यो। निजामती सुविधाअनुसार
पोशाक भत्ता ७५ सय खाने गुठी संस्थानका कर्मचारीले अहिले पनि उनलाई २६ रूपैयाँ
पोशाक भत्ता दिन्छन्।
मन्दिरका सबै आयस्रोत सकेर गुठी संस्थानले संस्कृति, पर्वपूजा, पुजारी र अन्य संस्कृतिकर्मीको जीविका
सिध्याएको राजोपाध्याय आरोप लगाउँछन्। उनी भन्छन्, ‘अहिलेसम्मका सरकार, गुठी संस्थान र तिनका सरकारी कर्मचारीले भइरहेको धार्मिक कार्य र
पर्वपूजा नै चलाउन सकेका छैनन्। अनि गुठी विधेयकले भनेको गुठी प्राधिकरणमा त झन्
के विश्वास?’
तलेजुमा बेहाल
यस्तै स्थिति काठमाडौं र पाटनका तलेजुका पुजारीको पनि छ। पाटनमा तलेजु
भवानी र द्विमाजु देवी गरी दुई मन्दिरमा पट्को टोलका राजोपाध्यायले पूजा गर्छन्।
उनीहरूको मासिक आम्दानी, मात्र १ हजार छ। प्रत्येक मन्दिरमा
पूजा गरेबापत् महिनाको ५००।
पाटनमा तलेजु र द्विमाजु पूजा गर्ने २–२ जना राजोपाध्याय ब्राह्मणको ८–८ दिनको पूजा पालो हुन्छ। महिनाको ५०० रूपैयाँमा यसरी ८ जनाको भाग
लाग्ने बताउँछन्, पुजारी रक्षण राजोपाध्याय।
तलेजु र द्विमाजुदेवी दुवै तान्त्रिक शक्ति हुन्। यी दुवैमा लामो
विधियुक्त पूजा हुन्छन्, कयौं दिन लाग्न सक्छ।
पुजारीलाई पर्वविशेषमा जिन्सीका रूपमा चिउरा आउँछ। ‘तर गुठी संस्थानले यो ठेक्कामार्फत् चलाउँछ, फलतः कमसल चिउरा ल्याइन्छ जुन खान पनि सकिँदैन,’ पुजारी निरण ज्वालानन्द राजोपाध्याय बताउँछन्।
पाटनको तलेजु पुजारीको अवस्था हेरी काठमाडौं तलेजुका पुजारीको
सुविधा अलि धेरै छ। काठमाडौंको तलेजुमा नित्यपूजाका क्रममा भात पकाएबापत् वार्षिक
१४ मुरी धानका हिसाबले नगद २१ हजार बुझ्छन्, राजीव राजोपाध्याय।
काठमाडौंको तलेजु पूजा पनि तान्त्रिक विधियुक्त हुन्छ र यहाँ पनि लामो विधियुक्त पूजाहरू छन्।
काठमाडौंको तलेजु पूजा पनि तान्त्रिक विधियुक्त हुन्छ र यहाँ पनि लामो विधियुक्त पूजाहरू छन्।
आयोजक राजोपाध्याय समाजका अध्यक्ष अमरराज शर्मा राजोपाध्याय आफँै
पनि ललितपुरकी पूर्णचण्डी देवीका पुजारी हुन्। उनको स्थिति पनि अरूभन्दा कम छैन।
रातो मत्स्येन्द्रनाथ तथा पाटनका प्रायः धेरैले आफ्नो कुलदेवी
मान्ने पूर्णचण्डीको पूजा गरेबापत् उनी गुठी संस्थानबाट मासिक ५०० थाप्छन्।
यसमा थपचाहिँ उनलाई दिनको १ सय रूपैयाँ निजी गुठीबाट आउँछ। यो निजी
गुठी ब्राह्मणहरू तथा गाःबहालका अमात्यले राखेको गुठी हो।
प्रकाशित: Jun 27, 2019 | 13:38:20
No comments:
Post a Comment