ललितपुरको पाटन डुबानमा (फोटोफिचर)
ललितपुर — भारी वर्षाका कारण मुलुभरको जनजीवन प्रभावित बनेको छ । उपत्यकामा विभिन्न ठाउँहरुमा पानी जमेपछि आवतजावतमा समस्या भएको छ । ढल निकास व्यवस्थित नुहँदा जताततै पानी भरिएका छन् । पाटनका चोकहरू डुबानमा परेका छन् । पाटनको महापाल चोक, पटो टोल, गोल्डेन टेम्पल, बंगलामुखी, शंखमूल सडकमा बगेको पानीले हखाः खोलाको झल्को दिएको छ । लिच्छविकालमा पाटन दरबार क्षेत्र दुपातबाट हखाः खोला बग्दथ्यो । रातो मत्स्येन्द्रनाथ रथ यात्राका क्रममा मंगलबजार पुगेपछि खोला तार्ने भनी गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुखको उपस्थितिमा पूजा गर्ने चलन छ ।

प्रकाशित : असार २७, २०७६ १८:३७

पटको टोल सुधार समितिका अध्यक्ष वदन राजोपाध्याय भन्छन्, ‘बाउबाजेले हखाः खोला पाटन भएर वाग्मतीमा मिसिने गरेको सुनाउँथे । सडकमा पानी बगेको देखेर साँच्चिकै खोलाको अनुभूति भएको छ ।’ अव्यवस्थित सहरीकरण र ढलको सही निकास नहुँदा अधिकांश ठाउँ डुबेको उनले बताए । उनका अनुसार नगरमा पहिला घोडा दौडाउन मिल्ने जत्रो ढल थियो । ‘नियमित सफासुग्घर गर्न नसकेपछि विस्तारै पुरिँदै गयो, कतिपय भत्किए,’ उनले भने, ‘राणाकालसम्म आइपुग्दा सानो भइसकेको थियो । पछि ह्युमपाइप राख्न थालेपछि समस्या देखिएको हो ।’

नगरको ढल पाटन दरबार स्क्वायर क्षेत्रको महापालचोक र मंगलबजार भएर वाग्मतीमा मिसिने गर्छ । महापालचोकमा महालक्ष्मीस्थान, लगनखेल इटी टोल, पाटन अस्पताल, मानभवन, कुमारीपाटी, जावलाखेल र पुल्चोकको ढल आएर मिसिने गरेको छ । सातदोबाटो, लगनखेलस्थित विद्युत् प्राधिकरण, मालपोत, नापी, राजदल गण, वटुकभैरव, थटी टोल, टंगल र हौगल क्षेत्रको ढल मंगलबजारमा आएर मिसिन्छ । चोकको मंगाल सानो छ । बालुवा, रोडा, ग्राभेल, प्लास्टिक, बोरा र कपडाले पानी छेक्दा जाम हुने गरेको छ ।

महापालदेखि उत्तरतर्फ कुम्भेश्वरको निकास पाइप पनि सानो छ । यसले गर्दा एक/दुई घण्टा पानी परेमा चोकमा पोखरीझैं पानी जम्ने गरेको छ । अग्निशाला, न्याछ्यगल्ली, तःधोका र पूर्णचण्डीदेखि गाःबहाल आउने ढलको समस्या पनि उस्तै छ ।

महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको बताए । ‘पहिरोले ललितपुरको गोटीखेलका रामबहादुर थाकेरको गोठ पुरिँदा भैंसी र बाख्रा पुरिएका छन्, कालेश्वरका राजेन्द्रप्रसाद दाहालको दुईतले कच्ची घर र बतासेमा एउटा गोठमा क्षति पुगेको छ,’ उनले भने । महांकाल र वाग्मती गाउँपालिकामा शुक्रबार विद्यालय बन्द गरिएको छ ।
No comments:
Post a Comment