Tuesday, August 30, 2016

Rajopadhyaya in News : नरसिंह जात्रा मनाइयो

नरसिंह जात्रा मनाइयो
प्रशान्त माली, ललितपुर
ललितपुरको पाटनमा नरसिंह जात्राका अवसरमा देवगणसहित सर्वसाधारण ।प्रताप थापा/कान्तिपुर
भाद्र ८, २०७३- पाटनमा नरसिंह जात्रा मनाइएको छ । शान्त स्वभावको नरसिंहलाई मंगलबार नगर परिक्रमा गराइएको थियो । जात्रामा ताज, शिरविन्दु, भिपु माला लगाएका अप्सराको प्रतीकका रूपमा कुचो लिएका दुई बालिका अग्रपंक्तिमा थिए । उनीहरूले नरसिंह हिँडने बाटो सफा गर्ने भूमिकामा थिए । लगत्तै अर्का दुई बालिकाले गाईको दूध दूबोले छर्किएर बाटोलाई चोखो बनाइरहेका थिए ।

जात्रामा अप्सराको भेषमा १२ बालिकाले नरसिंहलाई नगर परिक्रमा गराएका थिए । जात्राको अन्त्यमा खुट्टामा अल: (एक प्रकारको रङ) कम्मरमा जबी, लच्कन भएको कपडा, ताय: माला, मुकुट लगाई नरसिंहको भेषमा एक पुरुषलाई नगर परिक्रमा गराइएको छ । धार्मिक मान्यताअनुसार मधु र कैटभ दैत्यको प्रतीकका रूपमा दुई पुतली नरसिंहको कम्मरमा बाँध्ने गरिन्छ । जात्रामा भुइँमा लतारेको दैत्यलाई हिरण्यकशिपु र हिरण्याक्षको प्रतीकका रूपमा लिइने उपाकर्म गुठीका थकाली हेरम्वानन्द राजोपाध्यायले बताए । कसैकसैले शुम्भनिशुम्भका रूपमा लिने गर्छन्,’ उनले भने, ‘मार्कण्डेय पुराणअन्तर्गत सप्तसती चण्डीको पहिलो अध्ययमा मध र कैटभ लेखिएको छ ।यात्रामा नरसिंहका स्त्री (शक्ति) सरस्वती र लक्ष्मीको भेषमा सजिएका दुई बालक नरसिंहको दायाँबायाँ बसेका थिए । नेवारीमा नरसिंह जात्रालाई उपाकुलं साया: भनिन्छ । यात्रामा लाखे नाच, धिमे, नायखि बाजा, भजन पनि सहभागी थिए । ६ कुल (षटुल) देवब्राह्मण (नेवार ब्राहमण) राजोपाध्यायहरूको उपाकर्म गुठीका प्रत्येक सदस्यले ज्येष्ठताका आधारमा पालैपालो खर्च गरी जात्रा मनाइने गरिएको छ । जात्रा व्यवस्थापन समिति अध्यक्षसमेत रहेका उपाकर्म गुठीका सदस्य रवीन्द्रधर राजोपाध्यायले बताए । जात्रा सञ्चालनका लागि उपाकर्म गुठीलाई ललितपुर उपमहानगरपालिकाले बर्सेनि १३ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ,’ उनले भने, ‘६ कुल भनिए पनि सुनधाराको कुल उतराधिकारीविहीन भएपछि अहिले ५ कुलका सदस्यले मात्र जात्रा सञ्चालन गर्दै आएका छन् ।

सो परम्पराअनुसार यस वर्षको जात्रा सञ्चालन गर्ने पालो वडा नं. १८ स्थित स्वथ टोलका अनन्त आचार्य राजोपाध्यायको छ । उपाकर्म गुठीको हस्तलिखित ग्रन्थमा नेपाल संवत् ८६९ अर्थात् विसं १८०६ देखि जात्रा सुरु भएको अभिलेख पाइन्छ ।
प्रकाशित: भाद्र ८, २०७३

No comments:

Post a Comment