राजोपाध्याय सम्बन्धि बिबिध सामाग्रीहरु एकै स्थानमा संकलन गरि आबश्यक परेको समयमा सबैले सजिलै प्राप्त गर्न सकियोस भन्ने उद्देश्यले राजोपाध्याय ब्लग २०६९ साल बैशाख १ गते खोलिएको हो l
पाटन दरबार परिसरमा करिब चार सय वर्ष पुरानो कात्तिक नाच भइरहेको छ । देश र जनताको भलो हुने विश्वासका साथ नाच नाच्ने गरिएको कात्तिक नाच संरक्षण समितिले जानकारी दिएको छ । नाचमा करिब सयजना कलाकार सहभागी छन् । नाच साँझ सात बजेदेखि मध्यरातसम्म देखाइन्छ । गत शुक्रबार सुरु भएको नाच १२ दिनसम्म चल्नेछ ।
कात्तिक नाच सञ्चालन समितिका सदस्य सञ्जय शर्मा राजोपाध्यायका अनुसार नाचमा कृष्णलीलाको माध्यमबाट समाजमा व्याप्त विकृति विसंगतिलाई प्रस्तुत गरी सचेत तुल्याइन्छ । ‘सिद्धिनरसिंह मल्लका गुरुहरूहरिवंश राजोपाध्यायरविश्वनाथ राजोपाध्यायले १६९७ मा यो नाचको सुरु गरेको विश्वास छ । कात्तिक विष्णुको महिनाका रूपमा मानिन्छ । सिद्धिनरसिंह विष्णुका भक्त थिए । त्यसैले देश र जनताको भलो हुने विश्वासका साथ कात्तिक महिनामा नाच्ने परम्परा रहेको हो ।’
सुरुमा पाँच दिन नचाइएको नाच योगनरेन्द्र मल्लको पालामा २७ दिनसम्म चलेको थियो । वि.सं. २००६ देखि ०३७ सम्म कात्तिक नाच दुई दिनमा सीमित गरिएको थियो । तत्कालीन राजनीतिक परस्थितिका कारण नाच दुई दिनमा सीमित गरिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार बताउँछन् । ०३८ बाट १० दिनसम्म नाच सञ्चालन गरिएको थियो । ०७१ देखि भने १२ दिनसम्म नाच सञ्चालन हुँदै आएको छ ।
नाच व्यवस्थापनमा बजेट अभाव कात्तिक तन्त्रको प्रयोग गरी नाचिने सांस्कृतिक नाच हो । योनाच देशकै सबैभन्दा लामो नाट्य महोत्सवमध्येको एक मानिन्छ । नाच सञ्चालन गर्न १० देखि १५ लाख खर्च लाग्ने समितिको अनुमान छ । तर, सरकारी पक्षबाट न्यून बजेट विनियोजन हुँदा इतिहासमा जस्तै २७ दिनसम्म नाच सञ्चालन गर्न नसकिएको समितिको गुनासो छ ।
समितिका अध्यक्ष चित्रकार भन्छन्, ‘आर्थिक स्रोतको कमी र राजनीतिक परिस्थितिले गर्दा कात्तिक नाच कुनै समय छोटो र कुनै समय लामो हुने गरेको छ ।’ नेपाल भ्रमण वर्षलाई मध्यनजर गर्दै एक महिनासम्म नाच सञ्चालन गर्ने योजना भए पनि बजेट अभावकै कारण सम्भव नभएको उनले बताए ।
समिति सदस्यसञ्जय शर्मा राजोपाध्यायका अनुसार यस वर्ष ललितपुर महानगरपालिकाले दुई लाख बजेट विनियोजन गरेको छ । नाच व्यवस्थापन गर्न सो बजेटले नपुग्ने उनले बताए । ‘केही वर्षअघिसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७८ हजार बजेट दिने गरेको थियो । अहिले ललितपुर महानगरपालिकाले चार लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए पनि दुई लाख मात्र विनियोजन गरेको छ ।’ समितिले स्थानीयबाट पनि सहयोग संकलन गर्ने गरेको छ ।
६ वर्षमा फेरिन्छन् कलाकार र गरगहना
प्रत्येक ६ वर्षमा कलाकार, पहिरन र गरगहना फेर्ने चलन छ । पहिले १२ वर्षमा फेर्ने चलन थियो । १२ वर्षमा फेरिँदा व्यावहारिक नहुने देखिएपछि समय घटाएको समिति सदस्यराजोपाध्यायले बताए । कात्तिक नाचमा समावेशी सहभागिता हुने उनले जानकारी दिए । ‘नाचमा चित्रकार, तन्दुकार, शाक्य, श्रेष्ठ, महर्जन, व्यञ्जनकारलगायतका समुदायको सहभागिता हुन्छ,’ उनले भने ।
कुनै पनि पर्वपूजाबारे तिथिमिति वा अन्य विवाद भए आधिकारिक मानिन्छ, काठमाडौंको तलेजु मन्दिरलाई।
काठमाडौंलगायत विभिन्न पुराना सहरमा अलग–अलग्गै तलेजु छन्। अनि तलेजुसँगै द्यःभाजु राजोपाध्याय ब्राह्मण पुजारी, कमाचार्य पुजारी र ज्योतिषीका रूपमा जोशीलगायतको एउटा निश्चित समूह गुठीअन्तर्गत सम्मिलित हुन्छ।
यसरी तिथिमिति विवाद भए अन्य ठुल्ठूला मन्दिर वा बहाललाई आधिकारिक मानी त्यसैअनुसार पर्वपूजा चलाउने गरिन्छ, नेवाः समुदायमा।
काठमाडौंको तलेजु मन्दिरले भने नेपाल पञ्चाङ्ग निर्णायक समितिको तिहार पर्वको तिथि मानेको छैन। यहाँका पुजारी उद्धव कर्माचार्य भन्छन्, ‘आइतबार चःह्रे पूजा हुन्छ, अनि कहाँ लक्ष्मीपूजा गर्ने यही दिन? चःह्रेमा कसरी लक्ष्मी भित्र्याउने?’
विशेष तान्त्रिक पद्धतियुक्त हुन्छ, चःह्रे पूजा अर्थात् चतुर्दशी पूजा। प्रत्येक कृष्ण पक्षको चतुदर्शीमा यसरी तान्त्रिक विधियुक्त चःह्रे पूजा गरिन्छ। चःह्रे पूजाकै दिन लक्ष्मीपूजा गर्नै नमिल्ने तर्क गर्छन्, उनी।
‘तलेजुमा हाम्रै जोशीहरू छन्, जसले परम्परा पनि बुझेका छन् र शास्त्र पनि,’ उनी थप्छन्, ‘यहाँकै जोशीको निर्णय परम्परादेखि हामीले मान्दै आएका छौँ।’
परम्पराअनुसार यसरी जोशीको उपस्थिति भएको ठाउँमा पञ्चाङ्ग निर्णायक समितिजस्तो पछिल्लो संस्थाको निर्णय बाध्य हुनुपर्दैन। तर, गुठी संस्थानले अधिग्रहण गरेका गुठी जग्गाको आयस्ताबाट संस्थानले पर्वका लागि भनेर दिने ठाउँमा भने यसै समितिले भनेअनुसार गर्न दशकौँदेखि बाध्य पारिएको छ।
ललितपुर र भक्तपुरका तलेजुमा पनि यसरी चःह्रे पूजा गर्नुपर्छ। ललितपुरमा भने शनिबार नै चःह्रे पूजा सम्पन्न गरिसकेको बताउँछन्, पुजारी रक्षण राजोपाध्याय। बलिबिना गरिने पूजाका लागि भने चन्द्रमानअनुसार चतुर्दशी तिथि लाग्ने दिन हेरिने उनी बताउँछन्।
त्यस्तै, भक्तपुरको तलेजुका पुजारी प्रगेशराज राजोपाध्यायका अनुसार भक्तपुरको तलेजुमा शनिबार नै चःह्रे पूजा सम्पन्न भइसकेको छ।
नेपाल समाचारपत्र, काठमाडौं। प्रजातान्त्रिक सेनानी स्वर्गीय मुकुन्द राजोपाध्यायशर्माको ७८औं जन्मजयन्तीको स्मृतिमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
मुकुन्द राजोपाध्याय शर्मा फाउन्डेसनले सामाजिक कार्यमा पहिलोपटक कदम चलाएको फाउन्डेसनकी अध्यक्ष तथा स्वर्गीय शर्माकी धर्मपत्नी देवकी राजोपाध्यायले बताउनुभयो।
राजोपाध्यायले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘फाउन्डेसनको यो पहिलो पाइला हो। पहिलो पाइलामा हामी उत्साहित भएका छौं। आगामी वर्षमा पनि उहाँको स्मृतिमा यस्तै सामाजिक कार्यक्रमहरू गर्नेछौं।’
स्वर्गीय शर्मा २०१७ सालमा तत्कालीन राजा महेन्द्रद्वारा प्रजातन्त्र हटाएर पञ्चायती व्यवस्था ल्याएपछि त्यसैको विरोध गरेकोमा करिब १२ वर्ष जेलमा पर्नुभएको थियो।
नेपालमा प्रजातन्त्रमा ल्याउन उहाँले गरेको योगदान अहिले सबैले बिर्सेकोमा दुःख लागेको पनि राजोपाध्यायले बताउनुभएको थियो।
काठमाडौँ — ठेकेदारको लापरबाहीका कारणले राजधानीका अधिकांश जात्रा पर्व क्रमश: बन्द हुँदै गएका छन् । संस्थानका कर्मचारीलाई संस्कृतिप्रति मोह नहुँदा पनि देवी नाचहरू रोकिनेक्रम बढ्दो रहेको आरोप छ ।
हनुमानढोका दरबारस्थित तेलजु मन्दिरमा यस वर्ष घण्टाकर्ण चतुर्दशीमा गरिने पवित्रारोहण पूजा रोकियो । गुठी संस्थानका ठेकेदारले कम तौलका बिरामी बोका दिएपछि तलेजुका पुजारीले पूजा रोकेका हुन् । पूजामा ९ वटा कालो बोका बलि चढाइन्छ । यसलाई ‘बेचोखो’ भनिन्छ ।
पर्वमा तलेजु भवानीको जनही फेर्ने र मध्यरातमा दीप प्रज्वलन गर्ने चलन छ । चतुदर्शीको भोलिपल्ट दिउसो ‘योगिनी शक्ति’ पूजा गरी जीवित देवी कुमारीलाई विशेष किसिमको भोजन र जनही पठाउने गरिन्छ । बलिकै कारणले मन्दिरमा पूजा रोकेको यो पहिलो घटना होइन । २०७१ मा विवाह पञ्चमीमा गरिने पूजा पनि रोकिएको थियो । त्यति बेला ठेकेदारले समयमा बलि उपलब्ध गराएनन् । विवाह पञ्चमीको पूजामा ७ बोका, ६ हास र राँगा चाहिन्छ ।
दसैंको महानवमीमा ललितपुरको पाटन दरबार क्षेत्रमा गरिने कालरात्रि पूजा ठेकेदारले कम तौलको बलि दिएकै कारणले गत वर्ष पूजा रोकियो । तलेजु मन्दिरका पुजारीद्वारा गरिने पूजाका लागि ठेकेदारले २१ देखि २२ धार्नी तौल भएको राँगा दिनुपर्ने व्यवस्था छ । तर, १२ धार्नीको मात्र उपलब्ध गराएका थिए ।
ठेकेदारको लापरबाहीकै कारणले गत वर्ष दसैंको चतुर्दशीको राति पाटन दरबार क्षेत्रको मूलचोकमा नचाइने ठेचोको नवदुर्गा नाच भएन । नाचका लागि गुठी संस्थानले राँगा र थुम्बा दिने व्यवस्था छ । बलिकै कारणले नाच २०६९ सालमा पनि बन्द भएको थियो । त्यति बेला बन्द भएको नाच २०७४ मा मात्र पुन: सञ्चालनमा आएको थियो ।
यी तीन घटना उदाहरण मात्र हुन् । हनुमानढोका दरबार क्षेत्रस्थित तलेजुका पुजारी उद्धव कर्माचार्य भन्छन्, ‘संस्थानको उद्देश्य राम्रो छ । तर, कर्मचारी ठेकेदार खराब हुँदा बिग्रियो ।’ उनले ठेकेदार र कर्मचारीलाई कारबाही नहुँदा लापरबाही बढेको बताए । ‘संस्थानमा राजनीतिक नियुक्तिले पनि समस्या हुने गरेको छ बन्द गर्नुपर्यो,’ उनले भने, ‘मन्दिरमा वार्षिक २४ ठूला र १३ साना महत्त्वपूर्ण पर्व छन् ।
ठेकेदारको कारणले यी पर्वसमेत प्रभावित हुने गरेको छ ।’ पाटन दरबारका तलेजु मन्दिरका पुजारी नीरण राजोपाध्यायले यस वर्षको दसैमा बलि दरबन्दीअनुसार उपलब्ध नगराएमा कडा रूपमा प्रस्तुत हुन बाध्य हुने चेतावनी दिए । गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुख राजन भुजूले दरबन्दी अनुसारको जिन्सी सामन उपलब्ध गराउने समयमै ठेकेदारलाई निर्देशन दिने बताए ।
‘दरबन्दीमा व्यवस्था भएअनुसार कम दिएमा कारबाहीका लागि सिफारिस गरिनेछ,’ उनले भने । ललितपुरमा यस आर्थिक वर्षका लागि दोपाया/चौपायालगायत पूजासामग्री उपलब्ध गराउने ठेक्का सुरेन्द्र अवालले २२ लाख २ सय ६ रुपैयाँमा पाएका छन् । अवालले राँगा, बोका दरबन्दीमा व्यवस्था भएअनुसार दिने गरेको
दाबी गरे ।
जनप्रतिनिधिको आश्वासन मात्रै ललितपुर महानगरपालिका पाटन दरबार क्षेत्रमा निकालिने खड्ग जात्रा व्यवस्था बैठकमा अधिकांश गुठियारले जनप्रतिनिधिले आश्वासन मात्र दिने गरेको भन्दै आलोचना गरेका छन् । ललितपुर महानगरका जनप्रतिनिधिले गत वर्ष बैठकमा दरबार क्षेत्रसँगसम्बन्धी जात्रापर्व व्यवस्थित ढंगबाट सुचारु गर्न अक्षय कोष स्थापना, गुठियारको बिमा र दरबन्दी रकम समानुकूल परिमार्जन गर्ने प्रतिबद्धता जनाएका थिए ।
खड्गी सेवा समिति ललितपुरका अध्यक्ष अरोजकुमार खड्गीले धर्मप्रतिको आस्थाले न्यूनतम रकमले पनि धर्मसंस्कृति चलाउँदै आएको बताए । ‘गत वर्ष ललितपुर जनप्रतिनिधि यस्तै बेठकमा अक्षय कोष, बिमा र दरबन्दी रकम समानुकूल परिमार्जन गर्ने प्रतिबद्धता जनाएका थिए । तर पूरा गरेनन्,’ उनले भने ।
विजयादशमीको राति हुने खड्ग जात्रामा खड्गी समुदायले राँगाको टाउँको बोक्नुपर्ने चलन छ । यसका लागि उनीहरूलाई गुठी संस्थानले ४ सय रुपैयाँ मात्र दिँदै आइरहेको छ । उनले दुई दशकअघि कायम भएको दरबन्दी जनप्रतिनिधि आएको ३ वर्षमा पनि समयानुकूल परिमार्जन गर्न नसकेको भन्दै गुनासो गरे ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले पनि जात्रा पर्वको स्थायी रूपमा विकास गर्न कोष खडा गर्नुपर्नेमा जोड दिए । ‘यो गाह्रो काम पनि होइन । ललितपुर महानगरको बोर्ड बैठकबाट निर्णय गरे पुग्छ,’ उनले भने । प्रतिउत्तरमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अक्षय कोष, गुठियारको बिमा र दरबन्दी यस वर्ष कायम गर्ने प्रतिबद्धता जनाए । ‘गत वर्ष बजेट बनाउँदा ढिलाइ भएका कारणले व्यवस्था गर्न सकिएन,’ उनले भने । जात्रामा खड्गी खलका ८ जना गुठियार खटिनुपर्छ ।
पाटन दरबारको ‘मू छेँ आँगन घर’ का पुजारी माधवश्याम शर्माले पनि आश्वासन मात्र दिएर प्रतिबद्धता पूरा नगरको भन्दै गुनासो गरे । ‘संस्थानले मन्दिर भाडामा लगाएको छ,’ उनले भने, ‘व्यक्तिगत खर्चले जात्रा पर्व चलाउनुपर्ने बाध्यता छ ।’ ललितपुर महानगरकी उपमेयर गीता सत्यालले यस वर्ष ‘मू छेँ आँगन घर’ जसरी भए पनि पुनर्निर्माण गर्ने बताइन् ।
‘यसका लागि बजेट पनि छुट्याइसकेका छौं,’ उनले भनिन् । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय ललितपुरका प्रमुख सन्दीप खनालले जात्रा पर्व सञ्चालन गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
भक्तपुर । भक्तपुर तलेजुमा कार्तिक ११ गते म्हःपूजा मनाइने भएको छ । तिथिमा विवाद भइरहेका बेला भक्तपुर तलेजुमा भने ११ गते म्हःपूजा गर्ने निर्णय भएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
उनले म्हःपूजा ११ गते गर्ने कि १२ गते गर्ने भन्नेबारे धेरैलाई अन्योल भएपछि उक्त निर्णय गरिएको बताए ।
‘म्हःपूजा तिथिको आधारमा मंसिर कृष्ण पक्ष प्रतिपदामा गरिँदै आएको छ’, उनले भने, ‘यसअनुसार ११ गते बिहान ९ः५१ बजेदेखि १२ गते ९ः३० सम्म प्रतिपदा तिथि रहन्छ । जसअनुसार ११ गते बेलुका म्हःपूजा गर्नु उत्तम हुन्छ ।’
तिथिमिा अन्योल भएपछि भक्तपुरका सयौं जनाले तलेजुको साइत मागेको उनको भनाइ थियो । भक्तपुरका अधिकांश नेपालभाषीहरुले तलेजुलाई आधार मान्दै आएका छन् । त्यसैले तलेजूमा म्हःपूजा गरेकै दिन भक्तपुरका नेपालभाषीहरुले म्हःपूजा गर्ने गरेका छन् ।
भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी ।
‘पहिले पनि तिथि अन्योल हुँदा तलेजुको पूजा विधिलाई भक्तपुरवासीले मान्दै आएका छन्’, मूल नाइके जोशीले भने, ‘यस वर्ष तिथिमा अन्योल भएकाले पनि भक्तपुर तलेजुले तिथि सार्वजनिक गरेका हो ।’
उनले सरकारी पात्रो प्रकाशन गर्दा तिथिको समयावधिबारे स्पष्ट उल्लेख गर्नुपर्ने सुझाव दिए । पात्रोमै तिथि र त्यसको समयावधि उल्लेख गरिएको भए यस वर्षको जस्तो अन्योल नहुने उनको भनाइ थियो ।
उनका अनुसार भक्तपुर तलेजुमा १० गते लक्ष्मीपूजा गरिनेछ । उक्त दिन राजोपाध्याय नाइके उत्तमांगराज राजोपाध्यायले तलेजुमा विधिपूर्वक लक्ष्मी पूजा गर्नेछन् ।
त्यस्तै ११ गते जोशी नाइकेहरुले भक्तपुर तलेजुमा म्हःपूजा गर्नेछन् । तलेजुलाई आफ्नो आगछें मान्ने भएकाले परापूर्वकालदेखि जोशी नाइके परिवारहरुले तलेजुमा म्हःपूजा गर्दै आएको मूल नाइके जोशीले जानकारी दिए ।
उनका अनुसार तलेजुका राजोपाध्याय नाइके उत्तमांगराज राजोपाध्यायको समुपस्थितिमा जोशीहरुले म्हःपूजा गर्ने गर्छन् ।
न्हुँदभन्दा म्हःपूजा महत्वपूर्ण : जोशी
ज्योतिष परिषद् भक्तपुरका अध्यक्ष केदारप्रसाद जोशीले पनि तिथिअनुसार ११ गते नै म्हःपूजा गर्नु उत्तम हुने बताए । त्यस्तै नेपाल संवत्को नयाँ वर्षारम्भ हुँद भने १२ गतेमात्रै मनाउनुपर्नेको भनाइ थियो ।
उनले द्वापर युगदेखि नै म्हःपूजा गरिँदै आएकाले यसलाई कम महत्व दिन नहुने स्पष्ट पारे ।
अहिले न्हुँद (नेपाल संवत्को नयाँ वर्षारम्भ) लाई मात्रै महत्व दिँदा म्हःपूजा ओझेलमा परेको उनको भनाइ थियो ।
‘म्हःपूजा द्वापर युगदेखि हुँदै आएको हो’, भक्तपुर तलेजुका जोशी नाइकेसमेत रहेका उनले भने, ‘तर न्हुँद सुरु भएको ११३९ वर्षमात्रै भयो । त्यसैले न्हुँदलाई आधार मानेर म्हःपूजा गर्नु बुद्धिमानी होइन ।’
कार्तिक १० गते बिहान ११ः५१ बजेदेखि औंशी लाग्ने भएकाले उक्त दिनको साँझ लक्ष्मीपूजा गर्न कुनै बाधा व्यवधान नहुने उनी बताउँछन् । उनका अनुसार ११ गते बिहान ९ः४३ सम्म औंशी नै हो ।
‘त्यस्तै बिहान ९ः४४ देखि प्रतिपदा सुरु हुन्छ । जुन १२ गते बिहान ७ः५१ सम्म प्रतिपदा छ । त्यसैले ११ गते नै म्हःपूजा गर्नुपर्छ’, ज्योतिष जोशीले भने, ‘१२ गते बिहान न्हुँद मनाउनुपर्छ । यसैदिन बिहान ७ः५१ पछि भाइटीका गर्दा केही फरक पर्दैन ।’
तस्बिर : शिवेश शर्मा भदौ २१, २०७६ | शनिबार | ललितपुर
पाटनको कुम्भेश्वर–बगलामुखी क्षेत्र शुक्रबार जात्रामय थियो। अवसर हो, दशमहाविद्या पूजाको।
कौल तान्त्रिक परम्पराअनुसार आदि पराशक्तिका १० रूप मानिन्छ, दशमहाविद्या। देवीभागवत पुराण तथा अन्य शाक्त तान्त्रिक साहित्यले यस परम्पराको व्याख्या गर्दछ।
दशमहाविद्यामध्ये एक मानिन्छ, बगलामुखी। नेवाः परम्पराअनुसार समयबजिको द्वं (पहाडजस्तो गरी सजाइएको) राखेर बलि सहितको तामसिक पूजा गरिएको थियो बगलामुखीमा।
मन्दिरभित्र विनोदराज शर्माले बगलामुखीले तान्त्रिक विधिअनुसार पूजा गरे, उनलाई साथ दिए गणेशका रूपमा श्रीजय शर्माले।
यस वर्ष दशमहाविद्या पूजाको पालोवाला थियो, बगलामुखी मन्दिर।
त्यस्तै, मंगलबजारको कृष्ण मन्दिरपछाडि मोंमरु गल्लीमा छ, छिन्नमस्ता मन्दिर। नेपालभाषामा ‘मों’को अर्थ शिर हुन्छ र ‘मरु’को अर्थ नभएको भन्ने हुन्छ। शिर नभएको अर्थात् छिन्नमस्ता देवीलाई पनि तान्त्रिक विधिअनुसार सञ्जय शर्मा राजोपाध्यायले पूजा गरे।
यसरी नै तान्त्रिक पूजाको क्रम चल्यो, दशमहाविद्याका अन्य मन्दिरमा।
नेवाः समुदायका राजोपाध्याय ब्राह्मणले उक्त पूजा गर्दछन्, तर यसरी पूजा गर्न कौल परम्पराअनुसार सर्वाम्नाय दीक्षाप्राप्त हुनुपर्छ।
यसैअनुसार पूर्णचण्डीलाई कमलाका रूपमा पं. हेरम्बानन्द राजोपाध्यायले, धुम्बहाःस्थित धूमावतीमा पं. कोमलेशानन्द राजोपाध्याय, मातंगी मन्दिरमा धु्रवज्वालानन्द राजोपाध्याय र चक्रबहिःस्थित त्रिपुरासुन्दरी मन्दिरमा निरणज्वालानन्द राजोपाध्यायले पूजा गरेका थिए।
तान्त्रिक विधिअनुसारै दशमहाविद्यामध्ये कालीमा विष्णुचन्दन राजोपाध्याय, भैरवी मन्दिरमा विनोदज्वालानन्द राजोपाध्याय, पुल्चोकस्थित ताराको मन्दिरमा गजानन्द राजोपाध्याय र नकःबहिःको भुवनेश्वरी मन्दिरमा गोविन्दराज राजोपाध्यायले पूजा गरेका थिए।
पाटनका भित्री सहरका विभिन्न स्थानमा रहेका छन्, दशमहाविद्या देवीका मन्दिरहरू। श्रद्धालु भक्तजन यस दिन सबै १० ठाउँमा पूजा गर्न जाने प्रचलन छ।
पूजाका क्रममा राखिएका समयबजि द्वं पछि प्रसादका रूपमा वितरण गर्ने परम्परा छ।