Tuesday, December 5, 2017

Rajopadhyaya in news : खोजौँ, म को हुँ ? - आदित्यमान श्रेष्ठ



खोजौँ, म को हुँ ?

मङ्गलबार, १९ मङि्सर २०७४, ०९ : ०५ |  आदित्यमान श्रेष्ठ

 

खोज गरेर आफ्नो पहिचान पत्ता लगाउन मन लाग्छ । यसै भावनाले घोचेर म पनि यो प्रयत्नमा जुटेँ । मेरो नाउँमा कसैले ‘श्रेष्ठ’ जोडिदिएकाले म एउटा नेवार हुँ भन्ने ठानेँ । तर नेवारहरू विचित्रको समुदाय रहेछ र यो यति सम्मिश्रित भएको रहेछ कि आफ्नो यथास्थान फेलै पर्न कठिन देखेँ । न जात, न धर्म, न स्थान, न वंशज कुनै पनि यकिन गर्न सकिएन । केही वर्ष अगाडि मेरो एक जना भाइले ‘बजिमय’ लेख्न थाले । ए, हामी त बजिमय पो रहेछौँ भन्ने भयो । डोटीका एक भाइले केही वर्षदेखि नाउँको आखिरीमा ‘मल्ल’ लेख्न थाले । उनले यो नयाँ उपनाम अध्ययन अनुसन्धान गरेर लेखेको बताए । के म पनि मल्ल हो ? जयस्थिति मल्लले चौधौँ शताब्दीमा नेवार समाजलाई ४ वर्ण ६४ जातमा विभाजन गरेछन् । यसमा आफू कतापर्ने रहेछु भनेर पत्ता लागेन । म कहाँको नेवार हुँ भनेर पत्ता लगाउनु अरू कठिन भयो किनभने नेवार राज्य ५ भागमा बाँडियो तर आफू जन्मँदा ती सबै हराइसकेका थिए । त्यसपछि कस्तो किसिमको नेवार हुँ भन्ने जिज्ञासा उठ्न थाल्यो । यो जिज्ञासा उठ्नु एउटा अर्को कारण पनि छ । मेरो विवाहमा पाँच थरे र छ थरे भन्ने प्रश्नले ठूलो आँधी आएको थियो । केटा पाँच थरे केटी छ थरे भएकाले या केटा छ थरे केटी पाँच थरे भएकाले गडबड भएको भन्नेबारे मेरो चिन्ताको विषय थिएन । तर खलबल त भएकै थियो । त्यसले मेरो जिज्ञासालाई अरू ऊर्जासम्म दिएको हो ।

सबभन्दा सजिलो र विवादरहित पहिचान भनेको नेपाली हुुनु र कहलिनु नै हो । त्यसपछि अरू पहिचान खोज्दै गरे हुन्छ ।
पुरातात्विक अनुसन्धानकर्ता जनकलाल शर्माको किताबबाट थाहा लाग्यो कि नेवारी समाजमा छ थरे श्रेष्ठहरू अतिरिक्त समूहका हुन् । त्यस समूहमा कर्माचार्य, गुर्वाचार्य, जोशी आदि अनेक पर्दा रहेछन् । यिनीहरू सबै नेवारी समाजको हिन्दू हाँगातिर रहेछन् । यस हाँगा अन्तर्गत राजोपाध्याय, उपाध्याय आदि पनि पर्दा रहेछन् जसलाई देयभाजु पनि भन्दा रहेछन् । यसै हाँगातिर धोबी, कसाई, कुशुले अर्थात् कपाली, पोडे, च्यामे र कुलु पनि समावेश गरिएका रहेछन् । अर्को हाँगा बौद्ध धर्मावलम्बीलाई राखिएको रहेछ । यतातिर पाइएका छन् — वज्राचार्य, शाक्य अर्थात् बाँडा, उदास अर्थात् तुलाधर, ताम्रकार, कंसाकार, अमात्य, प्रधान, राजभण्डारी । यसै हाँगा समूहमा ज्यापू, कुमाल, चित्रकार, साल्मी अर्थात् मानन्धर, नापित, तण्डुुकार, कौ र कतै कतै पोडे र च्यामे पनि समाविष्ट भएका रहेछन् ।

शर्माजीले यो पनि लेख्नुभएको छ कि नेवारी समाजमा धार्मिक सहिष्णुता भएको हुँदा वज्राचार्य, शाक्य, उदास, राजोपाध्याय र उपाध्यायबाहेक अरू नेवारहरूलाई हिन्दू या बौद्ध धर्म मात्र मान्छन् भनेर तोक्नु कठिन छ । किनभने, उनीहरू दुवै धर्मलाई मानेका देखिन्छन् । म पनि यसै समूहभित्र पर्ने हुनाले दुवै धर्म मानेको रहेछु भनेर पत्ता लाग्यो । यिनमा कति परिवार यस्ता पनि रहेछन् जो बौद्ध र हिन्दू दुवै पुरोहितलाई एकै कार्य साथसाथै लगाउँछन् । त्यसैले होला मेरो आफ्नै परिवारमा धेरैजसो संस्कार कुनै पनि हिन्दू पुरोहितबाट हुन सक्छ तर ईहीको कर्मकाण्ड केवल देउभाजुबाट मात्र गराउने चलन छ ।

नेवार समाजको जाति भिन्नतालाई जोड्ने कसी नेवारी भाषालाई मान्छन् । त्यसैले शर्माजीले पनि नेवार कुनै जाति नभएर यो नेवारी भाषा बोल्ने एउटा समूह मात्र हो भनेर पनि लेख्नुभएको छ । त्यही कुराको पुष्टि इतिहास शिरोमणि बाबुराम आचार्यले पनि गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘भारतबाट ब्राह्मण, क्षत्री, वैश्य, कृषक, शिल्पकार, डूम र दुसाद आदि सबै जातिहरू आएका हुन् । यिनीहरूसँग विवाहवारी गर्दै पछि पछि पनि उत्तरप्रदेश र बिहारतर्फबाटै आर्यवर्गका साना साना टोलीहरू निरन्तर आउँदै रहे । यसरी आउने गर्दा एक दुई पुस्ताका बीचमा आफ्ना बोलीहरू बिर्संदै आएर नवागन्तुकहरूले पनि नेवारी बोलीलाई नै ग्रहण गर्न थालेको झलक पाइन्छ । बिहारतिरबाट आएका थारू वर्गका कुह्माल, दरै, धोबी र यस्तै अन्य शिल्पकारहरू पनि पहिले नै नेवारी समाजमा घुलमिल भइसकेका थिए । यसै क्रममा डूम र दुसादहरू क्रमैले पोडे र च्यामे कहलिए । त्यसैगरी सिम्रौनगढ राज्यका कर्णाटहरूको चाल चलन र वेशभूषा मात्र होइन, त्यस राज्यका केही सिपालु कर्मचारीहरू पनि नेपालमा स्थायीरूपमा बस्न आएका देखिन्छन् । यस समयमा आएका महाजू र कसजू नामक दुई थरहरू विशेष पहिचान गरिएका छन् । उनीहरू पनि नेवारी बोल्न थाले । महाजू कर्र्णाट राजवंशका मन्त्रीवर्गमा र कसजूहरू लेखाध्यक्षका रूपमा कार्यरत रहेका थिए । मन्त्रीहरू तिनताक महामात्य वा अमात्य कहिन्थे । महामात्य शब्दकै नेवारी रूपान्तर महाठ शब्द तिनताक निकै प्रचलित थियो । यसबाट पनि स्पष्ट पहिचान खुल्न सकेन ।

नश्लको पहिचान गर्ने दोस्रो कसी भाषा वा बोली रहेको छ । बाबुराम आचार्यको भनाइमा जुन समुदायका मानिसहरू आर्य भाषा परिवारका बोलीहरू बोल्छन् ती आर्य नश्लका र जो किराँत भाषापरिवारका बोली बोल्छन् ती किराँत नश्लका मानिन्छन् । तर कहीँकहीँ एउटा नश्लको समुदायले आफ्नो बोलीलाई भुलेर छिमेकमा रहेका अर्का नश्लका जनताका बोलीहरूलाई ग्रहण गरेका दृष्टान्त पनि प्रशस्त पाइन्छन् । यसको प्रत्यक्ष भएर नेपालको तराई क्षेत्रमा रहेका थारू, दनुवार र कुम्हालहरू नै रहेका छन् । यिनीहरूको रङरूप मङगोलक छ तर बोली भने यिनीहरू आर्य भाषा परिवारका बोली नै बोल्छन् । आर्यावर्तीय आर्यहरूमा ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र गरी चार वर्ण वा जातको भेद हुन्छ तर थारूहरूमा भने यस्तो भेद पाइँदैन । यसैले यिनीहरू पनि किराँतमा नै गनिन्छन् चाहे आर्य भाषा परिवारका बोलीहरू बोल्छन् । नेपालमा रहेका किराँतहरूमा प्रायः बोलीले नै जात छुट्याउँछ । जस्तै मगर, गुरुङ, मुर्मी, सुनुवार, थामी, ह्वायु, चेपाङ, बरामू, धिमाल, लिम्बु, राई आदि मंगोल परिवारका बोली बोल्छन् । तर नेवार समाजमा भने किराँती बोली मातृभाषा भए तापनि आर्यहरूकै जस्तो जातभात र छुवाछूतको भेदभाव रहेको पाइन्छ । यिनीहरूको रङ्गरूपमा पनि आर्य नश्लका लक्षण प्रशस्त देखिन्छन् । यसैले यिनीहरू जातिगतरूपमा किराँत वर्गका होइनन् भन्ने निश्चय गर्न सकिन्छ । आर्य नश्लको यस जनसमुदायले नेपालको केन्द्र स्थलमा आएर आफ्नो मातृभाषालाई परित्याग गरी नेवारी बोलीलाई ग्रहण गरेर कसरी नेवार कहलायो, यो बडो कौतुकको विषय बन्न आएको छ । त्यही कौतूहलमा म पनि बिलाएँ ।

नेवारी समाजमा किराँती, लिच्छवि, मल्लहरूको सम्मिश्रण भएकाले म कुन समूहमा परेछु भनेर पत्ता लगाउन प्रयत्न गरेँ । तर यकिनसाथ भन्न गाह्रोे देखेँ । चारै तिरबाट आएर मिसिएको समुदायमा आफ्नो पहिचान पाउने तरिका एउटा नश्ल पनि हो । यसबाट पहिचान खुल्न सक्छ कि भनेर पनि कोसिस गरियो । जस्तो कि बाबुुराम आचार्यले भन्नुभएको छ, ‘आर्य नश्लको लक्षणमा गोरो वा गहुँगोरो वर्ण, अग्लो कद, बाक्लो दाह्री जुँगा, लामो र तिखो नाक, फराकिलो निधार र ठूला ठूला आँखा मुख्य मानिन्छन् । आफूमा यसमध्ये केही मिल्छ केही मिल्दैनन् । तर पश्चिमोत्तर भारतबाट पूर्वतर्फ आएपछि हावा, पानी तथा स्थल विशेषको प्रभाव र अनार्य नश्लका जातिहरूसँगको रक्त सम्मिश्रणले गर्दा आर्यहरूको शारीरिक बनावटमा उक्त लक्षणहरू क्रमिकरूपमा कम हुँदै आएका पाइन्छन् । उदाहरणका रूपमा नेपालको हिमाली क्षेत्रमा बस्ने किराँतहरूको रूपरङ मंगोल हुन्छ । अर्थात् नेप्टो नाक, हाड उठेको गाला, चेप्टो मोहडा, कम दाह«ी जुँगा र घुम ओडेका जस्ता आँखा मङ्गोलहरूका मुख्य लक्षण मानिन्छन् । तर पहाडी प्रदेशमा रहेका किराँतहरूमा भने यस्ता लक्षण आंशिकरूपमा मात्र पाइन्छन् । यसमा आफ्नो शारीरिक बनावट मिलाउन खोज्दा पनि मिल्दैन । यो पनि अप्ठेरो काम रहेछ भनेर पन्छाउनु प¥यो ।
म पश्चिम नेपाल अवस्थित रिडीबाट काठमाडौँ उपत्यकामा बसाइँ सरेको हो । त्यस ठाउँमा मेरा पुर्खाहरू कसरी पुगे भन्ने कथासम्म सुनिन्छ । भक्तपुरबाट बाग्लुङ, त्यहाँबाट डोटी, डोटीबाट रिडी आए भन्ने विश्वास गरिन्छ । हुन पनि बाबुराम आचार्यले इ.सं. १७६९ देखि १८०५ को बीचमा केही नेवारहरू काठमाडौँ उपत्यकाबाट  भगाइएका वा निकालिएका पनि थिए भनेर लेख्नुभएको छ । यिनका सन्ततिहरू पोखरा, पाल्पा, धनकुटा र डोटी आदि मुख्य मुख्य बजारमा बसिरहेका पाइन्छन् । पछि केही नेवारहरूले आफूखुसी बसाइँ सरेका थिए । तर म कुन झुन्डबाट आएको हो भनेर थाहा पाउन सकिएन । त्यसैले सबभन्दा सजिलो र विवादरहित पहिचान भनेको नेपाली हुुनु र कहलिनु नै हो । त्यसपछि अरू पहिचान खोज्दै गरे हुन्छ ।


Friday, December 1, 2017

Rajopadhyaya in News : चार सय वर्ष पुराना दाफा भजन नयाँ कलेवरमा



चार सय वर्ष पुराना दाफा भजन नयाँ कलेवरमा




राग र सात स्वर विश्वमा कहीँ पनि भिन्नता हुन्न । कुनै पनि देशको संगीतको परिचय गाउने शैली र स्वरको संरचनाले दिन्छ, त्यसमा आफ्नोपन हुन्छ ।
मंसिर १६, २०७४-हरेक दिन सबेरै उपत्यकाका नेवार टोल डुल्ने हो भने वृद्धहरू पाटीमा बसेर दाफा भजन गाइरहेका भेटिन्छन् । चार सय वर्षअघि नै कवि राजा सिद्धिनरसिंह मल्लले लेखेका नेपालभाषाका गीतहरूलाई ३२ वटा रागमा खिँ (मादलजस्तै ठूलो आकारको बाजा), टाँ (फलामको झयाली) र पोङ्गा बाजा बजाएर गाउने प्रचलन अझै पनि उस्तै छ । श्रुतिपरम्पराबाट दाफा भजन पुस्तान्तरण हुने क्रममा गीतको शब्द र भाव अस्पष्ट भएको, रागहरू अशुद्ध गाउने क्रम बढेपछि ललितपुर संस्कृति सम्वद्र्धन केन्द्रले संस्कृतिविद् छत्रबहादुर कायस्थ, संगीतकार जुगल डंगोललगायत विज्ञसँग मिलेर यसको पुन: खोज अनुसन्धान गरी राग र गीतहरूलाई लिपिबद्ध गर्नुका साथै दाफा भजन रेकर्ड गराइएको छ ।
केन्द्रले शुक्रबार पाटनको मोमदुगल्लीमा ललितपुर महानगरपालिका र विश्व बैंकसँगको सहकार्यमा कार्यक्रम गर्दै अनुसन्धानबाट प्राप्त भएका सिद्धिनरसिंह मल्लका ३६ गीत र रागहरूलाई लिपिबद्ध गरिएको कृतिसमेत लोकार्पण गरेको छ । नसचा: दाफा गुठीले सिद्धिनरसिंहका केही गीतहरू पनि प्रस्तुत गर्‍यो । 
मल्लकालीन राजाहरूले कृष्णलाई समर्पण गरेर दाफा भजनहरू लेखेको संस्कृतिविद् सत्यमोहन जोशीले बताए । एउटै गीतले त्यस बेलाको इतिहास बयान गरेको छ । त्यति बेलाको कला, भवन निर्माण विधा, गीतको शब्द, गाउने शैली सुन्दा त्यस बेला कलाको विकासक्रम कस्तो थियो भन्ने थाहा पाउन सक्छौँ,’ उनले भने, ‘मलाई त कस्तो लाग्छ भने हामी कलामा माथिल्लो ठाउँमा पुगेर बिर्सदै बिर्संदै झरेको जस्तो लाग्छ । अहिलेका हाम्रो कोसिस नयाँ आविष्कार गर्नुभन्दा पनि पहिलेकै ठाउँमा कसरी पुग्ने भन्नेमा छ ।

नेवार समुदायमा औपचारिक शिक्षाबिना देखेर वा श्रुतिपरम्पराबाट सीप हस्तान्तरण हुँदै आएको छ । पहिलेका पुस्ताले ज्ञान सही तरिकाले हस्तान्तरण नगरेकाले यस्तो भएको हुन सक्ने बताउँदै जोशीले राग गीतहरूको नोटेसन गर्दा अन्तर्राष्ट्रिय रूपमै दाफा परिचित हुन सक्ने सम्भावनातर्फ औंल्याए । प्राचीन कला संस्कृति जोगाउन संस्कृति मन्त्रालय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान बने पनि केही काम नभएको गुनासो गर्दै उनले भने, ‘प्राचीन कला, संस्कृति, संगीतको महत्त्व नै नबुझेका मानिस पदाधिकारी छन् । प्राचीन कला संस्कृतिलाई कसरी जोगाउन सकिन्छ भन्ने पक्षमा दृष्टि नै राख्नै सकेनन् । अनि कहाँबाट हुन्छ विकास ?’ 
गीत र रागहरूलाई लिपिबद्ध र रेकर्ड गरेर बिग्रिएका गीतलाई शुद्ध बनाउने कोसिस गरेको केन्द्रका सचिव वदनलाल न्याद्यौंले बताए । भने, ‘सांस्कृतिक र परम्परागत रूपमा स्थापित मान्यतालाई हामीले भत्काउन मिल्दैन । श्रुतिपरम्पराबाट सिक्दै आउने क्रममा बिग्रिन गयो । हाम्रो शास्त्रीय संगीतको स्वरूपको शुद्ध रूप लिखित रूपमा बुझाउने र बनाउने कोसिस गरेका हौँ ।सिकाइ हस्तान्तरण गर्न केन्द्रले नयाँ युवाहरूलाई सिकाउन थालिसकेको उनले सुनाए । यसलाई पाठ्यक्रमको रूपमा विकास गरी नयाँ पुस्तालाई सिकाउने लक्ष्य लिएको न्याद्यौंले सुनाए । 
रागहरूको लिपि र रेकर्डको जिम्मा संगीतकार जुगल डंगोलले सम्हाले । नेवारी संगीतलाई विस्तृत रूपमा अध्ययन गरेर नेपाली संगीत भनेर छुट्टै पहिचान दिलाउन उनले टिस्टुङको दाफा भजनबारे खोजी गरिरहेका बेला उनलाई संस्कृति सम्वद्र्धन केन्द्रले थप कामका लागि प्रस्ताव राख्यो । अचानकको प्रस्तावले खुसी भएका डंगोलले काम पनि सुरु गरिहाले ।
दाफा त सिद्धिनरसिंहको पालादेखिको अध्ययन भयो, संगीतको चलन त अझै त्योभन्दा पुरानो हो,’ उनले भने, ‘दाफा गाउने शैलीले नै नेपाली म्युजिकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्न सक्छ । नेपाली सांगीतिक पद्धति वा शास्त्रीय संगीत भनेर चिनारी दिनको लागि दाफालाई लिन सकिन्छ ।
नेपाली लोकबाजा बज्दैमा त्यो गीत नेपाली हुन्छ भन्ने उनी मान्दैनन् । भने, ‘राग र सात स्वर विश्वमा कहीँ पनि भिन्नता हुन्न । कुनै पनि देशको संगीतको परिचय गाउने शैली र स्वरको संरचनाले दिन्छ, त्यसमा आफ्नोपन हुन्छ ।
काम गर्दै जाँदा उनले धेरै नयाँ कुरा पनि सिकेको बताए । दाफा गाउँदा बजाइने खिं, टां, पश्चिमा, पोङ्गा बाजाबारे उनले थुप्रै जानकारी पाएको उल्लेख गर्दै उनले कान्तिपुरलाई सुनाए, ‘बाजा बजाउने र गीत गाउनेलाई मात्र नभई बाजा बनाउनेलाई पनि संगीतको ज्ञान हुनुपर्दाे रहेछ । अहिले बजारमा पाइने कतिपय बाजाहरू बेसुरा छन् । दाफा गाउँदा बजाइने टां र खिं बाजामै सा सुर बज्नुपर्छ । मेकानिकल मात्रै हैन रहेछ बाजा बनाउनु भनेको । गर्दै जाँदा यो कुरा थाहा पाएर अनौठो लाग्यो ।अहिले सुरमा बज्ने टां बनाउने मान्छेको पनि अभाव हुँदै गएकामा उनले गुनासो पोखे । जे भए पनि नेवारी शास्त्रीय राग र गीतहरूलाई लिपिबद्ध गरेर आधुनिक शैलीमा रूपान्तरण गर्ने कोसिस सुरु भएको छ,’ उनले भने, ‘यो सराहनीय काम हो ।’ 
कार्यक्रममा रामकृष्ण ताम्राकार, श्याम गोविन्द ताम्राकार, रुद्रलाल ताम्राकार, सानुलाल ताम्राकार, बाबुकाजी महर्जन, काजीबाबु महर्जन, ज्ञानलाल अवाली, अनिस ताम्राकार, मलिक ताम्राकार, सजक शिल्पकार, रसिक शाक्य, काजीबाबु व्यञ्जनकार, महेश शर्मा राजोपाध्यायले दाफा भजन प्रस्तुत गरेका थिए ।

प्रकाशित: मंसिर १६, २०७४

Rajopadhyaya in News : नयाँ पत्रिकाकर्मी राजोपाध्यायलाई पितृशोक

नयाँ पत्रिकाकर्मी राजोपाध्यायलाई पितृशोक
नयाँ पत्रिका काठमाडौं, १० मंसिर | मङि्सर १०, २०७४


नयाँ पत्रिकाकर्मी श्रीलोचन राजोपाध्यायलाई पितृशोक परेको छ । नयाँ पत्रिकाको खेलकुद डेस्क प्रमुख राजोपाध्यायका ८१ वर्षिय पिता घनश्याम राजोपाध्यायको आज बिहान काठमाडौं नरदेवीस्थित निवासमा निधन भएको छ ।
राजोपाध्याय मधुमेह र दमका विरामी थिए । सामाजिक कार्यमा सक्रिय उनका उनका ४ छोरा र श्रीमती छिन् ।
Source: