Friday, September 4, 2020

Rajopadhyaya in new : निषेधाज्ञामा रातो मत्स्येन्द्रनाथको रथ तानिँदा उठेका प्रश्न

खबर / विचार

निषेधाज्ञामा रातो मत्स्येन्द्रनाथको रथ तानिँदा उठेका प्रश्न

महामारीबीच सरकारले रातो मत्स्येन्द्रनाथ जात्रा व्यवस्थित गर्न नसकेकै हो? 






आभास धरानन्द राजोपाध्याय काठमाडौं - बिहीबार, भदौ १८, २०७७

926Shares

रातो मत्स्येन्द्रनाथ (बुंगद्यः) को रथयात्राबारे अनिश्चितताबीच जनताको धैर्यको बाँध टुटेको छ र आज स्वतःस्फूर्त रूपमा रथयात्रा सञ्चालन गर्न अग्रसर भए। कोभिड१९ महामारीबीच भीड गरेर रथयात्रा गरिनु जनस्वास्थ्यको दृष्टिकोणले खतरा त हो नै, तर महिनौँदेखि यसरी लथालिङ्ग हुन पुगेको जात्रामा गुठी संस्थानको नेतृत्वमाथि पनि यस घटनाले प्रश्न उठाएको छ।

पृष्ठभूमि हेर्ने हो भने कोरोना भाइरस सङ्क्रमण काठमाडौं उपत्यकामा देख्न थालेयता यस रथजात्राका लागि पटक-पटक असफल प्रयास भएका थिए।

सरोकारवाला पक्ष दुईतर्फ बाँडिएका थिए- जात्रा गर्नुपर्छ भन्ने पक्ष र यस्तो महामारीका बेलामा जात्रा गर्नु हुन्न भन्ने पक्ष। रथयात्राका लागि आवश्यक सामग्री जुटाउने, सबै पक्षसँग बैठक गरेर उचित निर्णय गर्ने र जात्राको सञ्चालन गर्ने जिम्मेवारी सरकारी स्तरमा गुठी संस्थानको हो। यसका लागि रातो मत्स्येन्द्रनाथको पाटनस्थित मन्दिर रहेको तःबहालमै रहेको गुठी संस्थानको ललितपुरको कार्यालय प्रमुख जिम्मेवार निकाय हो।

महामारीबीच जात्रा गर्ने कि नगर्ने भन्ने विवाद नै केही समय चल्यो र यसै बेलादेखि गुठी संस्थानको भूमिकामा प्रश्न उठेकै हो। एकातर्फ गुठी संस्थानलाई जात्रामात्रा सञ्चालन गर्नुपर्ने सांस्कृतिक दायित्व छ भने अर्कोतर्फ सरकारको आदेश पालना गर्नुपर्ने बाध्यता पनि छ। जनभावनाअनुसार रथयात्रा व्यवस्थित ढङ्गले सञ्चालन गर्ने वा महामारीका बेलामा जात्रा नगरी आवश्यक रीतिरिवाजमा सीमित गर्ने भन्ने दोधारमा गुठी संस्थान नराम्रोसँग चिप्लियो। 

निर्णयमा अलमल

महामारीकै छायामा गत जेठ ९ गते शुक्रबार ललितपुर महानगरपालिकामा बसेको बैठकले लकडाउनपछि उपयुक्त समयमा रथ बनाउने निर्णय गरेको थियो। रथ बनाउन सुरु भयो असार १० गते बुधबारबाट। 

यसपछि गुठी संस्थानले असार २४ गते बुधबार करुणामयको रथारोहण गर्ने निर्णय ग¥यो तर फेरि स्थगित गर्नुप¥यो। अनि, अर्को साइत निकालियो, साउन १० गतेका दिन १२ः०५ देखि १२ः२५ सम्मको।

सामान्य अवस्थामा वैशाख शुक्ल प्रतिपदा (बछलाथ्व १) मा करुणामयको रथारोहण गरी चतुर्थी तिथिमा जात्रा सुरु गरिन्छ। तर, यसपटक भने रथारोहण त भयो, रथजात्राको निर्णय भने हुन सकेन। यसका लागि केही दिनयता गुठी संस्थानमा पटकपटक बैठक डाकिएको थियो, तर पटकपटक ती बैठक स्थगित पनि गरिएका थिए। आज बिहानै पनि ११ बजेका लागि बैठक डाकिएकोमा त्यो पनि स्थगन गरिएको थियो तर स्थानीयले रथ तान्न खोजेपछि भने आकस्मिक बैठक बोलाइएको थियो। 

रथजात्रा विषयको यो अन्योल कायम रहँदा र ढिलो भइसक्दा पनि ठोस निर्णय पनि नहुँदा आजको स्थिति बन्न पुगेको हो। 

जात्रामात्रा जनहितार्थ गरिन्छ र यस्तो नौलो किसिमको महामारीका बेला जात्रा गर्दा जनहितलाई ध्यानमा राख्नैपर्छ।

जात्रामा ढिलासुस्ती : अझै कति पर्खने?

वैशाख महिनाबाट करिब एक महिना लामो चल्ने यो जात्राको भविष्य अहिले भदौ लाग्दासम्म टुंगोमा पुग्न सकेको छैन। प्रत्येक वर्ष दक्षिणायनअघि रातो मत्स्येन्द्रनाथलाई पाटनबाट बुंगमतीमा लग्नुपर्नेमा यस वर्ष कोभिड१९ महामारीका कारण यो यात्रा हुन सकेन।

दक्षिणायनअघि बुंगमती फर्काउनुपर्ने भन्ने एउटा कथन छ, त्यस्तै अर्को कथनअनुसार भने घटस्थापनाअघि नै मत्स्येन्द्रनाथलाई फर्काउनुपर्ने भन्ने छ। यस वर्ष अधिक मासका कारण दसैं पछाडि धकेलिएको छ र दोस्रो कथनअनुसार अझै पनि प्रशासनलाई केही समय छ। तर, संस्कृतिप्रेमी जनताको एउटै प्रश्न हो-अझै कति पर्खने?

जात्रा गर्नैपर्ने बाध्यताको आधार एउटा किंवदन्तीमा छ- ललितपुरले रातो मत्स्येन्द्रनाथको उचित सम्मान गर्न सकेन र जात्रा गरी समयमा बुंगमती पु¥याउन सकेन भने रातो मत्स्येन्द्रनाथलाई भक्तपुरमा लगिने छ। राजा नरेन्द्रदेव, आचार्य बन्धुदत्त र ज्यापू रथचक्रले मिलेर आसामबाट रातो मत्स्येन्द्रनाथलाई उपत्यकामा ल्याएको कथासँग जोडिन्छ यो किंवदन्ती।

जनता भर्सेस प्रशासन : जात्रा कसको?

जात्रा कसको भन्ने सबैभन्दा ठूलो प्रश्न यहाँ उठ्छ। प्रशासनले जात्रासंस्कृतिलाई सहजीकरण गर्नुपर्ने हुन्छ तर त्यसको मूल अभ्यासकर्ताहरूको भूमिका सर्वोपरि नै हो। न्यु नर्मलअवस्थामा जात्रामात्रालाई परिस्थितिबमोजिम व्यवस्थित गर्न सबै अभ्यासकर्ता र प्रशासनबीच छलफलबाट सहमति आवश्यकता थियो।

महामारी नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा लगाएको यस्तो अवस्थामा स्थानीय स्तरमै सावधानीबिना जात्रा गर्न खोज्नु चुनौतीपूर्ण नै हुन्छ। जात्रामात्रा जनहितार्थ गरिन्छ र यस्तो नौलो किसिमको महामारीका बेला जात्रा गर्दा जनहितलाई ध्यानमा राख्नैपर्छ। 

जबरजस्ती जात्रा चलाउने नाममा रीतिरिवाज पूरा नगरी, आवश्यक र जिम्मेवार संस्कृतिकर्मी अभ्यासकर्ता नबोलाइ, रथको सुरक्षालाई ध्यान नदिई रथजात्रा गर्नु भनेको अर्को सङ्कट निम्त्याउनु हो। रथजात्राअघि रथको सुरक्षा, रथको पाङ्ग्रा (घःचा) र मूलकाठ (घःमा) मा विराजमान भैरवलाई गरिने पूजा, रथको गति नियन्त्रण गर्ने ब्रेक (घःकु), रथका यी अवयवबारे जानकार ञवाल र वाराही समुदायलगायत स्यःस्यः बाजे (ललितपुरको महाद्यःननी कूलका राजोपाध्याय व्राह्मण), हनुमानढोकाबाट गुरुज्यूको पल्टन र पाटनका मल्ल राजाका प्रतीक खड्गको उपस्थिति सबै आवश्यक हुन्छ।

कोभिड१९ महामारीबीच भीड गरेर रथयात्रा गरिनु जनस्वास्थ्यको दृष्टिकोणले खतरा त हो नै, र महिनौँदेखि लथालिङ्ग हुन पुगेको जात्रामा गुठी संस्थानको नेतृत्वमाथि पनि अब प्रश्न उठेको छ।

आज स्थानीयले रथयात्रा सुरु गर्न खोज्दा यो परम्परा ख्याल गरिएको थिएन। एक त महामारी, त्यसमाथि अझ आजको घटनाले दुईवटा खतरा निम्त्याउँछ- पहिलो रथ दुर्घटनाको र दोस्रो सांस्कृतिक कलहको। रातो मत्स्येन्द्रनाथको जात्रामा पाटनका प्रायः सबै नेवाः जातीय समुदायको संलग्नता हुन्छ, यसर्थ कुनै एकलाई पन्छाउनु भनेको समुदायबीचको सौहाद्र्र सम्बन्ध बिगार्नु हो। अझ सम्बन्धित जिम्मेवार व्यक्तिबिना नै यसरी रथ तान्न खोज्नुले समाजमा राम्रो सन्देश पक्कै जाँदैन।

अनि कुरा उठ्छ, काठमाडौं वा भक्तपुरमा जात्रा किन गर्न दिइएन र ललितपुरमा मात्र किन दिइयो? उपत्यकाको लकडाउनमा तीनवटै जिल्लाको समान निषेधाज्ञा हो। महामारीलाई ध्यानमा राख्दा जात्रा छोट्ट्याएर आवश्यक कर्ममात्र गरिएको उदाहरण काठमाडौं, भक्तपुर र ललितपुरकै अन्य जात्रामा पनि छ।

 

प्रशासनसँगको रुष्टता

जनता यसरी उठ्नु भनेको सांस्कृतिक दायित्व पूरा गर्न नसकेकोप्रति विरोधमात्र होइन। यसका अन्य पक्ष पनि छन्। महामारी व्यवस्थापनमा प्रशासनप्रति जनताको चित्त नबुझेका प्रशस्त मुद्दा छन्। लकडाउनका कारण जनताको जीविकोपार्जनमा परेको समस्या, आर्थिक गतिविधिमा ह्रास, रोजगार गुमाउनु परेको, व्यापारव्यवसाय बन्द भएको, यथार्थपरक तयारी वा योजना दिन नसकेको, पार्टीगत नेतृत्व विवादमा अलमलिएको, जनसुरक्षालाई उचित ध्यान दिन नसकेको लगायत थुप्रै चित्त नबुझेका कुराहरू छन्।

अबको बाटो

जनता र प्रशासनका तर्फबाट यसरी प्रहरीसँग मुठभेड भएपछि अबको बाटो तत्कालै सहज हुन चाहिँ गाह्रै हुन्छ। एकातर्फ जनताको माग आफ्नो संस्कृति मनाउन पाउनुपर्ने छ, अर्कोतर्फ कोभिड१९ महामारीले निम्त्याउन सक्ने खतरा छँदैछ। केहीयता निषेधाज्ञामा संयमित झैं भएका जनता जात्राका लागि दबाब दिन उत्रेका थिए, तर रीतिरिवाजबिना आफैंले जात्रा अघि बढाउन तम्सिए।

रथजात्रा विषयको यो अन्योल कायम रहँदा र ढिलो भइसक्दा पनि ठोस निर्णय पनि नहुँदा आजको स्थिति बन्न पुगेको हो।

गल्ती प्रशासनको मात्र छैन, न जात्रा सम्पन्न भएको हेर्न चाहने जनताको। यहाँ कमजोरी नेतृत्वमा बसेकाहरूमा प्रष्ट छ- दुई पक्षसँग सल्लाह गरेर ढिला भइसक्दा पनि ठोस निर्णय गर्न नसक्नु, पटकपटक बैठक स्थगित गर्नु र अन्ततः जिम्मेवारीबाट पन्छिन खोज्नु। नेतृत्वसँग अझै पनि समय छ, चाँडोभन्दा चाँडो सबैसँग सल्लाह गरेर न्यु नर्मल परिस्थितिअनुकूल व्यवस्थित रूपमा जात्रालाई पूर्णता दिन। 

यो अनिर्णयबाट उब्जेको परिस्थितिले कसैलाई हानी नगरोस्, सबै समुदायबीचको सौहाद्र्रता भङ्ग नगरोस्, भक्तपुर र ललितपुरबीच समेत तीक्तता नआओस् भन्ने कामनामात्र गर्न सकिन्छ।



प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७

Source: https://www.aayomail.com/news/4433?fbclid=IwAR29WqM3wjRUjZTlORAqUbXn858cDV0Rj3ViALtkUY9QIeyKVzRCRVdfyfc

 

 

 

No comments:

Post a Comment