पुरातात्त्विक घर मौलिक शैलीमा पुनर्निर्माण हुनुपर्छ : स्थानीय
ललितपुर — पाटन सुलिम्ह टोलको एउटा ऐतिहासिक महत्त्वको ‘गयो बाजे’ नामक एक तान्त्रिकको पुरातात्त्विक घरको पुनर्निर्माण मौलिक शैलीमा गर्नुपर्ने माग स्थानीयबासीले गरेका छन् । उनीहरूले घरको उत्खननको मागसमेत गरेका छन् ।
पिम्बहाल टोलका शैलेन्द्र श्रेष्ठले निजी घर भए पनि लामो इतिहास बोकेको भएकाले पुरानै शैलीमा पुनर्निर्माण गर्दा इतिहासको संरक्षण हुने भएकाले निर्माण कार्य रोकिएको जानकारी दिए । ‘हामीले पुनर्निर्माणमात्र नभई उत्खनन पनि गर्नुपर्ने माग गरेका छौ,’ उनले भने, ‘आधुनिक भवन बनाएर भाडामा दिनुभन्दा संग्रहालय बनाएमा मनग्य आम्दानी गर्न सकिन्छ ।’ उनले घरमा पुरानै झ्याल ढोकासमेत प्रयोग गर्नुपर्ने माग राखिएको बताए ।
उक्त घर पाटनको इतिहासमा सबभन्दा पुरानामध्ये एक मानिन्छ । सिद्धिनरसिंह मल्लले विश्व सम्पदामा सूचीकृत पाटन दरवार स्क्वयारमा सुन्दरी चोक बनाउनुपूर्व उक्त घर बनिसकेको इतिहासमा उल्लेख छ । पाटन संग्रहालयमा राखिएको उक्त घरको एउटा झ्यालको बारेमा १०–११ शताब्दीको भनेर लेखिएको छ । स्थानीयबासीका अनुसार उक्त घरमा २०५५/५६ सम्म ‘गयो बाजे’ का सन्तान सूर्यनाथ राजोपाध्यायका परिवार बस्थ्यो । पछि उनका भान्जा खलकले घर किनेका थिए । ‘गयो बाजे’ र सुलिम्ह टोलका बारेमा संस्कृतिविद् सत्यमोहन जोशीलगायत दर्जनौंले लेख लेखेका छन् । गयो बाजे साहसिक सफल तान्त्रिक मानिन्छन् । उनको घर सुलिम्ह टोलस्थित रत्नेश्वरको मन्दिर अगाडिपट्टि नेवारी वास्तुकला शैलीको थियो । घर नजिकै आगम घर पनि छ । तीनतले घरभित्रको एउटा कोठामा सधैं ताला लगाइएको हुन्थ्यो । उक्त कोठाबाट जमिन मुनिको कोठा (ध्यान साधना गर्ने ठाउँ) मा जान मिल्ने इतिहास विद्हरूको भनाई छ । संस्कृतिविद् सत्यमोहन जोशीका कथन अनुसार २००७ सालको लक्ष्मीपूजाको एक दिनअघि उक्त गुप्ता कोठाको ताला खोलेर जमिनमुनिको भाग उत्खनन् गरिएको थयो । उत्खनन् वैज्ञानिक प्रविधिबाट गरिएको भने थिएन ।
उत्खनन् गर्दै जाने क्रममा जमिनमुनि जाने बाटो भेटियो । बाजेको समाधि स्थल रहेको कोठा माटोले भरिएको थियो । माटो पन्छाएपछि भित्तामा मसाल जलाइएका काला दागहरूपनि देखियो । डेढ दुई हातजति फेरि खनेपछि घरको जग देखापर्यो । त्यसपछि इँटाका ८ तह झिकेपछि एउटा द्वार (अन्डरग्राउण्ड कोठामा पुग्ने) भेटियो । द्धारको माथिपट्टिको भित्ता चर्केको थियो । भित्ता मर्मत नगरी द्धार खोल्न सम्भव भएन । अन्तत: जमिनको पानी चुहिएर उत्खनन् क्षेत्र पुरै ढाकियो र उत्खनन कार्य रोकियो ।
पिम्बहालका ८८ वर्षीय रत्नेश्वरलाल श्रेष्ठका अनुसार अहिले उत्खनन गर्न सकेमा बाजेको समाधिस्थलसम्म पुग्न सकिन्छ । ‘म आफै समाधिस्थल पुग्ने ढोकासम्म पुगेको छु,’ उनले आफ्नो अनुभव सुनाए, ‘घरको दायाँपट्टि एउटा बन्द कोठा थियो । त्यही कोठामा समाधि स्थलसम्म पुग्ने बाटो थियो ।’ मंगलबार उक्त ठाउँ (घर) मा पुग्दा पुनर्निर्माणका क्रममा घर भत्काउदा समाधिस्थल पुरिएको छ । तान्त्रिक ग्रन्थ तथा किताबहरू र पुरातात्त्विक महत्त्वका झ्याल ढोका यत्रतत्र छन् । घरधनीले घर बनाउन ललितपुर महानगरपालिकाबाट नक्सा पासको पनि स्वीकृति नलिएको सधियार बताउछन् ।
सधियारका अनुसार नक्सा पास गरेको भएमा सधियारको अनुमति लिनुपर्छ । तर घरधनीले लिन आएका छैनन् । घरधनी राजोपाध्यायले घर भूकम्पले नराम्रोसँग चर्केको बताए । ‘मर्मत गरेर बस्न डेढ दुई लाख रुपैयाँ पनि खर्च गरियो,’ उनले भने, ‘तर दलिन थाम्ने गाह्रो नै भत्किन लागेपछि भत्काएका हौं ।’ उनले घरको अगाडिको स्वरूप मौलिक शैलीमा बनाइने बताए । ‘भित्र ढलान र पिल्लर स्टिम बनाउने सोच छ,’ उनले भने, ‘अहिलेको जमानामा काँचो इँटा/मोटा र चुनासुर्कीले बनाउन सकिंदैन ।’ महानगरपालिका सम्पदा शाखा प्रमुख चन्द्रशोभा शाक्यले ‘गयो बाजे’ को घरका बारेका महानगरपालिकामा लिखित निवेदन नपरेको बताइन् ।
प्रकाशित : जेष्ठ २४, २०७४ ०९:११स्रोत : https://www.kantipurdaily.com/national/2017/06/07/20170607084537.html
No comments:
Post a Comment