Tuesday, July 16, 2019

Rajopadhyaya in News :७०० वर्ष पुरानो पिम्बहाल पोखरी प्राचीन स्वरूपमै पुनर्निर्माण- सबिना श्रेष्ठ


७०० वर्ष पुरानो पिम्बहाल पोखरी प्राचीन स्वरूपमै पुनर्निर्माण
सबिना श्रेष्ठकाठमाडौं, पुस २

काठमाडौं सम्पदा- १
पाटनमा एउटा खुला चौर थियो। चौधौं शताब्दीतिर त्यहाँ लाखेहरू नाच्नखेल्न आउँथे। यही क्रममा एक रात गयबाजे तान्त्रिकले उनीहरूलाई देखे। लाखेहरूलाई तान्त्रिक गयबाजेले आफ्नो वशमा पारे र चौरमा पोखरी बनाउन लगाए। यही पोखरीको नाम होपिम्बहाल।

सात सय वर्षअघि स्थापित यो पोखरी यसैगरी निर्माण भएको जनविश्वास छ।

यसको अर्को नाम पनि छजगमदु, अर्थात् जग नभएको पोखरी।

जगमदु पुखु क्षेत्र विकास समितिका अनुसार यो पोखरीको नाम सुरुमा जगमदु नै थियो। समय क्रममा जुगलहुँदै पिम्बहाल क्षेत्रमा परेकाले पिम्बाहल पोखरी हुन गयो। स्थानीयले यसलाई काठमाडौं जमलस्थित रानीपोखरी निर्माणको आधार मान्दै आएका छन्।

यो पोखरीका मुख्य सम्पत्ति हुन्दुइटा पाटी र कृष्ण मन्दिर।

२०७२ सालको भुइँचालोमा यी सबै भत्किएका थिए। साढे दुई वर्षपछि यी संरचनाले स्वरुप पाएका छन्।

पिम्बहाल पुनर्निर्माणमा करिब ६९ लाख रूपैयाँ लागेको यसको संरक्षक जगमदु पुखु क्षेत्र विकास समितिले जनाएको छ। ललितपुर महानगरपालिका, विश्व बैंक, रेन वाटर लगायतको लगानीमा सञ्चालित समितिका अध्यक्ष शैलेन्द्र श्रेष्ठका अनुसार यसको मर्मत अब पूरा भएको छ।

पुनर्निर्माण गर्दा पिम्बहाल पोखरीको रूप भने फेरिएको छ। पहिले वरिपरि पर्खाल थिए, जुन हटाएर फलामका बार लगाइएको छ।

पुनर्निर्माण गर्दा हामीले पोखरी वरपर ढुंगा ओछ्यायौं,’ समितिका अध्यक्ष श्रेष्ठले भने, ‘भत्किएका पाटी बनायौं र मन्दिर वरपरको पर्खाल भत्काएर फलामे बार हालेका छौं। पर्खालले पोखरीको सौन्दर्य छोपेर लुकाएजस्तो भयो। त्यसैले पोखरी देखिने गरी बार हालेका हौं।

कुनै बेला त यहाँ पर्खाल पनि थिएन। जर्मन चिकित्सक तथा चित्रकार जोन हेनरी एम्ब्रोसले १८५२ मा बनाएको पोखरीको चित्रले यसको पुष्टि गरेको श्रेष्ठले जानकारी दिए। एम्ब्रोसले बनाएको एक चित्रमा यहाँ कुनै बार वा पर्खाल देखिन्न,’ श्रेष्ठले भने, ‘९० सालको भुइँचालोपछि पुनर्निर्माण क्रममा यो पोखरी अर्कै बनोटमा बनाइएको हुन सक्छ।

समितिले पुनर्निर्माण गर्ने बेला यसको प्राचीन स्वरूप खोजेको थियो। त्यहीबेला एम्ब्रोसको चित्र भेटियो।

एम्ब्रोसको चित्र देखेपछि मात्रै पहिले यसको संरचना कस्तो थियो भन्ने प्रस्टियो,’ श्रेष्ठले भने, ‘पुरानो सम्पदालाई किन पुरानै संरचनामा नढाल्ने भनेर फेरि त्यही चित्रका आधारमा बनायौं।

पिम्बहाल क्षेत्रको ऐतिहासिक महत्व झल्काउने पोखरी मात्रैले होइन। करिब ६ रोपनी जग्गामा फैलिएको क्षेत्रमा पोखरीबाहेक चण्डेश्वरी मन्दिर र अशोक स्तुप पनि छन्।

पोखरीको उत्तरतर्फ रहेको चण्डेश्वरी मन्दिर सिद्धिनरसिंह मल्ल पालामा सन् १६६३ मा बनेको हो। यो मन्दिर निर्माणमा पनि तान्त्रिक गयबाजेको कथा जोडिएको किम्बदन्ती छ।

श्रेष्ठका अनुसार उक्त किम्बदन्ती यस्तो छएकपटक गयबाजे पाटनको ईखाल्खुमा श्री हरिसिद्धिमाई नाच हेर्न पुगेका थिए। नाच हेरिरहेका बेला उनले एक जना केटी देखे, जो अरूभन्दा निकै अलग थिइन्।

उनमा कुनै शक्तिथियो। उनी भिडमा अरू मान्छेले आफ्नो नाच छेकिदियो भने त्यहीअनुसार उचाइ बढाएर अग्ली हुन्थिन्। नछेकिएका बेला सामान्य उचाइमै फर्किन्थिन्।

गयबाजे तान्त्रिकले त्यस्तो शक्ति भएको त कुनै मानव हुनै सक्दैन, कुनै देवीदेवता मान्छेको रूपमा आएको भन्ठाने। ती केटीलाई उनले पिम्बहाल लिएर आए। उनी देवी नै रहिछन्, बनेपाबाट आएकी चण्डेश्वरी।

देवीले नै त्यो कुरा स्वीकारेपछि गयबाजेले चण्डेश्वरीलाई त्यहीँ बिराजमान हुन आग्रह गरे। त्यसपछि उनी बसेको ठाउँमा नै चण्डेश्वरी मन्दिर स्थापना भयो।

मन्दिरमा रहेका दुईवटा खम्बाको कथा पनि यसैमा जोडिएको छ,’ श्रेष्ठले भने, ‘यहाँको कथाअनुसार गयबाजेलाई देवी विराजमान गराए पनि उनी भाग्लिन् भन्ने डर थियो। त्यसैले, त्यहाँ दुइटा खम्बा गाडिए, जसमा शनिश्चर र भिमसेन सुरक्षा दिएर बसे।

बनेपाबाट आएकी देवी चण्डेश्वरीको यो मन्दिर पनि भुइँचालोले भत्काएको थियो। माथिल्लो छानो र त्यसको गजुर पूरै क्षति भएको थियो,’ श्रेष्ठले भने, ‘यसका कलात्मक काठहरू पनि मक्किएकाले सबै फेरिएको छ।

यसको सम्पूर्ण काम सक्न करिब ३० लाख रूपैयाँ खर्च भएको उनले जानकारी दिए।

उत्तरमा चण्डेश्वरी देवी विराजमानगराएको पिम्बहाल पोखरीले दक्षिणमा अशोक स्तुप पाएको छ। यो स्तुप त पोखरीभन्दा पुरानो भएको श्रेष्ठले बताए। वरिपरि चारवटा चैत्यले घेरिएको स्तुप करिब २३०० वर्ष पुरानो हो।

श्रेष्ठका अनुसार पाटनका मान्छे पहिलेपहिले नमोबुद्ध, स्वयम्भु, बाडेगाउँ र बौद्धनाथसम्म गएर दिवंगत आफन्त वा साथीभाइका सम्झनामा बत्ती बाल्थे। हिँडेरै पुग्नुपर्ने भएकाले सबैका निम्ति यो सहज थिएन।

त्यसैले यी चारै स्तुपको प्रतीक चैत्य निर्माण गरिएको हो। यी चार चैत्य पूजा आराधना गर्दा चार स्तुप पुगे सरह हुने धार्मिक मान्यता छ।

भुइँचालोले यो मन्दिरमा खासै क्षति पुर्याएको छैन।
नेपाल सम्बत् ४७० मा बंगालका सुल्तान शमशुद्धीनले तत्कालीन नेपाः मण्डलमा आक्रमण गर्दा भने यसमा क्षति पुगेकोे शिलालेखमा उल्लेख छ,’ श्रेष्ठले भने, ‘क्षति भएको नौ वर्षपछि नेपाल सम्बत् ४७९ मा त्यस क्षेत्रका मेघपाल वर्माले यसको जिर्णोद्धार गरेका थिए। त्यही बेला सम्राट अशोककी छोरी चारुमतिले यो स्तुप स्थापना गरेको भन्ने पनि शिलालेखमा उल्लेख छ।

ऐतिहासिक महत्वको पिम्बहाल पोखरी क्षेत्र जगेर्ना सूचीमा परेको धेरै भएको छैन। श्रेष्ठका अनुसार २०२४ सालतिर पूरै जलकुम्भीले ढाकेपछि पोखरी लगभग चौरमा परिणत भइसकेको थियो। सरकारले त्यो बेला महत्व नबुझी यो ठाउँलाई व्यापारिक स्थल बनाउने प्रस्ताव राखेको थियो,’ उनले भने, ‘पिम्बहाल क्षेत्र विकासकै आधार मानिने पोखरी जोगाउनुपर्छ भन्दै स्थानीय नै कस्सिए।

स्थानीयले नै पोखरी बनाउने सहमतिपछि आज आएर यसले प्राचीन स्वरूप पाएको श्रेष्ठ बताउँछन्। अब यो क्षेत्र वरपरै सोलार बत्ती हाल्ने समितिको योजना छ भने स्थानीयले बेलाबेला यसको सरसफाइ पनि गर्दै आएका छन्।
प्रकाशित मिति: आईतबार, पुस २, २०७४, १८:०२:२६



Rajopadhyaya in News : स्वरूपमा पिम्बहाल - गोविन्दबहादुर श्रेष्ठ


प्राचीन स्वरूपमा पिम्बहाल


विभिन्न क्षेत्रबाट व्यावसायिक प्रयोजनका लागि प्रस्ताव आए पनि समुदायले स्वीकार गरेन र पिम्बहालले ऐतिहासिक सम्पदाकै रूपमा निरन्तरता पायो ।
गोविन्दबहादुर श्रेष्ठ
काठमाडौँ — रानीपोखरी पुनर्निर्माणको विषयलाई लिएर विवादित टिकाटिप्पणी आएपछि प्राचीन स्वरुपमै पुनर्निर्माण भएको ललितपुरस्थित पिम्बहाल पोखरीलाई धेरैले सम्झेका छन् । कतिपयले रानीपोखरी र पिम्बहालको पुनर्निर्माणलाई दाँजेर हेरेका छन् । भूकम्प पश्चात मात्रभन्दा पनि विभिन्न चरणमा पिम्बहाल पोखरी जीर्णोद्धार, पुनर्निर्माण र संरक्षण गरिएको हो । 
प्राचीन स्वरूप
पिम्बहाल पोखरी करिब ६ सय वर्षअघि गयो जूजू नामक तत्कालीन महातान्त्रिकले लाखेहरूलाई नियन्त्रणमा लिई पाटनको पिम्बहालमा एकैरातमा निर्माण गरेको किम्वदन्ती छ । २० वर्ष अघिसम्म पोखरीमा राणाकालीन शैलीको प्रवेशद्वार र बीचमा सानो एकतले भवन थियो । निरन्तर सफाइको कमीले पोखरी झारपातले भरिएको मैदानमा परिणत भइसकेको थियो । त्यही बेला नगरपालिका र युडीएलईको सहयोग लिई स्थानीय समूदायको नेतृत्वमा पोखरी पुनर्निर्माण भयो । पोखरी पुनर्निर्माण गर्दा सन् १८५२ मा हेनरी एम्ब्रोस ओल्डफिल्ड भन्ने बेलायती नागरिकले नेपाल बस्दा तयार गरेको हाते स्केचलाई आधार मानी प्राचीन मल्लकालीन शैलीको प्रवेशद्वार र बीचमा पाटी बनाइयो । यो पोखरीलाई ६ सय वर्ष पहिले निर्माण हुँदा जस्तो देखिन्थ्यो, त्यही स्वरुपमा फर्काउने पहिलो प्रयास थियो । तर पुनर्निर्माण गरेको २० वर्ष नबित्दै विनाशकारी भूकम्पले पोखरीको संरचनालाई पूर्णरूपले क्षति पुर्‍यायो । स्थानीय समुदायको नेतृत्वमा ललितपुर महानगरपालिका र विश्व बैंकको सहयोगबाट यसलाई पुन: एकपटक प्राचीन शैलीमै पुनर्निर्माण गरिएको छ ।

प्राचीन प्रविधिको प्रयोग
विभिन्न चरणमा पोखरी पुनर्निर्माणका काम हुँदा प्राचीन प्रविधिमा क्षति पुग्नसक्ने जोखिमबाट बच्न पोखरीको सतह खन्ने काम कहिल्यै भएन । पोखरीको सतहमा वातावरण–मैत्री इँटाको सोल लगाइयो । यसले पोखरीमा पानीको सतह व्यवस्थित गर्नुका साथै वरपरका सामुदायिक इनारमा संकलित पानी प्राकृतिक रूपले प्रवाह हुन मद्दत पुर्‍याएको छ ।

पुरानै क्षेत्रफल
करिब ३० वर्ष पहिले तत्कालीन नगरपालिकाले पोखरीको आधा भाग पार्कमा परिणत गर्ने प्रस्तावसहित बजेट विनियोजन गरेको थियो । स्थानीय समुदायको चर्को विरोधपश्चात त्यो योजना पिम्बहाल पोखरीमा कार्यान्वयन हुन पाएन । तर त्यही योजना नजिकैको पूर्णचण्डीस्थित पोखरीमा कार्यान्वयन भयो । फलस्वरुप पूर्णचण्डीको पोखरी अस्तित्वविहीन बनेको छ । अग्रजहरूले पहिलेकै क्षेत्रफल कायम राख्न गरेको प्रयासका कारण पिम्बहाल पोखरी ऐतिहासिक सम्पदाका रूपमा कायम हुन सफल भयो ।

व्यावसायिक प्रयोजन निषेध
करिब ३५ वर्ष पहिले पोखरीमा व्यावसायिक भवन बनाउने प्रस्ताव आएको थियो । पोखरीमा नयाँ सडकमा जस्तै विशाल बजार बनाउने कुरा सुन्दा म पनि धेरै खुसी भएको थिएँ । विशाल बजार बनाएको भए टोलवासीको आर्थिक अवस्था त बढ्ने थियो होला, तर अहिलेको खुलापन, सौन्दर्य र साथमा पुरातात्त्विक महत्त्व हुने थिएन । महत्त्वपूर्ण कुरा, अहिलेजस्तो विदेशी पर्यटकहरू यहाँ आएर समय बिताउँदैन । त्यतिबेला अग्रजहरूले पोखरीलाई व्यावसायिक भवन बनाउन नदिएर पोखरीकै रूपमा कायम राख्न गरेको प्रयासलाई हामीले ठूलो सिकाइको रूपमा लिएका छौं । त्यसताका ललितपुरका धेरै पोखरीलाई नगरपालिकाकै पहलमा व्यावसायिक भवनमा परिवर्तन गरिएको थियो । बीच–बीचमा केही निजी समूह आएर पोखरीको संरचनामा अस्थायी परिवर्तन गरेर रेष्टुरेन्ट राख्ने र समितिलाई भाडास्वरुप राम्रो रकम दिने प्रस्ताव नआएका होइनन् । तर हामीले यसलाई व्यापारको थलो नबनाई ऐतिहासिक सम्पदाकै रूपमा निरन्तरता दियौं । हाल यस पोखरीले समग्रमा दिने आर्थिक लाभ व्यवसायले दिने वित्तीय लाभभन्दा धेरै माथि छ । भूकम्प पश्चात टोलवासीमा फेरि भूकम्प आयो भने भाग्नका लागि खुला ठाउँ छाड्नुपर्छ भन्ने सोच विकास भएको थियो । यही सोच अनुसार पोखरीको पुनर्निर्माण कार्य भइरहँदा प्रवेशद्वारका रूपमा रहेको पाटी नबनाउने प्रस्ताव पनि आइरहेका थिए । यसको सही निर्णय गर्न टोल भेला बोलायौं । तर सम्पदा संरक्षण गर्नुपर्छ भन्ने मूल्य र मान्यतामा हुर्केको टोलवासीले पाटी पुनर्निर्माण गर्ने सर्वसम्मत निर्णय गर्‍यो । पोखरी संरक्षणमा हामीलाई ललितपुर नगरपालिकाको निरन्तर साथ छ ।

समुदायकै नेतृत्वमा निर्माण
भूकम्पअघि वा पछि पोखरीको पुनर्निर्माणका सम्पूर्ण कार्य स्थानीय समुदायको नेतृत्वमै सम्पन्न भयो ।भू्कम्प पश्चात पुनर्निर्माणका लागि प्रभावित सबैको सहभागितामा योजना बनेको थियो । ‘चेक एन्ड ब्यालेन्स’का लागि गठन भएका विभिन्न समिति (जस्तै– समन्वय समिति, सचिवालय समिति, लेखा समिति, उपभोक्ता समिति, अनुगमन समिति, गुनासो व्यवस्थापन समिति) मा ५० जनाभन्दा बढी प्रत्यक्ष संलग्न थिए । समुदायको आफ्नै माग र पहलमा नगरपालिका लगायत बाह्य संस्थाको सहयोगबाट प्राचीन स्वरुपमै पोखरी पुनर्निर्माण सम्पन्न भयो ।

स्थायी समिति
पोखरीे संरक्षणका लागि ७ वर्ष अघि टोल भेला गरी जगमदु पुखु (पिम्बहाल पोखरी) क्षेत्र विकास समिति समिति गठन भएको थियो । भूकम्प पश्चात पुनर्निर्माणका लागि नगरपालिकामा निवेदन दिने, उपभोक्ता समूह गठन गर्ने लगायत सम्झौता भएका योजनाहरूमा समुदायको तर्फबाट यही समितिले संयोजन गर्दै आएको छ । समितिमा सबै राजनीतिक तथा सामाजिक प्रतिनिधित्व सुनिश्चित गरिएको छ । समितिका गतिविधिमा पारदर्शिता, जवाफदेहिता र सहभागिता प्रस्ट रूपले महसुस गर्न सकिन्छ । कुनै पनि कार्य गर्दा राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिक, प्राविधिक र कानुनी पक्षलाई बराबर भार दिने गरिन्छ ।

केही भुल
विभिन्न चरणमा मर्मत, जीर्णाेद्धार, पुनर्निर्माणका कार्य गर्दा कुनै गल्ती नभएको चाहिँ होइन । पहिले पैदल यात्रुमात्र हिंँड्ने पोखरी वरिपरिको बाटोमा सवारी साधन बढी गुड्न थालेपछि विना जगको पोखरी वरपरको रिटेनिङ पर्खालमा लगाइएका ढुङ्गा झर्न थाल्यो र बाटो नै भासिने जोखिम देखियो । त्यसपछि तत्कालका रिटेनिङ पर्खालमा कन्क्रिटको एकसरो ढलान गरियो । १५ वर्ष अघिको यो कार्य सम्पदा संरक्षणको हितमा नरहेको गुनासो आएपछि भुललाई सच्याउन सहयोगी निकायहरूको खोजी गर्‍यौं । पोखरी ठूलो भएकाले सहज रूपले आर्थिक सहयोग प्राप्त हुने अवस्था थिएन । भूकम्प पश्चात पुनर्निर्माणका कार्य गर्दा बाहिरी भागमा ढुङ्गा विछ्याई पोखरीलाई अझ थप प्राचीन शैलीमा प्रस्तुत गर्ने प्रयास भयो । भूकम्प पश्चात पुनर्निर्माणकै दौरान पाटी बनाउँदा जगमा सिमेन्ट पनि प्रयोग भयो भन्ने गुनासो केही सञ्चार माध्यमबाट उठेको थियो । समुदाय स्वयंले प्राविधिक दक्षताको कमीमा सम्पदा निर्माण कार्य गर्दा गल्ती हुनु स्वाभाविक हो । सञ्चारकर्मीले उठाएका ती मुद्दालाई सक्दो सच्याउने प्रयास गर्‍यौं । गर्दै सिक्दै जाँदा हामीले पिम्बहाल पोखरीलाई पाटन सहरकै एउटा ऐतिहासिक प्राचीन सम्पदाका रूपमा स्थापित गर्न सक्षम भएका हौं । हाल यहाँ आउने विदेशी पर्यटकहरू एकछिन भए पनि पोखरीको पाटीमा बस्छन् । यसले हामीलाई बढी सक्रिय भएर कार्य गर्ने प्रोत्साहन मिलेको छ ।

अन्त्यमा, रानीपोखरी काठमाडौं उपत्यकाको मात्रै नभई सबैको साझा ऐतिहासिक पुरातात्त्विक सम्पदा हो । यसले पाउने चोटले सबैको मन दुख्छ भने यसले पाउने सहयोगले सबैको मुहार हर्षित हुन्छ । राजधानीको हैसियतले अन्य नगरपालिकाले यहींबाट सिकेर आआफ्नो क्षेत्रमा भएका सम्पदा संरक्षण गर्ने हो । तसर्थ यसलाई प्राचीन प्रविधि र शैलीमै क्षेत्रफल नघटाई सम्पदाकै रूपमा पुनर्निर्माण गर्नु बुद्धिमत्ता हुनेछ । रानीपोखरी पुनर्निर्माण कार्यमा सांँघुरो वित्तीय सोच, तर्कविहीन प्रविधिको प्रयोग र राजनीतिक पक्षलाई मात्र हावी बनाउनेभन्दा पनि सबै अट्ने लोकतान्त्रिक अभ्यासको विकास गर्न जरुरी देखिन्छ ।
श्रेष्ठ पिम्बहाल पोखरी क्षेत्र विकास समिति, ललितपुरका अध्यक्ष हुन् ।
govindbdrs@gmail.com

हाम्रो संस्कृतिमा रथारोहणको उपादेयता - गोविन्दभक्तानन्द राजोपाध्याय

यस कार्यपत्रको सबै पृष्ठहरु प्राप्त हुन् सकेन,  तपाईहरुसंग भए उपलब्ध गराईदिनु भई सहयोग गरिदिनु हुन्  अनुरोध गर्दछौ l 








Friday, July 12, 2019

Rajopadhyaya in News : ललितपुरको पाटन डुबानमा (फोटोफिचर)

ललितपुरको पाटन डुबानमा (फोटोफिचर)

तस्बिर : हेमन्त श्रेष्ठ
ललितपुर — भारी वर्षाका कारण मुलुभरको जनजीवन प्रभावित बनेको छ । उपत्यकामा विभिन्न ठाउँहरुमा पानी जमेपछि आवतजावतमा समस्या भएको छ । ढल निकास व्यवस्थित नुहँदा जताततै पानी भरिएका छन् । पाटनका चोकहरू डुबानमा परेका छन् । पाटनको महापाल चोक, पटो टोल, गोल्डेन टेम्पल, बंगलामुखी, शंखमूल सडकमा बगेको पानीले हखाः खोलाको झल्को दिएको छ । लिच्छविकालमा पाटन दरबार क्षेत्र दुपातबाट हखाः खोला बग्दथ्यो । रातो मत्स्येन्द्रनाथ रथ यात्राका क्रममा मंगलबजार पुगेपछि खोला तार्ने भनी गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुखको उपस्थितिमा पूजा गर्ने चलन छ ।

प्रकाशित : असार २७, २०७६ १८:३७

पटको  टोल सुधार समितिका अध्यक्ष वदन राजोपाध्याय भन्छन्, ‘बाउबाजेले हखाः खोला पाटन भएर वाग्मतीमा मिसिने गरेको सुनाउँथे । सडकमा पानी बगेको देखेर साँच्चिकै खोलाको अनुभूति भएको छ ।’ अव्यवस्थित सहरीकरण र ढलको सही निकास नहुँदा अधिकांश ठाउँ डुबेको उनले बताए । उनका अनुसार नगरमा पहिला घोडा दौडाउन मिल्ने जत्रो ढल थियो । ‘नियमित सफासुग्घर गर्न नसकेपछि विस्तारै पुरिँदै गयो, कतिपय भत्किए,’ उनले भने, ‘राणाकालसम्म आइपुग्दा सानो भइसकेको थियो । पछि ह्युमपाइप राख्न थालेपछि समस्या देखिएको हो ।’

नगरको ढल पाटन दरबार स्क्वायर क्षेत्रको महापालचोक र मंगलबजार भएर वाग्मतीमा मिसिने गर्छ । महापालचोकमा महालक्ष्मीस्थान, लगनखेल इटी टोल, पाटन अस्पताल, मानभवन, कुमारीपाटी, जावलाखेल र पुल्चोकको ढल आएर मिसिने गरेको छ । सातदोबाटो, लगनखेलस्थित विद्युत् प्राधिकरण, मालपोत, नापी, राजदल गण, वटुकभैरव, थटी टोल, टंगल र हौगल क्षेत्रको ढल मंगलबजारमा आएर मिसिन्छ । चोकको मंगाल सानो छ । बालुवा, रोडा, ग्राभेल, प्लास्टिक, बोरा र कपडाले पानी छेक्दा जाम हुने गरेको छ ।

महापालदेखि उत्तरतर्फ कुम्भेश्वरको निकास पाइप पनि सानो छ । यसले गर्दा एक/दुई घण्टा पानी परेमा चोकमा पोखरीझैं पानी जम्ने गरेको छ । अग्निशाला, न्याछ्यगल्ली, तःधोका र पूर्णचण्डीदेखि गाःबहाल आउने ढलको समस्या पनि उस्तै छ ।

महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको बताए । ‘पहिरोले ललितपुरको गोटीखेलका रामबहादुर थाकेरको गोठ पुरिँदा भैंसी र बाख्रा पुरिएका छन्, कालेश्वरका राजेन्द्रप्रसाद दाहालको दुईतले कच्ची घर र बतासेमा एउटा गोठमा क्षति पुगेको छ,’ उनले भने । महांकाल र वाग्मती गाउँपालिकामा शुक्रबार विद्यालय बन्द गरिएको छ ।

हाम्रो संस्कृतिमा इही के हो र किन गरिन्छ ? - गजानन्द राजोपाध्याय



 बैदिक प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा प्रस्तुत एक कार्यपत्र










Monday, July 8, 2019

Rajopadhyaya in News : नेपाली उस्ताद यसराजलाई भारतमा बेस्टिज अवार्ड दिइने

नेपालन्युज असार २३, २०७६ | सोमबार | काठमाडौं


वरिष्ठ सरोदवादक उस्ताद यसराजलाई यस वर्ष इन्डियन बेस्टिज अवार्डबाट सम्मान गरिने भएको छ।
भारतको एनआरबी फाउन्डेसन र भव्या इन्टरनेसनलले प्रत्येक वर्ष संगीत र साहित्य विधामा पुरस्कार दिने गरेको छ।
ललितपुरको गाःबहालमा जन्मेका सुदर्शन राजोपाध्यायले भारतमा उस्तादको उपाधि पाएपछि उनले उस्ताद यसराज उपनाम राखेका हुन्। यसअघि उनी सन् २०१३ मा पश्चिम बंगाल सरकारबाट र सन् २०१५ मा गुजरातमा सम्मानित भइसकेका छन्। उनी सन् २००२ मा रेडियो नेपालको जिल्लाव्यापी संगीत प्रतियोगिताका विजेता हुन्।
अन्तर्राष्ट्रिय मैत्री सम्मेलनका क्रममा उनलाई यो पुरस्कार प्रदान गरिनेछ। कार्यक्रममा नेपाल, भारत र माल्दिभ्सबाट सहभागिता रहने बताइएको छ। 
उनलाई आगामी जुलाइ १४ मा सो पुरस्कार राजस्थानमा दिइने भएको छ।
source: https://www.nepalnews.com/life-arts/3429-2019-07-08-12-37-02?fbclid=IwAR3diuzzbe3ZfSt3VstGIDQ7DpbRaJMRMD01yVfB6qFrsl-NRYLqpJDahrc#.XSM8XEPTUwY.facebook