Friday, June 7, 2019

Rajopadhyaya in News : ‘म करोडपति बन्न चाहन्नँ, गुठी विधेयक फिर्ता लिइयोस्’ - बागेश्वर राजोपाध्याय (पुजारी)

म करोडपति बन्न चाहन्नँ, गुठी विधेयक फिर्ता लिइयोस्

संसदमा पुगेको विधेयक पारित भयो भने गुठी रहँदैन

बागेश्वर राजोपाध्याय (पुजारी)
२०७६ जेठ २४ गते ११:०० मा प्रकाशित



गुठी लिच्छवीकालभन्दा पहिलाको सभ्यता र परम्परा हो । सभ्यता र परम्परा संरक्षण गर्नका लागि धर्मशाला पाटी, पौवा, ढुंगेधारा, कुवा, पोखरी जस्ता परोपकारिक भावनाले आफ्नो जीवनभरको कमाईबाट भगवानको नाममा छुट्याइएका चलअचल सम्पत्ति नै गुठी हो ।
अर्को शब्दमा भन्नुपर्दा दाताले आफ्नो सम्पूर्ण हकअधिकार भगवानको नाममा छुट्याइदिएको सम्पत्ति हो । देशभरि दुई हजार २८२ राजगुठी छन् । त्यसमध्ये काठमाडौंमा ५५६ वटा राजगुठी छन् ।

रैतानी, अधिनस्थ र तैनाथी गरी देशभरि १ लाख १० हजार रोपनीभन्दा बढी जग्गा छ । जसमध्ये पाँच लाख ६१ हजार ९९० रोपनी पहाडमा र तराईमा ६६ हजार ३३० विगाहा छ ।
गुठीको रैतानी जग्गा पहाडमा ३ लाख १५ हजार ४७२ रोपनी र मधेशमा ६२ हजार २५६ विगाहा छ । त्यस्तै, अधिनस्थ जग्गा पहाडतर्फमा २ लाख ४३ हजार ६०७ रोपनी र मधेशतर्फ २१ सय ९६ विगाहा छ ।
"गुठी संस्थानका कर्मचारीहरूले यो जग्गा त तपाईंकै नाममा दर्ता गर्न मिल्छ । किन तपाईं गुठीको नाममा दर्ता गर्नुहुन्छ ? अलिकति खर्च गर्नुस् तपाईंकै नाममा लालपूर्जा ल्याइदिन्छु भने"

तैनाथी जग्गा २९ सय ११ रोपनी पहाडमा र १८ सय ७८ विगाहा तराईमा छ ।
पहिला मान्छेहरू जति धेरै परोपकारी काम गर्थे, उति नै मनमा शान्ति महशुस गर्थे । सत्य बोल्नुस्, धर्म गर्नुस् । त्यही धर्मले तँपाईलाई राम्रो गर्छ भन्ने मान्यता थियो । त्यही भएर प्रशस्त मठमन्दिर स्थापना भए ।
मन्दिरमात्रै स्थापना गरेर त भएन, त्यसलाई अविछिन्नरुपमा सञ्चालन गर्नका लागि त खर्च चाहियो । त्यसका लागि हाम्रा पूर्खाहरूले जल, कुश, तिल लिएर आफ्नो नामको जग्गा भगवानका नाममा चढाए । त्यही आयस्ताबाट मन्दिर सञ्चालन हुन थाले । मन्दिरमा पुजारी, सुसारे, पौवाले हुन्छन् ।
जग्गा बचाउन खोज्दा मार्ने धम्की
वि.स. १८६२ मा रणबहादुर शाहले बैसठ्ठी हरण गरे । त्यतिबेला उनले गुठी, व्यक्ति सबैको जग्गा हरण गरे । बैसठ्ठी हरणपछि उनको परिवारमा अनिष्ट हुन गयो । त्यसपछि रणबहादुरले मन्दिर बनाउने निर्णय गरे ।
विसं.१८६९ मा आफ्नी साहिली श्रीमती लक्ष्मीदेवीका नाममा लक्ष्मीश्वर महादेव नामाकारण गरेर सयौं रोपनी जग्गा राखीदिए । काठमाडौंको पचलीमा लक्ष्मीश्वर मन्दिर स्थापना भयो । त्यहाँ वरिपरि धर्मशाला, पचल, वासस्थान निर्माण गरियो ।
म यो मन्दिरको पुजारी हुँ । मन्दिर स्थापनाकालदेखि नै मेरा बराजुहरू यो मन्दिरको पुजारी हुनुहुन्थ्यो ।
पहिला यो मन्दिरलाई आवश्यक खर्च हनुमानढोका दरबारबाटै पठाइन्थ्यो । गुठी संस्थानको अभिलेखअनुसार मन्दिरमा अहिले ७२/७३ रोपनी जति होला । सम्पत्ति कति छ, के के गर्ने भन्ने कुरा लक्ष्मीश्वर मन्दिर अगाडिको शिलालेखमा विस्तृतमा लेखिएको छ ।
त्यो जग्गा संरक्षण गर्न खोज्दा मलाई ज्यान लिने धम्की दिए । पत्रपत्रिकामार्फत समेत धम्काइयो ।
सुरक्षाको माग गरेर प्रहरी र गुठी संस्थानमा निवेदन दिएँ । संस्थानले ज्युज्यानको सुरक्षा दिनु होला भनेर प्रहरीलाई पत्र लेखेको थियो ।
महानगरपालिकाले पनि गुठीको त्यो जग्गामा कम्प्लेक्स बनाउन लागेको थियो । नाप्नसमेत आइसकेको थियो । मन्दिर जीर्ण भइसकेको छ, मतलब छैन । मन्दिर संरक्षणमा वास्ता छैन । त्यो सानो टुक्रा जग्गामा आँखा किन ?
मसँग भएको सबै प्रमाण देखाएँ । तँपाई पुजारी हो । चार/पाँचवटा कोठा दिन्छु भन्न आए । तिमी पुजारी हो । तिम्रो काम पूजा गर्नु हो । पूजा मात्रै गरेर बस भन्न आए ।




अहिलेसम्म मैले संरक्षण गरेको छु भन्नुको अर्थ हामी सबै मिलेकाले संरक्षण भएको हो । संसदमा पुगेको विधेयक पारित भयो भने गुठी रहँदैन ।
भगवानसँग पनि मोहीयानी हक ?
विसं. ०२१ साल कात्तिक १७ गते गुठी संस्थान स्थापना पश्चात सबै गुठीहरू त्यही संस्थान मातहत सञ्चालन हुने भए । यस मन्दिरको लालमोहर, जग्गा जमिन, गरगहना लगायतका सबै सम्पत्ति गुठी संस्थानलाई अमानतमा दिइयो ।
विसं. ०३३ सालमा जौ, कुश, तिल राखेर संकल्प गरिइएको जमीनमा पनि मोहीयानी हक दिन लगाउने नियमहरू ल्याइयो । भगवानको जग्गामा पनि मोहीयानी हक लाग्छ र ? भगवानको नामको जग्गा त संरक्षण, सम्वद्र्धन मात्रै हुनुपर्ने हो ।
मोहीयानी हक पनि पहिला चार भागको एक भाग दिने भन्ने थियो । त्यसपछि एकतिहाई दिने भनियो । अनि आधाआधा हुने भनियो । त्यो आधा जग्गा पनि रजिस्ट्रेसन पास गरेमा बेचविखन गर्न समेत पाइने बनाइयो । त्योअनुसार रैतानी जग्गा बेचविखन हुने भयो । अधीनस्थ जग्गा गुठीकै हो, तर कुनैमा मोही हुन्छ, कुनैमा हुँदैन ।

तैनाथी जग्गा बेचविखन गर्न पाउँदैन । यसको पूर्ण स्वामित्व गुठी संस्थानमा छ । तर, यो विधेयक पारित भयो भने तैनाथी जग्गा पनि बिक्री गर्न पाउँछ । धर्मशाला समेत बेचविखन गर्न पाउने भनिएको छ ।
संस्थानलाई खारेज गरेर प्राधिकरण बनाउन भनिएको छ । त्यही प्राधिकरणमार्फत बेच्ने काम हुन्छ ।
लिच्छवीकालदेखिकै पुजारी, गुठारीको हक अधिकार स्वतः निस्क्रिय हुने भनिएको छ । यसले पुजारीगुठारीलाई अन्यायमा पार्छ । मासिक एक मुरी धान पाइन्छ । अहिलेको मूल्यमा भन्दा दुई हजार रुपैयाँ जति पाइन्छ ।
म पुजारी रहेको लक्ष्मीश्वर मन्दिरमा सूर्य पूर्जा गर्दा पुजारीले दैनिक ३० पैसा पाउँछ । अन्त पनि त्यस्तै होला । अहिलेको जमानामा मासिक नौ रुपैयाँले के होला ?
यसरी गुठारीपुजारीहरू आफैंमा पीडितमा थिए । झन पीडित बनाउने भए, हक अधिकार निस्क्रिय हुने भए ।
त्योभन्दा पनि ठूलो कुरा बचेखुचेको तैनाथी जग्गा पनि बेचविखन गर्न पाउने बनाउन लागिएको छ । जग्गा दिनेहरूले बेचविखनका लागि त दिएका थिएनन् । भगवानको नाममा दिएको जग्गालाई अहिले बेचेर खान मिल्छ ?
जस्तोहाम्रै कुरा गर्नुहुन्छ भने बासस्थान भनेर १० आना दुई पैसा जग्गा दिइएको छ । लालमोहरमा समेत लिखित गरेर दिइएको छ ।
गुठीकै कर्मचारीले घुस मागे
विसं. ०२१ सालमा नापीको समयमा जग्गाधनी र मोही दुबै थिएन । गुठीको पुजारीको नाताले मैले संरक्षण गर्दै आएको छु । लालमोहरमा पुजारीलाई दिएको भन्ने स्पष्टै छ ।
गुठीका नाममा रहेको त्यत्रो जग्गा त हिनामिना भयो । मसँग भएको अलिकति जग्गा हिनामिना हुन दिन्न भनेर ०६५ सालमा महानगरपालिकामा गएँ । त्यसपछि महादेवकै नाममा दर्ता गर्नुपर्‍यो भनेर गुठी संस्थानमा निवेदन दिएँ ।
गुठी संस्थानका कर्मचारीहरूले यो जग्गा त तपाईकै नाममा दर्ता गर्न मिल्छ । किन तपाई गुठीको नाममा दर्ता गर्नुहुन्छ ? अलिकति खर्च गर्नुस् तपाईकै नाममा लालपूर्जा ल्याइदिन्छु भनेका थिए ।
यो विधेयकको व्यवस्थाले व्यक्तिगतरुपमा मलाई फाइदै हुन्छ । दशौं करोड पर्ने जग्गा मेरो नाममा आउँछ । तर, भगवानको नामको जग्गा म लिन चाहन्न । त्यो त भगवानै नाममा रहनुपर्छ ।
साँधमा आफ्नो जग्गा भएको व्यक्तिले पनि गुठीको जग्गा कमाउँथे । धानसँगसँगै पाक्यो भने पहिला गुठीको जग्गाको काटिन्थ्यो । किनभने, एकदाना पनि गुठीको धान आफ्नोमा मिसिनुहुँदैन भनेर यस्तो गरिन्थ्यो । कहाँ त्यो एकदाना चामल पनि खानुहुँदैन भन्ने सोचाई, कहाँ अहिलेको विधेयकको यस्तो व्यवस्था ?
भगवानका नाममा राखिदिँदा वैकुण्ठवास हुन्छ । मनमा शान्ति प्राप्त हुन्छ भनिन्थ्यो । दान दिन्थे । मन्दिर स्थापना गर्थे । तर, अहिलेको विधेयक त्यसको ठीक विपरीत आएको छ ।
१० वर्ष पहिलेदेखि बस्दै आएको प्रमाणित भएमा न्यूनतम दस्तुर लिएर जग्गा व्यक्तिलाई दिने भनिएको छ । यो एकदमै गलत हो । मैले बासस्थानका लागि पाएको जग्गा स्वतः मेरै नाममा आउने भयो । तर, भगवानको अधिकार भएको जग्गा त मेरो हुनु भएन नि ।
दायित्व पूरा गर्ने कि नालायक हुने ?
विसं. ०६४ सालमा बाबुराम भट्टराई अर्थमन्त्री भएका बेलामा कुमारी जात्राको बलीको बजेट काट्यो । त्यसपछि जात्रा चलेन । चारैतिर विरोध भयो । तपाईलाई थाहा छ त्यो रकम कति थियो ? एउटा बलीको जम्मा पच्चीस सयतीन हजार रुपैयाँ । भट्टराईले त्यो निर्णय सच्याएर बजेट सुचारु गर्नेभएपछि बल्ल जात्रा चल्यो । धर्म, संस्कृतिको कुरा कति संवेदनशील हुन्छ भन्ने यसले देखाउँछ ।
गुठी संस्थानले आफूले जिम्मा लिएको गुठीको सम्पत्ति संरक्षण गर्न सकेको छैन । कपुत सन्तानजस्तै आफ्नो भूमिकामा खरो उत्रन नसकेपछि यो संस्थान खारेजीको अवस्थामा पुगेको छ ।
पूर्वजहरूले छाडेर गएका मठमन्दिर, सम्पदाहरू संरक्षण गर्न नसक्नु भनेको त हामी नालायकै हुनु हो । त्यसमा प्रमुख भूमिका मन्त्री, नेताहरूको छ । उहाँहरूले यस्तो विधेयक ल्याउँदा सरोकारवालासँग छलफल समेत गर्नुभएन । आफ्नो निजी स्वार्थ पूरा गर्ने गरी विधेयक ल्याइयो ।
यो पास भयो भने हाम्रो सांस्कृतिक धरोहर समाप्त हुन्छ । धर्मशास्त्रमा भनिएजस्तो संस्कृति बिग्रियो भने विकृति आउँछ, विकृतिमा पनि विकृति आयो भने विनासै हुन्छ । यो विधेयकले त्यसैतर्फ संकेत गरेको छ । त्यसकारण यो विधेयक कदापि पास हुनुहुँदैन ।
(लक्ष्मीश्वर मन्दिर, राजगुठीका पुजारी राजोपाध्यायसँगकाे वार्तामा आधारित)
तस्वीरहरूः चन्द्र आले/अनलाइनखबर

Wednesday, June 5, 2019

Rajopadhyaya in News: भूमाफियाको स्वार्थ’मा गुठी विधेयक

भूमाफियाको स्वार्थ’मा गुठी विधेयक

  • आभास धरानन्द राजोपाध्याय/सुजन श्रेष्ठ जेठ २२, २०७६ | बुधबार | काठमाडौं


‘तपाईँलाई टुँडिखेलको जग्गा चाहिन्छ? कति चाहिन्छ, म दिलाउँछु — ठेट टुँडिखेलकै जग्गा। मसँग उपाय छ।’
व्यङ्ग्यकै रूपमा नेपाल गुठी संरक्षण पुचःका सदस्य डा. दीपक ज्ञवालीले भने।
यो व्यङ्ग्यै सही, तर कानूनका खाडलहरूको फाइदा लिँदै भू–माफिया गिरोहहरु गुठी जग्गा कब्जा गर्न यर्थाथमै अब्बल छन् ।
गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ को दफा २३ र २४का प्रावधानले गुठीका जग्गा गुठीयारले अत्तोपत्तो नपाई बेचिनसक्ने खतरा छ ।
राजधानीमा बुधबार आयोजित एक अन्तरक्रियामा संस्कृतिकर्मीहरूले गुठी प्राधिकरण सम्बन्धी विधेयकको खुलेरै विरोध गरे।
नेपाल गुठी संरक्षण पुचःका संस्थापक अध्यक्ष प्रा.डा. केदारभक्त माथेमा भन्छन्, ‘यो विधेयक जस्ताको तस्तै पास भयो भने सबै भताभुंग हुन्छ, केही पनि धार्मिक–सांस्कृतिक सम्पदा बाँकी नै रहन्न।’
विधेयक जस्ताको तस्तै पास भयो भने सबै भताभुंग हुन्छ, केही पनि धार्मिक–सांस्कृतिक सम्पदा बाँकी नै रहन्न : केदारभक्त माथेमा
विधेयकले विशेषतः गुठीयारको अधिकार समाप्त गरी जग्गा सबै रैकर गरी किनबेच गर्न प्रावधानले बाटो खुलाउने निश्चित छ । गुठी संस्थानअन्तर्गत दर्ता भएका २८८२ राजगुठी छन्। तिनको स्वामित्वमा पहाडमा कूल ५,६१,९९० रोपनी र तराईमा ६६,३३० बिघा जग्गा छ। तर त्यसबाट उब्जनी हुने बालीको आयस्रोत हाल पर्वपूजा चलाउन अपुग भएको संस्कृतिकर्मीहरूले बताए।
काठमाडौँको पचलीस्थित लक्ष्मेश्वर मन्दिरका पुजारी बागेश्वर राजोपाध्याय भन्छन्, ‘गुठी जग्गा बासाठ्ठी हरण र मोहियानी हकका नाममा कति सिध्याइयो, बाँकी रहेका तैनाथी जग्गा पनि अब यस विधेयकले बाँकी नराख्ने भयो।’
के छ दफा २३ र २४ मा?
प्रस्तावित विधेयकको दफा २३ गुठीको हक र दायित्व प्राधिकरणमा सर्ने भन्ने बारे छ। उक्त दफाको उपदफा (१)अनुसार सबै छुट गुठी र सार्वजनिक गुठीलाई स्वतः राजगुठीमा परिणत गर्ने भनिएको छ।
guthi vidheyak
राजगुठीमा परिणत भएपछि त्यसको जिम्मेवारी, सञ्चालन र भोगचलन सबै राज्यबाटै हुन्छ। राजगुठीले सरकारी गुठीको लगतमा दर्ता भएको अमानती गुठी र छुट गुठी एवं गुठी संस्थानले सञ्चालन गर्दै आएको गुठी पर्दछन्।
यसरी राजगुठीमा परिणत भएपछि उक्त गुठीका नाममा रहेका सबै चल–अचल सम्पत्तिमा गुठीयारको कुनै हक र दायित्व नरहने विधेयकको दफा २३कै उपदफा (२)मा उल्लेख छ।
त्यसैगरी, विधेयकको दफा २४ मा गुठीयारको अधिकार स्वतः समाप्त हुने उल्लेख छ। विधेयकको यसै दफाको उपदफा (१)मा कुनै पनि कागजपत्र, दानपत्र, रुक्का, लालमोहर, खड्ग निशाना, सनद वा कुनै पनि लिखत अमान्य हुने उल्लेख छ।
यससँगै, अदालती फैसला, आदेश, मिलापत्र वा निर्णय तथा धार्मिक स्थलमा परम्परागत रूपमा गुठीयारको कुनै पनि भूमिका पनि यस विधेयकबाट निष्क्रिय हुनेछ।
‘सरोकारवालासँग सल्लाहबिनै विधेयक’ — केदारभक्त माथेमा
विधेयकबारे बोल्दै प्रा.डा. केदारभक्त माथेमा भन्छन्, ‘यस्तो विधेयक कहाँबाट कसरी आयो भन्ने कसैलाई अत्तोपत्तो नै छैन।’
यसपछाडि कुनै राजनीतिक चलखेल रहेको देख्छन्, सम्पदा अभियन्ता कृपेन्द्र अमात्य। कार्यक्रममा बोल्दै उनी भन्छन्, ‘छायाँदेवीको विवादबारे सरोकारवालाले पार्टी कारवाहीको डर देखाए।’
यसरी सरोकारवालाको कुनै पनि संलग्नता वा भूमिका नरहनाले गुठियारको अपनत्व हराउने र यसले गर्दा संस्कृतिको मर्म हराएर जाने डा. माथेमा बताउँछन्।
उनी थप्छन्, ‘यसरी सरोकारवालासँग केही सल्लाहबिनै यस्तो विधेयक बनाइयो। यस्तो विधेयक पास हुनै हुन्न।’
प्राज्ञ दीपक ज्ञवाली पनि यस विधेयकले राष्ट्रियकरणका नाममा साझा स्रोतसाधनको मूल्यमान्यतालाई बिगार्ने बताउँछन्। उनी थप्छन्, ‘गुठीले यस्ता साझा स्रोतसाधन आफै व्यवस्था गर्छ, राज्यले यसलाई सहजीकरण मात्र गरे पुग्छ।’
‘गुठीको जग्गामा आँखा लगाइयो’ — बागेश्वर राजोपाध्याय
यो विधेयकले गुठीका नाममा रहेका जग्गालाई मास्न झन् सजिलो गर्ने टेकु, पचलीस्थित लक्ष्मेश्वर मन्दिरका पुजारी बागेश्वर राजोपाध्याय बताउँछन्।
‘गुठीका धार्मिक जग्गामा मोहीका नाममा आधा–आधा सम्म गर्न पाउने, अर्को आधा भाग गुठीका नाममा नराख्नाले धेरै जग्गा मासिएका छन्,’ उनी थप्छन्। गुठीको जग्गा किनबेच गर्न नदिँदा आफूलाई ज्यानको धम्की समेत आएको पुजारी राजोपाध्याय बताउँछन्।
नरदेवी ङतभुलु अजिमाका दोस्रो नाइके मचाराज डंगोल भन्छन्, ‘नरदेवीको पनि १०७ रोपनी सुनछाना गुठी र ५४ रोपनी छुट गुठी अब यो विधेयकले रैतानी गरी सिध्याउँछ। हामीलाई केही अधिकार नै हुँदैन। त्यसैले यो विधेयक पास हुनै हुन्न।’
प्रकाशित: Jun 05, 2019 | 20:16:22

Rajopadhyaya in News: गणतन्त्रमा पनि बन्द खुलामञ्च, सिध्याइयो संस्कृति

गणतन्त्रमा पनि बन्द खुलामञ्च, सिध्याइयो संस्कृति
·                                                                                                                   -  आभास धरानन्द राजोपाध्याय जेठ १५, २०७६ | बुधबार | काठमाडौं




काठमाडौंको मुटुमै छ खुलामञ्च। चारैतिर बार । अनि केही नयाँ संरचना बनाई सटर पनि भाडामा लगाइएको थियो। खुल्ला ठाउँ बिस्तारै मिचियो, तर पनि नाम चाहिँ अझै छ — ‘खुलामञ्च

इतिहासका हरेक परिवर्तनको साक्षी बनेको छखुलामञ्च। पञ्चायती व्यवस्थामा टुँडिखेल बनाइएको थियो, तर त्यहाँ आवाज उठ्यो प्रजातन्त्रको। पञ्चायतकालमा जनमत संग्रह घोषणापछि कांग्रेस नेता बीपीले खुलामञ्चबाटै भाषण गरेका थिए। जनमत संग्रहको नतिजापछि मनमोहन अधिकारीले पनि खुलामन्चलाई नै प्रयोग गरेका थिए। अर्थात्, बहुदलीय व्यवस्था र प्रजातन्त्रका लागि महत्त्वपूर्ण भाषण खुलामञ्चमै भएका थिए।
त्यसयता पनि विभिन्न राजनीतिक पार्टीहरूले लोकतान्त्रिक अभ्यासका लागि खुलामञ्चको प्रयोग गरिरहेका थिए। वैशाख २०७२ को भूकम्पपछि भने खुलामञ्चलगायत टुँडिखेलजस्ता खुला क्षेत्रले काठमाडौँवासीलाई ठूलो आश्रय दिएको थियो।


बृहत्तर टुँडिखेलको भाग हो खुलामञ्च
हाल खुलामञ्च संकुचित भइसकेको छ। पहिले खुलामञ्च भनेर चिनिने ठाउँलाई टुक्र्याएर अस्थायी बसपार्क, सटर लगाई भाडामा दिइएको ठाउँ आदि पर्दथ्यो। तर खुलामञ्च अहिले मञ्च र त्यसवरपरको बन्द क्षेत्रमा सीमित भएको छ।

टुँडिखेलकै भाग थियो पहिले खुलामञ्च। धनवज्र वज्राचार्यद्वारा सम्पादित त्रिरत्नसौन्दर्यगाथामा नयराज पन्तले टुँडिखेललाई प्रत्यङ्गिरादेवी र वज्रभैरवले वज्रतुण्डी देवीलाई दाइजो दिएको ठाउँ हुनाले तुण्डीक्षेत्र तुण्डीखेलभनिएको उल्लेख गरेका छन्। टुँडिखेलकै मैदानमा भएका महाङ्काल देवतालाई टुँडिभैरव पनि भनिन्छ।

टुँडिखेल नेपालभाषामा तुंख्यः (वा तुंख्यो)को अपभ्रंश हो। यसको अर्थ पानी भएको मैदान भन्ने हुन्छ।
टुँडिखेलको केही भाग सेनाले आफ्नो नियन्त्रणमा लिएपछि यो दुई टुक्रामा बाँडियो टुँडिखेल र सानो टुँडिखेल। त्रिभुवन आर्मी क्लबको क्षेत्रतिर भिरमा थियो, सानो टुँडिखेल। इतिहासकार डा. महेशराज पन्त भन्छन्– ‘त्यही ओरालोतिर एउटा कमलपोखरी पनि थियो।यो हाल दशरथ रंगशाला भएको क्षेत्रतिर पर्दछ।

टुँडिखेल पनि अर्को ठूलो मासवखेलको एउटा अंश थियो। टी डब्लु क्लार्क (१९५७)का अनुसार मासवखेलको दक्षिणको एउटा भागलाई टुँडिखेल भनिन्छ। काठमाडौँको रानीपोखरीसम्बन्धी अभिलेखको पंक्ति २६ मा मासवखेलको उल्लेख पाइन्छ।

मासवखेल कति ठूलो थियो भन्ने जानकारी कतै छैन। काठमाडौँको इटुम्बहालस्थित केशचन्द्र महाविहारबाट प्रत्येक फागू पूर्णिमा (होली पूर्णिमा)का दिन गुरुमाप्पालाई टुँडिखेलमा ख्वाउने परम्परा छ। उक्त स्थल पनि बृहत्तर टुँडिखेलमै पर्दछ।
त्यस्तै, काठमाडौँलाई सुरक्षा दिने आठवटा अजिमा देवी छन्। तीमध्ये भद्रकालीस्थित लुँःमधि भद्रकाली अजिमा (कौमारी), कमलादी क्षेत्रको पासिक्वः अजिमा (ब्रह्मायणी), माइतीघर क्षेत्रको फिब्वः अजिमा (वाराही) र नारायणहिटी क्षेत्रको चन्द्रलखु अजिमा (महालक्ष्मी) पर्दछन्। यीमध्ये लुँःमधि भद्रकाली हाल टुँडिखेलनजिक छ।

तर यी सबै अजिमा मन्दिरहरू बृहत्तर टुँडिखेलसँग सम्बन्धित हुनसक्ने स्थानीयवासी बताउँछन्। यदि यस्तो हो भने, यसले मासवखेल (अर्थात् बृहत्तर टुँडिखेल) कत्रो थियो होला भन्ने अनुमान लगाउने आधार दिन्छ।

मल्लकालदेखि घोडादौडको चलन
धनवज्र वज्राचार्यद्वारा सम्पादित त्रिरत्नसौन्दर्यगाथामा नयराज पन्तले टुँडिखेलमा मल्लकालदेखि नै घोडा दौडाउने प्रचलन रहेको उल्लेख गरेका छन्। हालको लुँमधि अजिमा (भद्रकाली) यो चलनको पुरानो स्वरूपमा नभए तापनि हाल नेपाली सेनाले घोडेजात्रा मनाउने चाहिँ गरेको छ।

राजेन्द्रविक्रम शाहका पालामा पनि चीनबाट टांगन, भोटे, अरबीलगायत विभिन्न जातका घोडा ल्याइन्थे। त्यसक्रममा टुँडिखेलमा प्रतिदिन घोडा दौडाइन्थ्यो। नयराज पन्तका अनुसार त्यसबेला मुख्यमुख्य घोडाको घाँटीमा रत्नजडाउ हैकममाला लगाईदिएको हुन्थ्यो।

खुलामञ्चमा बिस्केटको लिङ्गो उठाइन्थ्यो’ — डा. महेशराज पन्त
खुलामञ्चको अहिलेको अस्थायी बसपार्कसँगै छ, द्विमाजु देवीको मन्दिर। द्विमाजु देवीको व्याख्या डोयहरूको माजु वा दुइँयाहरूको माजुका रूपमा गरिएको छ। द्विमाजु देवीको मन्दिर काठमाडौँ उपत्यकामा धेरै छन् र अझ लाय्कु (मल्लकालीन राजदरबार क्षेत्र) भित्र पनि छ।

द्विमाजु देवीको सम्बन्ध काठमाडौँको केलटोलस्थित लुचुभुलु अजिमासँग हुनसक्ने डा. महेशराज पन्त बताउँछन्। अझ लुचुभुलु अजिमाको मन्दिर केलटोलमा, द्यःछेँ (देवताको घर) वीर अस्पताल अगाडि महाबौद्ध क्षेत्रमा र पीठ चाहिँ द्विमाजु देवीको यो मन्दिर हुनसक्ने डा. पन्त अनुमान गर्छन्।

उनी थप्छन्, ‘पहिले म सानो हुँदा बिस्केट जात्राको लिङ्गो खुलामञ्चस्थित द्विमाजु देवीको मन्दिर क्षेत्रमा ठड्याइन्थ्यो।स्मरणीय छ, भक्तपुरको लोकप्रिय बिस्केट जात्रा भक्तपुरबाहेक टोखा लगायत अन्य क्षेत्रमा पनि मनाइन्छ।

तर हाल द्विमाजु देवीको मन्दिर रत्नपार्कको दक्षिण कुनामा बन्द अवस्थामा छ। वरपर फलामे बार लगाइएकोले सर्वसाधारणलाई त्यहाँ जान दिइँदैन।
व्रतबन्धमा यहाँ सात पाइला हिँड्नुपर्थ्याे
काठमाडाैँको न्हैकन्तला टोल निवासी बिराजकाजी राजोपाध्यायसँग खुलामञ्चको द्विमाजु देवीको सम्झना छ, ‘त्यतिबेला यो ठाउँ खुल्ला थियो।

काठमाडौँ उपत्यकाका द्यःभाजु राजोपाध्याय समुदायको व्रतबन्ध कर्म गर्दा शहरबाहिर सात पाइला हिँड्ने चलन छ। पहिले काठमाडौँका राजोपाध्यायहरूले द्विमाजु देवीकै मन्दिर परिसरमा सात पाइला हिँड्नु पथ्र्यो।

बिराजकाजी राजोपाध्याय र उनका दाइ राजीवकाजी राजोपाध्याय दुबैले व्रतबन्धका क्रममा त्यहीँ सात पाइला हिँडेका थिए। तर हाल आएर यो चलन हराइसकेको छ, कारण द्विमाजु देवीको मन्दिर अब खुल्ला छैन।
हाल आएर शहरबाहिर नभई नजिकैको गणेशस्थानमा यसरी सात पाइला हिँड्ने चलन व्याप्त छ।

देवाली पूजाको क्षेत्र अतिक्रमित 

सिथि नखः (कुमार षष्ठी) आउँदै छ। सो दिन नेवाः समुदायका लागि महत्वपूर्ण चाड हो। कारण, प्रायःले यो दिन आआफ्नो देवाली पूजा गर्दछन्।

बृहत्तर टुँडिखेलका विभिन्न क्षेत्रहरूमा नेवाः समुदायले आफ्नो देवाली पूजा गर्ने चलन रहिआएको छ। हालको रानीपोखरी, रत्नपार्क, खुलामञ्च, सैनिक मञ्च र सानो टुँडिखेलमा गई अझैं पनि देवाली पूजा गर्ने चलन छ। सेना तथा अन्यले नियन्त्रण गरेका ठाउँहरूमा देवाली गर्नेहरूले भने कि परम्परा छोड्दै गए, कि चाहिँ अन्यत्र पूजा गर्न थाले।

भक्तपुरमा सेनाको नियन्त्रणमा रहेको रानीपोखरी क्षेत्रमा देवाली पूजा गर्न जाने नेवाः समुदायका लागि भक्तपुर नगरपालिकाकै नेतृत्वमा सो क्षेत्र खुला गराउन पहल चलिरहेको छ।

त्यस्तै स्थिति काठमाडौँमा पनि छ। काठमाडौँको खुलामञ्चलगायत बृहत्तर टुँडिखेल यसरी मासिँदा झन् काठमाडौँ महानगरपालिका सक्रीय रूपमा अगाडि आउन नसक्नु दुःखद् छ।

पञ्चायती व्यवस्थाले खुलामञ्च बनाए पनि त्यो मञ्च लोकतन्त्रका लागि बढी उपयोग भएको छ। यसरी लोकतान्त्रिक गणतन्त्र पद्धतिसम्म आइपुग्दा झन् जनताको मैदानमाथि यसरी आक्रमण हुनाले लोकतन्त्रलाई र जनतालाई नै गिज्याइरहेको छ।
प्रकाशित: May 29, 2019 | 20:14:47