Wednesday, August 31, 2016

Tuesday, August 30, 2016

Rajopadhyaya in News : नरसिंह जात्रा मनाइयो

नरसिंह जात्रा मनाइयो
प्रशान्त माली, ललितपुर
ललितपुरको पाटनमा नरसिंह जात्राका अवसरमा देवगणसहित सर्वसाधारण ।प्रताप थापा/कान्तिपुर
भाद्र ८, २०७३- पाटनमा नरसिंह जात्रा मनाइएको छ । शान्त स्वभावको नरसिंहलाई मंगलबार नगर परिक्रमा गराइएको थियो । जात्रामा ताज, शिरविन्दु, भिपु माला लगाएका अप्सराको प्रतीकका रूपमा कुचो लिएका दुई बालिका अग्रपंक्तिमा थिए । उनीहरूले नरसिंह हिँडने बाटो सफा गर्ने भूमिकामा थिए । लगत्तै अर्का दुई बालिकाले गाईको दूध दूबोले छर्किएर बाटोलाई चोखो बनाइरहेका थिए ।

जात्रामा अप्सराको भेषमा १२ बालिकाले नरसिंहलाई नगर परिक्रमा गराएका थिए । जात्राको अन्त्यमा खुट्टामा अल: (एक प्रकारको रङ) कम्मरमा जबी, लच्कन भएको कपडा, ताय: माला, मुकुट लगाई नरसिंहको भेषमा एक पुरुषलाई नगर परिक्रमा गराइएको छ । धार्मिक मान्यताअनुसार मधु र कैटभ दैत्यको प्रतीकका रूपमा दुई पुतली नरसिंहको कम्मरमा बाँध्ने गरिन्छ । जात्रामा भुइँमा लतारेको दैत्यलाई हिरण्यकशिपु र हिरण्याक्षको प्रतीकका रूपमा लिइने उपाकर्म गुठीका थकाली हेरम्वानन्द राजोपाध्यायले बताए । कसैकसैले शुम्भनिशुम्भका रूपमा लिने गर्छन्,’ उनले भने, ‘मार्कण्डेय पुराणअन्तर्गत सप्तसती चण्डीको पहिलो अध्ययमा मध र कैटभ लेखिएको छ ।यात्रामा नरसिंहका स्त्री (शक्ति) सरस्वती र लक्ष्मीको भेषमा सजिएका दुई बालक नरसिंहको दायाँबायाँ बसेका थिए । नेवारीमा नरसिंह जात्रालाई उपाकुलं साया: भनिन्छ । यात्रामा लाखे नाच, धिमे, नायखि बाजा, भजन पनि सहभागी थिए । ६ कुल (षटुल) देवब्राह्मण (नेवार ब्राहमण) राजोपाध्यायहरूको उपाकर्म गुठीका प्रत्येक सदस्यले ज्येष्ठताका आधारमा पालैपालो खर्च गरी जात्रा मनाइने गरिएको छ । जात्रा व्यवस्थापन समिति अध्यक्षसमेत रहेका उपाकर्म गुठीका सदस्य रवीन्द्रधर राजोपाध्यायले बताए । जात्रा सञ्चालनका लागि उपाकर्म गुठीलाई ललितपुर उपमहानगरपालिकाले बर्सेनि १३ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ,’ उनले भने, ‘६ कुल भनिए पनि सुनधाराको कुल उतराधिकारीविहीन भएपछि अहिले ५ कुलका सदस्यले मात्र जात्रा सञ्चालन गर्दै आएका छन् ।

सो परम्पराअनुसार यस वर्षको जात्रा सञ्चालन गर्ने पालो वडा नं. १८ स्थित स्वथ टोलका अनन्त आचार्य राजोपाध्यायको छ । उपाकर्म गुठीको हस्तलिखित ग्रन्थमा नेपाल संवत् ८६९ अर्थात् विसं १८०६ देखि जात्रा सुरु भएको अभिलेख पाइन्छ ।
प्रकाशित: भाद्र ८, २०७३

Tuesday, August 16, 2016

Rajopadhyaya in news: गर्भवातीले हेर्न नहुने नृसिंह जात्रा





Source: http://nagarikplus.nagariknews.com/component/flippingbook/book/2709-nagarik-17-aug-2016/2-nagarik.html

Rajopadhyaya in news: उपाकलं सायाः अर्थात नृसिंह जात्रामा राज्य तथा पर्यटकीय दृष्टिकोणको अभाव



उपाकलं सायाः अर्थात नृसिंह जात्रामा राज्य तथा पर्यटकीय दृष्टिकोणको अभाव




narsing-jatra3
श्रावण ३२, ललितपुर

करिब ३ सय वर्ष अगाडीदेखि निरन्तर रुपमा छ कुल (षट्कुल) देवब्राम्हण (नेवार ब्राम्हण) राजोपाध्यायहरुको उपाकर्म 
गुठीका प्रत्येक सदस्यहरुले ज्येष्ठताका आधारमा पालैपालो आफ्नै खर्चमा सञ्चालन गर्दै आएको जात्रा हो ललितपुरको नृसिंह जात्रा । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन ललितपुरमा सञ्चालन हुने पुरानो धार्मिक र सांस्कृतिक महत्वको इतिहास बोकेको यो जात्रा ओझेलमा पर्दै गरेको सन्दर्भमा सम्भवतः पहिलो पटक यसबारे व्यापक प्रचारप्रसारको सहकार्यकालागि पत्रकार 
सम्मेलनको आयोजना गरिएको छ ।
भाद्र कृष्ण पञ्चमीका दिन मनाइने यो जात्रा यही आउँदो भदौं ७ गते मंगलबार सम्पन्न हुने सन्दर्भमा जात्राको आयोजनाको तयारी तथा जात्रा सम्बन्धित विविध पक्षबारे सूचनाप्रवाह तथा अन्तक्र्रियाकालागि यसपटकका पालोवाला अनन्तकान्त आचार्य राजोपाध्यायकै घरप्रांगनमा सो पत्रकार सम्मेलन आयोजना गरिएको हो । 
narsing-jatra-meet
मल्लकालदेखि निरन्तर सन्चालनमा रहेको ऐतिहासिक तथा साँस्कृतिक महत्वको यो जात्रा सन्चालनका लागि स्थानीय निकायबाट हुने सामान्य सहयोगबाहेक सरकारको तर्फबाट कुनै लागि आर्थिक स्रोत र सहयोगको अभावका कारण कठीन बन्दै गएको पनि आयोजकको भनाइ रहेको छ ।
सम्मेलनमा जात्राको रुट, यसमा प्रदर्शित हुने ललितपुरका काःबाजा लगायत विविध छालाका साँस्कृतिक बाजागाजा र भक्तिसंगीतका भजनटोली लगायत प्रारम्भ र अन्तमा हुने तान्त्रिक, बैदिक परम्पराका पूजाआजा तथा जात्राको साँस्कृतिक पक्षबारे 
राजोपाध्याय समाजका उपाध्यक्ष एवं वरिष्ठ संगीतकर्मी अमर राज शर्माले जानकारी गराउनु भयो ।
पाटनका देवब्राम्हण राजोपाध्यायहरु मध्यकाल समयमा राजा वा राजपरिवारका गुरु वा पुरोहित रहेको सन्दर्भ जोडदै यो जात्रा कहिलेदेखि शुरु भयो भने अहिलेसम्म पनि यकिनका साथ भन्न सकिने अवस्था नभएको तर उपाकर्म गुठीको हस्तलिखित ग्रन्थमा नेपाल संवत् ८६९ अर्थात वि सं १८०६ देखिको जात्राको मात्र अभिलेख रहेको ऐतिहासिक पक्षबारे जात्राका अध्येयता हेरम्बानन्द राजोपाध्यायले बताउनुभयो । राजोपाध्यायहरुको सीमित प्रयासले गर्दा जेनतेन सञ्चालन हुँदै आएको सो जात्रालाई राष्ट्रियस्तरमा व्यापक गर्दै जानुपर्ने खाँचो उनले औल्याउँनुभयो ।
‘मल्लकालीन वैभव र कलाको झझल्को दिने सो नाच ऐतिहासिक दृष्टिले महत्वपूर्ण छ, तर विश्वकै दुलर्भ सो नृसिंह जात्रा सञ्चालन गर्न उपाकर्म गुठीका सदस्यहरुलाई निकै मुश्किल हुँदै गएको छ । जनैपूर्णिमाका दिन श्रावणकर्मसँग सम्बन्धित देवब्राम्हणहरुको यस उपाकर्म गुठीको पालोवालाले नै प्रत्येक वर्ष आफ्नो पालो चलाउनु सौभाग्यको अवसर मानी सिमित श्रोत बावजूद चलाउँदै गरेको परम्परा हाल आएर खर्च धान्नै मुस्किल हुँदै गएको कारण लोप हुने जोखिममा रहेको छ । समितिका अध्यक्ष समेत रहनुभएका उपाकर्म गुठीका सदस्य रविन्द्रधर राजोपाध्यायले सम्मेलनमा बताउनुभयो ।
पर्याप्त रकम नभएपनि उपाकर्म गुठीका सदस्यहरुले जात्रा सञ्चालन गर्ने जिम्मेवारी आइपर्दा आफ्नो पुर्खादेखि सञ्चालन हुँदै आएको धर्मकर्मको काम भनेर निरन्तरता दिँदै आएको पाइएको छ । हालका दिनमा सो जात्रा सञ्चालनका लागि कम्तीमा २ लाख रुपैयाँ आवश्यक रहेको बताइएको छ । यति रकम खर्च गर्न नसक्दा उपाकर्म गुठीका कतिपय सदस्यहरुले जीवनमा एक पटक मात्र आउने आफ्नो पालो समेत बाध्य भई आफू भन्दा कनिष्कलाई पालो दिने गरेको घटनाहरु दोहोरिँदै गएको गुठीले जनाएको छ ।
‘यस्तो अवस्थाले निरन्तरता पाउँँने हो भने यस जात्रा आर्थिक व्यवस्थापनका कारण लोप हुने डर यद्यपि रहदैं आएको छ । यसैकारण संस्थागत रुपमा यसको सञ्चालन तथा राज्यको सहयोग लिन २०६९ सालदेखि विधिवत रुपमा नरसिह जात्रा व्यवस्थापन समिति दर्ता गरी प्रयासरत छौं । ’ समितिका अध्यक्ष राजोपाध्यायले भन्नुभयो । उनका अनुुुसार जात्रा सञ्चालनका लागि पैरवी गर्दै आएकोमा ललितपुर उपमहानगरपालिकाले वर्षेनी १३ हजार रुपैयाँ मात्र उपलब्ध गराउँदै आएको छ भने ललितपुर उद्योग वाणिज्य संघले पनि वर्षेनि ४ हजार रुपैयासम्म सहयोग गर्दै आएको छ ।
उपमहानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने भनि हरेक कार्यकारी अधिकृतको सार्वजनिक घोषणा तथा पर्यटकहरुको आर्कषणको केन्द्र रहेको पाटनको ऐतिहासिक रुटमा सम्पन्न हुने नृसिंह जात्रा यसरी संकंटमा पर्दै जानुले उपमहानगरपालिकाको सो नीति निस्प्रभावी देखिएको राजोपाध्याय समाजका अध्यक्ष बदनशर्मा राजोपाध्यायले औल्याउनुभयो । ‘साँस्कृतिक महत्वको यस्तो जात्राको संरक्षण जनस्तर भन्दा राज्यस्तरबाटै हुनुपर्नेमा यसप्रति उपमहानगरपालिकाको जिम्मेवार अधिकृतहरुको खासै ध्यान नजानु र त्यसैगरि पर्यटकीय दृष्टिकोणले पनि प्रवद्र्धन गर्न सकिने यस जात्रामा सरोकारको कमी रहनु खेदपूर्ण 
छ ।’ उहाँले भन्नुभयो ।
सम्मेलनमा अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष प्रमोद राज शर्माले जात्राको ऐतिहासिक पक्षमा प्रकाश पार्दै मल्लकालीन युगको तुलनामा शाहवंशीय राज्यकालमा उपाकर्म गुठीलाई अपहेलित देखिएको तथा जात्राको प्रवद्र्धनमा राज्यले त्यसैको निरन्तरतामा हाल पनि नैराश्यतापूर्ण व्यवहार गरेको प्रसंग जोडदै आफ्नो धारणा राख्नुभयो ।
narsing4
छ कुल भनिएपनि सुन्धाराको कुल उतराधिकारीविहीन भएपछि हाल पाँच कुलका सदस्यहरुले मात्र जात्रा सञ्चालन गर्दै आएको पाइएको छ । यी पाँच कुल (बःलिम्ह, स्वनिम्ह, तधँलीवी, वलानिम्ह र मण्डिछें) ब्राम्हणहरुले गुठीको जात्रा सञ्चालन गर्दै
आएको छ । सो परम्परा अनुसार यस वर्षको जात्रा सञ्चालन गर्ने पालो वडा नं १८ स्थित मण्डिछेँे, स्वथ टोल निवासी अनन्त आचार्य राजोपाध्यायको रहेको छ ।
जात्रो पालो लिने गुठीका सदस्यका ज्वाँई वा भाञ्जा मध्ये एक नरसिह बन्ने परम्परा अनुसार अनन्तराजोपाध्यायका ज्वाँई 
यशोधर राजोपाध्याय नरसिह बन्ने तयारी गरिरहनुभएको बुझिएको छ ।
‘पाँच पुस्तापछि मलाई जात्रा संञ्चालन गर्ने पालो आएको हो । बडो भाग्यले मात्रा जात्रा सञ्चालन गर्ने जिम्मेवारी आइपर्दछ । ’ 
यस वर्षको जात्रा सञ्चालक अनन्तआचार्य राजोपाध्यायले भन्नुभयो । उहाँले भन्नुभयो ‘आफ्नै खर्चमा जात्राको व्यवस्थापन गर्दछु । सरकार र स्थानीय निकायबाट जात्राको लागि रकम बन्दोबस्तो गरिदिए राम्रो हुने थियो । यसमा सरोकारवालाको ध्यानै 
गएन वा त्यहाँसम्म हाम्रो पहुँच नै भएन ।’
narsing-jatra2भाद्र महिनामा झरी र चर्को घाम, रोग तथा
महामारीकासाथै दैवीप्रकोपको उपद्रव शान्त पार्न हनुमान र नृसिंहको नाममा शान्तिपुजा
गर्ने चलन अनुसार विश्व शान्तिको समेत
कामना गरी मनाइने यस जात्राको मुख्य
आकर्षक पक्ष नृसिँहतिर फर्की हातमा धुप
लिएर प्रणाम गर्दै प्रल्हाद उल्टो पाइला चाल्दै नगर परिक्रमा गर्ने चलन रहेको छ । लक्ष्मी र सरस्वती नृसिँहको दायाँबायाँ रहने यो यात्रामा ६ जोडी कन्याहरुको पनि सहभागीता रहने
गर्दछ भने अन्ततिर मधुकैटवको प्रतीक पुतला प्रतीक मानिने दुई पुतला घिसारेर नगर परिक्रमा गराइन्छ। नगर परिक्रमा गर्ने क्रममा नरसिहको अघिल्लोपक्तिमा परम्परागत बाजागाजाका साथ भजन समूह, वाद्यय समूह, छत्र, कुचोले बाटो बढार्ने, दुबोले गाईको दूध र जल छर्कने, लावाअबिर छर्कने लगायत झाँकीहरु रहने गर्दछ ।
मधुकैटवको प्रतीक पुतला ढोगाउँदा रुन्चे लागेको बच्चा निको हुने र नृसिँहको भयंकररुपका कारण असर पर्नसक्ने भन्दै गर्भवती महिलाले यो जात्रा हेर्न नहुने विश्वास स्थानीयमा रहेको पाइन्छ ।
Photo courtesy: Nripendra Lal Shrestha, festivalandbeautyofnepal.blogspot.com
Source: http://eindepth.com/%E0%A4%89%E0%A4%AA%E0%A4%BE%E0%A4%95%E0%A4%B2%E0%A4%82-%E0%A4%B8%E0%A4%BE%E0%A4%AF%E0%A4%BE%E0%A4%83-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%A4-%E0%A4%A8%E0%A5%83%E0%A4%B8%E0%A4%BF/

Rajopadhyaya in news : नृसिँह जात्राको तयारी पूरा

नृसिँह जात्राको तयारी पूरा

मंगलबार, ३२  साउन, २०७३ मा प्रकाशित, 

http://imagekhabar.com/news/latest/society/7114

काठमाडौं, साउन ३२ । ‘उपाकल साया’को नामले प्रचलित नृसिँह जात्राको सम्पूर्ण तयारी पूरा भएको छ ।
विश्व शान्तिको कामना एवं दैवीप्रकोप नपरोस् भनी यो जात्रा आयोजना गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
भाद्र कृष्ण पञ्चमीका दिन मनाइने यो जात्रा भाद्र ७ गते परेको छ । यो वर्षको नृसिँह जात्रा आयोजनाको जिम्मा स्वँथका अनन्तकान्त राजोपाध्यायले पाएका छन् ।
बाजागाजा र भजनटोलीसहित अगाडि बढ्ने यो जात्रामा मधुकैटवको प्रतीक पुतला घिसार्दै ललितपुर सहर परिक्रमा हुने गर्दछ ।
नृसिँहतिर फर्की हातमा धुप लिएर प्रणाम गर्दै प्रल्हाद उल्टो पाइला चाल्दै नगर परिक्रमा गर्ने चलन रहेको छ ।
नृसिँहको दायाँबायाँ लक्ष्मी र सरस्वती बस्ने चलन छ भने यो यात्रामा ६ जोडी कन्याहरुको पनि सहभागीता रहने गर्दछ ।
मधुकैटवको प्रतीक पुतला ढोगाउँदा रुन्चे लागेको बच्चा निको हुने र नृसिँहको भयंकररुपका कारण असर पर्नसक्ने भन्दै गर्भवती महिलाले यो जात्रा हेर्न नहुने विश्वास स्थानीयमा रहेको पाइन्छ ।
जात्रा सन्चालनका लागि स्थानीय निकायबाट हुने सामान्य सहयोगबाहेक सरकारको तर्फबाट कुनै सहयोग प्राप्त नभएको आयोजकको भनाइ छ ।
मल्लकालीन यो परम्परा सन्चालनका लागि आर्थिक स्रोत र सहयोगको अभावका कारण कठीन बन्दै गएको पनि आयोजकको भनाइ रहेको छ ।
- See more at: http://imagekhabar.com/news/latest/society/7114#sthash.zQhIkM5e.dpuf

Friday, August 12, 2016

राजोपाध्याय वर्गमा विहेवारीको संकट– विजु सुवेदी ‘विजय’


लेख :– राजोपाध्याय वर्गमा विहेवारीको संकट
लेखक :– विजु सुवेदी ‘विजय’
Bijay Subedi Allareequal's Profile Photoनेमुनिले नेपाल खाल्डो वस्तीका लागि सुरुवात गरिसकेपछि गोपाल वंशदेखि काठमाडौं उपत्यकामा आदिवासी उपत्यकाली व्राम्हणका रुपमा राजोपाध्याय वर्गका व्राम्हणहरु अद्यापी वसोवास गर्दै आएका छन् । राजोपाध्याय भन्नाले राजाका उपाध्याय भन्ने बुझिन्छ । राज जोड उपाध्याय यसको प्रमाण हो । सबैभन्दा अगाडि जाँदा राजोपाध्याय वर्गहरु नेपाल भूमिमा वसोवास गर्दै आएको गोपाल वंशका मन्दिरका शिलालेखहरुमा उल्लेख पाइन्छ । त्यस्तै राजोपाध्याय वर्गहरुलाई नेवारहरुले जुजुबाज्या भन्दै आएका छन् । जुजु जोड बाज्या को अर्थ पनि राज जोड उपाध्यायकै अर्थ लाग्दछ । त्यसर्थ यि माथिका तथ्यहरुलाई केलाउँदा पनि राजोपाध्याय भनेको थर नभई जङ्गबहादुरका सन्तानहरुले जबरा लेखेजस्तै यो उपाधिमात्र भएको बुझिन्छ ।
थर राख्नका लागि उसको गोत्रअनुसार राख्नुपर्ने थर गोत्र प्रवरावली सम्बन्धी विभिन्न पुस्तकहरु हेर्दा थाहा हुन्छ । जस्तो कि भारद्वाज गोत्रअनुसार मेरो स्वयम्को थर सुवेदी राख्दै आएको छु । मभन्दा अघिका पुस्ताहरुले सबै व्राम्हणहरुलाई लाग्ने शर्मा थर राख्दै आएका थिए । यी शर्मा लेख्ने कुरा हाम्रै घरमा हाम्रा पुराना अग्रज पुस्ताहरुले पूजापाठ गर्ने पुराना लिपीमा लिखित पुस्तकहरुमा पनि उल्लेख पाइन्छ । यि कुराहरु हामीसँग प्रमाणका रुपमा अझै पनि छन्। यसको संरक्षण पनि हुनु जरुरी छ ।
वनारस संस्कृत भाषाको उद्गम स्थल हो । त्यहाँबाट काठमाडौं उपत्यकामा राजाका लागि उपाध्याय व्राम्हण मगाएर पुरोहित बनाउने चलन थियो । त्यही चलनअनुसार राजोपाध्याय बनाएका थिए । त्यसपछि मात्र राजोपाध्याय उपाधि पाएका थिए । त्यसपछि भने थर गोत्रअनुसार नराखी राजोपाध्याय टाइटलजस्तो गरी राख्दै आएका थिए । राजाकै मात्र जजमानी गर्दै आएको भएता पनि अन्य नेवारी समुदायहरुको पनि जजमानी गरेपछि दण्ड पाएर राजाको पुरोहित्याईं गर्नबाट वञ्चित भएको र राजोपाध्याय भएनौ भनेर खुलासा गरेको पनि सुन्न पाइन्छ अनि त्यसपछि भने यस राजोपाध्याय वर्गमा नेवारी परम्परा हावी हुँदै गएको पाइन्छ ।
राज उपाध्याय अर्थात राजोपाध्यायहरुले आफ्नो बंश विस्तारका लागि व्राह्मण परिवारहरु नै विवाह गरी वंश विस्तार गर्दै आएका थिए । अहिले आएर जातपात , छुवाछुत प्रथाको कागजी रुपमा अन्त्य भएता पनि नेवारहरुसँग पनि विहेवारी गरी जैसी वाहुनजस्तो पनि हुन थालेका छन् । तर समयको विस्तारसँगै यस व्राम्हण परिवारको विहेवारी राजोपाध्याय वर्ग वाहेकका व्राम्हण होस् वा क्षेत्री, वैश्य, सुद्र होस् यो वर्गले बहिस्कृत व्यवहार गरिरहेका छन् । व्राम्हण जात कट्टर जात हो यसमा दुईमत छैन तर राजोपाध्याय वर्ग त्योभन्दा पनि कट्टर जात । अहिले आएर पहिले–पहिले विहे गरेका पूर्वेली तथा पश्चिमेली जातका व्राह्णहरुसँग विहेवारी गरेकाहरुलाई पनि राजोपाध्याय वर्गले आफूभन्दा वेग्लै व्यवहार गरी भात भान्सामा अनुमती दिएको छैन । यो क्रम मल्लकालबाट सुरु भएको हो । त्यत्तिबेलादेखि राजोपाध्याय भित्रैबाट मात्र विहे भएकाहरु मात्र योवर्गले आफ्नो जात मान्न थाले । त्यसपछि यो संकटावस्थाको सुरुवात हुन थाल्यो ।
यस वर्गमा विहे गर्नलाई केटाका आफ्नो तर्फबाट ५ पुस्ता फरक र केटीको आफ्नो तर्फबाट ५ पुस्ता फरकमा नाता नपर्ने र फरक गोत्र भएमा मात्र विहेवारी गर्ने चलन अद्यापी छ । यो वैज्ञानिक पनि छ । तर राजोपाध्याय वर्गलाई यो नियममा पनि राजोपाध्याय वर्गनै चाहिने भएपछि अहिलेको पुस्ताहरुको वंश वृद्धि गर्नलाई बिहेवारी संकटको अवस्थामा आइपरेको छ । जसले गर्दा राजोपाध्याय मात्र भन्न रुचाउनेहरुको युवा उमेर वितिसक्दा पनि विहेवारी नगरी बसिरहनु परेको अवस्था छ ।
मैले थाहा पाए अनुसार हाम्रा पुस्ताका ४ जना व्राह्मणहरु सबैभन्दा पहिले वानारसको कान्यकुब्जबाट काठमाडौं उपत्यकालाई आफ्नो कर्मथलो बनाउन आएका थिए जुन हाम्रा पुराना पुराना ऐतिहासिक दस्ताबेजजस्ता कल्पवृक्षहरुमा उल्लेखित छन् । त्यो वंश वृद्धिहुँदै अहिले करिव करिव १०,००० को सँख्यामा वंश विस्तार भइसकेर हामी आदिवासी उपत्यकाली व्राह्मण छौं । यसरी वंश विस्तार हुनलाई अर्को जातको व्राह्मणलाई माथिको विहे सम्बन्धी नियम पालन गरी पुर्वेली तथा पश्चिमेली व्राह्मणहरुसँग विहे गरी भात भान्सा पनि चलाएरै अहिलेको राजोपाध्याय वर्गको सँख्यामा पुगेको अवश्य नै हो । यो पनि हाम्रा पुस्तेवारी देखाउने कल्पवृक्षहरुमा अद्यापी देख्न सकिन्छ तर अहिले आएर राजोपाध्यायभित्रैबाट यो माथिको विहेवारीको नियममा गर्ने गरेकाले गर्दा विहेवारी गर्नमा युवा उमेर नाघ्दा पनि यथोथित वर वा कन्या प्राप्त गर्न कठीनाई भोग्नु परिरहेको छ ।
लेखकको उद्देश्य भनेको आजको जातपातको अनि छुवाछुतको चलन हटिसकेपछि पनि यस्ता यस वर्गका जो कोहीले पनि यि माथिका कठीनाई भोग्नुपरेकोले यस्ता यि माथिका समस्याहरुको समाधानका लागि राजोपाध्याय वर्गले आफ्नो जात गोत्रअनुसार गरेर समस्या समाधान गरोस् भन्नाका खातिर हो । आगे यहाँहरुको मर्जी । यहाँहरुसँग पनि समाधान भए यस राजोपाध्यायसम्बन्धि पुस्तक प्रकाशनार्थ यस समूहमा आफ्ना सारगर्भित लेखले शोभा बढाइदिनुहुन शादर अनुरोध छ ।
२०७२ बैसाख ५
विजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

Source: 
https://www.facebook.com/bijusubedibijay?fref=nf