प्राचीन स्वरूपमा पिम्बहाल
विभिन्न क्षेत्रबाट व्यावसायिक प्रयोजनका लागि प्रस्ताव आए पनि समुदायले स्वीकार गरेन र पिम्बहालले ऐतिहासिक सम्पदाकै रूपमा निरन्तरता पायो ।
काठमाडौँ — रानीपोखरी पुनर्निर्माणको विषयलाई लिएर विवादित टिकाटिप्पणी आएपछि प्राचीन स्वरुपमै पुनर्निर्माण भएको ललितपुरस्थित पिम्बहाल पोखरीलाई धेरैले सम्झेका छन् । कतिपयले रानीपोखरी र पिम्बहालको पुनर्निर्माणलाई दाँजेर हेरेका छन् । भूकम्प पश्चात मात्रभन्दा पनि विभिन्न चरणमा पिम्बहाल पोखरी जीर्णोद्धार, पुनर्निर्माण र संरक्षण गरिएको हो ।
प्राचीन स्वरूप
पिम्बहाल पोखरी करिब ६ सय वर्षअघि गयो जूजू नामक तत्कालीन महातान्त्रिकले लाखेहरूलाई नियन्त्रणमा लिई पाटनको पिम्बहालमा एकैरातमा निर्माण गरेको किम्वदन्ती छ । २० वर्ष अघिसम्म पोखरीमा राणाकालीन शैलीको प्रवेशद्वार र बीचमा सानो एकतले भवन थियो । निरन्तर सफाइको कमीले पोखरी झारपातले भरिएको मैदानमा परिणत भइसकेको थियो । त्यही बेला नगरपालिका र युडीएलईको सहयोग लिई स्थानीय समूदायको नेतृत्वमा पोखरी पुनर्निर्माण भयो । पोखरी पुनर्निर्माण गर्दा सन् १८५२ मा हेनरी एम्ब्रोस ओल्डफिल्ड भन्ने बेलायती नागरिकले नेपाल बस्दा तयार गरेको हाते स्केचलाई आधार मानी प्राचीन मल्लकालीन शैलीको प्रवेशद्वार र बीचमा पाटी बनाइयो । यो पोखरीलाई ६ सय वर्ष पहिले निर्माण हुँदा जस्तो देखिन्थ्यो, त्यही स्वरुपमा फर्काउने पहिलो प्रयास थियो । तर पुनर्निर्माण गरेको २० वर्ष नबित्दै विनाशकारी भूकम्पले पोखरीको संरचनालाई पूर्णरूपले क्षति पुर्यायो । स्थानीय समुदायको नेतृत्वमा ललितपुर महानगरपालिका र विश्व बैंकको सहयोगबाट यसलाई पुन: एकपटक प्राचीन शैलीमै पुनर्निर्माण गरिएको छ ।
प्राचीन प्रविधिको प्रयोग
विभिन्न चरणमा पोखरी पुनर्निर्माणका काम हुँदा प्राचीन प्रविधिमा क्षति पुग्नसक्ने जोखिमबाट बच्न पोखरीको सतह खन्ने काम कहिल्यै भएन । पोखरीको सतहमा वातावरण–मैत्री इँटाको सोल लगाइयो । यसले पोखरीमा पानीको सतह व्यवस्थित गर्नुका साथै वरपरका सामुदायिक इनारमा संकलित पानी प्राकृतिक रूपले प्रवाह हुन मद्दत पुर्याएको छ ।
पुरानै क्षेत्रफल
करिब ३० वर्ष पहिले तत्कालीन नगरपालिकाले पोखरीको आधा भाग पार्कमा परिणत गर्ने प्रस्तावसहित बजेट विनियोजन गरेको थियो । स्थानीय समुदायको चर्को विरोधपश्चात त्यो योजना पिम्बहाल पोखरीमा कार्यान्वयन हुन पाएन । तर त्यही योजना नजिकैको पूर्णचण्डीस्थित पोखरीमा कार्यान्वयन भयो । फलस्वरुप पूर्णचण्डीको पोखरी अस्तित्वविहीन बनेको छ । अग्रजहरूले पहिलेकै क्षेत्रफल कायम राख्न गरेको प्रयासका कारण पिम्बहाल पोखरी ऐतिहासिक सम्पदाका रूपमा कायम हुन सफल भयो ।
व्यावसायिक प्रयोजन निषेध
करिब ३५ वर्ष पहिले पोखरीमा व्यावसायिक भवन बनाउने प्रस्ताव आएको थियो । पोखरीमा नयाँ सडकमा जस्तै विशाल बजार बनाउने कुरा सुन्दा म पनि धेरै खुसी भएको थिएँ । विशाल बजार बनाएको भए टोलवासीको आर्थिक अवस्था त बढ्ने थियो होला, तर अहिलेको खुलापन, सौन्दर्य र साथमा पुरातात्त्विक महत्त्व हुने थिएन । महत्त्वपूर्ण कुरा, अहिलेजस्तो विदेशी पर्यटकहरू यहाँ आएर समय बिताउँदैन । त्यतिबेला अग्रजहरूले पोखरीलाई व्यावसायिक भवन बनाउन नदिएर पोखरीकै रूपमा कायम राख्न गरेको प्रयासलाई हामीले ठूलो सिकाइको रूपमा लिएका छौं । त्यसताका ललितपुरका धेरै पोखरीलाई नगरपालिकाकै पहलमा व्यावसायिक भवनमा परिवर्तन गरिएको थियो । बीच–बीचमा केही निजी समूह आएर पोखरीको संरचनामा अस्थायी परिवर्तन गरेर रेष्टुरेन्ट राख्ने र समितिलाई भाडास्वरुप राम्रो रकम दिने प्रस्ताव नआएका होइनन् । तर हामीले यसलाई व्यापारको थलो नबनाई ऐतिहासिक सम्पदाकै रूपमा निरन्तरता दियौं । हाल यस पोखरीले समग्रमा दिने आर्थिक लाभ व्यवसायले दिने वित्तीय लाभभन्दा धेरै माथि छ । भूकम्प पश्चात टोलवासीमा फेरि भूकम्प आयो भने भाग्नका लागि खुला ठाउँ छाड्नुपर्छ भन्ने सोच विकास भएको थियो । यही सोच अनुसार पोखरीको पुनर्निर्माण कार्य भइरहँदा प्रवेशद्वारका रूपमा रहेको पाटी नबनाउने प्रस्ताव पनि आइरहेका थिए । यसको सही निर्णय गर्न टोल भेला बोलायौं । तर सम्पदा संरक्षण गर्नुपर्छ भन्ने मूल्य र मान्यतामा हुर्केको टोलवासीले पाटी पुनर्निर्माण गर्ने सर्वसम्मत निर्णय गर्यो । पोखरी संरक्षणमा हामीलाई ललितपुर नगरपालिकाको निरन्तर साथ छ ।
समुदायकै नेतृत्वमा निर्माण
भूकम्पअघि वा पछि पोखरीको पुनर्निर्माणका सम्पूर्ण कार्य स्थानीय समुदायको नेतृत्वमै सम्पन्न भयो ।भू्कम्प पश्चात पुनर्निर्माणका लागि प्रभावित सबैको सहभागितामा योजना बनेको थियो । ‘चेक एन्ड ब्यालेन्स’का लागि गठन भएका विभिन्न समिति (जस्तै– समन्वय समिति, सचिवालय समिति, लेखा समिति, उपभोक्ता समिति, अनुगमन समिति, गुनासो व्यवस्थापन समिति) मा ५० जनाभन्दा बढी प्रत्यक्ष संलग्न थिए । समुदायको आफ्नै माग र पहलमा नगरपालिका लगायत बाह्य संस्थाको सहयोगबाट प्राचीन स्वरुपमै पोखरी पुनर्निर्माण सम्पन्न भयो ।
स्थायी समिति
पोखरीे संरक्षणका लागि ७ वर्ष अघि टोल भेला गरी जगमदु पुखु (पिम्बहाल पोखरी) क्षेत्र विकास समिति समिति गठन भएको थियो । भूकम्प पश्चात पुनर्निर्माणका लागि नगरपालिकामा निवेदन दिने, उपभोक्ता समूह गठन गर्ने लगायत सम्झौता भएका योजनाहरूमा समुदायको तर्फबाट यही समितिले संयोजन गर्दै आएको छ । समितिमा सबै राजनीतिक तथा सामाजिक प्रतिनिधित्व सुनिश्चित गरिएको छ । समितिका गतिविधिमा पारदर्शिता, जवाफदेहिता र सहभागिता प्रस्ट रूपले महसुस गर्न सकिन्छ । कुनै पनि कार्य गर्दा राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिक, प्राविधिक र कानुनी पक्षलाई बराबर भार दिने गरिन्छ ।
केही भुल
विभिन्न चरणमा मर्मत, जीर्णाेद्धार, पुनर्निर्माणका कार्य गर्दा कुनै गल्ती नभएको चाहिँ होइन । पहिले पैदल यात्रुमात्र हिंँड्ने पोखरी वरिपरिको बाटोमा सवारी साधन बढी गुड्न थालेपछि विना जगको पोखरी वरपरको रिटेनिङ पर्खालमा लगाइएका ढुङ्गा झर्न थाल्यो र बाटो नै भासिने जोखिम देखियो । त्यसपछि तत्कालका रिटेनिङ पर्खालमा कन्क्रिटको एकसरो ढलान गरियो । १५ वर्ष अघिको यो कार्य सम्पदा संरक्षणको हितमा नरहेको गुनासो आएपछि भुललाई सच्याउन सहयोगी निकायहरूको खोजी गर्यौं । पोखरी ठूलो भएकाले सहज रूपले आर्थिक सहयोग प्राप्त हुने अवस्था थिएन । भूकम्प पश्चात पुनर्निर्माणका कार्य गर्दा बाहिरी भागमा ढुङ्गा विछ्याई पोखरीलाई अझ थप प्राचीन शैलीमा प्रस्तुत गर्ने प्रयास भयो । भूकम्प पश्चात पुनर्निर्माणकै दौरान पाटी बनाउँदा जगमा सिमेन्ट पनि प्रयोग भयो भन्ने गुनासो केही सञ्चार माध्यमबाट उठेको थियो । समुदाय स्वयंले प्राविधिक दक्षताको कमीमा सम्पदा निर्माण कार्य गर्दा गल्ती हुनु स्वाभाविक हो । सञ्चारकर्मीले उठाएका ती मुद्दालाई सक्दो सच्याउने प्रयास गर्यौं । गर्दै सिक्दै जाँदा हामीले पिम्बहाल पोखरीलाई पाटन सहरकै एउटा ऐतिहासिक प्राचीन सम्पदाका रूपमा स्थापित गर्न सक्षम भएका हौं । हाल यहाँ आउने विदेशी पर्यटकहरू एकछिन भए पनि पोखरीको पाटीमा बस्छन् । यसले हामीलाई बढी सक्रिय भएर कार्य गर्ने प्रोत्साहन मिलेको छ ।
अन्त्यमा, रानीपोखरी काठमाडौं उपत्यकाको मात्रै नभई सबैको साझा ऐतिहासिक पुरातात्त्विक सम्पदा हो । यसले पाउने चोटले सबैको मन दुख्छ भने यसले पाउने सहयोगले सबैको मुहार हर्षित हुन्छ । राजधानीको हैसियतले अन्य नगरपालिकाले यहींबाट सिकेर आआफ्नो क्षेत्रमा भएका सम्पदा संरक्षण गर्ने हो । तसर्थ यसलाई प्राचीन प्रविधि र शैलीमै क्षेत्रफल नघटाई सम्पदाकै रूपमा पुनर्निर्माण गर्नु बुद्धिमत्ता हुनेछ । रानीपोखरी पुनर्निर्माण कार्यमा सांँघुरो वित्तीय सोच, तर्कविहीन प्रविधिको प्रयोग र राजनीतिक पक्षलाई मात्र हावी बनाउनेभन्दा पनि सबै अट्ने लोकतान्त्रिक अभ्यासको विकास गर्न जरुरी देखिन्छ ।
श्रेष्ठ पिम्बहाल पोखरी क्षेत्र विकास समिति, ललितपुरका अध्यक्ष हुन् ।
govindbdrs@gmail.com
No comments:
Post a Comment