खोजौँ, म को हुँ ?
मङ्गलबार, १९ मङि्सर २०७४, ०९ : ०५ |
खोज गरेर आफ्नो पहिचान पत्ता लगाउन मन लाग्छ । यसै भावनाले घोचेर म पनि यो प्रयत्नमा जुटेँ । मेरो नाउँमा कसैले ‘श्रेष्ठ’ जोडिदिएकाले म एउटा नेवार हुँ भन्ने ठानेँ । तर नेवारहरू विचित्रको समुदाय रहेछ र यो यति सम्मिश्रित भएको रहेछ कि आफ्नो यथास्थान फेलै पर्न कठिन देखेँ । न जात, न धर्म, न स्थान, न वंशज कुनै पनि यकिन गर्न सकिएन । केही वर्ष अगाडि मेरो एक जना भाइले ‘बजिमय’ लेख्न थाले । ए, हामी त बजिमय पो रहेछौँ भन्ने भयो । डोटीका एक भाइले केही वर्षदेखि नाउँको आखिरीमा ‘मल्ल’ लेख्न थाले । उनले यो नयाँ उपनाम अध्ययन अनुसन्धान गरेर लेखेको बताए । के म पनि मल्ल हो ? जयस्थिति मल्लले चौधौँ शताब्दीमा नेवार समाजलाई ४ वर्ण ६४ जातमा विभाजन गरेछन् । यसमा आफू कतापर्ने रहेछु भनेर पत्ता लागेन । म कहाँको नेवार हुँ भनेर पत्ता लगाउनु अरू कठिन भयो किनभने नेवार राज्य ५ भागमा बाँडियो तर आफू जन्मँदा ती सबै हराइसकेका थिए । त्यसपछि कस्तो किसिमको नेवार हुँ भन्ने जिज्ञासा उठ्न थाल्यो । यो जिज्ञासा उठ्नु एउटा अर्को कारण पनि छ । मेरो विवाहमा पाँच थरे र छ थरे भन्ने प्रश्नले ठूलो आँधी आएको थियो । केटा पाँच थरे केटी छ थरे भएकाले या केटा छ थरे केटी पाँच थरे भएकाले गडबड भएको भन्नेबारे मेरो चिन्ताको विषय थिएन । तर खलबल त भएकै थियो । त्यसले मेरो जिज्ञासालाई अरू ऊर्जासम्म दिएको हो ।
सबभन्दा सजिलो र विवादरहित पहिचान भनेको नेपाली हुुनु र कहलिनु नै हो । त्यसपछि अरू पहिचान खोज्दै गरे हुन्छ ।
पुरातात्विक अनुसन्धानकर्ता जनकलाल शर्माको किताबबाट थाहा लाग्यो कि नेवारी समाजमा छ थरे श्रेष्ठहरू अतिरिक्त समूहका हुन् । त्यस समूहमा कर्माचार्य, गुर्वाचार्य, जोशी आदि अनेक पर्दा रहेछन् । यिनीहरू सबै नेवारी समाजको हिन्दू हाँगातिर रहेछन् । यस हाँगा अन्तर्गत राजोपाध्याय, उपाध्याय आदि पनि पर्दा रहेछन् जसलाई देयभाजु पनि भन्दा रहेछन् । यसै हाँगातिर धोबी, कसाई, कुशुले अर्थात् कपाली, पोडे, च्यामे र कुलु पनि समावेश गरिएका रहेछन् । अर्को हाँगा बौद्ध धर्मावलम्बीलाई राखिएको रहेछ । यतातिर पाइएका छन् — वज्राचार्य, शाक्य अर्थात् बाँडा, उदास अर्थात् तुलाधर, ताम्रकार, कंसाकार, अमात्य, प्रधान, राजभण्डारी । यसै हाँगा समूहमा ज्यापू, कुमाल, चित्रकार, साल्मी अर्थात् मानन्धर, नापित, तण्डुुकार, कौ र कतै कतै पोडे र च्यामे पनि समाविष्ट भएका रहेछन् ।
शर्माजीले यो पनि लेख्नुभएको छ कि नेवारी समाजमा धार्मिक सहिष्णुता भएको हुँदा वज्राचार्य, शाक्य, उदास, राजोपाध्याय र उपाध्यायबाहेक अरू नेवारहरूलाई हिन्दू या बौद्ध धर्म मात्र मान्छन् भनेर तोक्नु कठिन छ । किनभने, उनीहरू दुवै धर्मलाई मानेका देखिन्छन् । म पनि यसै समूहभित्र पर्ने हुनाले दुवै धर्म मानेको रहेछु भनेर पत्ता लाग्यो । यिनमा कति परिवार यस्ता पनि रहेछन् जो बौद्ध र हिन्दू दुवै पुरोहितलाई एकै कार्य साथसाथै लगाउँछन् । त्यसैले होला मेरो आफ्नै परिवारमा धेरैजसो संस्कार कुनै पनि हिन्दू पुरोहितबाट हुन सक्छ तर ईहीको कर्मकाण्ड केवल देउभाजुबाट मात्र गराउने चलन छ ।
नेवार समाजको जाति भिन्नतालाई जोड्ने कसी नेवारी भाषालाई मान्छन् । त्यसैले शर्माजीले पनि नेवार कुनै जाति नभएर यो नेवारी भाषा बोल्ने एउटा समूह मात्र हो भनेर पनि लेख्नुभएको छ । त्यही कुराको पुष्टि इतिहास शिरोमणि बाबुराम आचार्यले पनि गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘भारतबाट ब्राह्मण, क्षत्री, वैश्य, कृषक, शिल्पकार, डूम र दुसाद आदि सबै जातिहरू आएका हुन् । यिनीहरूसँग विवाहवारी गर्दै पछि पछि पनि उत्तरप्रदेश र बिहारतर्फबाटै आर्यवर्गका साना साना टोलीहरू निरन्तर आउँदै रहे । यसरी आउने गर्दा एक दुई पुस्ताका बीचमा आफ्ना बोलीहरू बिर्संदै आएर नवागन्तुकहरूले पनि नेवारी बोलीलाई नै ग्रहण गर्न थालेको झलक पाइन्छ । बिहारतिरबाट आएका थारू वर्गका कुह्माल, दरै, धोबी र यस्तै अन्य शिल्पकारहरू पनि पहिले नै नेवारी समाजमा घुलमिल भइसकेका थिए । यसै क्रममा डूम र दुसादहरू क्रमैले पोडे र च्यामे कहलिए । त्यसैगरी सिम्रौनगढ राज्यका कर्णाटहरूको चाल चलन र वेशभूषा मात्र होइन, त्यस राज्यका केही सिपालु कर्मचारीहरू पनि नेपालमा स्थायीरूपमा बस्न आएका देखिन्छन् । यस समयमा आएका महाजू र कसजू नामक दुई थरहरू विशेष पहिचान गरिएका छन् । उनीहरू पनि नेवारी बोल्न थाले । महाजू कर्र्णाट राजवंशका मन्त्रीवर्गमा र कसजूहरू लेखाध्यक्षका रूपमा कार्यरत रहेका थिए । मन्त्रीहरू तिनताक महामात्य वा अमात्य कहिन्थे । महामात्य शब्दकै नेवारी रूपान्तर महाठ शब्द तिनताक निकै प्रचलित थियो । यसबाट पनि स्पष्ट पहिचान खुल्न सकेन ।
नश्लको पहिचान गर्ने दोस्रो कसी भाषा वा बोली रहेको छ । बाबुराम आचार्यको भनाइमा जुन समुदायका मानिसहरू आर्य भाषा परिवारका बोलीहरू बोल्छन् ती आर्य नश्लका र जो किराँत भाषापरिवारका बोली बोल्छन् ती किराँत नश्लका मानिन्छन् । तर कहीँकहीँ एउटा नश्लको समुदायले आफ्नो बोलीलाई भुलेर छिमेकमा रहेका अर्का नश्लका जनताका बोलीहरूलाई ग्रहण गरेका दृष्टान्त पनि प्रशस्त पाइन्छन् । यसको प्रत्यक्ष भएर नेपालको तराई क्षेत्रमा रहेका थारू, दनुवार र कुम्हालहरू नै रहेका छन् । यिनीहरूको रङरूप मङगोलक छ तर बोली भने यिनीहरू आर्य भाषा परिवारका बोली नै बोल्छन् । आर्यावर्तीय आर्यहरूमा ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र गरी चार वर्ण वा जातको भेद हुन्छ तर थारूहरूमा भने यस्तो भेद पाइँदैन । यसैले यिनीहरू पनि किराँतमा नै गनिन्छन् चाहे आर्य भाषा परिवारका बोलीहरू बोल्छन् । नेपालमा रहेका किराँतहरूमा प्रायः बोलीले नै जात छुट्याउँछ । जस्तै मगर, गुरुङ, मुर्मी, सुनुवार, थामी, ह्वायु, चेपाङ, बरामू, धिमाल, लिम्बु, राई आदि मंगोल परिवारका बोली बोल्छन् । तर नेवार समाजमा भने किराँती बोली मातृभाषा भए तापनि आर्यहरूकै जस्तो जातभात र छुवाछूतको भेदभाव रहेको पाइन्छ । यिनीहरूको रङ्गरूपमा पनि आर्य नश्लका लक्षण प्रशस्त देखिन्छन् । यसैले यिनीहरू जातिगतरूपमा किराँत वर्गका होइनन् भन्ने निश्चय गर्न सकिन्छ । आर्य नश्लको यस जनसमुदायले नेपालको केन्द्र स्थलमा आएर आफ्नो मातृभाषालाई परित्याग गरी नेवारी बोलीलाई ग्रहण गरेर कसरी नेवार कहलायो, यो बडो कौतुकको विषय बन्न आएको छ । त्यही कौतूहलमा म पनि बिलाएँ ।
नेवारी समाजमा किराँती, लिच्छवि, मल्लहरूको सम्मिश्रण भएकाले म कुन समूहमा परेछु भनेर पत्ता लगाउन प्रयत्न गरेँ । तर यकिनसाथ भन्न गाह्रोे देखेँ । चारै तिरबाट आएर मिसिएको समुदायमा आफ्नो पहिचान पाउने तरिका एउटा नश्ल पनि हो । यसबाट पहिचान खुल्न सक्छ कि भनेर पनि कोसिस गरियो । जस्तो कि बाबुुराम आचार्यले भन्नुभएको छ, ‘आर्य नश्लको लक्षणमा गोरो वा गहुँगोरो वर्ण, अग्लो कद, बाक्लो दाह्री जुँगा, लामो र तिखो नाक, फराकिलो निधार र ठूला ठूला आँखा मुख्य मानिन्छन् । आफूमा यसमध्ये केही मिल्छ केही मिल्दैनन् । तर पश्चिमोत्तर भारतबाट पूर्वतर्फ आएपछि हावा, पानी तथा स्थल विशेषको प्रभाव र अनार्य नश्लका जातिहरूसँगको रक्त सम्मिश्रणले गर्दा आर्यहरूको शारीरिक बनावटमा उक्त लक्षणहरू क्रमिकरूपमा कम हुँदै आएका पाइन्छन् । उदाहरणका रूपमा नेपालको हिमाली क्षेत्रमा बस्ने किराँतहरूको रूपरङ मंगोल हुन्छ । अर्थात् नेप्टो नाक, हाड उठेको गाला, चेप्टो मोहडा, कम दाह«ी जुँगा र घुम ओडेका जस्ता आँखा मङ्गोलहरूका मुख्य लक्षण मानिन्छन् । तर पहाडी प्रदेशमा रहेका किराँतहरूमा भने यस्ता लक्षण आंशिकरूपमा मात्र पाइन्छन् । यसमा आफ्नो शारीरिक बनावट मिलाउन खोज्दा पनि मिल्दैन । यो पनि अप्ठेरो काम रहेछ भनेर पन्छाउनु प¥यो ।
म पश्चिम नेपाल अवस्थित रिडीबाट काठमाडौँ उपत्यकामा बसाइँ सरेको हो । त्यस ठाउँमा मेरा पुर्खाहरू कसरी पुगे भन्ने कथासम्म सुनिन्छ । भक्तपुरबाट बाग्लुङ, त्यहाँबाट डोटी, डोटीबाट रिडी आए भन्ने विश्वास गरिन्छ । हुन पनि बाबुराम आचार्यले इ.सं. १७६९ देखि १८०५ को बीचमा केही नेवारहरू काठमाडौँ उपत्यकाबाट भगाइएका वा निकालिएका पनि थिए भनेर लेख्नुभएको छ । यिनका सन्ततिहरू पोखरा, पाल्पा, धनकुटा र डोटी आदि मुख्य मुख्य बजारमा बसिरहेका पाइन्छन् । पछि केही नेवारहरूले आफूखुसी बसाइँ सरेका थिए । तर म कुन झुन्डबाट आएको हो भनेर थाहा पाउन सकिएन । त्यसैले सबभन्दा सजिलो र विवादरहित पहिचान भनेको नेपाली हुुनु र कहलिनु नै हो । त्यसपछि अरू पहिचान खोज्दै गरे हुन्छ ।
No comments:
Post a Comment