Sunday, April 21, 2019

Rajopadhyaya in News : तलेजुमा फोटो खिच्दा राष्ट्रपति भण्डारी विवादमा


तलेजुमा फोटो खिच्दा राष्ट्रपति भण्डारी विवादमा


फोटो खिच्न मनाही गरिएको ठाउँमा सामूहिक फोटो खिचाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीलगायत।तस्बिर स् सामाजिक सञ्जालबाट



भक्तपुर : राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार भक्तपुरको तलेजुमा पहिलोपटक पुगेकै दिन विवादमा परेकी छन्।उनले फोटो खिच्न मनाही गरिएको तलेजु मूलचोकको प्रवेशद्वारमै फोटो खिचाएर विवादमा आएकी हुन्।
फोटो खिच्न मनाही गरेको ठाउँमा खिचिएको राष्ट्रपति भण्डारीसहितको सामूहिक फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सामाजिक सञ्जालमा राष्ट्रपति जस्तो राष्ट्र प्रमुखले नै नियम पालना नगर्ने भन्दै कडा आलोचना गरिएको छ।
फोटो खिच्न मनाही गरिएको ठाउँमा खिचिएको फोटोमा राष्ट्रपति भण्डारीसँगै भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद एवं नेकपा (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेत, प्रदेश नं. ३ का सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसमेत रहेका छन्।
त्यस्तै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति, सचिव राजुमृग्रेन्द्र जोशी, तलेजुका कर्माचार्य नाइके सिद्धिवीर कर्माचार्यलगायतसमेत सामूहिक फोटोमा देखिएका छन्।
सामाजिक सञ्जालमा सर्वसाधारण र विदेशी पर्यटकलाई फोटो खिच्नै नदिने र खिचे पनि मेट्न लगाउने तलेजुको सुरक्षा गर्दै आएका नेपाली सेनाका जवानहरुले राष्ट्रपति आउँदा भने फोटो खिच्न दिएको भन्दै आपत्ति जनाएका छन्।
फोटो खिच्न मनाही गरिएको ठाउँमा खिचिएको राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो। तस्बिर : नेपालताराडटकम

धेरैले 'अब हामी पनि त्यहाँ फोटो खिच्न जाने र खिच्न पाइँदैन भनिए राष्ट्रपतिको फोटो देखाउने' भन्दै कमेन्ट गरेका छन्।हुन त भक्तपुर दरबार क्षेत्रस्थित तलेजु प्रवेश गर्ने स्वर्णद्वार हुँदै अर्को ढोका छिर्नेबित्तिकै त्यहाँ 'नो फोटो' भनी लेखिएका बोर्डहरु ठाउँ -ठाउँमा राखिएका छन्। त्यस्तै तलेजु मूलचोक प्रवेश गर्ने मुख्यद्वारको दायाँबायाँ पनि उक्त बोर्ड राखिएको छ । 
उक्त मुख्यद्वारको दायाँतिर ठूलै बोर्डमा फोटो खिच्न नहुने मात्रै होइन तलेजुभित्र छिर्दा लगाउन हुने र नहुने तथा तलेजुभित्र लान हुने र नहुनेबारे जानकारीमूलक ठूलो सूचनाको बोर्ड छ।
यी सबैलाई ख्यालै नगरी शनिबार राष्ट्रपतिसहितको फोटो खिचियो। कसैले त्यहाँ फोटो खिच्न मनाही गरिएको सूचनालाई पालना गरिएन। तलेजुको रेखदेख गर्दै आएको नेपाली सेनाले मात्रै होइन तलेजुको मान, मर्यादा, गरिमा जोगाउन सरकारले रकमी भनी व्यवस्था गरिएका राजोपाध्याय, जोशी र कर्माचार्य नाइकेहरुले समेत त्यहाँको नियम पालना गराउने तदारुकता देखाएनन्।उल्टै उनीहरु राष्ट्रपति भण्डारीको पछाडि बसेर फोटो खिचाउनै व्यस्त रहेको पाइयो।
यसले नियम मिच्ने काम नियम पालना गर्नेहरुबाट रोक्नुपर्ने आवाज सामाजिक सञ्जालमा व्यापक रुपमा उठाइएको छ। भक्तपुर उद्योग वाणिज्य संघको स्वर्ण जयन्तीको अवसरमा शनिबार भक्तपुरमा आयोजित नवदुर्गा नाच प्रदर्शन तथा पूजाआजाको क्रममा राष्ट्रपति भण्डारी शनिबार भक्तपुर तलेजुसमेत पुगेकी थिइन्।

No comments:

Post a Comment