Monday, April 22, 2019

Rajopadhyaya in News: बेल्जियन आर्किटेक्ट भन्छन् ‘काठमाडौंमा घर बनाउन बन्द गर’

बेल्जियन आर्किटेक्ट भन्छन् ‘काठमाडौंमा घर बनाउन बन्द गर’

बेल्जियन आर्किटेक्ट भन्छन् ‘काठमाडौंमा घर बनाउन बन्द गर’
The following two tabs cha
काठमाडौं । बेल्जियमका प्रसिद्ध आर्किटेक्ट हेन भस्च्र्युरले काठमाडौंमा नयाँ घर बनाउन बन्द गर्नुपर्ने सुझाव दिएका छन् । बिना प्लानिङ बनेका डरलाग्दा घर र विकासको नाममा अवैज्ञानिक तरीकाले खनिएका जग्गाका तस्वीर देखाउँदै उनले काठमाडौंको भविष्य कहालीलाग्दो भएको बताए ।
आइतवार राजधानीमा आयोजित ‘नेपाल र दक्षिणपूर्वी देशमा आवास निर्माणको अवस्था’ कार्यक्रममा भस्च्र्युरले भने, ‘काठमाडौंमा पुराना महत्त्वपूर्ण सम्पदाहरू मेटेर नयाँ संरचना बनिरहेका छन् । यो इतिहासको ठूलो दुर्घटना हो । यसलाई सच्याउनुपर्छ ।’
‘नयाँ पुस्ताले देख्न नपाउने गरी इतिहास मेटाउनु विकास नभई विनाश हो,’ उनले भने, ‘नेपालीहरू निकट भविष्यको दुर्दशाको विचार नगरी तत्काल फाइदा लिन सक्रिय भएको देखिन्छ । नेपाल गरीब देश होइन । आर्थिक रूपमा कमजोर भए पनि सम्पदा र संस्कृतिमा धनी छ । यसैको सदुपयोगले आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’ अव्यवस्थित विकास निर्माणले जमीन, हावा, खुला स्थान, प्राकृतिक सम्पदा इत्यादि खतरामा पर्दा तिनको रक्षाका लागि जर्मनी, क्युबा लगायत देशमा भएको कामको उदाहरण दिँदै उनले नेपालमा भइरहेको गलत निर्माण सच्याउनुपर्नेमा जोड दिएका थिए ।
बृहत् ग्रूपले आयोजना गरेको कार्यक्रममा ग्रूपका अध्यक्ष ओम राजभण्डारी, इन्जिनीयर ओम धरानन्द राजोपाध्याय, डा. सपोन पोन्र्चोक्चोई र डा. कनक अबिराधीले बोलेका थिए । कार्यक्रमकोे सहजीकरण सामूहिक आवासविज्ञ प्रफुल्लमान सिंह प्रधानले गरेका थिए
Source:http://www.abhiyan.com.np/?p=335674&fbclid=IwAR3biLNnQLtHTGVjnj6_YWsHS7OkEqfbVH2f5vD4cN_zEvW_89IldLPrjdc

Rajopadhyaya in New: संस्कृतिबिद बिनोद राज शर्मा राजोपाध्यायसँग बिसीःका जात्रा सम्वन्धी कुराकानी

भक्तपुर एफएम १०५ .४ मेगाहर्ज 
यो साता बिसीःका जात्रा सम्वन्धी कुराकानी
संस्कृतिबिद बिनोद राज शर्मा राजोपाध्याय सँग
With RJ Marshall Rathor

मिति : २०७५ चैत्र ३० गते शनिबार , बिहान ८ बजे 
पुन प्रसारण २०७६ बैशाख  ४ गते बुधबार दिनको ३ बजे 

 भक्तपुर खौमा निवासी श्री गिरिश राज शर्माज्यू प्रति यो सामाग्री उपलब्ध गराउनु भएकोमा  आभार प्रकट गर्दछौ l 
- rajopadhyaya.blogspot.com


Sunday, April 21, 2019

Rajopadhyaya in News : तलेजुमा फोटो खिच्दा राष्ट्रपति भण्डारी विवादमा


तलेजुमा फोटो खिच्दा राष्ट्रपति भण्डारी विवादमा


फोटो खिच्न मनाही गरिएको ठाउँमा सामूहिक फोटो खिचाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीलगायत।तस्बिर स् सामाजिक सञ्जालबाट



भक्तपुर : राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार भक्तपुरको तलेजुमा पहिलोपटक पुगेकै दिन विवादमा परेकी छन्।उनले फोटो खिच्न मनाही गरिएको तलेजु मूलचोकको प्रवेशद्वारमै फोटो खिचाएर विवादमा आएकी हुन्।
फोटो खिच्न मनाही गरेको ठाउँमा खिचिएको राष्ट्रपति भण्डारीसहितको सामूहिक फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सामाजिक सञ्जालमा राष्ट्रपति जस्तो राष्ट्र प्रमुखले नै नियम पालना नगर्ने भन्दै कडा आलोचना गरिएको छ।
फोटो खिच्न मनाही गरिएको ठाउँमा खिचिएको फोटोमा राष्ट्रपति भण्डारीसँगै भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद एवं नेकपा (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेत, प्रदेश नं. ३ का सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसमेत रहेका छन्।
त्यस्तै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति, सचिव राजुमृग्रेन्द्र जोशी, तलेजुका कर्माचार्य नाइके सिद्धिवीर कर्माचार्यलगायतसमेत सामूहिक फोटोमा देखिएका छन्।
सामाजिक सञ्जालमा सर्वसाधारण र विदेशी पर्यटकलाई फोटो खिच्नै नदिने र खिचे पनि मेट्न लगाउने तलेजुको सुरक्षा गर्दै आएका नेपाली सेनाका जवानहरुले राष्ट्रपति आउँदा भने फोटो खिच्न दिएको भन्दै आपत्ति जनाएका छन्।
फोटो खिच्न मनाही गरिएको ठाउँमा खिचिएको राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो। तस्बिर : नेपालताराडटकम

धेरैले 'अब हामी पनि त्यहाँ फोटो खिच्न जाने र खिच्न पाइँदैन भनिए राष्ट्रपतिको फोटो देखाउने' भन्दै कमेन्ट गरेका छन्।हुन त भक्तपुर दरबार क्षेत्रस्थित तलेजु प्रवेश गर्ने स्वर्णद्वार हुँदै अर्को ढोका छिर्नेबित्तिकै त्यहाँ 'नो फोटो' भनी लेखिएका बोर्डहरु ठाउँ -ठाउँमा राखिएका छन्। त्यस्तै तलेजु मूलचोक प्रवेश गर्ने मुख्यद्वारको दायाँबायाँ पनि उक्त बोर्ड राखिएको छ । 
उक्त मुख्यद्वारको दायाँतिर ठूलै बोर्डमा फोटो खिच्न नहुने मात्रै होइन तलेजुभित्र छिर्दा लगाउन हुने र नहुने तथा तलेजुभित्र लान हुने र नहुनेबारे जानकारीमूलक ठूलो सूचनाको बोर्ड छ।
यी सबैलाई ख्यालै नगरी शनिबार राष्ट्रपतिसहितको फोटो खिचियो। कसैले त्यहाँ फोटो खिच्न मनाही गरिएको सूचनालाई पालना गरिएन। तलेजुको रेखदेख गर्दै आएको नेपाली सेनाले मात्रै होइन तलेजुको मान, मर्यादा, गरिमा जोगाउन सरकारले रकमी भनी व्यवस्था गरिएका राजोपाध्याय, जोशी र कर्माचार्य नाइकेहरुले समेत त्यहाँको नियम पालना गराउने तदारुकता देखाएनन्।उल्टै उनीहरु राष्ट्रपति भण्डारीको पछाडि बसेर फोटो खिचाउनै व्यस्त रहेको पाइयो।
यसले नियम मिच्ने काम नियम पालना गर्नेहरुबाट रोक्नुपर्ने आवाज सामाजिक सञ्जालमा व्यापक रुपमा उठाइएको छ। भक्तपुर उद्योग वाणिज्य संघको स्वर्ण जयन्तीको अवसरमा शनिबार भक्तपुरमा आयोजित नवदुर्गा नाच प्रदर्शन तथा पूजाआजाको क्रममा राष्ट्रपति भण्डारी शनिबार भक्तपुर तलेजुसमेत पुगेकी थिइन्।

Saturday, April 13, 2019

राजोपाध्याय वर्गबाट राष्ट्रले पाएका व्यक्तित्व एबम शिक्षित जनशक्ती

२०७५ सालको अन्तिम प्रहरमा के गरु, के गरु भयो l झट्ट मनमा २०७५ सालमा राजोपाध्याय वर्गबाट राष्ट्रले पाएका व्यक्तित्वहरु एबम शिक्षित जनशक्तीको नाम र उहाँहरुले प्राप्त गर्नु भएको उपलब्धिहरुको अभिलेखिकरण गर्ने विचार फुर्यो l आफुलाई सम्झना भए जति नाम लेखे, तर दुई चार जना बाहेक थप नामहरु कसै गरि याद भएन l तत्काल श्री आभास राजोपाध्यायज्यूलाई फेसबुकमा मेसेज पठाए l उहाँले थप नामहरु तत्काल उपलब्ध गराउनु भयो l यसको लागि श्री आभास राजोपाध्यायज्यू प्रति आभार प्रकट गर्दछु l

यहाँ उल्लेख गरिएका नामहरु बाहेक पनि २०७५ सालमा राजोपाध्याय वर्गबाट राष्ट्रले पाएका अन्य व्यक्तिहरु पक्कै हुनुहुन्छ, वहाँहरु सबैको नाम तत्काल संकलन गरि यहाँ प्रस्तुत गर्न नसकेकोमा क्षमा प्रार्थी छु l

तपाईहरुलाईबाट थप नाम र प्राप्त उपलब्धिहरु बारे जानकारी प्राप्त हुने नै छ भन्ने अपेक्षा मैले गरेको छु l यस किसिमको यो पहिलो प्रयास हो यसमा भएका कमिकमजोरी खुट्याई सहयोग गरिदिहुन पनि हार्दिक अनुरोध गर्दछु l        

२०७५ सालमा राजोपाध्याय वर्गबाट राष्ट्रले पाएका व्यक्तित्व एबम शिक्षित जनशक्तिको नामावली र उहाँहरुले प्राप्त गर्नु भएको उपलब्धीहरु निम्नानुसार छन्           

०१. श्री अमर राज शर्मा – बरिष्ट संगीतकार – “जनसंगीत श्रष्टा” सम्मान सहित नागरिक अभिनन्दित   
०२. श्री सुहृद शर्मा बरिष्ठ इन्जिनियर जसले बिदेशमा गगनचुम्बी भवनहरुको निर्माणमा अहम भूमिका निर्बाह गरि स्वदेश मै केहि गर्ने अठोट सहित नेपाल फिर्ती
०३. श्री संजय शर्मा राजोपाध्याय – उपाध्यक्ष –  नृत्य निर्देशक महासंघ
०४. श्री उज्ज्वल शुक्ल - न्यायाधिश - उच्च अदालत, जनकपुर
०५. श्री आभास राजोपाध्याय – अंग्रेजी भाषामा एम. फिल. र मानवशास्त्रमा स्नाकोत्तर
०६. सुश्री निश्मा शर्मा – समाजशास्त्रमा स्नाकोत्तर  
०७. सुश्री शुभानी शर्मा – एम.बि.बि.एस.  
०८. सुश्री सुबासना राजोपाध्याय – एम.बि.एस.
०९. सुश्री रुबिना शर्मा – बि.बि.एस.
१०. श्री बिपनव राजोपाध्याय – बि.एस.सी.
११. सुश्री प्रभासना राजोपाध्याय -  बि.एड
१२. सुश्री निर्वाणी राजोपाध्याय – बि.बि.एस.         
१३. सुश्री सुबिना शर्मा राजोपाध्याय - कम्प्युटर इन्जिनियर

लेख्दा लेख्दै २०७५ साल बिदा भई नयाँ बर्ष २०७६ सालको पदार्पण भैसकेछ l   

नयाँ बर्ष २०७६ सालको आगमनको सुखद अवसरमा राष्ट्रलाई अझ बढी उत्कृष्ट व्यक्तित्व एबम शिक्षित जनशक्ति उपलब्ध गराउन राजोपाध्याय वर्ग थप क्रियाशील एबम सक्षम हुने बिश्वास गर्दै सबैमा हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु l  
-    बिमल चन्द्र शर्मा
१ बैशाख २०७६ 

Friday, April 12, 2019

Rajopadhyaya in News :नृत्य निर्देशक महासंघ गठन



नृत्य निर्देशक महासंघ गठन

 राजधानी समाचारदाता


 12/04/2019

पोखरा । पोखरामा सम्पन्न सप्ताह व्यापी राष्ट्रिय नृत्य निर्देशक कार्यशालाले सातैवटै प्रदेशका सदस्य  रहने गरी ‘राष्ट्रिय नृत्य निर्देशक महासंघ नेपाल’को घोषणा गरेको छ । एक समारोहबीच महासंघको घोषणासँगै तदर्थ कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितिको अध्यक्षमा गोरे गुरुङ, उपाध्याक्षमा सञ्जय शर्मा राजोपाध्याय, महासचिवमा नगेन्द्र राई, सचिवमा विकास घले गुरुङ, कोषाध्याक्षमा अनु रजक, सदस्यहरूमा प्रदेश  १ बाट लोकचन्द्र श्रेष्ठ, ओमप्रकाश बस्नेत र प्रनिसा उदास, प्रदेश  २ बाट धीरज ठाकुर र सन्दीप मण्डल, प्रदेश ३ बाट सुरेन्द्र देसार, भावना कार्की र कल्पना राजचल छन् ।
यस्तै, प्रदेश ४ बाट गमबहादुर गुरुङ र राजबहादुर गुरुङ, प्रदेश ५ बाट प्रियंका थापा र सुन्दर गुरुङ, प्रदेश ६ बाट कुलमान नेपाली र खिम बस्याल, प्रदेश ७ बाट सुनिल सुवेदी र चिनाराम नेपाली मनोनयन भएका छन् ।

Tuesday, April 9, 2019

"थ्यासफुमा उल्लेखित राजोपाध्याय सुवेदीहरुको वंशावली" - सुवेदी वंशावलीबाट

"थ्यासफुमा उल्लेखित राजोपाध्याय सुवेदीहरुको वंशावली" - सुवेदी वंशावलीबाट 

आज मिति ०७५ चैत्र २६ गते मंगलबार का दिन काम बिशेषले त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय पुस्तकालय, किर्तिपुर पुगेको
  थिए l पुस्तकालयमा नेपाल सम्बन्धि पुस्तकहरुको संग्रह खण्डमा सुबेदी कल्याण प्रतिष्ठानले २०६३ सालमा प्रकाशित  'सुबेदी बंशावली' मा मेरो आँखा पर्यो l   रिमाल सामाजद्वारा प्रकाशित 'रिमाल वंशावली'मा इन्द्रचोक, काठमान्डौका राजोपाध्याय रिमालहरुलाई पनि समेटिएको सम्झना आयो  l त्यसैले पुस्तक देख्ने बित्तिकै  भक्तपुरका राजोपाध्याय सुवेदीहरुका बारेमा केहि उल्लेख गरिएको छ की भन्ने कौतुहलता जाग्यो बिषय सुची मा उल्लेख भए अनुसार  भक्तपुर खण्डमा "थ्यासफुमा उल्लेखित राजोपाध्याय सुवेदीहरुको वंशावली" शिर्षक  मा उल्लेख भएको बंशावली को फोटो यहाँ प्रस्तुत गरेको छु ...






सुबेदी कल्याण प्रतिष्ठान र रिमाल समाजले क्रमश:  सुवेदी र रिमाल  वंशावली प्रकाशित गरि सकेको बारे माथिनै उल्लेख गरि सकेको छु 

बिभिन्न वंशावलीहरु  देखि सके पछी  राजोपाध्याय वंशावलीको कल्पना गर्नु  स्वाभाविकै हो राजोपाध्याय   वंशावली प्रकाशन गर्ने कसले भन्ने प्रश्न उठ्नु पनि स्वाभाविक नै हो राजोपाध्यायहरुको छाता संगठनको रुपमा एक मात्र आधिकारीक संगठन भनेको राजोपाध्याय समाज नै हो भन्नु अत्युक्ति नहोला l त्यसैले यो वंशावली प्रकाशनको जिम्मेवारी पनि राजोपाध्याय समाजको हो भन्नु पनि अत्युक्ति नहोला l यस कार्यको लागि समाजका सदस्यहरुले चासो व्यक्त गरिनु पनि त्यतिकै आबश्यक हुन्छ l

राजोपाध्याय समाजको हालै सम्पन्न ५ औं साधारण सभामा प्रस्तुत महासचिवज्यूको प्रतिवेदनमा वंशावली प्रकाशनको वारे केहि उल्लेख भएको जस्तो लागेन l आगामी दिनहरुमा राजोपाध्याय समाजले राजोपाध्याय वंशावली प्रकाशनको  कार्यलाई बिशेष प्राथमिकता दिने छ भन्नेमा म आशाबादी छु l साथै म र मेरो परिवार यस कार्यमा हुन सक्ने सबै सहयोग गर्ने प्रतिवद्दता पनि ब्यक्त गर्दछु l   
- बिमल चन्द्र शर्मा 

Monday, April 8, 2019

Rajopadhyaya in New : कमजोरीसहितका राष्ट्रनिर्माता

कमजोरीसहितका राष्ट्रनिर्माता 

इतिहास
पृथ्वीनारायण शाहले क्रिस्चियन पादरीलाई देश निकाले गरेको हुनाले उनीहरूले विषवमन गरेर लेखे भन्ने आरोप पनि छ । 
हिमेश
काठमाडौँ — पृथ्वीनारायण शाहलाई हरेक पक्षमा योग्य देखाइन्छ, उनी राम्रा प्रशासक हुन् । राम्रो योजनाकार हुन् भनिन्छ । यो सबै अतिशयोक्तिपूर्ण छ । उनको निष्पक्ष मूल्यांकन हुनुपर्छ, जुन अहिलेसम्म भएको छैन ।

नेपाली इतिहासमा पृथ्वीनारायण शाह सबैभन्दा महत्त्वपूर्ण पात्र हुन्, यसमा कहिल्यै दुईमत भएन् । दुईमत उनको काममा भने छ । हिजो पुस २७, पृथ्वी जयन्ती । केहीले यसलाई एकता दिवसको रूपमा मनाए । उनले नेपालको एकीकरण नै गरेका होइनन, केको एकता दिवस भन्ने पनि उत्तिकै छन् । धेरै लामो समय पृथ्वीनारायण शाहलाई खालि राम्रै राम्रो गुण भएको राजाका रूपमा इतिहासमा पढाइयो । र, भनियो, उनले नेपालको एकीकरण गरे ।
बीचमा केहीले फरकमत पनि राखे । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका होइनन्, बरु गोर्खा राज्यको विस्तार मात्र गरेका हुन् । यहाँनिर एउटा अर्को महत्त्वपूर्ण प्रश्न थपिन्छ, उनले यो काम नगरेको भए, अहिलेको आधुनिक नेपाल रहने थियो अथवा थिएन त ? यी सबै यस्ता प्रश्न हुन्, जसको उत्तर नेपाली इतिहासमा अहिलेसम्म पनि प्रस्ट लेखिएको छैन । पृथ्वीनारायण शाहको कालखण्ड बितेको यति धेरै समय भइसकेको छ, अझ पनि उनका बारे प्रश्नहरू ज्यूँको त्यूँ छन् ।

नेपालमा वैज्ञानिक ढंगले इतिहास लेख्न सुरु भएयताका दुई प्रमुख इतिहासकार हुन्, तुलसीराम वैद्य र त्रिरत्न मानन्धर । नेपालको इतिहासमा जत्तिले पछिल्लो समय कलम चलाउने प्रयास गरे, ती सबैका गुरु हुन्, उनीहरू । वैद्य त मानन्धरका पनि गुरु भए । दुवैले लामो समय सँगसँगै काम पनि गरे । उनीहरू नेपालको इतिहासबारे आधिकारिक रूपमा बोल्न सक्नेमा पर्छन् । उनीहरू दुवैले पृथ्वीनाराया.शाहबारे कमल चलाएका छन्, बोलेका छन् ।
त्यसमा पनि समानता भने छैन । वैद्यले लेखेका छन्, ‘पृथ्वीनारायण शाहले सुरुमा नेपाल राज्य बनाउँछु भनेर आफ्नो काम सुरु गरेका होइनन् । यो गोर्खा राज्यको विस्तार नै हो । तर, महत्त्वपूर्ण तथ्य के हो भने गोर्खा राज्य विस्तारकै क्रममा नजानेर नै पछि नेपाल बन्न गयो । उनले नेपाल राज्य स्थापना गर्न गोर्खा राज्यको विस्तार गरेका थिएनन् ।’ वैद्यको पीएचडी पनि पृथ्वीनारायण शाहबारे नै हो, भारतको इलाहाबाद विश्वविद्यालयबाट ।
***

उनको थेसिसको निचोड नै त्यही हो, त्यो एकीकरण थिएन, राज्य विस्तार नै हो । यही राज्य विस्तारले कालान्तरमा नेपाल भन्ने देश बन्यो । पृथ्वीनारायण शाहले कहीं कतै नेपाल एकीकरण गर्छु, सानासाना छरिएर रहेका राज्यलाई एक गरेर नेपाल बनाउँछु भनेकै छैनन् । उनको दिव्य उपदेशमा पनि एकीकरण शब्द कतै उल्लेख छैन् । हुन पनि पृथ्वीनारायण शाहले सामाजिक, सांस्कृतिक र राजनीतिक पक्षमा धेरै बोले तर उनले नेपाल एकीकरण गर्न यस्तो काम गरें भनेर कहीं बोलेका छैनन् ।

दिव्य उपदेशमा बोलेको भए, त्यो प्रमाण हुन सक्थ्यो । वैद्यको मत हो, ‘यो वास्तवमै गोर्खा राज्यको विस्तार हो, यही विस्तारकै क्रममा नसोचेको किसिमले पछि गएर नेपाल हुन गयो । राज्य विस्तारकै क्रममा गोर्खालीकरण हुँदै गयो । उनले कहीं पनि म नेपाली हुँ भनेका छैनन् । राज्यको नाम गोर्खा रह्यो । जनता गोर्खाली । राष्ट्रिय गीतमै हामी सारा गोर्खाली भनिएको छ । भाषा गोर्खा । तक्माको नाम गोर्खा दक्षिणबाहु । सरकारले निकालेको पत्रिका गोर्खापत्र ।’
इतिहासका विद्यार्थीले बुझ्नैपर्ने के पनि हो भने नेपालको पुरानो राष्ट्रिय गीतमा ‘सारा गोर्खाली’ को स्थानमा ‘सारा नेपाली’ लेख्न लगाउने काम गरेका हुन्, जुद्धशमशेरले । गोर्खाका स्थानमा नेपाल राज्य लेखिन थालेको जुद्धशमशेरकै पालामा हो । केही इतिहासकारले पृथ्वीनारायण शाहबारे मसला थपेर लेखे । उनले यस्तो गरे, उस्तो गरे भने । यो साहित्य बढी थियो, इतिहास कम थियो । पृथ्वीनारायण शाहलाई देवत्वकरण गरियो र यसले नै इतिहास लेख्दा तथा बुझ्दा समस्या हुन्छ ।

‘तर पनि नेपाली इतिहासले पाएका अहिलेसम्मकै सबैभन्दा ठूला व्यक्तित्व पृथ्वीनारायण शाहनै हुन् । नेपाल राज्य स्थापनाका लागि दिएको योगदानका आधारमा यो सत्य र वास्तविकता हो,’ वैद्य मान्छन् । यसबारे मानन्धरको के मत छ त ? यो केही फरक छ । उनको भनाइ हो, ‘पृथ्वीनारायण शाहले सुरुमा गोर्खा राज्यको विस्तार गरेकै हुन् । उनलाई त्यति बेला नेपालको एकीकरण गर्नुपर्छ भन्ने सोच बनेकै थिएन् । खालिआफ्नो गोर्खा राज्य विस्तार गरे ।’

गोर्खाको पश्चिमतिर शक्तिशाली र ठूल्ठूला चौबीसे राज्य थिए । त्यसैले उनी त्यसतर्फ बढ्न नै सकेनन् । यो सम्भवजस्तो पनि थिएन । त्यसैले सुरुमा पृथ्वीनारायण शाह पूर्वतिर बढे । सुरुमा उनको इच्छा भनेको काठमाडौं उपत्यकाका तीन राज्य जित्नु नै थियो । त्यो अर्थमा सुरुमा उनले जे जति गरे, त्यो गोर्खाको विस्तारभन्दा केही थिएन् । ‘ती तीन राज्य जितिसकेपछि पृथ्वीनारायण शाहलाई के लाग्यो भने यसको सुरक्षाका लागि बाँकी अरू राज्य जित्न आवश्यक छ,’ मानन्धरको मत छ ।

नत्र आफूले जितेका ती तीन राज्य कान्तिपुर, ललितपुर र भक्तपुरको भविष्य दिगो हुन सक्ने स्थिति थिएन । त्यसैले पूर्व मात्र होइन, पश्चिमतिर पनि आफ्नो राज्य विस्तार गर्ने काम गरे । पृथ्वीनारायण शाहले सबै काम पूरा गर्न भने सकेनन्, उनको चाँडै निधन भयो । पछि यो काम उनका बुहारी राजेन्द्रलक्ष्मी र बहादुर शाहले पूरा गरे । ‘यसरी गोर्खाको राज्य विस्तारपछि नेपाल एकीकरणमा परिणत भयो, पृथ्वीनारायण शाहले सुरुमै एकीकरण गर्ने सोच बनाएका थिएनन,’ मानन्धरको तर्क छ ।

उनको विश्लेषणमा काठमाडौंमा तीन राज्य जितिसकेपछि नेपाल एकीकरणको भावना पृथ्वीनारायण शाहमा आएको हो । ‘उनले के सोचे भने अब काठमाडौंका तीन राज्य जितिसकेपछि यसलाई स्थायित्व दिनका लागि सानासाना राज्यहरूलाई पनि जितेर एकीकरण गर्नु जरुरी छ । उनको खास मनोकामना ती तीन राज्य जित्नु नै थियो । त्यो पूरा भएपछि उनी चुप लागेर बसेनन् । पछि उनको यही यही इच्छा बुहारी र छोराले पनि बुझेको हुनुपर्छ ।’

मानन्धरले पृथ्वीनारायण शाहको राज्य विस्तारलाई तीन चरणमा विभाजन गरेका छन् । पहिलो, यसको आधार तयार पारे । यो पृथ्वीनारायण शाहकै पालामै तयार भयो र यो गोर्खा राज्य विस्तारका रूपमा थियो । त्यसपछिको दोस्रो चरणमा राजेन्द्रलक्ष्मी र बहादुर शाहले काम गरे । उनीहरूको नेतृत्वमा पूर्व र पश्चिमका राज्य पनि जिते र सही अर्थमा यो नै नेपालको एकीकरण यही हो । यही चरणमा सानासाना राज्यलाई एक स्थानमा ल्याउने प्रयास भयो ।
भीमसेन थापाको पालामा तेस्रो चरण पूरा भयो र यो ‘क्लाइमेक्स’ थियो । राज्य विस्तार हुँदै कुमाउँ र गढवालसम्म पुग्यो । यी स्थान कुनै पनि समय नेपालको भाग नै थिएन । यी स्थानबाट पनि अझ अगाडि बढ्ने प्रयास भयो र यो बढी महत्त्वाकांक्षा नै थियो । आखिरमा त्यही कारणले अंग्रेजसँग युद्ध भयो र त्यसमा पराजित भएपछि नेपालले आफ्नो एक तिहाइ भूभाग गुमाउनुपर्‍यो । ‘त्यसैले मेरो निचोड सुरुमा राज्य विस्तारले पछि एकीकरणको रूप लियो, स्थायित्व, संरक्षण र सुरक्षाका लागि,’ मानन्धरले थपे ।

पृथ्वीनारायणका कमजोरी
‘पृथ्वी जयन्तीको बेला हामीले बुझ्नैपर्ने के हो भने केहीले पृथ्वीनारायण शाहले राज्य विस्तार मात्र गरेको हो भन्छन् । केहीले सुरुदेखि नै एकीकरण गरेको हो भन्छन् । दुवै ठीक होइन । ठीक के हो भने गोर्खा राज्यको विस्तारका रूपमा सुरु भएको अभियान एकीकरणमा गएर टुंगियो,’ मानन्धरले भने, ‘यसै क्रममा पृथ्वीनारायण शाहका धेरै कमजोरी पनि देखिन्छन् । तर, यी कमजोरीलाई औंल्याउने काम भने हुन्न । समस्या यहींनिर हो ।’

मानन्धरले भनेजस्तै यही कमजोरी लुकाउने क्रममा राज्य विस्तार र एकीकरण के हो भनेर तर्क–वितर्कले बढी स्थान पाएको हो । ‘मैले पृथ्वीनारायण शाहका कमजोरीलाई दुई भागमा विभाजन गरेको छु । एउटा उनका अमानवीय कार्य, अर्को निन्दनीय कार्य,’ मानन्धरले भने । पहिले अमानीय कार्य । पृथ्वीनारायण शाहले नुवाकोट जितिसकेपछि जयन्त रानालाई जुन अन्याय गरे, त्यो वास्तवमै आलोचनायोग्य छ । जयन्त राणालाई छाला काढेर मारिएको थियो ।
***

पृथ्वीनारायण शाहले जयन्त राणाप्रति के गरे, त्यो ठीक थिएन । दरबारिया षड्यन्त्रकै कारण उनले गोर्खा छाडेर कान्तिपुरका राजा जयप्रकाश मल्लसँग मिल्नुपरेको थियो । अर्को, कीर्तिपुरवासीको नाक काट्नु । यसमा पनि केहीले यस्तो केही पनि भएको थिएन भन्छन् । तर, काटिएको त प्रमाण नै छ, अब । केहीले दुई चार जनाको मात्र माटिएको थियो पनि भन्छन् । प्राप्त नयाँ तथ्यअनुसार नाक काटिएकालाई दुई–दुई रोपनी दरले जग्गा दिइएको थियो ।
त्यस हिसाबले हजार रापेनी जग्गा दिनुपरेको थियो । यस्तोमा धेरैको नाक माटिएकै थियो, कम्तीमा पाँच सय जनाको । पृथ्वीनारायण शाहको पालामा बाहुनहरूले जे जस्तै अपराध गरे पनि ज्यान सजाय दिइन्न थियो । तर, उनले आफ्ना छोरा प्रतापसिंहलाई समाउन खोज्ने वेदकोटका जैसी बाहुनहरूलाई मृत्युदण्ड दिएका छन् । ती बाहुनले जयप्रकाश मल्लसँग मिलेर यो काम गरेको भनिन्छ । उनीहरू यसमा सफल भएनन् । यसक्रममा आठ जनालाई मृत्युदण्ड दिइएको थियो ।

केहीले मृत्युदण्ड दिनुअगाडि तिनीहरूलाई जातिच्युत गरिएको थियो भन्ने तर्क पनि दिन्छन् । वंशावलीले यस्तो भन्दैन । मृत्युदण्डपछि मात्र ती जैसी बाहुनका परिवारले आफ्नो पुर्खौली कामबाट रोकिएको थियो । कान्तिपुर जितिसकेपछि पृथ्वीनारायण शाहले ललितपुरलाई आत्मसमर्पणको प्रस्ताव राखेको थियो र आफ्नो प्रस्ताव माने, सुरक्षाको निश्चितता दिने पनि बनाएका थिए । त्यसैले त्यहाँ छ प्रधानले विश्वासमा आत्मसमपर्ण गरे र ललितपुर बिनाकुनै युद्ध पृथ्वीनारायण शाहको कब्जामा आयो ।

तर, उनी आफ्नो भनाइमा अडिग रहेनन् र पाँच प्रधानलाई उनको परिवारसहित मारिएको छ, एक प्रधान भने भाग्न सफल रहे । अब मानन्धरकै भाषामा निन्दनीय कार्य । पृथ्वीनारायण शाहले कीर्तिपुर जित्नै नसकेपछि त्यहाँ जाने पानी नै रोकिदिए । नालापानी युद्धमा अंग्रेजले पानी रोक्दा हामी उनीहरूलाई चर्को गाली गर्छौं तर यस्तै काम कीर्तिपुरविरुद्ध पृथ्वीनारायण शाहले गर्दा किन गाली गर्न चुक्छौं त ? त्यस्तै, कान्तिपुरपछि उनले भक्तपुर जिते ।
त्यसका लागि भएको युद्धमा दुई हजार मानिस मारिए । पाँच सय घर जलाइएको थियो । युद्धमा मानिसको मृत्यु हुनु स्वाभाविक थियो, तर जति घर जलाइए, ती सर्वसाधारण जनताका थिए । पृथ्वीनारायण शाहले काठमाडौंमाथि पनि वर्षौं नाकाबन्दी लगाए । त्यही बेला एक माना नुनको दुई रुपैयाँ पुगेको थियो । एक धार्नी कपासको छ रुपैयाँ पुगेको थियो । यो त जनतालाई दु:ख दिने काम भयो । युद्ध भनेको सत्ता पक्षसँग हुन्छ, जनताविरुद्ध हुन्न ।

अर्को तथ्य भने भर्खरै मात्र बाहिर आएको छ र यसको श्रेय महेशराज पन्तलाई जान्छ । उनका अनुसार काठमाडौंका देउभाजुहरूआफ्नो पक्षमा नआएपछि उनीहरूको सारा सम्पत्ति लुटेका थिए । देउभाजु भनेका राजोपाध्याय हुन् । उनीहरूको धार्मिक क्रियाकलापमा ठूलो भूमिका हुन्छ । इन्द्रजात्राका बेला पृथ्वीनारायण शाहले कान्तिपुरमा आक्रमण गर्दा ती राजोपाध्यायहरू उनको समर्थन नगरेपछि ग्वाछेम्व गल्लीमा उनीहरूको सबै सम्पत्ति लुटिएको थियो ।

‘पृथ्वीनारायण शाहलाई हरेक पक्षमा योग्य देखाइन्छ, उनी राम्रा प्रशासक हुन् । राम्रो योजनाकार हुन् भनिन्छ । यो सबै अतिशयोक्तिपूर्ण छ,’ मानन्धरको भनाइ हो, ‘उनको निष्पक्ष मूल्यांकन हुनुपर्छ, जुन अहिलेसम्म भएको छैन । भ्युज अफ हिन्दुस्तान भन्ने किताबमा नेपालबारे दुई पाना लेखिएको छ । त्यसमा गोर्खाका यी राजालाई जंगली र असभ्य भनिएको छ । उनले राज्य विस्तारका क्रममा घिनलाग्दो काम पनि गरेको दाबी गरिएको छ ।’

केहीले के पनि भन्छन् भने पृथ्वीनारायण शाहले क्रिस्चियन पादरीलाई देश निकाले गरेको हुनाले उनीहरूले विषवमन गरेर लेखे भन्ने आरोप पनि छ । उनीबारे लेख्न सबै विदेशी पादरी नै थिए भन्ने पनि होइन । पादरी नभएकाले जे देखे र सुने, त्यही लेखे । पृथ्वीनारायणबारे राम्रो लेख्दा उनका नराम्रा पक्ष पनि लुकाउनुभएन । उनका अरू पनि धेरै कमजोरी छन्, जसको खास चर्चा हुन्न । पृथ्वी जयन्तीका बेला यसबारे किन बहस हुन्न त ?
राज्य विस्तारकै कारण नेपाल
राणा शासनको अन्त्य अन्त्यतिर सूर्यविक्रम ज्ञवालीले पहिलो पल्ट पृथ्वीनारायण शाहबारे लेखे । त्यसको लेख दार्जिलिङमा भएको थियो । त्यसअगाडि उनीबारे खासै लेखिएको नै थिएन । त्यो पुस्तक नेपालमा लगभग प्रतिबन्धकै स्थितिमा रह्यो । राणाहरूले त्यसको ‘काउन्टर’ मा रामकृष्ण कुँवरबारे लेख्न लगाए । यी रामकृष्ण जंगबहादुरका पुर्खा हुन् । त्यो किताब लेखाउनुपछाडि राणा पनि शाहभन्दा केही कम छैनन् भनेर देखाउनु नै मात्र थियो ।

यो किताबको खुबै प्रचारप्रसार गरियो । सात सालपछि पृथ्वीनारायण शाहबारे अरू धेरै पुस्तक पनि आए । धेरैले त्यसक्रममा पृथ्वीनारायण शाहको बढी प्रशंसा गरेर लेख्न सुरु भयो । त्यसको धेरैपछि यी प्रशंसाको चर्को आलोचना पनि भयो । ‘पृथ्वीनारायण शाहबारे दुवै पक्षमा अतिवादी हुनु हुन्न,’ मानन्धरको निचोड हो, ‘केहीले उनलाई साम्राज्यवादी तानाशाही भन्छन्, त्यो पनि ठीक होइन । केहीले सुरुदेखि उनको एकीकरण गर्ने योजना थियो भन्छन्, त्यो पनि होइन ।’

पृथ्वीनारायण शाहले सुरु गरेको काममा क्रममा धेरै यस्ता काम पनि भएका छन्, जसलाई अहिलेको सभ्य समाजले त्यसलाई स्विकार्न सक्दैन । अब अन्त्यमा सर्वाधिक महत्त्वपूर्ण उही प्रश्न, पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तार नगरेको भए अहिले के नेपाल रहन्थ्यो त ? यसबारे स्पष्ट जवाफ कोहीसँग हुने छैन, किनभने इतिहासले अनुमान गर्दैन । तर यति भने पक्का हो, पृथ्वीनारायण शाहले राज्यविस्तार गरेकै कारण अहिलेको समृद्ध नेपाल भने रहेको हो, यो पनि उत्तिकै सत्यतथ्य हो ।

अनि सत्य के पनि हो भने इतिहास प्रत्येक पुस्तामा दोहराएर लेखिन्छ । यो इतिहासको सिद्धान्तजस्तै हो । एउटा पुस्ताले पृथ्वीनारायण शाहबारे जे लेखे, त्यो अर्को पुस्ताले नदेख्न पनि सक्छ । त्यस्तै समान अनुभव नगर्न पनि सक्छ । पृथ्वीनारायण शाहबारे धेरैले लेखिएका छन् होला, तर, अझै लेखिन बाँकी छ । उनीबारे लेखिने क्रम टुंगिने छैन । त्यसैले नै, वैद्यले भने जस्तै, नयाँ पुस्ताले आफ्नो समयअनुसार पृथ्वीनारायणबारे अझै लेख्नुपर्छ, बहस जारी राख्नुपर्छ ।
twitter : @himeshratnaप्रकाशित : पुस २८, २०७५ ०८:२४source:https://www.kantipurdaily.com/koseli/2019/01/12/154726075384689550.html?fbclid=IwAR2hCbJMKIGjC2GNYbUDAbKkNLSBtUoGq5OTvXOGL9rQKrzFBGqPoRxMHmURelated :

काठमाडौंका द्यौभाजू र पृथ्वीनारायण शाह - डा. महेशराज पन्त

https://rajopadhyaya.blogspot.com/2017/11/blog-post_11.html

Saturday, April 6, 2019

Rajopadhyaya in News : पाली बचाउमा ४० वर्ष

पाली बचाउमा ४० वर्ष

देवेन्द्र भट्टराई
ललितपुर — बाबु पूर्णबहादुर र आमा वीरमायाका १३ सन्तानमध्येका कान्छा दुण्डबहादुर बज्राचार्यलाई चिनाउने बोलीचालीको प्रिय नाम हो, सानुभाइ । 
ललितपुर, गाबहालको रत्नाकर महाविहारको आडैमा उभिएको एउटा घर आफैंमा सानो संसारझैं छ । ७२ वर्ष लागेका सानुभाइ कतिपयका लागि यो घरमा ‘कुवाको भ्यागुतो’ झैं देखिन्छन् । गाबहालको यो कुवामै उनले गर्नु काम गरेका छन्, बनाउनु नाम बनाएका छन् ।

वंश परम्परामै महायानी बज्राचार्य परिवारका सबैजसो सदस्य नेपालभाषा र संस्कृत भाषासमेतका विज्ञ थिए । बुबा पूर्णबहादुर घरमै ‘सत्संग’ गराउँथे । भारतीय विद्वान् राहुल सांस्कृत्यायनदेखि श्रीलंकाली विद्वान् जीपी मलालाशेकरासम्म र अरू ठूला भन्ते, भिक्षु पनि घरेलु बैठकमै आएर प्रवचन दिइरहन्थे । बौद्ध धर्मको प्रज्ञापारमिता र संस्कृत शिक्षाबारे कक्षा लिइरहेका हुन्थे । औपचारिक पढाइ छाडेर बाबुले घरमै शिक्षक राखिदिएका थिए । अंग्रेजी गुरु थिए, आशाराम शाक्य, गणितमा छत्रराज शाक्य र संस्कृतमा मंगलानन्द राजोपाध्याय

स्वअध्ययनकै भरमा सानुभाइले २०२२ सालमा त्रिपद्म विद्यालयबाट एसएलसी गरे । त्यसपछि त्रिचन्द्र हुँदै साइन्स, आर्ट्समा उच्च शिक्षा लिए । कानुनमा पनि स्नातक भए । ‘पढाइ र बुझाइका क्रममा केही वर्षमा पीएचडी गरेर नामअघि डाक्टर लेखाए पनि ज्ञानको सही गुदी भने आलोचना नै हुने रहेछ भन्ने मैले बुझें,’ परिपक्व बोलीमा सानुभाइ भन्दै थिए, ‘अझ बुद्ध र बौद्ध दर्शन भनेको धर्म मात्रै होइन, जीवन दर्शन हो रहेछ भन्ने मैले बुझें । हामीकहाँ रोटी–कपडा–मकानका लागि बौद्ध दर्शन र धर्म पढाइने गरेको रहेछ भन्ने थाहा भयो ।’

यो बुझाइपछि आफ्नै यत्न र सिकाइबाट संस्कृत हुँदै पाली भाषाका जानकार भएर निस्किए, सानुभाइ । जानकार मात्रै होइन, विज्ञ नै बने । ‘संस्कृत भनेको विद्वानको भाषा हो, पाली भनेको आम जनताको भाषा हो,’ आफ्नो बुझाइबारे सानुभाइ भन्छन्, ‘पाली भनेको एकदमै सजिलो भाषा हो, अझ संस्कृत जान्नेले त ३/४ महिनामै यो भाषा सिक्न सक्छ । संस्कृतभन्दा पाली सजिलो छ । संस्कृतमा बहुवचन छ, पालीमा छैन । तर, अधिकांश विद्यार्थी पाली भाषा भनेपछि तर्किएर हिँड्छन् । किन हो, थाहा छैन ।’

बुद्ध वाणीको ग्रन्थ ‘इतिबुत्तक’ लाई पाली भाषाबाट पहिलोपटक नेपालभाषामा अनुवाद गरेपछि उनले पहिलोपटक त्यो काम भिक्षु सुदर्शनलाई देखाएका थिए । भिक्षु सुदर्शन त्यो कामबाट खुसी मात्रै भएनन्, सानुभाइको भाषिक/अनुवाद क्षमताबाट प्रभावित भएरै ‘त्रिपिटक’ अनुवाद गर्नका लागि हौस्याए पनि ।

त्यो २०४० सालको कुरा थियो । सानुभाइकी आमा वीरमायाको निधनको शोक परिवारमा छाएको थियो । बौद्ध धर्म र नेपालभाषाको अपनत्वमा उनिएर सानुभाइले शोककै घडीमा प्रण गरे, ‘आमा, म तपाईंकै भाषामा सम्पूर्ण बुद्धवचन अनुवाद गरिदिन्छु ।’ नभन्दै त्रिपिटकअन्तर्गत सुत्तपिटकको प्रथम निकाय ग्रन्थ ‘दीर्घनिकाय’ आमाको काजकिरियाको ४५ दिने अवधिमै उनले अनुवाद गरिभ्याए । यो कामबाट भिक्षु सुदर्शन दंगदास बनेका थिए ।

पछि एउटा अनूदित कृतिको भूमिकामा लेखिएको थियो, ‘बुद्ध जन्मेको देश नेपालका बासिन्दाहरूले बुद्ध धर्मको अध्ययन गर्न चाहेमा बर्मा, श्रीलंका, थाइल्यान्ड आदि बौद्ध देशमा जानुपर्ने स्थिति थियो । तर, भाइ दुण्डबहादुरको अथक परिश्रमको फलस्वरूप बुद्ध धर्मका मूल एवं प्रामाणिक आधार त्रिपिटकअन्तर्गतका सुत्तपिटकका दीर्घनिकाय, मज्झिमनिकाय, संयुक्तनिकाय र खुद्धकनिकायका इतिवृत्तक तथा विपिटकेतर ग्रन्थ मिलिन्द–प्रश्न आदि ग्रन्थहरू एकपछि अर्को नेपालभाषाका पाठकसमक्ष प्रस्तुत भइरहेको छ ।’

मन–वचन–कर्ममा 'पाली’
सानुभाइका अध्ययनमा, नेपाली भाषाको मूल भनेकै पाली हो । यसमा गहिरिएर अध्ययन हुन सकेकै छैन । पाली भाषामा जेजति शब्दावली छन्, त्यो नेपालीसँग एकदमै निकट छ । ‘नेपाली भाषाको उत्पत्ति थलो भनेर खस राज्य, खस भाषा भनिन्छ । तर, खस भाषा भनेकै पालीको निकटवर्ती हो । खस राजाहरू बौद्ध धर्ममा आफैं प्रतिबद्ध थिए । बुद्धगयाको प्रतीक पञ्चदेवल उबेलाको खस राज्य (दैलेख) मै छ । जुम्लामा बुद्धका मूर्तिहरू यत्रतत्र छन्,’ सानुभाइ भन्छन् । उनका अनुसार शब्दावली हेर्दा ‘घरबास’ पाली हो, यसैबाट घर आएको हो ।

‘जून’ पाली शब्द हो, जुनेली रात वा चन्द्रमा सम्बन्धित शब्द हो । अंक गणनामा ‘एक कम’ भनेको ‘उनन्’ हो । उनन्पचास, उनन्चालिस आदि भनेको एक कम ५०, एक कम ४० हो । यो पालीकै शब्दार्थ हो । सानुभाइका अनुसार, पाली भाषाको प्रचार र प्रभाव श्रीलंका, कम्बोडिया, थाइल्यान्ड, बर्मा, लाओसतिर बढी छ ।

त्यहाँ अध्ययन अध्यापन निकै छ । महायानीहरू भने नेपाल, तिब्बत, जापान, कोरियातिर बढी छन् जहाँ बुद्धिजममा संस्कृतको प्रभाव बढी छ । ‘नेपालका निम्ति पाली एकदमै नयाँ विषय छ । पाली व्याकरण भर्खरै नेपालीमा आएको छ । म बुद्धकालीन पाली कोष र इन्साइक्लोपेडियामाथि काम गर्दैछु । पाली अध्ययन केन्द्र खोल्ने प्रयासमा छु,’, उनी भन्छन् ।

‘थेरमवाद बुद्धिजम्’ हाम्रो देशको होइन भन्ने छ, जबकि यही धर्म दर्शनको ऐतिहासिक दस्तावेज हामीसँग छ । ‘ओल्डेस्ट म्यानुस्क्रिप्ट अफ पाली अर्काइभ’ भनेर भेटिएको सामग्री हाम्रै पुरातत्त्व विभागमा छ । जर्मन विद्वान् सिसिल बन्डलले सन् १८९९ मै एउटा अनुसन्धानबारे भनेका रहेछन्, यो प्राचीन पाली अभिलेख नेपालमै छ ।

‘विनयपिटक’ कृतिको ४ पृष्ठ (८ पाना) आज पनि पुरातत्त्वमा संगृहीत छ । यो पुस्तकको अंश खोज्ने काम ताइवान, चीन, थाइल्यान्ड सबैतिर भइरहेको छ । तर, भेटिएको छैन । ‘चिनियाँ शासक चाङ काई सेक उन्नाइसौं शताब्दीको सुरुवातमा चीनबाट भाग्दा यो ग्रन्थ आफूसँगै लिएर गएको भन्ने अनुमान छ, यसको अंश ताइवानमा छ भन्ने विश्वास छ,’ सानुभाइ आफ्नो सोधअनुसार भन्छन् ।

सानुभाइ पाली भाषाको संसार पहिल्याउन लागिपरेको ४० वर्ष भइसकेको छ । उनी पाली ग्रन्थहरूको अनुवाद आफ्नै साधन स्रोतबाट गरिरहेका छन् । घरको माथिल्लो तलामा ‘वीर–पूर्ण पुस्तक संग्रहालय’ खोलेका छन् जहाँ देश/विदेशबाट ल्याइएका पाली, संस्कृत र नेपालभाषा विशेषका बौद्धमार्गी पुस्तक मात्रै ३५ हजारभन्दा बढी संकलित छन् । हस्तलिखित कृति/सामग्री पनि दर्जनौं छन् ।

‘अरूबाट आर्थिक सहयोग लियो भने आफैं तल परिन्छ । पाली कृति संकलन, अनुवाद, प्रकाशन र वितरणमा मात्रै वर्षको १० लाख रुपैयाँसम्म खर्च गर्ने गरेको छु,’ उनी भन्छन् । यो ‘प्यासन’ का माझ सानुभाइ गुगल ट्रान्सलेसनमा पनि लागेका रहेछन् । पालीबाट सिधै नेपालीमा अनुवाद गर्न सकिन्छ कि भनेर लागेका रहेछन् । तर, पाली–नेपाली शब्दकोश अभावले काम हुन सकिरहेको छैन । पाली भाषाका विज्ञहरू पनि खोजिएको हो । उनले भारत, श्रीलंकामा पनि विज्ञहरू खोजेका हुन् । तर, सबैतिर संस्कृतका विद्वान् मात्रै भेटिए, पालीका भेटिएनन् ।

उनले पाली शब्दकोश निकाल्न १ लाखभन्दा बढी शब्द भेला गरिसके, काम भने टुंगिन पाएको छैन । ‘हाम्रा एकेडेमी, भाषा प्रतिष्ठानहरूले गर्ने वा गर्न चाहने काम यो हुँदै होइन । दुई/तीन घण्टा यताउता गरेर ‘क्रेडिट’ लिन चाहने काममा मात्रै हाम्रा एकेडेमीहरू रमाइरहेका छन्,’ उनी भन्छन् । यतिसम्म कि प्रज्ञा प्रतिष्ठानको बृहत् शब्दकोशमा पाली भाषाका केही शब्द र नेपाली निकटवर्ती अर्थ राखिदिनुस् भनेर बिन्तीभाउ गर्दा पनि प्राज्ञहरूले सुनेको नसुन्यै गरेको कटु भोगाइ उनीसँग रहेछ ।

'बुद्ध वाज बर्न इन नेपाल’
सानुभाइका अनुसार, भगवान् बुद्धको नाम लिनेहरू यहाँ धेरै छन् । तर बुद्ध सन्देशको मर्ममा पुग्ने भने धेरै कम छन् । यहाँको सिकाइ र बुझाइ नै गलत छ । यतिसम्म कि लुम्बिनीको अशोक स्तम्भमा लेखिएको ‘पाली भाषा’ मा लेखिएको कुराको सही व्याख्या भएको छैन ।

पाली भाषाका ज्ञाता अर्का विद्वान् शुक्रसागर श्रेष्ठले यसबारेमा निकै सरोकार अघि बढाएका थिए । उनको निधनपछि फेरि मौनता छाएको छ । थेरवाद बुद्धिस्ट एकेडेमीमा पाली भाषा पढाइ भए पनि त्यो पनि कामचलाउ मात्रै छ ।

‘थेरवादलाई बुद्ध धर्म, शिक्षा र दर्शनको २४ क्यारेटको सुनझैं मानिन्छ । तर यहाँ जाँच पास गराउने पढाइ मात्रै हुने गरेको छ । बरु गाडीका पछाडि लेख्न थालिएको छ, बुद्ध वाज बर्न इन नेपाल । तर, बुद्ध वाणीकै पाली भाषाको न यहाँ सोधखोज छ, न अनुसन्धान,’ सानुभाइ आवेशमा आएझैं भन्छन् ।

पालि टेक्स्ट सोसाइटीले त्रिपिटकका ४५ ग्रन्थलाई झन्डै एक शताब्दीअघि अंग्रेजीमा ल्याइसकेको छ । सानुभाइले पनि त्रिपिटकका १५ कृतिलाई नेपालभाषामा ल्याइसकेका छन् । बाँकी पनि अरू विद्वानको सहयोगमा अनुवाद भइसकेको अवस्था छ । जातक कथाहरूको संग्रहलाई अनुवादपछि ६ भागमा निकालिसकेका छन् । नेपालमा पाली भाषाका विशेषज्ञ हातका औंलामा गन्न पनि पुग्दैनन् ।

‘म पछि के होला भनेर मलाई थाहा छैन । यहाँ अनेक जातीय, क्षेत्रीय, वर्गीय भाषा लोप भएको भनेर चिन्ता बढेको देखिन्छ । तर हाम्रै भगवान् बुद्धको मातृभाषा पाली लोप भइरहेको बारे कहींकतै सुनुवाइ छैन । यो यथास्थिति सम्झँदा भने निकै दुःख लाग्छ,’ उनी भन्छन् । अरूभन्दा पनि भगवान् बुद्धको जन्मबारे अनेक विवाद उब्जिएका बेला ‘ती शक्तिपुञ्ज फैलिएर जे जहाँ पुगे पनि हामीकहाँ जन्मेका थिए भनेर सुनाउन र बुझाउन सक्ने’ पनि कोही नभइरहेको यथास्थितिबारे उनी निकै चिन्तित देखिन्थे ।

सानुभाइका मन–वचनमा भिक्षु सुदर्शन महास्थवीरको प्रेरणा सधैं रहिरहेको छ । भगवान् बुद्धको मातृभाषा पालीमा रहेका बुद्धवचन र वाणीलाई नेपालीमा उतार्नमा उनी यतिखेर लागिपरेका छन् । उमेरअनुसार, चिनी रोग र मुटु समस्याको औषधिमूलो उनको टेबलमा छँदै छ । ‘पुस्तैनी पेसाका रूपमा सुनचाँदीको पसल घरमै छ, अरू भाइभतिज यसमा लागेका छन् । छोराछोरीको पनि ध्याउन्न अरू नै हुन सक्छ,’ सानुभाइ भन्छन्, ‘म भने मरिन्जेल पनि पाली भाषामै लागिरहन्छु ।’प्रकाशित : चैत्र २३, २०७५ ०७:५८Source: https://www.kantipurdaily.com/news/2019/04/06/155451680939598041.html