Wednesday, August 12, 2020

Rajopadhyaya in news : चार शताब्दीको इतिहास बोकेको नेपालकै पृथक मन्दिर

 

चार शताब्दीको इतिहास बोकेको नेपालकै पृथक मन्दिर



२७ साउन, काठमाडौं । करिब ३८३ वर्षको इतिहाससँगै भिन्न पहिचान बोक्न सफल छ, काठमाडौं उपत्यकाको मध्यभागमा रहेको एउटा सम्पदा । एउटा आस्तिक राजाले सपनाको निर्देशनानुसार निर्माण गरेको मानिने यो मन्दिरमा कुँदिएको कला करिब पौने चार सय वर्षसम्म आइपुग्दा झनै महत्वपूर्ण बन्दै गएको छ ।

ढुंगैढुंगाबाट बनाइएको सो मन्दिरको कलाकृति र त्यहाँ राखिएको मूर्तिको हिसाबले समेत नेपालका अरू मन्दिरभन्दा भिन्न छ, पाटनको कृष्ण मन्दिर ।

दुईवटा मुख्य भगवानलाई उत्तिकै महत्व दिएर पूजा गर्ने संस्कारदेखि २१ वटा गजुरसम्मको निर्माणकलाले मन्दिरलाई अरूभन्दा भिन्न कोटिमा उभ्याएको छ ।

सामान्यतया नेपालका धेरै मन्दिरहरू प्यागोडा शैलीमा निर्माण हुने गर्छन् । तर यो मन्दिर तीनवटा शैलीको मिश्रणबाट तयार भएको वास्तुकलाका प्राध्यापक सुदर्शनराज तिवारीको एक आलेखमा उल्लेख छ । उनका अनुसार विसं १६९४ मा राजा सिद्धिनरसिंह मल्लले शिखर, द्रविड र मुगल शैलीलाई मिश्रण गरेर मन्दिर बनाएका हुन् ।

शैलीकै हिसाबले भक्तपुरको वत्सला मन्दिरको कला पनि पाटन दरबार मन्दिरको जस्तै छ । तर कृष्ण मन्दिर २१ वटा गजुरसहित निर्माण गरिएको छ भने वत्सलामा कम गजुर छ । कला र सौन्दर्यले भरिपूर्ण कृष्ण मन्दिरमा कृष्ण र शिवको मूर्ति राखिएको छ । मन्दिरको बाहिरपट्टि विष्णुको १० अवतारको प्रतिमा छ । इसान कोणमा मत्स्य अवतारको मूर्ति राखिएको छ । त्यसपछि क्रमशः घडीको दिशामा भगवानका विभिन्न अवतारको मूर्ति राखिएको छ ।

दुई भगवान् रहेको दुर्लभ मन्दिर

एउटै मन्दिरमा धेरै भगवानको मूर्ति राख्ने चलन त जतात्यतै देख्न सकिन्छ । तर मन्दिरमा तला छुट्टयाएर नै दुवै भगवान्लाई महत्व दिएर मूर्ति राख्ने परम्परा नेपालमा दुर्लभ रहेको तिवारीले आफ्नो आलेख ‘दि कृष्ण मन्दिर : एन इन्भेस्टिगेसन अफ इट्स स्टाइल’ मा उल्लेख गरेका छन् ।

विभिन्न पुरातात्विक प्रमाणहरूको आधारमा यस्तै शैलीको मन्दिर आठौं शताब्दीमा मद्रास नजिकै कान्चिपुरममा बनेको थियो । यद्यपि सिद्धिनरसिंहको समयमा भने यस्तो मन्दिर बनाउने चलन कम भइसकेको तिवारी बताउँछन् ।

एउटै मन्दिरमा शिव र कृष्णको मूर्ति राख्नुको पछि रोचक कारण रहेको पाटन कृष्ण मन्दिरका मूल पुजारी प्रतापधर शर्मा(राजोपाध्याय) बताउँछन् । उनका अनुसार १७ औं शताब्दीको अन्तिमतिर अहिले कृष्ण मन्दिर रहेको ठाउँमा झाडी थियो । शिवालय बनाउन भनेर तयार पारिएको जग्गामा शिवालय बनिसकेको थिएन । त्यही बेलामा राजा सिद्धिनरसिंहलाई त्यो झाडी फाँडेर श्रीकृष्णको मन्दिर बनाउन कसैले सपनामा सुझाव दिए ।

सपनामा भने मुताविक झाडी फाँड्ने क्रममा त्यहीँ श्रीकृष्णको मूर्ति भेटिएको भन्ने किंवदन्ती छ । कृष्णको मूर्ति भेटिएको ठाउँ र शिवालयको लागि जग्गा छुट्याएको ठाउँ भएकोले सिद्धिनरसिंहले शिव र कृष्णको समेत मूर्ति राखेर पूजा गराउन थाले ।

शिखर शैलीमा नै किन बनाइयो पाटन कृष्ण मन्दिर ?

कृष्ण मन्दिर १९.६७ मिटर अग्लो छ । जसको प्रवेशविन्दुमा गरुड र सिंहको मूर्ति राखिएको छ । शर्मा शिखर शैलीमा नै निर्माण गर्नुको पछि छुट्टै कारण रहेको बताउँछन् ।

धार्मिक राजा सिद्धिनरसिंह नियमित यज्ञकुण्डमा हवन गर्ने गर्थे । उनले सपना देखेकै दिन पनि त्यही हवनको क्रममा निस्किएको धुवाँले अहिलेको कृष्ण मन्दिरको आकृति लियो । त्यही आधारमा मन्दिर शिखर शैलीमा निर्माण गरिएको भन्ने मान्यता छ ।

मन्दिरभित्रको कलाकृति

नेपालका पुराना मन्दिरहरूमध्ये सम्भवतः यस्तो ढाँचाको मन्दिर अहिले पाइँदैन । मन्दिरको भित्रपट्टि रामायण र महाभारतको सारलाई शिलापत्रमा लेखिएको छ । मन्दिरको भुइँ तलामा रामायणको महत्वबारे उल्लेख गरिएको छ भने त्योभन्दा माथिल्लो तलामा महाभारत के हो ? महाभारत युद्ध किन भयो ? भन्ने विषय उल्लेख गरिएको छ । जुन ‘प्रचलित नेवारी लिपि’मा लेखिएको शर्मा बताउँछन् ।

कृष्ण मन्दिरमा रहेको २१ वटा गजुरको पनि छुट्टै अर्थ छ । हवन गर्दा २१ वटा कलश स्थापना गर्नु उपयुक्त मान्ने गरिन्छ भने गजुरले कुनै पनि काम फत्ते भएको अर्थलाई जनाउँछ ।

राजाले नियमित गर्ने हवन गर्ने क्रममा २१ वटा कलश स्थापना गरिएको थियो । ती कलशको नाम पनि छुट्टाछुट्टै थियो । यद्यपि ती कलशको नाम मन्दिरमा लेखिएको शिलालेखमा भने उल्लेख नरहेको पुजारी शर्मा बताउँछन् । सोही कलशलाई समेत यज्ञमा हवन गरिसकेपछि कलशको प्रतिनिधित्व गराउनको लागि २१ वटा गजुर बनाइएको मान्यता छ ।

उता, सिँढी चढेर मन्दिरको मूल प्रवेशद्वारबाट छिर्नेबित्तिकै एउटा शिव लिङ्ग देख्न सकिन्छ । त्यसभित्रको भित्तामा रामायणको विविध घटनाक्रमको चित्रण र व्याख्या गरिएको छ । माथिल्लो तल्लामा प्रवेश गर्ने बाटोमा नै सिंहको मूर्ति देख्न सकिन्छ जसलाई ‘शार्दूल’ भन्ने गरिन्छ । माथि उक्लिनुपूर्व नै श्रीकृष्णले बाँसुरी बजाइरहेको, रुक्मिणी र सत्यगामा नाचिरहेको आकृति देख्न सकिन्छ ।

त्यस्तै, माथिल्लो तलाको गर्भगृहमा कृष्ण, रुक्मिणी र सत्यगामा, गरुड आदिको मूर्ति राखिएको छ । भुइँतलामा रामायण के हो ? यसमा मुख्य कुरा के उल्लेख छ भन्ने कुरा समेटेजस्तै माथिल्लो तलाको भित्तामा महाभारतको विषयलाई संक्षेपमा उल्लेख गरिएको छ । साथै, श्रीकृष्णको विभिन्न स्वरूपको मूर्ति पनि देख्न सकिन्छ ।

श्रीकृष्णको मूर्ति रहेकोभन्दा माथिल्लो तलामा भने शिवको मूर्ति छ । शिवालयको जग्गा भएकोले शिवको समेत मूर्ति राखेर पूजा गर्न सपनामा आदेश भएपछि यस्तो संरचनामा पूजा सुरु गरिएको भन्ने मान्यता सुनाउँछन्, शर्मा ।

प्रा. तिवारीका अनुसार यो मन्दिरको निर्माण कलामा भारतीय शैलीको प्रभाव बढी छ । यो मन्दिर बनाउनका लागि साढे ६ वर्ष लागेको थियो । यही शैलीको मन्दिर ११ औंदेखि १३ औं शताब्दीतिर दक्षिण भारतमा बनाउने गरिएको थियो । यस्तो मन्दिर निर्माण गर्न ठूलो पुँजी लाग्ने भएकोले पनि यो आफैँमा दुर्लभ छ । तर जतिठाउँमा बनेका छन् ती ठाउँमा प्रायः विष्णु र उनको अवतारको भगवानको लागि नै यस्तो मन्दिर बनाउने गरिएको छ ।

Source: https://www.onlinekhabar.com/2020/08/888776

For PDF file of this news : https://rajopadhyaya.free.resourcespace.com/?r=1225&k=e1fc2b08ee


No comments:

Post a Comment