Saturday, June 29, 2019

Rajopadhyaya in news : ललितपुरमा निःशुल्क बाथराेग स्वास्थ्य शिविर सम्पन्न

ललितपुरमा निःशुल्क बाथराेग स्वास्थ्य शिविर सम्पन्न

  • नेपालन्युज असार १५, २०७६ | आइतबार | ललितपुर

ललितपुरको पट्को टोल शनिबार व्यस्त थियो, बाथरोगसम्बन्धी स्वास्थ्य शिविरमा।
राजोपाध्याय समाज र पट्को टोल सुधार समितिको संयुक्त आयोजना रहेको उक्त शिविरमा १०२ जनाको रगतको नमूना संकलन गरिएको थियो।
संयोजक उद्धवकान्त आचार्य राजोपाध्यायका अनुसार उक्त रगत-जाँचको नतिजाका साथ भोलि साँझ डाक्टरसँग परामर्श सेवा दिइनेछ। यसका लागि जावलाखेलस्थित बाथरोग सेन्टरबाट डाक्टर आउने उनले बताए।
HealthCamp
ललितपुरको पट्को टोलमा आयोजित निःशुल्क बाथरोग स्वास्थ्य शिविरका क्रममा सेवाग्राहीको रगतको नमूना संकलन गरिँदै। तस्विर - चेतना शर्मा।
प्रकाशित: Jun 30, 2019 | 08:45:46

Rajopadhyaya in News: दैनिक १ रुपियाँमा मन्दिर धान्दैछन् पूजारीहरू


गुठीको गाँठो
दैनिक १ रुपियाँमा मन्दिर धान्दैछन् पूजारीहरू
नेपालन्युज असार १२, २०७६ | बिहीबार | काठमाडौं


चाँगुनारायण र पशुपति दुवै विश्व सम्पदामा सूचीकृत। धार्मिकऐतिहासिक रूपले दुवै उत्तिकै महत्त्वपूर्ण छन्। एउटा वैष्णव सम्प्रदायले मान्ने, अर्को शैवले।
तर पहिलेदेखि नै पशुपतिलाई बढी महत्त्व दिइएको छ। पशुपति क्षेत्र विकास कोष नै खडा गरिएको छ, किनकि त्यहाँ सम्पत्ति थुप्रै छ र भक्तजनको सधैं ठूलो भीड लाग्छ, अर्थात् दानदक्षिणा बढी हुन्छ।
यो हिसाबले चाँगुनारायण पछाडि नै छ। पशुपतिमा जति आम्दानी त्यहाँ हुँदैन।
चाँगुनारायणका पुजारी चक्रधरानन्द राजोपाध्याय आक्रोश पोख्छन्, ‘चाँगुनारायणलाई सधैं हेपिएको छ। पशुपतिनाथ जत्तिकै महत्वपूर्ण विश्व सम्पदामा सूचीकृत स्थान भए पनि चाँगुनारायणमा भने कुनै सुविधा दिइएको छैन।
विशेषतः गुठी संस्थान गठनको मूल उद्देश्य मठमन्दिर र पर्वपूजा चलाउने नै हो। संस्थान नै अस्तित्वमा रहँदा पनि चाँगुनारायण मन्दिरजस्ता अति महत्वपूर्ण क्षेत्र उपेक्षित हुनुचाहिं विडम्बना मान्छन् सँस्कृतिविद्हरू।
चाँगुनारायणमा नित्य पूजाका लागि गुठी संस्थानले १ रूपैयाँ ४१ पैसा दिन्छ, पुजारीको पोशाकका लागि वार्षिक २६ रूपैयाँ।
राजोपाध्याय समाजद्वारा बुधबार पाटनमा आयोजित एक भेलामा काठमाडौं उपत्यकाका विभिन्न मन्दिरका पुजारी र प्रतिनिधिले गुठी विधेयक फिर्तापछिको बाटोबारे छलफल गरे। सोही क्रममा उनीहरूले अहिल्यै पनि मठमन्दिरको व्यवस्थापन पक्ष दारुण रहेको विचार राखे। यसमा गुठी संस्थानको अकर्मण्यता प्रमुख कारण छ,’ पूजारी राजोपाध्यायले भने।
उनका अनुसार भूकम्पपछि मन्दिरको पुनर्निर्माण पुरातत्त्व विभागले गरेको छ, तर मन्दिरसम्बन्धी विभिन्न सांस्कृतिक क्रियाकलाप गर्नुपर्ने पुजारीघरचाहिँ अहिलेसम्म बनाउन सुरु पनि गरिएको छैन।
उस्तै अवस्था छ, चाँगुनारायणकै परिसरस्थित छिन्नमस्ता देवीको पुजारी घरको।
चाँगुनारायणका पुजारी राजोपाध्याय हाल चाँगुनारायण नगरपालिकास्थित पकुनेपाटीमा बस्छन्, मन्दिरभन्दा करिब ३४ किलोमिटर टाढा। अनि मन्दिरमा बिहान नित्यपूजा र साँझ आरतीका लागि दिनहुँ दुईपटक आवतजावत गर्छन्। यो सबैवापत कुनै पारिश्रमिकचाहिं पाउँदैनन्।
चाँगुनारायणमा दुई पुजारीको दरबन्दी छ, तर पारिश्रमिक वा सुविधा भने केही पनि छैन। दुई पुजारीमध्ये एकजना अस्वस्थ भएपछि २०६७ यता एक्लिएका छन्, पुजारी चक्रधरानन्द राजोपाध्याय
दुई पुजारीका लागि १०० रोपनी खेत दिइएको रणबहादुर शाहको १८५० को लालमोहर छ। गुठी संस्थानले त्यसलाई पुजारीको खान्गी भनी बालि उठाएर खानदियो। सँगसँगै रैकर गरी पुजारीको भाग पनि खोस्यो। पहिले वार्षिक २०० मुरी धानबाट जीविकोपार्जन गर्ने पुजारीले पछि मात्र ३० मुरी धान वार्षिक पाउन थाले, त्यो पनि घटेर ५ मुरी भयो र अहिले त्यो पनि सखापै भयो।
पाँचवर्षे कार्यकाल
चाँगुनारायणको पूजा परम्पराअनुसार सुदर्शन नामक एक ब्राह्मणका सन्तति मात्र त्यहाँ पुजारी हुन पाउँछ। तर, परम्परादेखि पूजाआजा गर्दै आएका उनलाई गुठी संस्थानले पाँच वर्ष कार्यकाल तोक्छ।
एक त मन्दिरमा एक्लिएका, अझ आफ्ना आमाबुबाको किरिया समेत नबारी पूजा सञ्चालन गर्नुपर्ने नियम भएको ठाउँमा यसरी पाँच वर्षका लागि पुजारी तोक्ने गरेको उनको गुनासो छ।
गुठी संस्थानलाई कानुनतः पाँच वर्षभन्दा माथिको कुनै पनि सम्झौता गर्ने अधिकार नै नभएको संस्थानका प्रवक्ता सरोज थपलिया बताउँछन्।
पोशाक भत्ता २६ रूपैयाँ, नित्य पूजा खर्च १ रूपैयाँ ४१ पैसा
चाँगुनारायणमा नित्य पूजाका लागि गुठी संस्थानले १ रूपैयाँ ४१ पैसा दिन्छ।
पुजारीलाई वर्षको एकपटक पोशाक भत्ता भनेर दिने चलन छ। चाँगुनारायण मन्दिरका पुजारीले लगाउने रातो भोटो धुन नहुनेलगायत विभिन्न मान्यता छन्, त्यसैले वार्षिक पोशाक भत्ताको व्यवस्था गरिएको थियो।
गुठी संस्थानको हातमा पुगेपछि पोशाक भत्ता बढ्न सकेको छैन। त्यो बेला २६ रूपैयाँ भत्ता तोकिएको थियो, जतिखेर चामल एक मुरीको २.५० रूपैयाँ पथ्र्यो। निजामती सुविधाअनुसार पोशाक भत्ता ७५ सय खाने गुठी संस्थानका कर्मचारीले अहिले पनि उनलाई २६ रूपैयाँ पोशाक भत्ता दिन्छन्।
मन्दिरका सबै आयस्रोत सकेर गुठी संस्थानले संस्कृति, पर्वपूजा, पुजारी र अन्य संस्कृतिकर्मीको जीविका सिध्याएको राजोपाध्याय आरोप लगाउँछन्। उनी भन्छन्, ‘अहिलेसम्मका सरकार, गुठी संस्थान र तिनका सरकारी कर्मचारीले भइरहेको धार्मिक कार्य र पर्वपूजा नै चलाउन सकेका छैनन्। अनि गुठी विधेयकले भनेको गुठी प्राधिकरणमा त झन् के विश्वास?’
तलेजुमा बेहाल
यस्तै स्थिति काठमाडौं र पाटनका तलेजुका पुजारीको पनि छ। पाटनमा तलेजु भवानी र द्विमाजु देवी गरी दुई मन्दिरमा पट्को टोलका राजोपाध्यायले पूजा गर्छन्। उनीहरूको मासिक आम्दानी, मात्र १ हजार छ। प्रत्येक मन्दिरमा पूजा गरेबापत् महिनाको ५००।
पाटनमा तलेजु र द्विमाजु पूजा गर्ने २२ जना राजोपाध्याय ब्राह्मणको ८८ दिनको पूजा पालो हुन्छ। महिनाको ५०० रूपैयाँमा यसरी ८ जनाको भाग लाग्ने बताउँछन्, पुजारी रक्षण राजोपाध्याय
तलेजु र द्विमाजुदेवी दुवै तान्त्रिक शक्ति हुन्। यी दुवैमा लामो विधियुक्त पूजा हुन्छन्, कयौं दिन लाग्न सक्छ।
पुजारीलाई पर्वविशेषमा जिन्सीका रूपमा चिउरा आउँछ। तर गुठी संस्थानले यो ठेक्कामार्फत् चलाउँछ, फलतः कमसल चिउरा ल्याइन्छ जुन खान पनि सकिँदैन,’ पुजारी निरण ज्वालानन्द राजोपाध्याय बताउँछन्।
पाटनको तलेजु पुजारीको अवस्था हेरी काठमाडौं तलेजुका पुजारीको सुविधा अलि धेरै छ। काठमाडौंको तलेजुमा नित्यपूजाका क्रममा भात पकाएबापत् वार्षिक १४ मुरी धानका हिसाबले नगद २१ हजार बुझ्छन्, राजीव राजोपाध्याय
काठमाडौंको तलेजु पूजा पनि तान्त्रिक विधियुक्त हुन्छ र यहाँ पनि लामो विधियुक्त पूजाहरू छन्।
आयोजक राजोपाध्याय समाजका अध्यक्ष अमरराज शर्मा राजोपाध्याय आफँै पनि ललितपुरकी पूर्णचण्डी देवीका पुजारी हुन्। उनको स्थिति पनि अरूभन्दा कम छैन।
रातो मत्स्येन्द्रनाथ तथा पाटनका प्रायः धेरैले आफ्नो कुलदेवी मान्ने पूर्णचण्डीको पूजा गरेबापत् उनी गुठी संस्थानबाट मासिक ५०० थाप्छन्।
यसमा थपचाहिँ उनलाई दिनको १ सय रूपैयाँ निजी गुठीबाट आउँछ। यो निजी गुठी ब्राह्मणहरू तथा गाःबहालका अमात्यले राखेको गुठी हो।
 प्रकाशित: Jun 27, 2019 | 13:38:20

Tuesday, June 18, 2019

Rajopadhyaya in News: ५५ लाखको अन्तर्राष्ट्रिय पुरस्कार जित्ने नेपाली युवा टिम, के हो उनीहरूको काम?


५५ लाखको अन्तर्राष्ट्रिय पुरस्कार जित्ने नेपाली युवा टिम, के हो उनीहरूको काम?
शिशुलाई खुवाउन सिकाउने पोषण माला, मासिकचक्र बताउने महिनावारी माला
अनुषा अधिकारीकाठमाडौं, असार ३
सोचाइ टिम, बायाँबाट क्रमशः बोनिता शर्मा, मञ्जिता राजोपाध्याय, नेहा मल्ल र आशुतोष कार्की। तस्बिरः निशा भण्डारी/सेतोपाटी
सोचाइ टिम, बायाँबाट क्रमशः बोनिता शर्मा, मञ्जिता राजोपाध्याय, नेहा मल्ल र आशुतोष कार्की। तस्बिरः निशा भण्डारी/सेतोपाटी

केही वर्षअघि ललितपुर, लुभुमा एउटा दर्दनाक घटना भएको थियो।
आमाले आफ्नो दुईमहिने बालकलाई काजु पिसेर खान दिइन्। राम्ररी नपिसिएको काजुको सानो टुक्रा शिशुको घाँटीमा अड्कियो। शिशुले ज्यान गुमाउनुपर्यो।
यो दुखद खबरबारे पत्रपत्रिकामा समाचार आयो। धेरै मान्छे आफ्नो बालबच्चाको खानपिनलाई लिएर झस्के।
यही घटनाले जनस्वास्थ्य विषय पढिरहेकी बोनिता शर्मालाई अज्ञानताका कारण कसरी शिशुले ज्यान गुमाइरहेका छन् भनी सोच्न बाध्य बनायो।
उनी शिशु मृत्युदरको कारण खोज्न थालिन्। स-साना नानीबाबुमा देखिँदै आएका विभिन्न रोगबारे अध्ययन गर्न थालिन्। सुत्केरी आमा र बच्चामा देखिने शारीरिक समस्याबारे धूनधान अनुसन्धान गरिन्।
बोनिता शर्मा। तस्बिरः निशा भण्डारी/सेतोपाटी
लामो अध्ययनपछि उनले मुख्य कारण भेट्टाइन्, पोषण स्वास्थ्य शिक्षाको कमी।
उनलाई यो समस्या कम गर्ने उपाय खोज्न हुटहुटी भयो। तर, यो कुनै एक व्यक्ति, परिवार वा समाजको मात्र समस्या थिएन, पूरै देशको थियो।
उनले आफ्ना तीन साथी नेहा मल्ल, मञ्जिता राजोपाध्याय र आशुतोष कार्कीसँग कुराकानी गरिन्। चार युवा मिलेर एउटा संस्था स्थापना गरे, 'सोसल चेन्जमेकर्स एन्ड इनोभेटर्स', छोटकरीमा 'सोचाइ'
सोचाइ स्थापना गर्नुको मुख्य उद्देश्य पोषण, स्वास्थ्य र स्वच्छतामा देखिएका समस्या समाधान गरी मान्छेहरूलाई त्यसबारे सजग बनाउनु थियो। विशेषगरी शिशु र सुत्केरी आमालाई ध्यानमा राखेर पोषण स्वास्थ्य शिक्षा दिन जरुरी थियो।
'बच्चाको उमेर अन्तराल अनुरुप खानामा पनि फरक आउँछ,' सोचाइकी सह-संस्थापक बोनिताले भनिन्, 'कतिपय आमाहरूलाई यसबारे जानकारी नै हुँदैन। आफ्नो बच्चालाई सन्तुलित आहार दिनबाट चुकिरहेका हुन्छन्।'
उद्देश्य प्रस्ट भए पनि भर्खरभर्खरै पढाइ सकेका चार तन्नेरीलाई कसरी काम गर्ने थाहा थिएन।
उनीहरू विभिन्न गाउँ घुमेर त्यहाँको स्थिति बुझ्न थाले। बालबालिका र महिलाको समूहमा गएर समस्या सुने। अशिक्षितहरूलाई सजिलो र सही तरिकाले कसरी सिकाउन सकिन्छ भन्नेबारे थुप्रै उपाय निकाले। यही क्रममा उनीहरूको दिमागमा 'न्यूट्रिबिड्स' फुर्यो, अर्थात् पोषण माला।
'सोचाइ' ले बनाएको पोषण माला र महिनावारी माला। तस्बिरः निशा भण्डारी/सेतोपाटी
बच्चा जन्मेदेखि दुई वर्ष उमेरसम्म कस्ता किसिमका खाना खुवाउने भन्नेबारे हातमा लगाउँदा राम्रो देखिने 'पोषण माला' बनाए।
'गर्भवती र बच्चा जन्मेपछिको दुई वर्षसम्म पोषणयुक्त खानपिन निकै आवश्यक हुन्छ', बोनिताले भनिन्, 'यी हजार दिनसम्म शिशुको पोषण स्वास्थ्यमा विशेष ख्याल दिनुपर्छ। पोषण मालाले ती दिनमा बच्चालाई कस्तो, कति र कसरी पोषिलो खाना खुवाउने भनेर सहज रूपमा सिकाउँछ।'
पोषण माला रंगीबिरंगी दानाहरूले बनेको छ। बच्चाको उमेर अंकित दाना पनि छन्। उमेर कट्दै जाँदा पाँच फरक रङ राखिएको छ। प्रत्येक रङले छुट्टाछुट्टै पोषणयुक्त खानाको चिह्न जनाउँछ। सेतो रङले आमाको दूध, खैरोले अन्न तथा कन्दमूल, पहेँलोले दालगेडागुडी र बदाम, हरियोले सागसब्जी र फलफूल र निलोले पशुपन्छीजन्य खानेकुराको संकेत गर्छ।
पहिलो लाम्चो आकारको दानामा शून्य अंकित छ। यसको लगत्तै सेतो दाना। र, पछि ६ अंकित दाना। यसले बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दूध नै पर्याप्त हुने देखाउँछ। त्यस्तै, ६ पछि सेतो, खैरो, पहेँलो, हरियो र निलो क्रमशः छ। यसरी २४ महिनासम्मको खाद्य संकेत छ। यी सबै खानपिन लगातार पालना गरेर खुवाए बच्चा स्वस्थ र तन्दुरुस्त रहने बोनिताको भनाइ छ।
माला तयार पारेपछि उनीहरूको टिम हरेक महिना भिन्नभिन्न गाँउ जान थाले। आमाहरू जम्मा पारेर पोषण मालाबारे जानकारी दिए। समय-समयमा उनीहरूमा आएको सुधारबारे टिपोट राख्न थाले।
सोचाइले हालसम्म सातवटा जिल्ला घुमेर त्यहाँको पोषण स्वास्थ्यमा सुधार ल्याएको उनीहरूको भनाइ छ।
नेहा मल्ल। तस्बिरः निशा भण्डारी/सेतोपाटी
'सुरुमा मालाको आइडियाले काम नगर्ला भन्ने डर थियो। त्यसैले मस्यौराका दानामा रङ लगाएर नमूनाका रूपमा प्रयोग गरेका थियौं,' सोचाइकी अर्की सह-संस्थापक नेहा मल्लले भनिन्, 'पछि अलि टिकाउ चिज चाहिने भयो। हेर्दा राम्रो देखिने र बच्चालाई खुवाउने बेला खेलाउन पनि हुने हिसाबले व्यावसायिक मालाका दाना हाल्यौं। आमाहरू यसप्रति आकर्षित हुनुभयो।'
उनका अनुसार सोचाइले महिनाको पहिलो साताका तीन दिन गाँउका आमाहरू भेला गरेर पोषण स्वास्थ्य विषयमा जानकारी गराउँछ। प्रशिक्षण पनि गराइरहेको हुन्छ।
यसबाहेक पोषण माला बजारमा पनि बिक्री गर्दै आएको छ। सामाजिक उद्यम प्रवर्द्धन गर्न थालिएको यो कामअन्तर्गत ग्राहकले किनेको मालाको सट्टा एउटी आमा वा किशोरीले 'सोचाइ' को युवा स्वयंसेवक समूहबाट निःशुल्क माला तथा स्वास्थ्य परामर्श प्राप्त गर्ने नेहाले जानकारी दिइन्।
सामाजिक काम हेर्दा र सुन्दा जति सहज देखिन्छ, त्यति नै गाह्रो भएको उनीहरूको अनुभव छ। आफ्नो कामका सिलसिलामा थुप्रै गाउँ डुलेका सोचाइका टिमले धर्म र संस्कृतिका नाममा केही बाधा झेल्नुपरेको उनीहरू बताउँछन्।
'कुनै कुनै गाँउघरमा पोषण मालाबारे बोल्दा हामीलाई तन्त्रमन्त्र लगाउन आएको भन्थे,' बोनिताले हाँस्दै भनिन्, 'केही समय त गाह्रै भयो। पछि उहाँहरूलाई सम्झाइ-बुझाइ गर्यौं।'
उसो त उनीहरूसँग धेरै खुसीका सम्झना पनि छन्।
मञ्जिता राजोपाध्याय। तस्बिरः निशा भण्डारी/सेतोपाटी
सोचाइकी मञ्जिता राजोपाध्यायले भनिन्, 'हामीले आमाहरूसँगै अलि बुझ्ने बालबालिकालाई पनि पोषण मालाबारे जानकारी दिएका थियौं। बालबालिका त हामीभन्दा अब्बल निस्के। हाम्रो विचारलाई नयाँ ढंगमा प्रस्तुत गरी पानीमाला बनाए, जसले दिनमा कतिपटक पानी खानुपर्छ भन्ने जानकारी दिन्थ्यो। यसले हामीलाई अझ बढी हौसला दियो।'
सामाजिक काममा बालबालिका र माहिला सक्रिय रूपमा संलग्न हुँदा अन्य समस्या पनि सजिलै सामाधान हुनसक्ने मञ्जिताको भनाइ छ।
पोषण मालाले धेरै आमालाई आफ्ना बच्चालाई खुवाउने तरिकाबारे त बुझायो नै, उनीहरूको टिमलाई उत्प्रेरणा पनि दिएको छ।
उनीहरूको पोषण मालाले युनिसेफको 'एसिया प्यासिफिक युथ च्यालेन्ज-२०१६' जितेको छ। योसँगै उनीहरूले पचास हजार अमेरिकी डलर (करिब ५५ लाख रूपैयाँ) पुरस्कार पाएका छन्।
दिगो विकास लक्ष्य प्राप्तिका लागि 'वन योङ वर्ल्ड' ले विश्व प्रतिष्ठित ब्रान्डसँगको सहकार्यमा 'लिड २०३० प्रतियोगिता' गरेको थियो। संसारभरका एक सय देशका एक हजार दुई सय प्रतिस्पर्धीलाई उछिन्दै 'सोचाइ' पुरस्कृत भएको हो।
बेलायतमा रहेको च्यारिटी संस्थाले हरेक वर्ष गर्ने 'ग्लोबल अनलाइन' प्रतिस्पर्धामा 'सोचाइ' को पोषण विधि पुरस्कृत भएको बोनिताले जानकारी दिइन्।
सामाजिक कामका रूपमा सुरु गरिएको 'सोचाइ' को योजनाले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नाम कमाएपछि आफूहरूलाई अघि बढ्न थप हौसला मिलेको उनी बताउँछिन्।
आशुतोष कार्की। तस्बिरः निशा भण्डारी/सेतोपाटी
पोषण मालासँगै सोचाइले महिनावारी माला पनि बनाएको छ। २८ वटा दाना भएको उक्त मालाले महिनावारी चक्रको विस्तृत विवरण दिन्छ।
'महिनावारीबारे बुझ्न एउटी किशोरीले आफ्नै महिनावारी पर्खनुपर्छ, नभए उसलाई ज्ञान हुँदैन,' बोनिता भन्छिन्, 'यो मालाले महिनावारी हुँदाका पाँच दिनबाहेक महिनाभरी हुने शारीरिक परिवर्तनबारे ज्ञान दिन्छ।'
तीन सय पचासदेखि पाँच सय रूपैयाँसम्म पर्ने पोषण र महिनावारी मालाबाट आएको पैसा सुत्केरी महिलालाई पोषणयुक्त खाना प्रदान गर्न खर्च गरिने बोनिता बताउँछिन्। योसँगै महिलाहरूलाई माला वितरण गर्दा आएको पैसा उनीहरूलाई नै खर्च गर्न दिँदै आएको पनि उनले बताइन्।
पछिल्लो समय युवाहरू रोजगार र अध्ययन भन्दै बाहिर जाने क्रम बढेका बेला नेपालै बसेर पनि 'राम्रो' काम गर्न सकिने 'सोचाइ' का अर्का सदस्य आशुतोषको भनाइ छ।
'यहाँ सोचविचार गरेर काम गर्ने हो भने प्रशस्त सम्भावना छन्। ढिला होला, तर नतिजा राम्रै हुन्छ,' आशुतोषले भने, 'हामी युवाहरू नै सामाजिक र आर्थिक दुवै काममा सक्रिय हुनुपर्छ भन्ने मलाई लाग्छ।'
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६, ०२:४५:००