Friday, June 10, 2016

Rajopadhyaya in News : अस्तित्वको सङ्कटमा मल्लकालीन साँखुको माधवनारायण मन्दिर

अस्तित्वको सङ्कटमा मल्लकालीन साँखुको माधवनारायण मन्दिर

शङ्खरापुर (काठमाडौँ), १७ असार, काठमाडौँको पूर्वोत्तरमा अवस्थित ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण साँखुको मल्लकालीन माधवनारायण मन्दिर भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएको छ । साँखु र सालीनदीको पर्यायवाचीका रुपमा माधवनारायण मन्दिरलाई लिइँदै आएको छ । यही मन्दिरका कारण माघमा साँखु सालीनदीमा मेला लाग्दछ । शङ्खरापुर नगरपालिका–११ मा रहेको माधवनारायणका दुई गर्भगृहको अस्तित्व सङ्कटमा परेपछि अहिले मूर्तिलाई भाडामा लिएको  घरमा लगी राखिएको छ । माधवनारायण मन्दिरको यो अवस्था भएपछि यस वर्षदेखि माघ मेला पनि सङ्कटमा पर्ने देखिएको हो ।

मल्लकालमा निर्माण भएको यो मन्दिरकै नामबाट साँखुमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना माधवनारायण मेला लाग्ने गर्दछ । अरनिको राजमार्ग खुल्नुअघि काठमाडौँबाट तिब्बत जोड्ने सहरका रुपमा रहेको साँखु व्यापारिक केन्द्रका रुपमा प्रसिद्ध थियो । त्यस समयमा साँखु, नाङलभारे, बाहुनेपाटी, मेलम्ची, नवलपुर, जलबिरे, बाह्रविसे, तातोपानी हुँदै खासामा व्यापारका लागि आवताजावत हुने गरेको स्थानीय व्यापारी राजेश्वर श्रेष्ठ बताउनुहुन्छ ।

तीन हजार ३१५ वर्ष पुरानो साँखुको बस्तीको निर्माण योजनाबद्ध र सुव्यवस्थितरुपमा गरिएको थियो । सुव्यवस्थितरुपमा निर्माण गरिएको प्राचीन सहर भएकाले आधुनिक इन्जिनियरिङका विद्यार्थी पनि यो सहरको अध्ययनमा आउने गरेको स्थानीय लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठ बताउनुहुन्छ । “सबैजसो इन्जिनियरिङ क्याम्पसका विद्यार्थी प्राचीन समयमै व्यवस्थितरुपमा बनेको सहर भनी अध्ययनका लागि यहाँ आउने गर्छन्, प्रायः नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका विद्यार्थी यो सहरको अध्ययनका लागि आउने गरेका छन्” – उहाँले भन्नुभयो ।

विसं १९९० को भूकम्पमा साँखुमा धेरै क्षति भएको थिएन । पाँच–छवटा घर भत्किए पनि मानवीय क्षति नभएको बुबाआमाबाट सुनेको पूर्वअध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । अधिकांश मल्लकालीन बनोट रहेको साँखुमा माधवनारायणको नित्य र नैमित्तिक पूजा सञ्चालनका लागि पाटनको मङ्गलबजारबाट
राजोपाध्याय थरका पूजारी ल्याइएको थियो ।

यिनै
राजोपाध्यायका सन्तति सुदन राजोपाध्यायले अहिले माधवनारायणको पूजा चलाउँदै आउनुभएको छ । माघ शुक्ल पूर्णिमादेखि पौष शुक्ल पूर्णिमासम्म ११ महिना माधवनारायणलाई राखिने गर्भगृह भूकम्पले पूर्ण क्षति भई माधवनारायणलाई भाडाको घरमा राखिए पनि ऐतिहासिक गर्भगृह नाश हुने अवस्थामा रहेको पुजारी राजोपाध्याय बताउनुहुन्छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना सालीनदीस्थित माधवनारायण मन्दिरमा राखिए पनि ११ महिना गुप्तरुपमा माधवनारायण राखिने स्थल भूकम्पले भत्किएर ध्वस्त भएको हो । “ऐतिहासिक कलाकृति बलम्पू (ब्रह्मपुर, बैकुण्ठपुर) मा क्षति भएको छ, पुरातात्विक, धार्मिक र सांस्कृतिकरुपमा महत्वपूर्ण सहरलाई पहिलेकै अवस्थामा पुनःनिर्माण गरिनुपछर्,” साँखुको सांस्कृतिक सम्पदाका विषयमा गहिरो अध्ययन गर्नुभएकी अधिवक्ता अमिता श्रेष्ठले भन्नुभयो ।

ब्रह्मपुरको दक्षिणी भागको झ्यालमा तामामा सुनको जलप लगाइएको बहुमूल्य कलाकृति छ । दक्षिणबाट उत्तर फर्किएको यो कलाकृति जोगाउने समस्या थपिएको पुजारी
राजोपाध्याय बताउनुहुन्छ । ब्रह्मपुरमा रहेको दर्शन ढुङ्गाको मूर्तिमा कुँदिएको मल्लकालीन कलाकृतिको अस्तित्व पनि सङ्कटमा परेको छ । 

साँखु क्षेत्रका धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण सम्पदाको अध्ययनमा खटिनुभएका पुरातत्व विभागका प्राविधिक सहायक भीष्म बाँस्कोटा माधवनारायण मन्दिर राख्ने पुरातात्विक महत्वको दुवै घर पूर्णरुपमा क्षति भएको बताउनुहुन्छ । “विसं ११६३ मा निर्माण भएको विष्णुका मूर्ति तीन प्रकारका रहेको अध्ययनबाट प्रमाणित भएको छ, उभिएको (स्थानक), बसेको (आसन) र सुतेको (शयन) अवस्थाका मूर्ति नेपालमा मात्र पाइन्छ, यी तीनै प्रकारका विष्णुका मूर्ति साँखुमा पाइएकाले यो सहर पुरातात्विक, धार्मिक र सांस्कृतिकरुपमा महत्वपूर्ण छ,” बाँस्कोटाले भन्नुभयो ।

आयुध (शङ्ख, चक्र, गदा र पद्म) लिएको नारायणको मूर्ति साँखुमा धेरै छन् । अझ यहाँको नारायणको मूर्तिमा नागको मालासमेत लगाएको भेटिएको छ । विश्वमै अन्यत्रका नारायणको मूर्तिमा नागको माला लगाएको नभेटिएको विभागका प्राविधिक सहायक बाँस्कोटा बताउनुहुन्छ । 

“नारायण मूर्तिको दुवै हात र गोडामा कली लगाएको, गलामा आभूषण र जनैका रुपमा समेत नाग नै लगाएको अलौकिक मूर्ति रहेका छन्,” पुजारी
राजोपाध्यायले भन्नुभयो । तीनवटा टाउको भएको तक्षक नाग, ११ टाउके नाग र माघ मेलामा माधवनारायणलाई लगाइदिने पाँच टाउके वासुकी नागको मालासमेत लगाएका अद्भुत मूर्ति साँखुमा पाइन्छन् ।

भूकम्पले मन्दिरक्षेत्र भत्किएपछि पुरातत्व विभागको सक्रियतामा भग्नावशेष हटाउन खोज्दा ऐतिहासिक मन्दिरको एक रोपनी जग्गा २०२१ सालमा पुजारी खलक गिरजा
राजोपाध्यायका नाममा दर्ता भएको रहस्य खुलेको छ । व्यक्तिका नाममा रहेको घर कसरी भत्काउनुहुन्छ भनी सटर भाडामा लिएर व्यापार गर्दै आएका व्यापारीले भनेपछि भत्किएको मन्दिरको भग्नावशेष हटाउने कार्य रोकिएको विभागले जनाएको छ । 

गिरजा
राजोपाध्यायबाट अहिले यो नामसारी भई कपिजा राजोपाध्यायका नाममा आएको तथ्यसमेत वर्षौँपछि सार्वजनिक भएको पुजारी सुदन बताउनुहुन्छ । तीस वर्षदेखि पूजा गर्दै आउनुभएका पूजारी सुदनले भन्नुभयो – “हामी पूजाका लागि ल्याइएका हौँ, मन्दिरको जति जग्गा छ, सार्वजनिक हो, ऐतिहासिक र सांस्कृतिक महत्व भएको देश विदेशमा प्रसिद्ध यो स्थलको संरक्षण हुनुपर्छ, कसैले गैरकानुनी ढङ्गले आफ्नो नाममा दर्ता गरेको भए छानबिन गरी कारबाही गरिनुपर्छ ।” रासस

source: http://aajakokhabar.com.np/np/newsDetails.php?nid=15811

No comments:

Post a Comment