राजोपाध्याय सम्बन्धि बिबिध सामाग्रीहरु एकै स्थानमा संकलन गरि आबश्यक परेको समयमा सबैले सजिलै प्राप्त गर्न सकियोस भन्ने उद्देश्यले राजोपाध्याय ब्लग २०६९ साल बैशाख १ गते खोलिएको हो l
Wednesday, June 5, 2019
Rajopadhyaya in News: गणतन्त्रमा पनि बन्द खुलामञ्च, सिध्याइयो संस्कृति
गणतन्त्रमा पनि बन्द खुलामञ्च, सिध्याइयो संस्कृति
· - आभास धरानन्द
राजोपाध्यायजेठ १५, २०७६ | बुधबार | काठमाडौं
काठमाडौंको मुटुमै छ – खुलामञ्च। चारैतिर बार । अनि केही नयाँ संरचना बनाई सटर पनि भाडामा
लगाइएको थियो। खुल्ला ठाउँ बिस्तारै मिचियो, तर पनि नाम चाहिँअझै छ — ‘खुलामञ्च’।
इतिहासका हरेक परिवर्तनको साक्षी
बनेको छ–खुलामञ्च। पञ्चायती व्यवस्थामा
टुँडिखेल बनाइएको थियो, तर त्यहाँ आवाज उठ्यो प्रजातन्त्रको।
पञ्चायतकालमा जनमत संग्रह घोषणापछि कांग्रेस नेता बीपीले खुलामञ्चबाटै भाषण गरेका
थिए। जनमत संग्रहको नतिजापछि मनमोहन अधिकारीले पनि खुलामन्चलाई नै प्रयोग गरेका
थिए। अर्थात्, बहुदलीय व्यवस्था र प्रजातन्त्रका
लागि महत्त्वपूर्ण भाषण खुलामञ्चमै भएका थिए।
त्यसयता पनि विभिन्न राजनीतिक
पार्टीहरूले लोकतान्त्रिक अभ्यासका लागि खुलामञ्चको प्रयोग गरिरहेका थिए। वैशाख
२०७२ को भूकम्पपछि भने खुलामञ्चलगायत टुँडिखेलजस्ता खुला क्षेत्रले
काठमाडौँवासीलाई ठूलो आश्रय दिएको थियो।
बृहत्तर टुँडिखेलको भाग हो खुलामञ्च
हाल खुलामञ्च संकुचित भइसकेको छ।
पहिले खुलामञ्च भनेर चिनिने ठाउँलाई टुक्र्याएर अस्थायी बसपार्क, सटर लगाई भाडामा दिइएको ठाउँ आदि पर्दथ्यो। तर खुलामञ्च अहिले मञ्च
र त्यसवरपरको बन्द क्षेत्रमा सीमित भएको छ।
टुँडिखेलकै भाग थियो पहिले
खुलामञ्च। धनवज्र वज्राचार्यद्वारा सम्पादित ‘त्रिरत्नसौन्दर्यगाथा’ मा नयराज पन्तले टुँडिखेललाई ‘प्रत्यङ्गिरादेवी र वज्रभैरवले वज्रतुण्डी देवीलाई दाइजो दिएको ठाउँ
हुनाले तुण्डीक्षेत्र तुण्डीखेल’ भनिएको उल्लेख
गरेका छन्। टुँडिखेलकै मैदानमा भएका महाङ्काल देवतालाई टुँडिभैरव पनि भनिन्छ।
टुँडिखेल नेपालभाषामा तुंख्यः (वा
तुंख्यो)को अपभ्रंश हो। यसको अर्थ पानी भएको मैदान भन्ने हुन्छ।
टुँडिखेलको केही भाग सेनाले आफ्नो नियन्त्रणमा
लिएपछि यो दुई टुक्रामा बाँडियो — टुँडिखेल र सानो
टुँडिखेल। त्रिभुवन आर्मी क्लबको क्षेत्रतिर भिरमा थियो, सानो टुँडिखेल। इतिहासकार डा. महेशराज पन्त भन्छन्– ‘त्यही ओरालोतिर एउटा कमलपोखरी पनि थियो।’ यो हाल दशरथ रंगशाला भएको क्षेत्रतिर पर्दछ।
टुँडिखेल पनि अर्को ठूलो मासवखेलको
एउटा अंश थियो। टी डब्लु क्लार्क (१९५७)का अनुसार मासवखेलको दक्षिणको एउटा भागलाई
टुँडिखेल भनिन्छ। काठमाडौँको रानीपोखरीसम्बन्धी अभिलेखको पंक्ति २६ मा मासवखेलको
उल्लेख पाइन्छ।
मासवखेल कति ठूलो थियो भन्ने जानकारी
कतै छैन। काठमाडौँको इटुम्बहालस्थित केशचन्द्र महाविहारबाट प्रत्येक फागू पूर्णिमा
(होली पूर्णिमा)का दिन गुरुमाप्पालाई टुँडिखेलमा ख्वाउने परम्परा छ। उक्त स्थल पनि
बृहत्तर टुँडिखेलमै पर्दछ।
त्यस्तै, काठमाडौँलाई सुरक्षा दिने आठवटा अजिमा देवी छन्। तीमध्ये
भद्रकालीस्थित लुँःमधि भद्रकाली अजिमा (कौमारी), कमलादी क्षेत्रको पासिक्वः अजिमा (ब्रह्मायणी), माइतीघर क्षेत्रको फिब्वः अजिमा (वाराही) र नारायणहिटी क्षेत्रको
चन्द्रलखु अजिमा (महालक्ष्मी) पर्दछन्। यीमध्ये लुँःमधि भद्रकाली हाल टुँडिखेलनजिक
छ।
तर यी सबै अजिमा मन्दिरहरू बृहत्तर
टुँडिखेलसँग सम्बन्धित हुनसक्ने स्थानीयवासी बताउँछन्। यदि यस्तो हो भने, यसले मासवखेल (अर्थात् बृहत्तर टुँडिखेल) कत्रो थियो होला भन्ने
अनुमान लगाउने आधार दिन्छ।
मल्लकालदेखि घोडादौडको चलन
धनवज्र वज्राचार्यद्वारा सम्पादित ‘त्रिरत्नसौन्दर्यगाथा’ मा नयराज पन्तले टुँडिखेलमा मल्लकालदेखि नै घोडा दौडाउने प्रचलन
रहेको उल्लेख गरेका छन्। हालको लुँमधि अजिमा (भद्रकाली) यो चलनको पुरानो स्वरूपमा
नभए तापनि हाल नेपाली सेनाले घोडेजात्रा मनाउने चाहिँ गरेको छ।
राजेन्द्रविक्रम शाहका पालामा पनि
चीनबाट टांगन, भोटे, अरबीलगायत विभिन्न जातका घोडा ल्याइन्थे। त्यसक्रममा टुँडिखेलमा
प्रतिदिन घोडा दौडाइन्थ्यो। नयराज पन्तका अनुसार त्यसबेला मुख्य–मुख्य घोडाको घाँटीमा रत्नजडाउ हैकममाला लगाईदिएको हुन्थ्यो।
‘खुलामञ्चमा बिस्केटको लिङ्गो
उठाइन्थ्यो’ — डा. महेशराज पन्त
खुलामञ्चको अहिलेको अस्थायी
बसपार्कसँगै छ, द्विमाजु देवीको मन्दिर। द्विमाजु
देवीको व्याख्या डोयहरूको माजु वा दुइँयाहरूको माजुका रूपमा गरिएको छ। द्विमाजु
देवीको मन्दिर काठमाडौँ उपत्यकामा धेरै छन् र अझ लाय्कु (मल्लकालीन राजदरबार
क्षेत्र) भित्र पनि छ।
द्विमाजु देवीको सम्बन्ध काठमाडौँको
केलटोलस्थित लुचुभुलु अजिमासँग हुनसक्ने डा. महेशराज पन्त बताउँछन्। अझ लुचुभुलु
अजिमाको मन्दिर केलटोलमा, द्यःछेँ (देवताको घर) वीर अस्पताल
अगाडि महाबौद्ध क्षेत्रमा र पीठ चाहिँ द्विमाजु देवीको यो मन्दिर हुनसक्ने डा.
पन्त अनुमान गर्छन्।
उनी थप्छन्, ‘पहिले म सानो हुँदा बिस्केट जात्राको लिङ्गो खुलामञ्चस्थित
द्विमाजु देवीको मन्दिर क्षेत्रमा ठड्याइन्थ्यो।’ स्मरणीय छ, भक्तपुरको लोकप्रिय बिस्केट जात्रा
भक्तपुरबाहेक टोखा लगायत अन्य क्षेत्रमा पनि मनाइन्छ।
तर हाल द्विमाजु देवीको मन्दिर
रत्नपार्कको दक्षिण कुनामा बन्द अवस्थामा छ। वरपर फलामे बार लगाइएकोले
सर्वसाधारणलाई त्यहाँ जान दिइँदैन।
‘व्रतबन्धमा यहाँ सात पाइला
हिँड्नुपर्थ्याे’
काठमाडाैँको न्हैकन्तला टोल निवासीबिराजकाजी राजोपाध्यायसँग खुलामञ्चको
द्विमाजु देवीको सम्झना छ, ‘त्यतिबेला यो ठाउँ खुल्ला थियो।’
काठमाडौँ उपत्यकाका द्यःभाजुराजोपाध्यायसमुदायको व्रतबन्ध
कर्म गर्दा शहरबाहिर सात पाइला हिँड्ने चलन छ। पहिले काठमाडौँकाराजोपाध्यायहरूले द्विमाजु
देवीकै मन्दिर परिसरमा सात पाइला हिँड्नु पथ्र्यो।
बिराजकाजी राजोपाध्यायर उनका दाइराजीवकाजी राजोपाध्यायदुबैले व्रतबन्धका क्रममा त्यहीँ सात पाइला हिँडेका थिए। तर हाल
आएर यो चलन हराइसकेको छ, कारण द्विमाजु देवीको मन्दिर अब
खुल्ला छैन।
हाल आएर शहरबाहिर नभई नजिकैको
गणेशस्थानमा यसरी सात पाइला हिँड्ने चलन व्याप्त छ।
देवाली पूजाको क्षेत्र अतिक्रमित
सिथि नखः (कुमार षष्ठी) आउँदै छ। सो
दिन नेवाः समुदायका लागि महत्वपूर्ण चाड हो। कारण, प्रायःले यो दिन आ–आफ्नो देवाली पूजा गर्दछन्।
बृहत्तर टुँडिखेलका विभिन्न
क्षेत्रहरूमा नेवाः समुदायले आफ्नो देवाली पूजा गर्ने चलन रहिआएको छ। हालको
रानीपोखरी, रत्नपार्क, खुलामञ्च, सैनिक मञ्च र सानो टुँडिखेलमा गई अझैं
पनि देवाली पूजा गर्ने चलन छ। सेना तथा अन्यले नियन्त्रण गरेका ठाउँहरूमा देवाली
गर्नेहरूले भने कि परम्परा छोड्दै गए, कि चाहिँ अन्यत्र पूजा गर्न थाले।
भक्तपुरमा सेनाको नियन्त्रणमा रहेको
रानीपोखरी क्षेत्रमा देवाली पूजा गर्न जाने नेवाः समुदायका लागि भक्तपुर
नगरपालिकाकै नेतृत्वमा सो क्षेत्र खुला गराउन पहल चलिरहेको छ।
त्यस्तै स्थिति काठमाडौँमा पनि छ।
काठमाडौँको खुलामञ्चलगायत बृहत्तर टुँडिखेल यसरी मासिँदा झन् काठमाडौँ
महानगरपालिका सक्रीय रूपमा अगाडि आउन नसक्नु दुःखद् छ।
पञ्चायती व्यवस्थाले खुलामञ्च बनाए
पनि त्यो मञ्च लोकतन्त्रका लागि बढी उपयोग भएको छ। यसरी लोकतान्त्रिक गणतन्त्र पद्धतिसम्म
आइपुग्दा झन् जनताको मैदानमाथि यसरी आक्रमण हुनाले लोकतन्त्रलाई र जनतालाई नै
गिज्याइरहेको छ।
No comments:
Post a Comment