Tuesday, June 7, 2016

Rajopadhyaya in News :पदक पाएर पनि दुःखी !

पदक पाएर पनि दुःखी !

अन्नपूर्ण |२०७३ जेष्ठ २० बिहीवार1086 पटक पढिएको
 99
 0
 
भक्तपुर: गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकारद्वारा प्रदान गरिएको जनसेवा श्री पदकबाट विभूषित भक्तपुर तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले पदकबाट आफू दुःखी भएको बताएका छन् । उनले आफू पुजारी नहुँदा पनि सरकारले पुजारीका रूपमा जनसेवा श्रीपदक दिइने निर्णय गरेकाले अपमानबोध भएको बताएका हुन् ।
 
मल्लकालीन राजदरबारमा ज्योतिषको काम गर्ने जोशीका सन्तति नरेन्द्रलाई गणतान्त्रिक सरकारले सरकारी कर्मचारी नायबसुब्बा तथा खरिदारको दर्जामा राखेको भन्दै उनले असन्तुष्टि पोखे । ‘यो पदकले तलेजुको गरिमामै आँच पुगेको महसुसु गरेको छु', अन्नपूर्णसँग जोशीले भने ।
 
२०५० देखि त्यहाँका मूलनाइके रहेका उनले भक्तपुर तलेजुअन्तर्गतका राजोपाध्याय पुजारी नाइके, कर्माचार्य पुजारी नाइकेलगायत पाँच सय २८ रकमीको नेतृत्व गर्छन् ।
 
राजतन्त्र हुँदा सीधै मूल पुरोहितमार्फत राजदरबार तथा राजाहरूसँग प्रत्यक्ष सम्पर्क हुने मूलनाइके पदलाई गणतान्त्रिक सरकारले जनसेवा श्रीपदकको नाउँमा तुच्छ बनाएको उनको भनाइ छ । मल्लकालीन राजदरबारमा हुने शुभकार्यको साइत जुराउने, ग्रहण हेर्ने तथा ज्योतिषको कार्य तलेजुका मूलनाइके जोशीहरूले गर्थे । यी जोशीहरू भक्तपुरमा तलेजु देवी ल्याइँदा सँगसँगै आएको संस्कृतिविद् ओमप्रसाद धौभडेल बताउँछन् । 
 
‘भक्तपुरमा तलेजु ल्याइँदा जोशीहरू पनि सँगसँगै आएका थिए', उनले भने, ‘त्यस बेला तलेजुसँगै आएका शशिराज जोशीका पुर्खा नै आजका मूलनाइके नरेन्द्रप्रसाद जोशी हुन् ।' उनले मल्ल राज्यमा जित हासिल गरेपछि शाह राजाले ती जोशीहरूलाई तलेजुको प्रशासन सम्हाल्ने जिम्मा दिएको अभिलेख रहेको बताए । संस्कृतिकर्मी धौभडेलले भने, ‘तलेजुका मुख्य प्रशासक जोशीहरू खरिदार वा सुब्बाभन्दा धेरै माथि हुन् ।'
Source: http://www.annapurnapost.com/News.aspx/story/49982

No comments:

Post a Comment